Saturday, June 23, 2018

भाइरल रोहिङ्ग्या

छेवाङ योञ्जन

बसको भिडियो
रोहिङग्याहरू कालेबुङ भित्रिएको उत्पटाङ्ग खबरले उथलपुथल मच्चायो। थाना डाँडाअघि एउटा बसबाट मुसलमान मानिसहरू उत्रिरहेका भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा ‘रोहिङग्याहरू’ भन्दै व्यापक भाइरल गरियो। फेसबुक र व्हाट्सएपमा उक्त भिडियो यतिसम्म भाइरल गरियो कि जसलाई आममानिसले सत्य खबर नै सम्झिरहे। भाइरल रोहिङ्ग्याको खबर पाहाडको गल्ली गलछडी र गाउँ घरसम्म पुग्यो। आम जनताले त यो खबरलाई सत्य ठाने नै तर फेसबुक र 'व्हाट्सएप युनिभर्सिटी'बाट ज्ञान हासिल गरेर सामाजिक बौद्धिकताका उपाधि प्राप्त गरिसकेका महानुभावहरूसमेतले भाइरल रोहिङ्ग्यालाई खतरा ठहराए। मान्निएको लेखक, सर्जकहरू र युवा चिन्तकहरू धरिले कालेबुङमा रोहिङ्ग्या भित्रिएको उडन्ते खबरलाई हावा दिइरहे। मेरो फेसबुक फ्रेन्ड लिस्टमा भएका युवा सर्जकहरूबाट दिनमा दर्जनौँ रोहिङ्ग्या भिडियो आउँथ्यो अनि मलाई सजग गराउँथ्यो ‘कालेबुङमा सयौँ रोहिङ्ग्या छिरेका छन्, होसियार!’ फेसबुकका क्रान्तिकारी गोर्खे युवाहरूबाट प्रतिदिनै आह्वानका साथ भिडियो सेयर गरिन्थ्यो ‘गोर्खाहरूका निम्ति रोहिङ्ग्या खतरा।’
यसै भाइरल भिडियोलाई हावा दिँदै राजनीतिक नेताहरूले पत्रकारसम्मेलन गरी आफ्ना भद्दा विचारहरू फ्रन्टलाइनहरूमा छपाए। कुनै प्रकारका सत्य तथ्य बिना नै स्थानीय नेताहरूले भाइरल भिडियोबारे प्रतिक्रिया दिए। भाइरल भिडियोबारे अन्धाधुन्ध राजनीतिक टिप्पणी गर्ने नेतृत्नवहरूका बौद्धिकस्तर पनि रोहिङ्ग्याको भाइरल प्रकरणले स्पष्टै पाऱ्यो। भाइरल भिडियोबारे राजनीतिक टिप्पणी आउँदा ‘कालेबुङमा रोहिङ्ग्या भित्रिए’को किर्ते खबरले झनै बलियोसँग आम मान्छेको दिमाग ओगट्यो। किन कि पाहाडको समाजमा अझै पनि ‘हनुमाने’ नेताहरू नै ‘हाबी’ छन्। भाइरल रोहिङ्ग्या भिडियोले यतिसम्म इरिटेट गऱ्यो कि मलाई पनि फेसबुकमा लेख्न करै लाग्यो अनि लेखिदिएँ – ‘प्यारा मुसलमान साथीहरू, कुनै दिन गोर्खाहरू झोला बोकेर तपाईँको गल्लीतिर आउँदै गरेको देख्नु भो भने भिडियो बनाउनुहोस् र बेस्सरी भाइरल गरेरे प्रचार गरिदिनु होस् “माटो बेच्नेहरू हाम्रा गल्लीतिर भित्रिरहेका छन् होसियार” भनेर।’
दार्जीलिङ बाहिर हुने साहित्यिक सम्मेलनतिर दार्जीलिङका सर्जकहरूलाई नेपालबाट आएका भनेर सम्बोधन गरी दिँदा सम्पूर्ण दार्जीलिङवासी बिच्किएर ‘सम्मेलन बहिष्कार’ जस्ता चर्चा गर्थे तर कुनै दिन हाम्रा सर्जकहरूले सम्मेलन बहिष्कार चैँ गरेनन्। देशकै अन्य राज्यहरूका भ्रमणमा जाँदा पनि दार्जीलिङका नेपालीहरूलाई नेपालको भनेर कुनै गैरनेपालीले सम्बोधन गरे मन दु:खाउँछन्। तर कालेबुङ आएका मुसलमानहरूलाई चैँ ‘रोहिङ्ग्या’ भन्दै भिडियो भाइरल गर्छन्। कुनै दिन दार्जीलिङका गोर्खाहरू कलकता नजिकको सोनारपुर पुग्दा त्यहाँका मुसलमान समुदायले उत्पटाङ्ग भिडियो बनाएर भाइरल गरिदिए कस्तो अनुभव हुन्छ? आफैँ फिल गर्नुहोस्।

रोहिङ्ग्या सम्बाद
रोहिङ्ग्या भिडियो लिएर बजारको चिया दोकान, चोक गल्लीहरूमा चर्चा चलिरहेको थियो। रोहिङ्ग्याहरू गोर्खाका निम्ति खतरा, राष्ट्रका निम्ति खतरा भन्ने चर्चा बजारमा व्यापक हुँदै गयो। ‘मस्जिदमै बसेका छन् रे’ भन्ने कुरा सोसियल साइटदेखि मान्छेको औँठ औँठसम्म आइपुग्यो। यस्तै चर्चाहरू गाउँ बस्तीतिर पनि पुगेछ। गाउँबाट फोनहरू आउन थाल्यो— ‘ए भाइ तिमारको तिर त रोहिङ्ग्या छिरे’छ, होसियार बस है।’
रोहिङ्ग्या चर्चा चुलिरहेको समय बजार निस्किँदा पत्रकार मित्र मुकेशसँग मेरो भेट भयो। पत्रकार साथी मुकेशको घर कालेबुङको ठाकुरवाडीमा अवस्थित मस्जिददेखि करिब 10-15 मिटरको दुरीमा छ। उनलाई देख्नसाथ मैले भने ‘सत्य के हो खिचेर देखाइ दिनु नि।’ उनले भने – मस्जिदमा प्रत्येक वर्ष कलकताबाट मुसलमानहरू आउँछन्। 15-20 दिन बस्छन्। यो उनीहरूको धार्मिक भ्रमण हो।’ ‘यही कुरा खिचेर देखाइ दिनु नि, मानिसमा सत्य खबर पनि पुग्नुपर्छ’ मैले यसै भने।
पत्रकार मित्र मुकेशको कुराले स्पष्टै भयो हिजोसम्म रोहिङ्ग्याको नाममा भाइरल भइरहेका मानिसहरू कलकता नजिक सोनारपुरबाट आएका इस्लाम धर्मावलम्बीहरू हुन्। मुकेश र म बिचको कुराकानी सुनिरहेका अर्का पत्रकार साथीले पनि आफ्ना प्रतिक्रिया दिए। उनले भने – ‘मुकेशले त स्पष्ट पार्ला नै, तर कुनै दिन कालेबुङमा बम पड्क्यो भने कसले जिम्मा लिने?’ उनी भाइरल रोहिङ्ग्याबारे आफ्ना प्रतिक्रिया दिँदै ‘सिरिया जस्तो नहोस्’ भनेर हतारसाथ मुकेशसँगै कामतिर कुदे। उनीहरू हिँडिसकेका थिए। मलाई चैँ नयाँ पत्रकार साथीको बौद्धिक चिन्तनमाथि हरेस लाग्यो। किन कि उनले रोहिङ्ग्या, मुसलमान, सिरिया, आतङ्कवाद जम्मै जम्मैलाई एक्कै ठाउँ मुछिरहेका थिए। फेसबुक र व्हाट्सएपमा आउने फेक न्युजले जनसाधारणमा त भ्रम फैलाइ रहेकै छ। तर पत्रकारहरूसमेत फेक न्युजको भक्त रहेछन् भन्ने कुरा तिनै साथीको बौद्धिकताले प्रस्ट पाऱ्यो। फेक न्युज छुट्याउन नसक्ने पत्रकारले रोहिङ्ग्या र आतङ्कवादबारे खुट्याउने कुरै आएन। यस्ता धमिलो स्थितिमा जनताले रोहिङ्ग्या राजनीतिको ‘ग्रिन रुम’ कसरी बुझ्न सक्छन्? मेरो चिन्ता त्यतातिर गयो। पत्रकार साथीहरूसँगको कुराकानी पछि म घर फर्के। साँझ व्हाट्सएपमा पत्रकार प्रज्ज्वलको म्यासेज आयो। समाचार लिङ्क रहेछ ‘हामी रोहिङ्ग्या होइनौँ, भारतीय हौँ’। मस्जिदमा बसेका मुसलमानहरूले बयाननै दिएछन्। तर धार्मिक भ्रमणका निम्ति मस्जिदमा आएका मुसलमानहरूले बयान दिँदा पनि रोहिङ्ग्या चर्चा शान्त भएन। रोहिङ्ग्याहरू राष्ट्रका निम्ति खतरा भन्ने पोस्टहरू फेसबुकतिर चलिनै रह्यो। राजनीतिक बजारमा पनि यही चर्चा चुलियो। तर रोहिङ्ग्यालाई कसले राजनीतिक एजेन्डा बनाउँदै छ भन्ने कुरामा चैँ कुनै प्रकारको चर्चा भएन।
यसैले ‘रोहिङ्ग्या कसको राजनीतिक एजेन्डा?’ त्यसको पनि चर्चा गरौँ तर त्यो भन्दाअघि रोहिङ्ग्या को हुन्? भन्ने बुझौँ।

शरणार्थी अनुहार
आफ्ना हैकमवाद कायम राख्न राज्यसत्ताले कुनै दुई गुट मध्ये एकलाई आफ्नो पक्षमा राख्छ अनि अर्कोलाई उच्छेद गर्छ। विश्वभरि नै राज्यसत्ताको यस्तो नीति कायम छ। हाम्रै आँखा अघि भुटान सरकारले नेपालीहरूलाई लखेटेको घटना ताजा छ। अहिले पनि विश्वका विभिन्न देशहरूबाट त्यहाँका सरकार/राज्यसत्ताले अल्पसङ्ख्यक मानिसहरूलाई उच्छेद गरिरहेको छ। अफ्रिका, मेक्सिको, सिरिया जस्ता देशहरूबाट लाखौँ सङ्ख्यामा अल्पसङ्ख्यकहरू शरणार्थी बनिरहेका छन्। यस्तै शरणार्थीहरू मध्ये एक हुन् रोहिङ्ग्या मानिसहरू। जो आफ्नै थलो ‘म्यानमार’बाट शरणार्थी बन्न पुगेँ। म्यानमार सरकारले आफ्नो वर्चस्व कायम राख्न त्यहाँका रखाइन मानिसहरूलाई सत्ताको पक्षमा राख्यो अनि अल्पसङ्ख्यक रोहिङ्ग्याहरूलाई देश निकाला गऱ्यो। यसैले भुटानका नेपाली शरणार्थी झैँ रोहिङ्ग्याहरू पनि म्यानमारबाट लखिटिएको शरणार्थी हुन्। संयुक्त राष्ट्रसंघले सन् 2013मा रोहिङ्ग्याहरूलाई संसारका सबभन्दा थिचिएको अल्पसङ्ख्यक समुदाय हो भनेर चिह्नित गरेको छ। त्यसैले राज्यसत्ताको हैकमवादको कारण आफ्नै थलो गुमाएका शरणार्थीहरू कसरी आतङ्कवादी हुन् सक्छ? के भुटान देशबाट शरणार्थी बनेका हजारौँ नेपालीहरू आतङ्कवादी हुन् त? भुटानी शरणार्थीहरूप्रति मानवीय भावना राख्नेहरूले किन रोहिङ्ग्या शरणार्थीहरूलाई भने खतराको नजरले हेर्छ? के विश्वमा गोर्खा बाहेक अन्य जात धर्मका मानिसहरू जम्मै खराब हुन्/आतङ्कवादी हुन्?

रोहिङ्ग्या : इतिहास
युगौँदेखि 10.1 लाख रोहिङ्ग्याहरू पश्चिम म्यानमार प्रान्तमा रखाइन मानिसहरूसँग बसोबास गर्दै आइरहेका थिए। रोहिङग्याहरू इस्लाम धर्म मान्छन्। रखाईनहरू बौद्ध धर्म पालन गर्छन्। पछि त्यहाँका रखाईनहरू राज्यका प्रमुख भए अनि अल्पसङ्ख्यक रोहिङ्ग्याहरूमाथि थिचोमिचो गर्नथाले। सन् 1962-मा म्यानमारमा सैन्य कानुन लागु भएपछि झनै रोहिङ्ग्याहरूमाथिको अत्याचार बढ्न थाल्यो। 1982-मा म्यानमारका तानाशाहा जनरल विनले नयाँ नागरिकता कानुन लागु गरे। जुन कानुनले रोहिङ्ग्याहरूको नागरिकता खोसियो। 1982 देखि यता म्यानमारका रोहिङ्ग्याहरूलाई देशकै सरकारी सुविधाहरूदेखि वञ्चित राखियो। 2014-मा म्यानमारमा भएको राष्ट्रिय जनगणनासमेतमा तिनीहरूलाई सामेल गरिएन। आफ्नै देशमा अमानवीय शास्ती भोगिरहेका रोहिङ्ग्याहरू देश छोड्न बाध्य बने। आफ्ना वासभूमि छोड्न बाध्य बनेका 11 लाख भन्दा अधिक रोहिङ्ग्याहरू शरणार्थी बन्न पुगे। उग्रबौद्धधर्मी बाहिनीले गरेको दङ्गमा 1 हजार रोहिङ्ग्याहरूले ज्यान गुमाए।
90 हजारभन्दा धेर पीडित रोहिङ्ग्याहरू बङ्गलादेशमा शरण लिन पुगे भने कोही रोहिङ्ग्या अझै पनि म्यानमारकै सीमा क्षेत्रहरूमा भट्किरहेका छन्। राज्य आतङ्कको कारण घर परिवार त्याग्न बाध्य बनेका रोहिङ्ग्याहरू अहिले थाइलेन्ड, मलेसिया, इन्डोनेसियासम्म पुगेका छन् भने भारतमा पनि रोहिङ्ग्याहरूले शरण लिइरहेको खबर छ। तर भारतमा भने कट्टर हिन्दुवादी शक्तिहरूले भारतकै मुसलमान समुदायलाई पनि निशाना बनाइरहेको अवस्था छ। यस्तै तनाउग्रस्त स्थिति बिच उम्रिएको छ ‘रोहिङ्ग्या राजनीतिक एजेन्डा।’

रोहिङ्ग्या राजनीतिक एजेन्डा
भारतमा अहिले फासीवादी शक्तिको दबदबा चरम अवस्थामा छ। भारतीय जनताको पार्टीको ‘ब्याकबोन’ विश्व हिन्दु परिषद् र आरएसएसको उग्रहिन्दुवादी चरित्रले यो कुरा स्पष्ट पारेको छ। 2022-मा भारतलाई हिन्दु राष्ट्रको दर्जा दिने दौडमा हिँडिरहेको भाजपा सरकारले मुसलमान, दलित र आदिवासीहरूसमेत जम्मै गैर-हिन्दुहरूलाई आफ्नो निशाना बनाइरहेको छ। भाजपाको अगुवाइमा भइरहेको जातीय दङ्गाहरूमा लाखौँ मुसलमान र दलितहरूले ज्यान गुमाइरहेका छन्। राष्ट्रीयस्तरमा भाजपाको मुसलमान विरोधी छवि स्पष्ट भइसकेको छ। देशको विकास भन्दा धेर हिन्दु-मुसलमान दङ्गा अनि राम मन्दिरको विवाद सृजना गरेर भाजपाले राजनीतिक वर्चस्व बनाइरहेको छ। तर यता, पश्चिम बङ्गालमा भने ममता सरकार भाजपाका निम्ति ठुलो चुनौती बनिरहेको छ। बङ्गालमा पनि भाजपाले आफ्नो सत्ता कायम राख्ने प्रयास जारी राखेको छ। यसैले ममता ब्यानर्जीलाई मुसलमानवादी रूप दिँदै भाजपाले बङ्गालमा हिन्दुवादी शक्तिलाई सत्तामा ल्याउने प्रयास गरिरहेको छ। ममता सरकारले पनि आफ्ना सत्ता कायम राख्न जम्मै प्रकारका तानाशाही शक्तिहरू प्रयोग गरिरहेको छ। ममता सरकारलाई हिन्दु विरोधी रूप दिन भाजपाले बङ्गालमा ममता सरकारले रोहिङ्ग्या भित्राएको र रोहिङ्ग्याहरू राष्ट्रको निम्ति खतरा हो भन्ने प्रचार गरिरहेको छ। वास्तवमा यसै फासीवादी हल्लाको एउटा सानो झिल्को हो कालेबुङको ‘भाइरल रोहिङ्ग्या भिडियो।’ रोहिङ्ग्या मुसलमानको एजेन्डा बनाएर भाजपा सरकार बङ्गालमा आफ्नो सरकार गठन गर्ने योजनामा छ। यसैले राज्यको तानाशाही ममता सरकार अनि केन्द्रको फासीवादी मोदी सरकार दुवैले मुसलमानसाथै रोहिङ्ग्याहरूलाई आफ्नो राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको छ।
यसैले जनतालाई रोहिङ्ग्या होइन यस्ता तानाशाही दुवै सत्ताको खतरा छ। जसले जात र धर्मको टुँडिखेल बनाएर मान्छेमाझ हिंसक विभाजन गरिरहेको छ।

No comments:

Post a Comment