Sunday, July 31, 2022

जहाङ्गिरपुरी दङ्गामा ‘जय श्री राम’

 अम्बिका राई




दिल्लीको जहाङ्गिरपुरी भन्ने ठाउँमा गत 16 अप्रिल, हनुमान जयन्तीको दिन हिन्दु-मुस्लिम बिच दङ्गा भयो।

हनुमान जयन्तीको दिन सडकमा संघ परिवारद्वारा शोभा यात्रा निकालिएको थियो। त्यो शोभा यात्रा एउटा मस्जिदको छेवैमा आएर रोकियो। त्यसै दिन मुसलमान समुदायकाहरूले पनि रमादान पर्व पालन गरिरहेका थिए। केही समय भित्र नै त्यहाँ एउटा गुटले अर्को गुटमाथि आक्रमण गऱ्यो र धेरै जना घाइते भए। त्यस दिन कुल तीन वटा शोभा यात्राको आयोजना गरिएको थियो। एउटा शोभा यात्रा बिहानको समयमा निकालिएको थियो भने दोस्रो शोभा यात्रा दिउँसो बाह्र बजीको समयमा निकालिएको थियो। यी दुवै वटा शोभा यात्रा पुलिसको अनुमतिमा निकालिएको थियो। तेस्रो शोभा यात्राको बारेमा भने पुलिस प्रशासनलाई जानकारी गरिएको थिएन।

 त्यो तेस्रो शोभा यात्रा कसले आयोजना गराइएको हो? भन्ने कुरा अझ पनि स्पष्ट छैन। त्यो शोभा यात्रा साँझको छ बजी, जहाङ्गिरपुरीको कुशल रोडको एउटा मस्जिद अघि पुग्यो र शोभा यात्रामा सामेल भएकाहरूले ठुलो ठुलो आवाजमा गीत बजाउँदै ‘जय श्री राम’को नारा लगाउन थाल्यो। ठिक त्यही समय मस्जिद भित्र इफ्तारको तैयारी गरिँदै थियो। शोभा यात्रीहरू मस्जिद भित्र पसे अनि ‘जय श्री राम’ लेखिएको भगुवा झन्डा झुन्डाउने प्रयास गरे। यसैले तत्काल दुई गुटबिच झडप सुरु भएको थियो। जम्मा 23 जना व्यक्तिहरूलाई पक्राउ गरियो, ती मध्ये 16 जना मुसलमान समुदायका थिए।

 यो घटना भएको ठिक तीन दिन पछि फेरी जहाङ्गिरपुरीमा अर्को घटना घट्यो।

भारतीय जनता पार्टीको अधीनमा रहेको उत्तर दिल्ली नगरनिगम कर्पोरेशन (North Delhi Municipal Corporation)-ले राज्यको पार्टी अध्यक्षको कम्प्लेन अनुसार 19 अप्रिलको दिन कुशल रोड, जहाङ्गिरपुरीमा अवैधानिक रूपमा निर्माण गरिएका घर अनि दोकानहरूलाई भत्काउने निर्देश दियो। दिल्लीको भाजपा प्रमुख आदेश गुप्तले नगरपालिका कमिश्नरलाई चिठ्ठीमा यो जनाए कि ‘...त्यस ठाउँको धेर जस्तो जमिनमा अवैध निर्माण भएको छ र त्यहाँ बङ्गलादेशी साथै रोहिन्ग्य मुसलमानहरू बस्छन्। ती बङ्गलादेशी अनि रोहिङ्गा मुस्लिमहरूले नै 16 अप्रेलको साँझ जहाङ्गिरपुरीमा दङ्गा सुरु गरेका थिए।’



तर घटना हेर्दा स्पष्ट रूपमा राजनीतिक षड्यन्त्र देखिन्छ। केवल 16 अप्रेलको दिन घटना भएको ठाउँको वरिपरिका घर, दोकानहरू मात्र भत्काउने काम भयो। नगरपालिका अनुसार, ती घर र दोकानहरू अवैधे रूपमा निर्माण गरिएको थियो। घर र दोकानहरू मात्र होइन तर मस्जिदको गेट अनि अघिल्लो भाग पनि भत्काउन काम गरियो। तर त्यही सडकमा रहेको मन्दिर भने जस्ताका त्यस्तै छ।

बिहान 9:30 बजी नगरपालिकाको 9 वटा बुल्डोजरले घर र दोकानहरू भत्काउने काम सुरु गऱ्यो। सुप्रिम कोर्टको ‘स्टे अर्डर’ आउँदासम्म त्यहाँ लगभग 20 वटा घर र मस्जिदको गेट साथै अघिल्लो भाग भत्काइ सकेको थियो।

भत्काइएका घर र दोकानहरू त्यहाँका मुस्लिम समुदायका श्रमजीवी मानिसहरूका थिए। यस घटनामा उनीहरूले आफ्ना घर, परिवारको जीविका चलाउने साधनहरू साथै उनीहरूको पेट पालन गर्ने साधन गुमाउनु पऱ्यो, कारण उनीहरू मुस्लिम समुदायका थिए।

उत्तर दिल्ली नगरनिगम कर्पोरेशन अनुसार यो नगरपालिकाद्वारा नियमित रूपमा गरिने काम हो र यो कार्य अप्रिल महिनामा दुई पल्ट भइसकेको थियो। साथै यसै वर्षको जनवरीदेखि अप्रिल महिनाभित्र यस्ता कार्य चार चोटि भइसकेको छ।

उक्त घटनालाई हामी केवल जहाङ्गिरपुरीमा घटेको घटनाको रूपमा मात्र हेर्न सक्दैनौँ। यो त भारतमा हुने कैयौँ साम्प्रदायिक हिंसाको एउटा अंश मात्र हो। भारतमा बस्ने अल्पसङ्ख्यक मुसलमानहरूले यस्ता घटनाको सामना हरेक दिन नै गर्नु पर्ने स्थिति देशमा सिर्जना भएको छ।

अप्रिल महिनामा नै देशको अन्य राज्यहरूमा पनि यस्ता धेरै वटा घटनाहरू घटिसकेको छ। यस्तो विध्वंसकारी घटना मध्य प्रदेश, गुजरात अनि उत्तर खण्डमा पनि भएको हो। यी सबै राज्यहरूमा भाजपा सरकारको वर्चस्व छ अनि यस्तो घटनामा केवल एउटा समुदायलाई मात्र टार्गेट गरिन्छ र त्यो हो ‘मुस्लिम’ समुदाय।

भारतमा यस थरिका धार्मिक हिंसाका मामिलाहरू अनगन्ती छन्। भाजपा सरकारमा आएदेखि धर्मको नाममा गरिने दङ्गाको सङ्ख्याहरू अझ बढेर गएको हामी देख्न सक्छौँ। कहिले मुसलमान समुदायको घर भत्काएर, कहिले उनीहरूको जीविकाको श्रोत माथि आक्रमण गरेर वा कहिले मुसलमान महिलाहरूको अधिकारको हनन गरेर दङ्गाहरू गरिन्छ।

कर्नाटकको उडुपी भन्ने ठाउँमा 6 जना महिला विद्यार्थीहरूले ‘हिजाब’ लगाएको कारण कलेज भित्र पस्नु सकेनन् वा भनौँ उनीहरूलाई कलेज प्रशासनले हिजाब लगाएको कारण कलेजमा प्रवेश गर्न दिएन। राज्यको धेरै वटा ठाउँहरूमा यस घटनको विरोधमा धेरै विरोध प्रदर्शनहरू राखियो। तर यसै घटना पछि राज्यमा डरको माहौल निर्माण गर्न केही विद्यार्थीहरू भगुवा रङ्गको रुमाल लगाएर सडकमा उत्रिए। आज धर्मको नाममा हुने यो लडाइले गर्दा मुस्लिम समुदायका महिलाहरूले शिक्षा अर्जन गर्ने अधिकार पनि गुमाइरहेका छन्। आज जति पनि हिन्दु-मुस्लिम बिचको दङ्गा भइरहेको हामीले देखी रहेका छौँ, ती सबै नै मुस्लिम समुदायप्रति एउटा घृणा उत्पन्न गराउने, मुस्लिम समुदायलाई शत्रु तुल्याउने भाजपा सरकारको एउटा खेल हो।

आगामी 2014 मा हुने चुनावलाई केन्द्र गर्दै देशको विभिन्न राज्यहरूमा हिन्दु-मुसलमान दङ्गा फैलाउन भाजपाले अझ जोर तोडसँग काम गरिरहेको छ।

यसैले धर्मलाई राजनीतिक हतियार बनाउने, र त्यसको होडबाजी पछाडि जम्मै जनविरोधी आर्थिक-सामाजिक कानुनहरू पारित गराउने भाजपा सरकारको हामीले डटेर विरोध गर्नुपर्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...