Friday, September 1, 2023

सत्ता, गणतन्त्र र गणतान्त्रिक मूल्यका कुरा

टिका ‘भाइ’



 युद्ध अनि सङ्घर्षका लाखौँ लिखित अलिखित इतिहास टेकेर आज छौँ। सामन्तहरू, राजाहरू, साम्राज्यवादी शक्तिहरूमाथि विजय प्राप्त गर्दै मान्छेका असङ्ख्य बलिदान त्याग अनि सङ्घर्षले खडा गरेको वर्तमान समय पनि मुट्ठीभर नेता, उद्योगपति अनि उस्तै स्वार्थी सत्ताका भोकाहरूको हातमा चढाउनु अनि नेत्रीत्वलाई मान्छे होइन देवताकरण गर्ने राजनैतिक संस्कृतिले हाम्रो उन्नत पाइलाहरू फेरि उही पुरानै बाटोतिर लैजाने खतरा रहन्छ। 

त्यसैले गणतन्त्रमा सत्ता जनताको मालिक अथवा ईश्वर होइन सेवक मात्र बनाउने मूल्य नै गणतान्त्रिक मूल्य हो। जसको निम्ति जिम्मेवार नागरिकहरू, लेखक, सचेतक अनि मिडिया जस्ता कुराहरू सदैव गणतान्त्रिक मूल्य रक्षार्थ अडिग रहन सक्नु पर्दछ। 

जब एक राजनैतिक दलले विपक्षीको महत्त्व बिर्सन्छ वा जब सत्ताले आफैलाई जनताको ईश्वर जस्तो व्यवहार गर्न थाल्दछ, जहाँ आलोचनात्मक विचारहरू उठ्न नै नदिनलाई छल-बल अनि कानुनको प्रयोग गरिन्छ, त्यस्ता ठाउँमा गणतन्त्रको मुखौटा ओढेर बिस्तारै तानासाही राजनैतिक अस्तित्वले शिर खडा गर्न थाल्दछ। 

त्यसैले गणतन्त्रमा सत्ता विपरीत जनता अनि विपक्षी दलको दह्रो अस्तित्व रहेको हुनु आवश्यक हुन्छ। विपक्षी मत अनि विचारलाई निषेध गर्ने समाजमा जनता सुरक्षित रहन सक्दैन, न्याय सुरक्षित रहन सक्दैन। 

सत्ता त्यो धुरी हो जसमा देश अथवा कुनै पनि राज्यको कानुन व्यवस्था, प्रहरी बल, राज्यका विभिन्न संस्थानहरू चलाउन सक्ने क्षमता हुन्छ। अर्थात् सत्तासित समाजको प्रत्येक निर्णायक औजार हुन्छ। तर जनतासित त्यो सबै केही हुँदैन। जनतालाई हुने कुनै पनि प्रकारको अन्याय, कुनै पनि प्रकारको अहितकार योजना अथवा सत्ताको तानासाही चरित्रदेखि रक्षा गर्न सक्ने कुरो भनेको विपक्ष अनि तिनको राजनैतिक आवाज नै हो। 

त्यसैले आलोचना संस्कृति, विपरीत मत अथवा विचारप्रतिको सम्मान र सुनवाइ, अनि सृजनात्मक बहसको संस्कृति गणतन्त्रका निम्ति सहायक तत्त्व हुन्। 

एउटा सफल समाज त्यो हो जहाँ प्रतिपक्षी विचार, दल अनि सँगै तिनका मतले पनि सम्मान प्राप्त गर्दछ।

यसको निम्ति त्यो राजनैतिक रूपले सचेत अनि सक्रिय विद्यार्थी अनि युवाहरू, नागरिक समाज, सामाजिक-सांस्कृतिक कर्मी, जिम्मेवार मिडिया आदि आवश्यक हुन्छन्। 

सत्ताबाट नियन्त्रित युवा वर्ग, सत्ताबाट नियन्त्रित नागरिक समाज, सत्ताबाट नियन्त्रित सामाजिक, सांस्कृतिक अनि सृजनात्मक चेतना भनेको एउटा भ्रष्ट समाज अनि राज्य निर्माणका सुरुआती बिन्दु हो। 

त्यसर्थ गणतन्त्रका निम्ति गणतान्त्रिक मूल्यको रक्षा देशको सिमाना बराबर जहिले संवेदनशील अनि जिम्मेवारीपूर्ण कार्य हो। एक गणतान्त्रिक देश यसको सार्वभौमिकतासहित यिनका धेरै पीढीका जनताको रगत, पसिना अनि सङ्घर्षले हुर्काइल्याएको गणतन्त्र अनि यसको मूल्यको रक्षा बेगर कुनै अर्थमा देश रहेको हुँदैन। देश देशको न भूगोल र सिमानाभन्दा गहिरो जिउँदा मान्छेको सास लिने छाती अनि जिउँदा चेतनामा जीवित रहेको हुन्छ। त्यसैले औसत 80-90 वर्षको आयु लिएको एउटा व्यक्ति राजनेता हुनासाथ इतिहासका विभिन्न कालखण्डदेखि पूर्वजहरूले स्याहार सम्भार गरिल्याएको देश अनि त्यसको सत्ताको मालिक हुन सक्दैन। 

गणतान्त्रिक सत्ता, जनताले आफ्नो हित रक्षाका निम्ति मतद्वारा आफ्नै राजनैतिक आकाङ्क्षा अनुसारको जनप्रतिनिधि पठाउने व्यवस्था हो। राजा बनाउने केही कुलीनहरूको स्वार्थी दरबार होइन।

यो कुराको स्मरण गराउनु केवल विपक्षका समर्थकहरूलाई मात्र होइन समग्र जनताको निम्ति आवश्यक कुरो हो।

भारतीय गणतन्त्र आज पनि धेरै सङ्कटहरूले ग्रस्त छ। गणतान्त्रिक मूल्य रक्षार्थ विभिन्न चुनौतीहरू छन्। गणतन्त्रको चौथो स्तम्भ मानिएका मिडियाको किनबेच, अथवा प्रतिपक्षी विचार निषेध गर्नलाई छल, बलको प्रयोग अथवा देशका सम्पन्न श्रेणीहरूको स्वार्थ पोषण जस्ता चुनौतीहरू आज पनि उस्तै छन्। तर सँगै समाज अनि देशमा आफ्नो व्यक्तिगत स्वार्थको साटो गणतान्त्रिक मूल्य रक्षाका निम्ति जुझिरहेका सङ्ग्रामी अनि सचेतहरू पनि उत्तिकै छन्।

त्यही सङ्घर्ष अनि अन्तर्विरोधभित्र गणतन्त्र, गणतान्त्रिक मूल्य अनि देश र राजनीतिलाई बुझ्न आजका युवा अनि विद्यार्थीहरूले राजनीतिलाई भविष्यमा अझ जिम्मेवारीसित यस कारण आवश्यक छ किनकि भोलि र भविष्य तिनका हातमा छन्। 

सत्ता अनि जनतामाझको सम्बन्ध, गणतन्त्रमा महिला, उत्पीडित श्रेणी, जातप्रतिको हाम्रो दृष्टिकोण, साम्प्रदायिकता, न्याय अनि समानतासहित एक आदर्श राजनैतिक चेतना निर्माणको घडेरी युवा अवस्थामै निर्माण नगरिए भ्रष्ट सत्ता अनि तानासाहीपूर्ण सत्ता निर्मित भविष्यबाट जनता सुरक्षित रहने छैन। 

गणतन्त्र अनि गणतान्त्रिक मूल्यहरू रक्षा ‘समर्पण’ –होइन सवाल अनि सन्देहहरू, अधिकार रक्षा अनि सङ्घर्षहरूकै बाटो हिँडेर हुन्छ। <<<


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...