Friday, July 4, 2014

सङ्घर्षको कविताहरू





स्थिति 
माध्यम मोक्तान 

फोहोरी बिच-गल्लिहरुमा
उभिएको उसको त्यो विपना
रमाउन खोज्छ
बोकी कैयौँ उज्यालो सपना।
इतिहासका टाटाहरु नाच्दैछ
भत्किएको भित्ताहरुमा
त्यही भित्ताहरुमा ऊ ठोकिन्छ,
रन्थनिएर फेरी उसले
इतिहास दोरयाउछ
हिड्न खोज्छन् ती पाइलाहरू
ती फोहोरी गल्लिहरुमा।
परिस्थितिको चिसोपनले
कथ्यांग्रिएको छ आशा
रमाउन खोज्दै छ ऊ
आछुछुछु भन्दै
त्यही नीराशिएको आशाहरुमा।
सोध्यो कसैले उसलाई
केही गर्नु छ?
उसले भन्यो:
अँह! मात्र छ आशा।
सोध्यो कसैले उसलाई
केही भन्नु छ?
उसले भन्यो:
मात्र छ आशा।
सोध्यो कसैले उसलाई
के हो आशा?
थरथर काप्दै दराउदैछ उसको परिभाषा।
हिड्दैछ ती पाइलाहरू
फेरी त्यही फोहोरी गल्लिहरुमा।।




गाउँ
युवराज घले भाइ

गाउँ,
मैले सुने तिम्रो मुहारको लाली फेरिएको छ
म त सहरमा छु
यहाँ केही फेरिएको छैन
छ त केवल 
षड़यन्त्रकारीको महलको आकार फेरिएको छ
भ्रष्टाचारीको पजेड़ोको रङ फेरिएको छ
ऊः त्यो भव्य महलमा बस्ने सामन्तका 
नोकर चाकरहरू फेरिएका छन्। 

गाउँ, मैले सुनेको छु
तिमीले सुन्दर छोरा-छोरी जन्माएका छौँ
कठोर पहराहरूसँग सधैँ टक्कर लिने र
भयावह लाग्ने मृत्युलाई ख्याल-ख्यालमै जित्ने। 
मैले त यहाँ केही गर्न सकेको छैन
भव्य अत्याचारी महलहरू भत्काउन सकेको छैन
शासक सवार हुने बुलेट प्रुफहरू जलाउन सकेको छैन
र छैन दुस्मनलाई उडाउन यत्रतत्र ट्रेन्च खन्न सकेको। 

गाउँ, मैले देखेको छु
तिमीले बस्तीहरूमा सुन्दर किल्लाहरू खड़ा गरेका छौँ
जनताको छोरा-छोरीलाई युद्ध-कला सिकाएका छौँ
शत्रु र मित्र छुटयाउन सिकाएका छौँ 
न्याय र अन्याय खुट्याउन सिकाएका छौँ
मैले त सहरका कुल्ली उठाउन सकेको छैन 
ठुला-ठुला बैङ्कहरू छन् जनताका लागि फोर्न सकेको छैन
त्यहाँ जस्तो जमिनभरि बंकर खन्न सकेको छैन। 

गाउँ, म सुन्दैछु तिमी
शत्रुसँग लड़ने हतियार आफैँ बनाउँछौं
नयाँ, खालीखुट्टे जनताका लागि
आवश्यक वस्तु निर्माण गरिरहेका छौँ। 
क्रान्तिकारी योद्धा घाइतेहरूलाई आफैँ उपचार गराउँछौं। 
अन्न उब्जाएका छौँ, गरिबी हटाएका छौँ
आज शहर निर्धन छ तिमी भन्दा
आज बजार निर्लज्ज त तिमीसँग 
तिमी उठ्यौं, हामी उठ्न सकेनौं
तिमी जाग्यौं, हामी जाग्न सकेनौं
तिमी हिँड़यौं, हामीले बामेसम्म सर्न सकेनौं। 




देश
भिमा राई तोलाछा

तिम्रो विषाक्त शंकालाई
विश्वासमा परिणत गर्न सकेनौं
पूखौँदेखि चट्टान जस्तै
हिमालयको फेदमा अवस्थित
तिमीलाई हाम्रो उपस्थिति मिथक किन लाग्छ?
आवाजलाई दमन गर्न
पठाऊ पठाऊ तिमी
हात हतियारले सुसज्जित अनि
बम-बारूद बोकाएर
सेना उतार
पुलिस खनाऊ
तथापी युद्ध जारी रहनेछ। 
हड्डीलाई मात्र छालाले घेरिएको
पिंजरा जस्तै देखिने
जिउँदा लाशमाथि
बुलेट वर्षाऊ
तिम्रो प्रतिवादमा मुट्ठीहरू उठ्नेछन् 
रगत बग्ने छ
तथापी युद्ध जारी रहनेछ। 
ए मेरो देश!
तिमी आज कति माथि कति माथि
हामी पैतालाका धूलो
तिमी प्राप्तिको हर्षमा विभोर
असंख्य सपनाहरू
आँखी झ्यालमा काकाकुलको तृष्णा लिएर
आजपर्यन्त नयनहरूमा यथावत छन्
ए मेरो देश!
सपनाको मुहान थुन्न
बाँध निर्माण गर
बाँध एकदिन तोडीने छ
अनि समुद्र लहरी जस्तै बग्नेछ सपना
हावा-पानी, आकाश-धरती
दाल-चामल, स्कूल-दवाई
सब सबमा कर्फ्यू लगाऊ
गरीब हटाउन गरीब नै मार्ने तिम्रो योजना
स्याबास!
ए मेरो देश!
तथापी युद्ध जारी रहनेछ। 
जसलाई हेला गर्छौ
उसैको काँध माथि विराजमान तिम्रो सत्ता
जति नै माथि उड़े पनि
वलिष्ठ तिघ्रा उसैको हो
जो निरन्तर जमीनसित संग्लग्न छन्। 


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...