Sunday, July 31, 2022

लाली गुराँस समूहद्वारा मई दिवस पालन


अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा लाली गुराँस समूहद्वारा खरसाङको गोर्खा जन पुस्तकालयमा सङ्गोष्ठीको आयोजना गरिएको थियो। सङ्गोष्ठीमा मई दिवसको ऐतिहासिक महत्त्व र वर्तमान मजदुर आन्दोलन, पहाडको चिया बगानको विसङ्गतिहरू साथै नयाँ श्रमकोड आदि विषयहरूबारे चर्चा गरिएको थियो।

लाली गुराँस समूहद्वारा सङ्ग्रामी गीत प्रस्तुत गर्दै सुरू भएको कार्यक्रममा छेवाङ योञ्जनले मई दिवसको ऐतिहासिक पक्षबारे प्रकाश पारेका थिए। मई दिवसको ऐतिहासिक घटनाक्रमहरू बारे चर्चा गर्दै उनले मालिकवर्ग तथा वर्तमान राज्यसत्ताले मजदुरवर्गमाथि गरिरहेको आर्थिक शोषणहरूबारे टिप्पणी राखे। लाली गुराँसकै कार्यकर्ता सुमेन्द्र तामाङले चिया उद्योगमा मालिक वर्गले के कस्ता षड्यन्त्र गरिरहेका छन् बारे खुलस्त पारेका थिए। न्यूनतम ज्याला, पर्जा-पट्टा लगायत श्रमिक हितको मागहरूबारे बोल्दै उनले चिया बगानमा भइरहेको कर्पोरेट निवेशको कडा रूपमा विरोध गरे। सङ्गोष्ठीको अर्का वक्ता शमीक चक्रवर्तीले वर्तमान केन्द्र सरकारले पारित गरेका श्रम-कोडहरू मजदुरको लागि हानिकारक हो जानकारी दिँदै उनले सामयिक अवधिको नियुक्ति, फ्लोर लेभल वेज जस्ता योजनाका विरोध गरे। 

सङ्गोष्ठीमा उपस्थित बनेका रेलवे युनियनका प्रतिनिधिले दार्जीलिङ हिमालयन रेलवे निजीकरण भइरहेको प्रणालीबारे गहण तर्क राखे। उनले भने-- "विभागले जानीबुझी डीएचआरलाई निष्क्रिय गरिरहेको छ। टिकट शुल्क 15 सय बनाएपछि हाम्रा मान्छेहरू रेलमा चढ्दैनन्। तर यदि विभागले समतल क्षेत्रहरूमा झैँ रेलको टिकट दर कम गरे, हाम्रा विद्यार्थी र यहाँका सर्वसाधारणले रेलवे सेवा उपभोग गर्न पाउने थिए"। उनले रेलवेलाई जनमुखी साधन बनाउन आवाज उठाउनु पर्ने बताए। 

सङ्गोष्ठीमा कविहरू उषा किरण, मिलन प्रधान, सुवास छेत्री भावुक, नीतेश राई, आशिष लिम्बु आदिले सङ्ग्रामी कविताहरू पाठ गरेका थिए भने सङ्गोष्ठीलाई नारायण काफ्लेले सञ्चालन गरे। उक्त सङ्गोष्ठीमा खरसाङ संलग्न क्षेत्रका धेरै सङ्घ-संस्था, व्यक्तिविशेष, अनि चिया बगान मजदुरहरूका सहभागिता रहेको थियो।



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...