Tuesday, March 30, 2021

नचिनिने भएछ यस दार्जीलिङ

शमीक चक्रवर्ती



स्वाभिमानको स्वर गुञ्जिने जुन दार्जीलिङसँग मेरो प्रथम परिचय भएको थियो, आज त्यो नचिनिने भएछ। सन् 2008को मध्यभागको कुरा हो। केही साथीहरू जुटेर यताका 'राष्ट्रियता सङ्घर्ष'माथि डकुमेन्टरी फिल्म बनाउन अाएका थियौँ। त्यतिखेर पहिलो पल्ट बजारको चेप-गल्लीहरूमा आत्मनिर्णयको अधिकारको दह्रो आवाजसँग परिचित भएँ र आत्मियता बन्यो। 'पहाडकी रानी'को मुटुमा सय वर्षदेखि गुम्सिरहेको व्यथा चिनेँ। यहाँसम्मकि कमाने चोरबाटोहरूमा चियाबारीको क्रन्दनलाई पहिलो चोटि त्यतिबेलै महसुस गरेँ। यी पीडाहरूका स्रोत खोज्दै इतिहासको पन्नाहरू पल्टिँदै गएँ, मानिसका भुगोल भई हिँडी रहेँ। र नै त पहाड-तराइ-डुवर्सले बोकेका धेरै सपना र आवाजलाई साथ दिनु पर्छ भन्ने कुरामा विश्वस्त भएँ। पछिबाट सामेल भएँ त्यस्ता सङ्घर्षहरूमा।

'राष्ट्रियताको स्वीकृति'का निम्ति होस् वा 'खटीखानेहरूका उन्मुक्ति'-- यस क्षेत्रको इतिहास आमजनताको सङ्घर्ष र बलिदानले नै लेखिएको छ। कुनै एक पल्ट आन्दोलन विफल भएमा केही वर्षको सुनसानपछि यहाँका किनारीकृत समाज फेरि ब्युँझेर उठ्छ। जातीय सङ्घर्ष र वर्ग सङ्घर्षको जनउभारहरू चिन्हारीको लडाई अथवा निम्नतम ज्याला-पर्जापट्टाका निम्ति गुञ्जायमान हुन्छ। मेरो बुझाईमा यताका इतिहास यसरी नै चलिरहेको थियो। जनाकाङ्क्षाहरू जागरूक होस् वा सुषुप्त-- ती अवश्य नै रहीरहेको देखिन्छ। त्यसलाई मारेर नामेट पार्ने शक्ति कुनै पनि सरकारले देखाउन सकेन। केही वर्षको अन्तरालमा बारम्वार उठी रहेका यस्ता आवाजहरूलाई जुनैपनि सत्तासीन सरकारले, वामफ्रन्ट होस् वा तृणमूल -- दबाउने कोसिस गर्नेगर्छ। कतिलाई कुल्चिन्छ, कतिलाई किनिन्छ, अनि अन्तमा केही न केही मिलावटी वा देखावटी समाधान गर्छ। जुनै जोगी आए पनि कानै चिरेको भनेर मानिसले फेरी मुटुको धुकधुकीभित्र नयाँ बिहानीको सपनाहरूलाई जतनसित बचाएर राख्छन्। जीवन अनि समय यसरी नै चलिरहेको थियो।

तर अचेल नयाँ कुरा देखिँदैछ। केही समयदेखि जनाकाङ्क्षाको परिभाषालाई नै फेरिदिने चलाकी चल्दैछ। छुट्टै राज्यको मागको सट्टामा पीपीएस वा एघार जनजातिको एजेन्डा जोरतोरले हालिएको छ। जनताबीच त्यसकै चर्चा देखिँदैछ, वान फाईन मर्निङमा त्यही आउने प्रतीक्षा, नेताहरूको बयानमा त्यसकै उल्लेख, जम्मै सपना पनि यसले नै साकार हुन्छ भन्ने होहल्ला कताबाट पो उम्रेर आएको छ। मलाई त गोली खेल्दा गोलपोस्टलाई नै सारी दिएको जस्तो लाग्यो। फुटबल टिम खेल्दै थियो-- अनि स्ट्राईकरकोमा गोली पुग्दा साइडलाईनबाट कतिजनाले पीपीएस र 11 जनजाति भनेर कराउन थाले, अनि स्ट्राईकरले अकमकिँदै गोलपोस्टको सट्टामा अर्कैतिर शट हान्दा अझै कतिजना गोलपोस्टलाई नै सारेर फुटबल आउनेपट्टी लगेर जाँदैछ जस्तो। अनि गो...अो...ल भनेर कराउन तयार हुँदैछन् अझै कतिजना। त्यो साइडलाईनकोहरू, गोलपोस्ट सार्नेहरू, अनि गो...अो...ल भनेर कराउनेहरू बेग्लाबेग्लै कुनाबाट देखिए पनि तिनीहरू खासमा एउटै टिमका हुन्। अथवा एउटै टिमका भई पठाउछन्।

अब चुकेको बललाऐ सारिएको गोलपोस्टभित्र पस्नबित्तिकै मैदानभरिका खेलाडीहरू र ग्यालरीका दर्शकहरूले गो...अो...ल भनेर कराउने छन् के??!! अनि ठुक्क हुनेछ बिजेपीलाई! किनभने जनताका लक्ष्य र सपना नै फेरिदिन सफल हुनेछन् तिनीहरू! जुन दलले ब्राह्मणवादी हिन्दुत्वको धारणासँग कर्पोरेट पुँजीको मेलमिलाप गरेर जनतालाई भ्रमित पार्दै देशमा फासीवादी शासन कायम गर्नतिर अघि बढ्दैछ, त्यसले यताका किनारीकृत समाजलाई हेर्ने विचार खासै बोकेको छैन भन्ने कुरा त छर्लङ्ग छ। केही दिए पनि त्यसभित्र ब्राह्मणवाद-कर्पोरेट पुँजी-हिटलरी शासनका तत्वहरू समेटिएकै हुन्छ-- यो बुझ्नलाई विषले मानिस मार्छ के देख्न बिष चाख्न भएन नि! पश्चिमबङ्गाल राज्यकै सत्ता ताकिरहेको बिजेपीले अहिले छुट्टै राज्यको कुनै कुरा गर्दैन। त्यसैले पीपीएस भन्ने हावामिठाई र अन्य ललिपपहरूले मान्छेलाई लट्टाइरहेको छ। चिया बगानको मिनिमम वेज लिएर पनि त्यस्तै ढाट्ने काम भइरहेको छ। वेज कोड तथा लेबर कोडहरूले गर्दा मजदुरहरूलाई फाइदा हुन्छ भन्ने हल्ला पिट्ने भाजपाकोहरूले यस श्रमकोडहरू पारित गर्दा सिधै भनेको थियो कि यसले श्रमिकविरोधलाई साम्य पार्छ, अनि मालिकहरूलाई लगानी गर्नु सजिलो हुन्छ। 

खटीखाने मानिसका हक-अधिकार मेट्टाई दिने, अनि पहिचानको अस्मितालाई हिन्दी-हिन्दु-हिन्दुस्तानको हुरीभित्र हराई दिने यस षडयन्त्रहरूलाई डटेर विरोध गर्ने आवाज लिएर आज नभए भोलि फेरि उठ्ने छ भन्ने कुरामा विश्वस्त छु अझपनि।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...