Friday, September 1, 2023

पहाडको विद्यार्थी र दार्जीलिङ हिल्स् युनिभर्सिटी

सुमेन्द्र तामाङ

 

दार्जीलिङ पहाडको एकमात्र विश्वविद्यालय दार्जीलिङ हिल्स् युनिभर्सिटी (DHU)को एकजना विद्यार्थीसँग अस्ति बात हुँदै थियो। त्यस युनिभर्सिटीको पोस्ट ग्र्याजुएट कोर्समा भर्ना हुने पहिलो ब्याचका विद्यार्थीहरूमध्ये ऊ पनि एक हो। ती विद्यार्थीहरू आफ्ना भविष्य लिएर चिन्तित छन्। घरमै बसेर, अनलाइन क्लास र अनलाइन परीक्षा दिएरै मास्टर्स सक्न लागे यी विद्यार्थीहरूले। लगभग 250-300 जना विद्यार्थीहरू अहिले ‘भीरको चिन्डो उँधो न उँभो’ झैँ भएका छन्।

विगत चार महिनादेखि दार्जीलिङ हिल्स् युनिभर्सिटीको अवस्थालाई अवलोकन गरिरहेको थिएँ। युनिभर्सिटी क्याम्पसको स्थापनाका निम्ति जोगीघाट छेउको ठाउँ चयन गरिएको थियो। म धेरै अगाडि जोगीघाटतिर जाँदा त्यो प्रोपर्टी ‘रामदेव बाबाको हो’ भनेर एउटा साइनबोर्ड देखेको थिएँ। अचानक 2016को सेप्टेम्बर महिनामा अनित थापा अनि सुबीरेश भट्टाचार्यको उपस्थितिमा त्यहाँ ममता ब्यानर्जीले दार्जीलिङ हिल्स् युनिभर्सिटीको शिलान्यास गरिन्। अहिले त्यो ममता ब्यानर्जीले उद्घाटन गरेको टाइल्स त्यहीँ रहेको छ। बस् त्यो शिलान्यास वरिपरि झार जङ्गल उम्रिसकेको छ र त्यो दृश्य ठिक पहाडका विद्यार्थीहरूको भविष्यलाई निल्दै गएको यथार्थ जस्तै देखिन्छ। भ्रष्ट्राचारको यो जङ्गललाई नगोडेर पहिलादेखि नै बनिबनावट मङ्पु आइटीआइ (ITI) लाई सेतो र नीलो रङ्ग लगाएर दार्जीलिङ हिल्स् युनिभर्सिटी क्याम्पसको देखावटी रूप दिइएको छ। उद्घाटन भएको भिडियोहरू लोकल न्युज च्यानलमा धूमधाम देखाइयो पनि। 

विश्वविद्यालयको व्यवस्थापन

सुरु भएदेखि नै 6 वटा डिपार्टमेन्टबाट सुरु गरिएको दार्जीलिङ हिल्स् युनिभर्सिटी, तर अहिलेसम्म पनि यसको केही व्यवस्थापन गरिएको छैन। इङ्लिस, नेपाली, म्याथम्याटिक्स, पोलिटिकल साइन्स, हिस्ट्री र मास कम्युनिकेसन डिपार्टमेन्टहरूको एक जना कोर्डिनेटर राखिएको छ, अनि प्रत्येक डिपार्टमेन्टमा अनलाइन क्लास गराउने शिक्षकहरू उत्तर बङ्गाल विश्वविद्यालयकै विभिन्न कलेजमा पहिलेदेखि नै काम गरिरहेकाहरू हुन्। मतलब, एक जना टिचरले दार्जीलिङ हिल्स् युनिभर्सिटी लगायत आफ्ना कलेजमा काम गर्नु परिरहेको छ। 

डिपार्टमेन्टको स्टाफ नियुक्तिको पनि कुनै पारदर्शिता छैन। एक जना कोर्डिनेटर त दार्जीलिङको विधानसभा चुनावमा पनि उठेका ठुलो बुद्धिजीवी अनि नेताको छोरा पनि रहेको कुरा सुन्नमा आएको छ। धेरै जना नेट (NET) नै पास नगरेकाहरूले दार्जीलिङ हिल्स् युनिभर्सिटीमा अनलाइन क्लास गराइरहेका छन्। क्लासको कुनै निर्दिष्ट समय र अवधि छैन। अनलाइन शिक्षकहरूले इच्छा अनुसार चलाइरहेका छन् हाम्रो दार्जीलिङ पाहाडको पहिलो विश्वविद्यालय। उत्तर बङ्गाल विश्वविद्यालय अहिले भ्रष्टाचार र कुव्यवस्थाको एउटा मुख्य केन्द्र भएको हुनाले घरीघरी विभिन्न भाइस चान्सलर (VC) नियुक्ति भइरहेका छन्। पहिले सुबीरेश भट्टाचार्य भीसी थिए अनि साथ साथै दार्जीलिङ हिल्स् युनिभर्सिटीको पनि भीसी रहेका थिए। त्यसपछि एसएससी स्क्याम लिएर उनलाई गिरफ्तार गरियो, त्यसपछि ओम प्रकाश मिश्र एनबीयुको भीसी हुन पुगे। अहिले सञ्चारी रोय मुखर्जीले भीसीको पद सम्हाली रहेकी छिन् भने दार्जीलिङ हिल्स् युनिभर्सिटीको भीसीको रूपमा प्रेम पोद्दार आए। 

सन् 2021मा स्थापना भएको एउटा विश्वविद्यालय कुनै न्यायिक व्यवस्था बिना अहिलेसम्म यसरी नै अनलाइन व्यवस्थाको आधारमा मात्र चलिरहेको छ। कोरोनालाई कारण बनाएर अनलाइन क्लास नै शिक्षा व्यवस्थाको भविष्य स्थापित गर्दै, बिना कुनै निर्धारित प्रणाली अनि विद्यार्थीहरूलाई घिटघिटेमा राखेर नै चलिरहेको छ दार्जीलिङ हिल्स् युनिभर्सिटी। पहाडको शिक्षा व्यवस्थामा फेरबदल ल्याउँछु भन्नेहरूले के यसरी नै शिक्षा व्यवस्थाको विकास गर्ने हो त? यदि हो भने, यो भन्दा घातक अनि भयानक कुरा अरू केही हुने छैन। 

विद्यार्थी जमात र दार्जीलिङ हिल्स् युनिभर्सिटी

दार्जीलिङ हिल्स् युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरू पहाडबाट मात्र नभएर डुवर्स अनि अरू ठाउँबाट पनि रहेका छन्। कुनै क्याम्पस छैन, लाइब्रेरी छैन, क्लास राम्ररी चल्दैन, सिलेबस् भने जम्मै अधुरो छ। तर दार्जीलिङ हिल्स् युनिभर्सिटीले भने अरू-अरू कलेजमा गएर स-साना सेमिनारहरू आयोजना गरिरहेको छ। खोक्रो संरचना भएको एउटा विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई एउटा क्याम्पस दिन सकेको छैन, लाइब्रेरी अनि क्लास रुममा पढाउन सकेको छैन अनि अरू कलेजहरूमा गएर ‘विश्वविद्यालय बनाउन लाग्दाका समस्याहरू’ शीर्षक माथि गफ छाडिरहेको छ। विद्यार्थीहरूले त्यही कार्यक्रममा गएर “क्याम्पस कहिलेदेखि पूर्ण रूपमा सञ्चालन हुनेछ?” भनेर प्रश्न गर्दा अहिले वेबसाइटमाथि काम भएको कुरा जस्तै अनिश्चित प्रति-उत्तर पाउँदा धेरै विद्यार्थीहरू सन्तुष्ट छैनन्। 

यस्तो अनिश्चित अवस्था देखेर धेरै विद्यार्थीहरूले पढाइ नै छोड्ने अनि काम गर्नतिर लाग्ने निर्णय पनि लिँदै छन्। उसो नै त ड्रप आउटको सङ्ख्या धेर भएको हाम्रो भेक, अझै व्यवस्थाको फ्यातुलोपनले गर्दा विद्यार्थीहरू उच्चशिक्षाको अधिकारबाट वञ्चित हुनु भनेको सोचनीय कुरा हो। नियुक्ति पाएका भीसी प्रेम पोद्दारले दार्जीलिङ हिल्स् युनिभर्सिटीका विद्यार्थीहरूले एनबीयुको लाइब्रेरी गएर पढाइ गर्न सक्ने कुरा गरेका थिए। त्यसपछि विद्यार्थीहरू एनबीयु गएर कुरा गर्दा तिनीहरूलाई प्रवेश गर्न दिइएन र फर्किनु परे। कमान बस्तीका धेरै विद्यार्थीहरू यो चपेटमा परेका छन् अनि आफ्नो भविष्य र दार्जीलिङ हिल्स् युनिभर्सिटीले दिने सर्टिफिकेटबारे पनि सन्देहग्रस्त छन्। युनिभर्सिटी खोल्नु थियो, जसोतसो खोलियो। विद्यार्थी वा शिक्षण-सम्बन्धित व्यक्तिहरूको नानाथरीका चासो रहे तापनि, केही प्रयासहरू चलिरहेको देखिए तापनि सम्पूर्ण व्यवस्थापन नगरेर यसरी युनिभर्सिटी खोलिदिनु भनेको राज्य सरकार र क्षेत्रीय प्रशासनको तर्फबाट खेलाइचि नै हो। उच्च स्तरको पढाइबारे त कुरै नगरौँ। यदि यस्तै स्थिति रह्यो भने दार्जीलिङ हिल्स् युनिभर्सिटी केवल सजिलोसँग सर्टिफिकेट किन्नसक्ने संस्थान भएर जानेछ। गुणात्मक शिक्षा आर्जन गर्ने एउटा युनिभर्सिटीको सपनाबाट धेरै टाढा रहने छ। त्यस्तै भइरहेको पनि छ। 

नयाँ शिक्षा नीति अनि दार्जीलिङ हिल्स् युनिभर्सिटी 

सन् 2019 मा भारतीय जनता पार्टी (भाजपा) सरकारद्वारा केन्द्रीय स्तरमा नयाँ शिक्षा नीति पेस गरियो अनि यसलाई संसदमा पास पनि गराइयो। यो शिक्षा नीति अनुसार सरकारी स्कुल अनि कलेजहरूलाई बिस्तारै निजीकरण तर्फ लाने, सरकारी स्कलरसिप बिस्तारै बन्द गरेर विद्यार्थी लोन लिएर पढ्नु पर्ने, गुणात्मक शिक्षाको निम्ति धेर पैसा खर्च गरेर मात्र शिक्षा आर्जन गर्न सकिने, 30 जना भन्दा कम विद्यार्थी भएका स्कुलहरू बन्द गरेर त्यसको सट्टा प्राइभेट स्कुलको स्थापना गर्ने अनि दार्जीलिङ हिल्स् युनिभर्सिटीको परिप्रेक्ष्यमा ठिक मिल्ने रिशोर्सिङ (Resourcing) लाई अझै व्यापक रूपमा बढाउने कुरा उल्लेख गरिएको छ।

रिसोर्सिङ भन्नाले एउटा चालु संस्थाबाट (कलेज, युनिभर्सिटी, स्कुल) त्यहाँ भएका समस्त टिचर अनि अरू सुविधा अथवा पूर्वाधारहरूलाई अर्को ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भन्ने नीति हो। जस्तै एनबीयुभित्र रहेका कलेजका टिचरहरूलाई दार्जीलिङ हिल्स् युनिभर्सिटीमा पनि पढाउनु परेको छ। एनबीयुको लाइब्रेरी पनि दार्जीलिङ हिल्स् युनिभर्सिटीले प्रयोग गर्न सक्छ अनि हालैमा सर्कुलर अनुसार एनबीयुभित्र अफलाइन क्लास सुरु गर्ने कुरा आयो! तर एनबीयुभित्र क्लास भइरहेको थियो र क्लास लिने काम गर्ने भनेको पिएचडी गर्दै गरेका विद्यार्थीहरू छन्। रिसोर्सिङ भनेको ठिक यही हो। दार्जीलिङ हिल्स् युनिभर्सिटी जति पनि चलिरहेको छ त्यो यही रिसोर्सिङको नीतिले चलिरहेको छ। आइटीआइ मङपुको बिल्डिङलाई दार्जीलिङ हिल्स् युनिभर्सिटीको बिल्डिङ बनाउनुको मुख्य कुरा पनि यही रहेको छ। रिसोर्सिङको नाममा भयङ्कर भ्रष्टाचार अनि विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्ने काम भइरहेको छ। 

अब रह्यो अफलाइन क्लास बारे कुरा। जम्मै सालको सिलेबस सकिएको छैन अनि त्यसका निम्ति अफलाइन क्लास जनवरी 2023 देखि नै सुरु हुने कुरा थियो। तर त्यो अन्तमा गएर जुनमा सुरु भयो, त्यो पनि केवल 2 हप्ताका निम्ति। मर्ने बेलामा दबाइ दिएर ‘गरिस्?... भन्दा गरेँ...’ भनेको जस्तो भएन यो त? आखिर दुई हप्तामा सिलगढीको गरममा आफ्नै पैसाले घर भाँडा गरेर दार्जीलिङ हिल्स् युनिभर्सिटीका विद्यार्थीहरूले सिलेबस कति कभर गरे त ? विद्यार्थी जमातले भोग्नु परिरहेको यस्तो दुर्दशा कस्तो खाले विकासको मोडल हो? आखिर यस्तो कहिलेसम्म? <<<


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...