Friday, July 4, 2014

कथा : अनुवाद

गाउँमा केही नराम्रो घटना घट्नु आँटेको छ

गाब्रिएल गर्सिया मार्केज 

एउटा सानो गाउँमा एकजना बुढी औरत आफ्नो दुईजना छोराहरू सित बस्ने गर्थिन्, जेठो छोरो १६ वर्षको र कान्छो १४ वर्षको थियो। एकदिन नानीहरूलाई खाजा दिँदै गर्दा आमाको मुखमा चिन्ताको रेखा देखेर नानीहरू आमालाई के भयो भनेर सोध्छन् आमा भन्छिन— मलाई थाहा छैन, तर आज मलाई घरी-घरी यस्तो आभास हुँदैछ कि पक्का पनि यो गाउँमा केही नराम्रो घटना घट्नु आँटेको छ। 

दुवै छोरा आफ्नो आमाको कुरा सुनेर हाँस्छन्। भनिन्छ कि केही घटना हुन अघिनै बुढा-पाकाहरूले त्यसको पूर्वाभास पहिल्ये पाउछन् रे। छोरा पुल खेल्न जान्छ, र एउटा अत्यन्त सजिलो गोली खान मात्र आँटेको हुन्छ कि अर्को एउटा खेलाडीले बिच्चैमा भन्छ— म एक पेसोको बाजी खेल्छु, तिमी यो खेल जित्न सक्दैनौ भनेर। 

छेउ-छाउको सबैजना गलल हाँस्छन्। केटो पनि हाँस्छ। उसले गोलीलाई ताकेर हिर्काउछ तर जित्न सक्दैन। बाजीको एक पेसो बुझाउँदा सबैजना उसलाई सोध्न थाल्छन्, के भयो त्यो गोली जित्न कति सजिलो थियो। उसले भन्छ— पक्कै हो तर मलाई आज बिहान आमाले भन्नुभएको कुरोले चिन्ता भयो, आमाले यो गाउँमा केही नराम्रो घटना घट्नु आँटेको छ भन्दै थिईन्। 

सबैजना उ माथि हाँसी दिन्छन् र पेसो जित्ने मान्छे आफ्नो घर तर्फ लाग्छ, जहाँ उ आफ्नो आमा वा कुनै आफन्त सँग बसोबास गर्छ। आफूले जितेको पेसो देखाउँदै रमाउँदै उ भन्छ— यो पेसो मैले दामासोबाट एकदमै परिश्रम नगरी जितेको हो कारण उ मूर्ख छ। 

उसको कुरा काट्दै उसको आमाले भन्छिन्— तिमी बुढा-पाकाले भनेको कुराको खिल्ली नउडाउ, कहिले-काँही त यस्तो कुरो साँच्चीनै पो हुन्छ त। 

आफन्तले यो कुरा सुन्छिन् र मासु किन्न बजार जान्छिन्। तिनी गोसखानेलाई भन्छिन्— मलाई एक पाउण्ड मासु देऊ त वा यस्तो गर... जब मासु काटिँदैछ मलाई दुई पाउण्ड मासु देऊ, मलाई अलिक ज्यादानै चाहिन्छ कारण मानिसहरू गाउँमा केही नराम्रो घटना घट्नु आँटेको छ भन्दै हिड्दै छन्। 

गोसखानेले तिनलाई मासु दिन्छन् र जब अर्की एउटी महिला एक पाउण्ड मासु किन्न आउँछिन्, उसलाई भन्छन्— तपाईँ दुई पाउण्ड लानुहोस कारण मानिसहरू त यहाँ सम्म भन्दैछन् केही नराम्रो घटना घट्नु आँटेको छ र त्यसको निम्ति तैयारी हुँदैछन् र बेसी-बेसी समान किन्दैछन्। 

त्यस वयस्क महिलाले उत्तर दिँदै भनिन्— मेरो त थुप्रो नानीहरू छन्, त्यसैले मलाई चार पाउण्ड मासु देउ। उक्त महिला चार पाउण्ड मासु लिएर गईन्, अब कथालाई बेसी न तन्काएर भनी दिन चाहन्छु कि त्यो गोसखानेको जम्मै मासु आधा घण्टा भित्रै बिक्री हुन्छ, उसले अर्को गाई पनि काट्यो र त्यो पनि नभन्दै हाता-हात बिक्री हुन्छ र उडन्ते खबर चारैतिर फैलिंदै जान्छ। मानिसहरू हल न चल भइरहेको बेला अकस्मात् दिउँसोको दुई बजे पश्चात् सधैँ जस्तो गरम बढ्न थाल्छ। कसैले टिप्पणी गर्छ— कसैले याद गऱ्यो, कस्तो गरम बढ्यो आज? 

तर यो गाउँमा त सधैँनै यस्तै गरम हुने गर्थ्यो, त्यसैले त ढोलकेहरूले आफ्नो बाजा-गाजा बोराले छोपेर राख्थ्यो र छायाँमा मात्र त्यसलाई बजाउँथ्यो, कारण घाममा त्यो बाजाहरू बिग्रने डर थियो। 

कसैले भन्दैथिए जे पनि होस्, यो बेला यस्तो गरम पहिले कहिले पनि भएको थिएन। 

तर दिउँसोको दुई बजीनै गाउँमा सब भन्दा बेसी गरम हुन्थ्यो। 

सुनसान गाउँमा, शान्त खुल्ला चौतारामा, एउटा चरा आएर बस्यो र फेरी एउटा आवाज उठ्यो— चौतारामा एउटा चरा छ। 

र भयले कातर जम्मै गाउँनै त्यो चरा हेर्न त्यहाँ जम्मा हुन्छ। 

तर गाउँलेहरू चरा त सधैंजसोनै चौतारामा आउँने गर्छ। 

हो, तर यो समयमा त कहिले पनि आएको थिएन चरा। 

गाउँलेहरू बिच यस्तो तनाव फैलिन्छ कि सबैजना त्यो ठाउँ छोडेर जान तत्पर हुन्छन्, तर यसो गर्न साहस भने जुटाउन सक्दैन। 

म हिम्मत गर्छु, कोही चिच्याउँदै भन्छ, म त निस्कन्छु यहाँबाट। 

उ आफ्नो जेथा सम्पत्ति, बाल-बच्चा औ पशुहरू गाडीमा हाल्छ र मानिसहरूले घेरिएको गल्लीबाट निस्कन्छ। 
यो देखेर कहीँ मानिसहरू भन्न लागे— अरे यसले हिम्मत गर्छ भने हामी पनि यहाँबाट निस्कन सक्दैनौं र?

यसरी साँच्चैनै मानिसहरू एक-एक गर्दै गाउँ छोड्न थाल्छन् र आफू सँग आफ्नो भए-भरको सामान र पशुहरू पनि लिएर जान्छन्। 

जाँदै गरेको आखिरी मान्छेले भन्छ— कतै हाम्रो यो रहे सहेको सर-सामानमा त यो अभिशाप पर्दैन गाठे भन्दै घरमा आगो लागाई दिए। र यसैको देखा-सेखी अन्य मानिसहरूले आ-आफ्नो घरमा आगो लगाई दिए। 

अत्तालिदै मानिसहरू भाग्छन् जस्तै कुनै युद्धमा जाँदैछन्। यिनीहरूकै बिचबाट त्यो पूर्वाभास गर्ने महिला पनि जाँदै गरेकी हुन्छिन् र मन मनै भन्छिन्— मैले भनेको थिए नि केही नराम्रो घटना घट्नु आँटेको छ, तर मानिसहरूले मलाईनै बौलाह भनेका थिए।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...