Saturday, December 9, 2017

आधा आकाश, दुगुना बोझ !

दार्जीलिङ बजारको महिला भरियाहरू 

अम्बिका राई


बोजुलाई नाम सोध्दा नाम भन्नुभएन! बोजु मात्रै भनीरहनुभयो! उनी सबैको प्यारो बोजु हरे! सबैले बोजु नै भन्छ रे! कत्ति हो कत्ति कुराकानी भयो— गीत गुनगुनाउँदै, नाचे झै जीउ हल्लाउदै बोजुले आफ्नो जीवनको दुखसुख-उकालीओह्रालीको कहानी गरिरहिन्! उमेरले साठ्ठी नाघे तापनि प्रत्येक दिन गोयेंका पेट्रोल पम्प आइपुग्नु हुन्छ बोजु। शरीरले सक्दो भारी बोक्ने काम गर्नुहुन्छ, र रहल समय साथीहरूसँगको गफमा बिताउँछिन् बोजु। बुढेसकालसाथै एक्लोपनको जीवनमा यो एकप्रकार रिलिफ पनि हो उनको निम्ति। दार्जीलिङको गोयेंका पेट्रोल पम्पमा यसरी एकाबिहानै आइपुग्छन् गङ्गामाया अनि पार्वतीहरू। दार्जीलिङ बजारको रेल्वे स्टेशन, चौकबजार, चौरस्तातिर भारी बोकेरै जीवन निर्वाह गरिरहेका छन् सोमती थामी, लीलामाया छेत्रीहरू। यस पेशामा पुरुषहरू त छदै छन्। तर नाम्लोलाई नै आय आर्जनको माध्यम ठानेर भरिया पेशामा लागेका पहाड़ी महिलाहरूको कथा समाजले पनि सुन्नु पर्छ। उनीहरूसँग कुराकानी गर्ने अवसर मिल्यो र तयार पारे यो प्रतिवेदन!
समाजमा उहिलेदेखिनै मान्छे लगाएर भारी बोक्ने चलन थियो। हजारौँ साल अघिको कुरा गर्ने हो भने मान्छेहरूले आफै नै ठूला ठूला भारी उचाल्ने काम गर्थे। दास प्रथाको बेला त झन् सबै काम मान्छेले ने गर्थे। अहिले पनि दुर्गम क्षेत्रहरूमा यातायातको उचित सुविधा छैन। त्यस ठाउँहरूमा गाडी पुग्न सक्दैन र मान्छेले नै सबै सर-सामानहरू बोक्ने काम गर्छन्। यस्ता भारी बोक्ने पेशामा लागेकाहरूलाई चल्ती भाषामा भरिया भन्छौँ। उनीहरूले भारी बोकेरै आफ्ना घर संसार चलाउँछन्। दाश प्रथा अन्त भयो। विज्ञानको भरपूर विकास भएको छ। तर युगौदेखिको भरिया पेशा यथावत नै छ। शहरको तमाम होटेलहरू, ट्याक्सी स्टयाण्डहरू, रेल स्टेशनहरू लगायतको अन्य ठाउँहरूमा आज पनि भरियाहरूको जरुरत छ। 
जब भरियाको कुरा आउँछ, हाम्रो दिमागमा पुरुष भरियाको कल्पना आउँछ। कारण हामीलाई बाल्यकालदेखिनै सिकाएको छ कि पुरूषहरू बलवान हुन्छ अनि महिलाहरू कमजोर! ठुलो ठुलो सामान वा भारी बोक्ने काम पुरुषहरूको हो, नारीको होइन भन्ने जड़ विचार हामीसँग छ। एउटी महिला वा नारीको काम हो 'घर भित्र बसेर खाना पकाउने अनि बाल बच्चा ख्याल गर्ने।' सबै क्षेत्रमा नारीहरूलाई पुरूष भन्दा कमजोर रहेको देखाइ दिन्छ। तर जब आफूलाई सङ्कट आइपर्छ तब नारी होस् वा पुरूष दुवैले चुनौतीहरूको सामना गर्नु पर्ने नै हुन्छ। अझ पेट भर्नलाई त नारी पुरूष दुवैले कुनै पनि प्रकारका काम गर्नुपर्ने हुन्छ। 
संसारका अन्य क्षेत्र लगायत दार्जीलिङमा पनि हामी यस्ता धेरै भरियाहरूलाई भेटछौँ। उनीहरू भारी बोकेर आफ्नो अनि परिवारको पेट पाल्ने गर्छन्। वर्षौदेखि उनीहरू यही काम गरेर दुइ छाक रोटी जुटाइरहेका छन्। यी भरियाहरू मध्ये कोही दार्जीलिङकै बासिन्दा हुन्। तर धेरै जसो नेपालबाट आएकाहरू पनि छन्। उनीहरू धेरै अघिदेखि आफ्नो सम्पूर्ण वा आंशिक परिवार सँग दार्जीलिङ आएका हुन्। उनीहरू दार्जीलिङ बजारको छेवछाउमै भाड़ाको कोठा लिएर बसेका छन्। जब कामको 'सिजन डाउन' हुन्छ त्यस समय उनीहरू नेपाल जान्छन्। कोही कोही भने अन्य कामहरू गर्दै यहाँ नै बस्छन्। उनीहरूका नानीहरूले पनि यहाँ विद्यालयहरूमा नै शिक्षा आर्जन गरिरहेका छन्। कतिजनाको नानीहरू नेपालमै छ्न।
दार्जीलिङ बजारमा पुरुष भरियाहरू सरह नै महिला भरीयाहरू पनि धेरै छन्। 30-60 वर्षसम्म उमेर पुगेका महिलाहरूले भारी बोक्ने कामलाई आफ्ना पेशा बनाएका छन्। बिहान 5 बजी उठ्छन् उनीहरू। परिवारका अन्य सदस्यहरूका निम्ति खाना पकाउँछन्। घर सर-सफाइ गर्छन् अनि ठीक 9 बजी हातमा नाम्लो लिएर निस्कन्छन् शहरको भीड़भाड़ चोक अनि मोटर स्टयाण्डहरूमा। दिनमा कति भारी बोक्ने? अनि कति रुपियाँ कमाइ हुन्छ त्यसको ठीक आकड़ा छैन उनीहरूसँग। कहिले काहिँ दिनमा 200-500 सम्म कमाई गर्छन् तर कुनै कुनै बेला रित्तो हात घर फर्कन्छन् उनीहरू। कोही बेला त एक गिलास चिया किन्ने पैसा जुटाउन पनि गाह्रो हुन्छ भरियाहरूलाई। दिनभरिको खटाईपछि साझ 5-6 बजे घर फर्किएर जाँदा घरको कामले पर्खिएर बसी रहेका हुन्छन् उनीहरूलाई। यसरी नै बित्छ उनीहरूको दिनचर्या। मनमा केवल आशा हुन्छ त भोलिको दिनमा काम पाउने। वर्षौदेखि यसरी नै बितिरहेको छ उनीहरूको दैनिक जीवन। कसै-कसैले भारी बोकेरै नानीहरूलाई पढ़ाइरहेका छन्। तर कोही भरियाले भने आफ्ना सन्तानहरूलाई पाठशालाको अनुहारसमेत देखाउन सकिरहेका छैनन्। तर छोराछोरीले सरकारी नौकरी गरेको हेर्ने सपना पाल्छन् उनीहरू। भन्छन् 'छोरा-छोरीले हामी जस्तो भारी बोकेर पैसा कमाउन नपरोस्।' यस्तै चुनौतीपूर्ण सपनाहरूका साथ सङ्घर्ष गरिरहेका छन् दार्जीलिङका 'वुमन पोर्टर'!
होटल होटल गाड़ी जान थालेदेखि उनीहरूको भारी बोक्ने पेशामा ह्रास आउन थालेको छ। उनीहरू भन्छन् 'टुरिस्टहरूको सामान गाड़ीले होटलसम्मै पुऱ्याइ दिन्छ, भारी बोक्नु पाइन्न। यी महिलाहरू दार्जीलिङ बजारको भिन्न भिन्न स्थानहरूमा काम गर्छन्। कोही गोएंका पेट्रोल पम्प अघि, त कोही चौरस्ताको एक कुनामा हुन्छन्। तर धेरजसो मोटर स्ट्याण्डमा हुन्छन्। यो काम गर्नलाई उनीहरूले कतै गएर नाम लेखाउनु पर्दैन। बस बलियो नाम्लो उनीहरूको ठूलो हतियार हो। जुन महिनामा धेरै काम हुन्छ। त्यस समय धेरै महिलाहरू नेपालबाट 2-3 महिनाको निम्ति दार्जीलिङ आउँछन्। सिजन डाउन हुनसाथ आफ्नो देश फर्कन्छन्। यसरी सुरक्षा बिहिन उनीहरू दार्जीलिङ शहरका गल्लीहरू काम गरिरहेका छन्। 
खटी खाने मजदुरको न त जात हुन्छ, न धर्म। उनीहरू त केवल आफ्नो पसिनाको बलमा बाँचिरहेका छन्। त्यो गाउँमा खेतीपाती गरेर होस्, चिया बगानमा श्रमिक भएर होस् वा ठूलाठूला बजारको सडकमा कामको खोजीमा होस् उनीहरू आफ्नै पसिनाको मूल्यको साथमा बाचिरहेका छन्। अब यी भरियाहरूको लागि त झन सामाजिक सुरक्षाको व्यवस्थाहरू पनि छैन। थोरै रहेको सरकारी योजनाबारे पनि उनीहरूलाई राम्रोसँग थाहै छैन। भारीको बोझ, थुप्रै सामानहरू भएको प्यासेन्जरहरूको आशा, नानीहरूलाई पढाउने सपना, र दुई छाक जुटाउने प्रयासमा दार्जीलिङको प्रत्येक चोक र गल्लीहरू हिडीरहेका छन् यी भरियाहरू।

No comments:

Post a Comment