Friday, July 4, 2014

रेड बैङ्क !!

पल्लविब राई



भोकलाई खाना, निन्द्रालाई छाना  
तिर्खालाई पानी, रहरलाई कलम-कापी...
हास्नालाई त त्यति थोरै हुन्न नि ?

बाँच्नलाई त यो पसिना छदैछ .....

पर बाट दुगुर्दै आएको भाइलाई सोधे, ‘भाइ आज छुट्टी?’ भाइ त अल्मलियो। एकछिन पछि म पनि छक्क परे। 
भोक लागिन्जेल, भाइको छुट्टी कहिले हुन्न। हामीले ‘सपना’को ‘इस्पेललिंग’ सिकेको उमेरमा त्यो भाइ, भाइहरू, बहिनीहरू पेट पाल्नलाई  खोलामा गएर गिट्टी र बालुवाहरू सँग लाप्पा खेल्दो रहेछ। ‘कमाइ त गर्नु पर्यो्...पेट त भर्नु पर्योट...घरमा कामदाम कसैको छैन’ भाइले कुनै भावना बिना रुखो पाराले भन्यो। मलाई कस्तो पनि लागेन। परिस्थितिले मान्छेलाई उमेर भन्दा पहिले लाठे बनाउछ भनेर मेरो बाबाले भन्ने गर्थे। परिस्थितिले कलिला हत्केलाहरूलाई बेग्लै रङ्गको पनि बनाउदो रहेछ, दौडेर घर गई बाबालाई भन्न मन लाग्यो। 

वैशाखको चर्को घाम, समय समयमा बजिरहने रेलको उराठलाग्दो चिच्याहट, ‘पवार्टी’को (गरिबीको) ‘थीम’मा (शीर्षकमा) कुनै महँगो आर्ट कलेजको नवसिखा कलाकारले बनाएको नक्साभित्रको आकारहरू जस्तै घरहरू, सिकुटो सिथिर शरीरहरू, अनौठो किसिमले सुनसान, वाक्क भएर पनि नथाकेको आशा, भोकले रुझेका आँखाहरू, हेर्दै तिर्खा लाग्ने फलामका  गत्तिला गत्तिला चापाकलहरू, चिया बगानको बिचमा उभी रहेको विशाल नपुंशक फ्याक्ट्री, रङ्ग उत्रेका पुराना पोशाकहरू, गोर्कीको ‘आमा’को पहिलो केही पन्नाहरू जस्तो मर्म, बेग्लै कथा, कुनै बेग्लै संसार, यस्तै कस्तो थियो रेड बैङ्क चिया बगान।

 डुअर्सको जल्पाईगुडी जिल्लामा, बानरहाट नजिक स्थित ‘रेड बैङ्क’ पछिल्लो एक दशक भन्दा अघिदेखि बन्द छ। खानलाई कठोर सङ्घर्ष, पिउनलाई थोरै पानी, पढनलाई अमिल्दो स्तिथि अनि हताशलाग्दो गरिबीको बिचमा, प्रत्येक छन्, मर्दै बाचिरहेको छ रेड बैङ्क। एकजना स्थानीय बासिन्दाले बताए अनुसार, त्यहाँ पछिल्लो नौ महिनामा ३२ जना मानिसहरू केवल भोकमारी र बिमारीको कारण बितेर गए। लक्भक ५००० भन्दा बेसी जनसङ्ख्या भएको कमानमा, मानिसहरूलाई दिनको एक छाक जुराउन गाह्रो पर्छ। तीन नम्बर गाउँको जयन्त मुण्डा पाँच महिनादेखि टि.बी, सुन्निएको पेट अनि खुट्टाको घाउले सिकिस्त छ। घरमा खानलाई त हाहाकार भएको समय, उनको उपचार सम्भव छैन। उनको रोग रेड बैङ्कको स्थानीय स्वस्थ केन्द्रको उपचार अघि अतिनै विशाल छ। जयन्त भन्छन्, रेड बैङ्कमा उनी जस्ता बिरामीहरू धेरै धेरै छन्। ‘चाय बगान मजदुर युनियन’का सचिव अनि स्वयम् रेड बैङ्कका बासिन्दा श्री सञ्जय उरावले बताए अनुसार बन्द बगानमा मनिसहरू बिरामी बन्नको कारण स्वच्छ पिउने पानीको अभाव पनि हो। उनले बताए अनुसार, पंचायतले लगाएको चापाकलहरू एकमात्र पानीका श्रोत हुन् जसमा १० लिटर पानी भर्नलाई १५० चोटि जस्तो हातले चापाकल चलाउनु पर्छ। रेड बैङ्कले बाल्यकाल हराएको छ। पढ्ने, खेल्ने, कुद्ने, रमाउने उमेरमा केटा केटीहरू भोक र पेटको सङ्घर्षमा लागि परेका छन्।

नीतिहरूको दोष हुन सक्छ, या त यो कोल्टे बनावटको बेग्लै धराताल छ। नत्र, विश्वको तेस्रो ठुलो अर्थप्रबन्धमा कुनै खटि खाने मजदुर कसरी भोकले मर्न सक्छ? दर्शन अनि अध्यनहरूले आफ्ना आफ्नै भाकामा बोल्लान्, त्यस्तो कुरोहरू म त त्यति बुझ्दिन। तर, रेड बैङ्कमा भयानक आर्थिक अन्याय हुँदैछ, जस्ले आफू सँग सामाजिक अनि सैक्छिक प्रतिबिम्बहरू पनि समेटेको छ। नत्र, विश्व प्रख्यात चिया बनाउने मजदुरको नातिले, कलम र कापी चेपेर पाठशाला जाने उमेरमा, किन खोलाको चाम्रो ढुङ्गा कुटी कुटी एक छाक भात जुराउनु पर्दैछ? 

 घाम, आफ्नै रफ्तारमा उकाली चड्दै थियो। रेड बैङ्कले धेरै कथाहरू साँची राखेको थियो। ‘ठुलो भएर चाहिँ के बन्ने?’ भाइलाई सोधी दिए। लजाउदै भाइले पनि ‘खै कुनी...आर्मीमा जान्छु होला’ भनी दियो। ‘थेत मोरो, आर्मीमा जाने मान्छे लजाएर कहाँ हुन्छ?’ भन्न पनि सकिन। 

हामीले बोकेको पैतालिस हजारको क्यामेरामा भाइको नक्सा मात्र छापिन सकेछ। दस्तुरहरू कट्टर हुन्छन्, सायद त्यसैले होला उसको सपनाको कुरा त्यसले सुन्न सकेन। आवाज त दशपल्ट त्यसलाई कोट्याउदा पनि सुन्दै सुनिएन। सुनिए भने कहिले मात्र सुनाउनलाई सुनिए, कहिले देखाउनलाई ‘सुनियो’ भनिए, कहिले कमाउनलाई सृंगारको मार्मिक सारंगी बजाउदै सुनाइए,कहिले दर्शनहरूको रक्सीमा भिजाएर मधुमस्त पनि सुनिए। सुनाउने र देखाउने यस्तै दस्तुरहरू बिच त्यस्तै अनगन्ती रेड बैङ्कका हजारौँ सानोभाई सायद लजाउदै बोलिरहेछ। भोकलाई क्यामेरा फर्काएर के के सोधी रहनु मलाई त लाज-लाज पनि लाग्न थाल्यो।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...