Sunday, July 31, 2022

सम्पादकीय : अङ्क 41

चियापतीको मूल्य !


हामीले सामाजिक सञ्जालमा एउटा भिडियो फेला पारेका थियौँ। हङकङ जाँदै गरेका कुनै यात्रीले दिल्लीको इन्दिरा गाँधी एयरपोर्टमा त्यो भिडियो मोबाइलले रेकर्ड गरेका थिए। भिडियो थियो एयरपोर्ट भित्रको एउटा चिया पसलको। भिडियो रेकर्ड गर्ने व्यक्तिले क्रमैसँग चियाको ब्रान्ड र मूल्य सोध्दै थिए, पसलेले चियाको ब्रान्ड र मूल्य बताउँदै थिए। 

चियाको मूल्य सुनेर हङकङ घुम्न जाने ती व्यक्ति पटक पटक तर्से। ‘बाफरे यस्तो पनि हुन्छ दाम?’ ‘कसले किन्छ यो चिया पती!’ यात्रीले यस्तै प्रतिक्रिया दिइरहेका थिए। 

एक केजी चिया पतीको मूल्य ‘चौध लाख’। चिया पतीको यो दाम सुन्दा आर्थिक रूपले सम्पन्न वर्गका मानिसहरू पनि तर्सिँदा रहेका छन्। कसले किन्छ? कसले पिउँछ? यति महँगो चिया पती। यो त साधारण मानिसको सोचदेखि बाहिरको कुरा भो। तर यती महँगो चिया पती ती नै व्यक्तिहरूका निम्ति हुन्, जोसँग संसारको आधा भन्दा धेर जनसङ्ख्यासँग भएको सम्पत्ति छ। अर्थात् जोसँग संसारको 70 प्रतिशत सम्पत्ति छ। यी चौध लाख रुपियाँको चिया पिउने पुँजीपतिहरूले नै त हो विश्वका बहुसङ्ख्यक मजदुरहरूको सपना लुटिरहेका छन्। 

यती महँगो चिया पिउँदै उनीहरू बिहान ग्लोबल वर्मिङबारे सुर्ता गर्छन्। छलफल गर्छन्। बेलुकी फेरि बाँध निर्माण, वन-विनाश र डाँडा-काँडाहरू भत्काउने योजना बनाउँछन्। यदि आफ्नो फाइदाको निम्ति उनीहरूले तयार गरेको योजना ठिकसँग प्रयोग गर्न नपाए उनीहरूले युद्ध पनि गराउँछन्। जसरी अहिले युक्रेन-रुसबिच भइरहेको छ। 

लाखौँ रुपियाँको चिया पिउनेहरूको वर्चस्ववादी कहानी हिंसक छ। अत्यन्तै कुरूप र अमानवीय छ। तर लाखौँ रुपियाँको चिया उमार्नेहरूको कहानी कस्तो होला! थाहा छ?

जुन इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमान स्थलमा चौध लाख रुपियाँको चिया बिक्री हुन्छ, त्यहीँ पसलमा दार्जिलिङ टी चाहिँ ‘पाँच लाख’ रुपियाँ किलोमा बिक्री हुँदो रहेछ। 

एक केजी चिया पती तयार गर्नलाई साढे चार केजी ‘हरियो पती’ चाहिन्छ। पहाडका बगानहरूमा दिनमा एकजना श्रमिकले औसत 9 केजी हरियो पती टिप्नु पर्ने कम्पनीको आदेश छ। यस आकडालाई हेर्दा चिया बगानका एक जना श्रमिकले दिनमा दश लाख रुपियाँको चिया पती टिप्दो रहेछन्। दश लाख भनेको ‘वान मिलियन’ हो।

मालिकको लागि एक दिनमा ‘एक मिलियन’ आर्जन गरिदिने एकजना श्रमिकको ज्याला छ केवल 202 रुपियाँ। जुन ज्यालाबाट 12 रुपियाँ पीएफ फन्डमा जान्छ अनि 9 रुपियाँ राशनको दिइन्छ। उनको कामको तथा रगतपसिनाको मूल्य (?!) यति नै हो! चिया श्रमिकको यो ज्याला सुन्दा के हामी तर्सिँदैनौँ त!

साँच्चै हाम्रा चिया श्रमिकहरूले यी 181 रुपियाँ बाहेक कम्पनीबाट अन्य केही पनि पाउँदैनन्। घर, स्वास्थ्य, स्कुल र इन्धन जस्ता सहुलियतहरू वर्षौँदेखि लगभग बन्द भएको छ। तर कम्पनी मालिकहरूले भने केवल चियाबाट मात्रै होइन बगानभित्र विभिन्न योजनाहरू लागु गरेर दोब्बर मुनाफा कमाइ रहेका छन्। सरकारले पनि यी नै नाफाखोरी मालिकहरूको पक्षपोषण गरिरहन्छ। मजदुरहरूको हितको लागि सरकारी कानुन लागु हुँदैन जबकि मालिकहरूको हितको लागि नयाँ नयाँ कानुनहरू पारित गरिन्छ। युगौँदेखि बगान सेहार्दै आइरहेका मजदुरहरूलाई सरकारले आजसम्म पर्जा-पट्टा दिन चाहेको छैन। मिनिमम वेज छैन। बगानमा एकै दिनमा अरबौँ रुपियाँ नाफा कमाउने मालिकहरूको लागि भने रिसोर्ट र होटेलहरू बनाउने छुट सहितको कानुनहरू पारित गरिरहेको छ। 

अब आफूले टिपेको चिया पतीको मूल्य राष्ट्रिय अनि अन्तर्राष्ट्रिय बजारहरूमा कति रहेछ? सो हाम्रा चिया श्रमिकहरूले बुझ्न अत्यन्त जरुरी छ। फेरि पनि न्यूनतम ज्यालाको मागलाई दह्रो बनाउन जरुरी छ। पहाड-समतल लगायत विभिन्न क्षेत्रमा रहेका मजदुरहरूले आफूहरूलाई एकबद्ध गर्दै श्रमिक विरोधी नीतिहरूको डटेर विरोध गरौँ। आजको सरकारहरू भनेकै मालिकी व्यवस्थालाई काखी च्याप्ने हो, जसले कुनै पनि अवस्थामा मजदुर हितमा काम गर्दैन। त्यसैले यस्ता सरकार-सत्ता र व्यवस्थाको पनि परिवर्तन गर्न आवश्यक छ। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...