Monday, October 15, 2012

समाज र उन्नति


संसार हो। यो ठुलो छ, यसमा नाना-थरीका रूपहरू देख्न सकिन्छ। सबैले सबै कुरो बुझ्दैनन् र जान्दैनन पनि, जो मूलत स्वाभाविकनै हो। संसारको सबै हिस्सा एक समान छैन, होचो-अग्लो, अघि-पछी, कम्ती-धेरै, निष्क्रिय-उत्कृष्ट, यस्तै विभिन्न तत्व्हरूले बनेको छ यो हामी बस्ने ठाउँ, जसलाई हामी संसार भन्छौ। यसको आफ्नै वैश्विक इतिहास छ। समय जति बित्दै गए परिवर्तन पनि निरन्तरनै भई रह्यो। संसार परिवर्तनशील नहुँदो हो त इतिहास पनि नबनिने थियो। यहीं इतिहासक्रममा सम्पूर्ण वस्तु जीव-निर्जीव दुवै विकासशील रही आएका हुनाले पुरानालाई त्यागी नयाँको स्वीकृति दिने नियम बन्दै गए। र घतलाग्दो कुरा के छ भने, नयाँको परिभाषा त्यसैलाई गरे जो पुरानो भन्दा प्रगतिशील छन्।

     यस संसारमा जति हामी बुझ्छौ, जान्दछौ ति सबै मानव-मस्तिष्कले भ्याएसम्म परिभाषित चिजहरू हुन्। त्यसैले यी विकास, परिवर्तन प्रगति त्यति बेला सृष्टि भयो जब मानिसले जिउने प्रतिवद्धताहरू लाई बुझ्न थाले। किन जिउननै पर्ने? –को उत्तरका उपजहरू हुन। यसरी सरल र सहज ढंगले जिउने कलाको खोजीमा मानिसको सोंचने क्षमताको विकास हुन थाल्यो। विचार गर्ने चलन बसालियो। यही खोजीको निदान प्राप्ति हेतु मानिसले जिउने कलाका औजारहरू पाउनको लागी सबैभन्दा नजिक प्रकृतिसित सङ्घर्ष गर्न थाले। मानिस मात्रै त्यो जीव हो जो यस प्रकृति माथि पनि आधिपत्य जमाउन खोज्छन् र केहि हदसम्म सफल पनि हुन्छननै। र यो सङ्घर्ष सधैंनै चली रहन्छ।

     मानिसले जति सङ्घर्ष गर्न थाले उति यिनीहरूको जीवन सजिलो बन्दै गयो। जीवनलाई सजिलो गरेर जिउने ढङ्गनै मानवजातिको उत्कृष्ट कला हो। यो छाडेर अरू सबै सहयोगी-कला मात्र हुन्। यसरी मानिसले अब यी कलाहरूलाई निखार्दै लगे, एक देखि दुइ, दुइ देखि तीन गर्दै क्रमैले बढाउदै लगे, तर यो एकै पल्टमा भने कहिल्यै बढेन। सैयौं वर्ष परिश्रम गर्न पर्यो। र यसरी जिउने कलामा निखार संसारको जुन-जुन ठाउँमा पहिले आए त्यहींको जीवन उत्कृष्ट मान्छौ –समयानुसार।

     पछी संसारको भूभागहरू बाँडिन थाले, बाँधिन थाले, साँध-सिमानाहरूले चिनिन थाले र पछी समाजमा, जात, रंग, वर्ग-हरूको भेदभाव एकदमै बढेर गएको इतिहासले देखाउँछ। ती समाजहरूनै एकदमै अघि बढे जो आफ्नो उद्देश्यमा एकाग्रित भएर निरन्तर अथकित अघि बढे। उत्कृष्ट जीवन पाउनकै लागि अघि बढे। तर इतिहासमा साँध-सिमानाको विकास भए पछी मानिस- मानिस मात्र रहेन। उ अफ्नो रंग-रूप, वर्ग, भौगोलिकता,राजनीतिक, अर्थनैतिक-परिशिष्टता,धर्म आदि के-के जतिले चिन्हित भएर बाढ़िइसके पछी, मानिसको सङ्घर्ष प्रकृति संग मात्र निहित नरहेर अब मानव-मानवको संघर्षले विकट रूप लिन थाल्यो।

     अहिले हाम्रो देश छ। देशमा क्षेत्रहरू छन्। र क्षेत्रको विकास भनेको देशको विकास हो तर देशको विकास भनेको क्षेत्रको विकास भने होइन। र कुनै क्षेत्र विकसित छ भन्नुको अर्थ त्यहाँका मानिसहरूले अफ्नो जीवन कति सजिलो ढंगले बाँचिरहेका छन् –हो। साथै हामीले यो भुल्नु हुदैन कि यो सजिलोपन पाउनमा त्यहाँका मानिसहरूले मानव-मानव बिच वा प्रकृतिसित कति बेजोड सङ्घर्ष गरिरेहेका छन्। तर अहिले प्रकृतिसित भन्दा बेसी मानव-मानव बिचको सङ्घर्षनै ज्यादी छ। प्रकृतिसित अहिले देशले सङ्घर्ष गर्छ। तर कुनै पनि क्षेत्रीय विकासको निम्ति मानव-मानव बिचको सङ्घर्षकै भूमिका महत्वपूर्ण रहने गर्दछ।

     तर, यो सजिलोपनको पनि समय-समयमा धेरैले आ-आफ्नै प्रकारले परिभाषाहरू दिदै आएका भए पनि, बाँच्नु मात्रैको आधारहरूमा भने कसैको पनि विभिन्न मतहरू त्यति देखिन्दैन। र चाख लाग्दो कुरा के छ भने यो जिउने कला भनेको विभिन्न विधाहरू हुन्। शुरूमै भने झैँ सबैले सबै कुरो जान्दैन तर कसैले केहि कुरा जाने त्यसलाई अझ तिखारेर दाम्मी बनाएर नजान्नेहरूलाई पनि त्यसको मुल्यवोध गराउनुनै मानिसको प्राकृतिक प्रवृति हो। यो कलाकारहरूले जति इमान्दारीपूर्वक गर्दै अघि बढ्ने छ त्यतिनै पुराना प्रश्न भनौ वा असन्तुष्टिहरू हटाएर नयाँ चुनौती, प्रश्न एवं असन्तुष्टिहरू को स्वागत गर्नेछ। र जुन समाजमा पुरानै मान्यता, प्रश्न, असन्तुष्टि वा समस्याहरू रहिरहन्छ त्यसलाई नै हामी पछौटे (backward) समाज भन्छौ। प्रश्न यो पनि हुन सक्छ, के यी प्रश्न, असन्तुष्टिहरू कहिले सकिदैन? पुरानो सकिदा-नसकिदै नयाँको जन्म भैहाल्छ। कारण हाम्रा सम्पदाहरू सिमित छन् र इच्छाहरू असिमित।

     यसरी कुनै क्षेत्रको मानिसहरूले दु:ख पाइरहेका छन् भने दोष त्यहाँका जान्ने बुझ्ने जो बुद्धिजीवी भनौदाहरूले अफ्नो जिम्मेवारी ठिकसंग नानिभाएको हुनसक्छ, वा त निभाउदै नानिभाएको हुन सक्छ। कुनैपनि विधालाई नेतृत्व गरिरहेका प्रत्येक सचेत व्यक्तिहरूकोनै दायित्व यो बनिन्छ कि आफ्नो जातिलाई पनि आफुले जानेको कलाको रसपान गराउने। आफुले जानेर आफु मात्र मग्न हुने कलाकारले कहिल्यै जातिको उन्नति गर्न सक्दैन र उ आफै एकलकांटे भएर जानेछ। मानव समाजको उत्कृष्ट कला विधा राजनीतिलाई मान्ने गरिन्छ र शासन गर्नु पनि कला हो। यसरी जिम्मेवारी ननिभाउने कलाकार भनौदाहरूले समाज भाड्ने काम गर्छ। यहाँ सङ्घर्ष हुन्छ, तर अतुलनीय विषयहरूसित। एउटा राम्रो गायकले अर्को राम्रो चित्रकारसित सङ्घर्ष गरेर समाज अघि बढ्दैन। सङ्घर्ष पनि समाज उनतिको निम्ति नभएर आफ्नो छवी तयार पार्नको लागि गरेर हुदैन। यसलाई प्रतिस्पर्धा भनिन्छ। जति यस्तो दुर्दशा समाजमा बढ्दै जान्छ उतिनै समाज पछाडिन्दै जान्छ। समाज सानो-सानो मूल्यहीन चिजहरू मा खुशी हुने गर्छ, आफैमा मात्र मख्ख पर्ने रोग लाग्छ। समाजको भ्रम, मानिसहरू को परम्परा भएर बाँच्नेछ। अरूले भविष्य सोच्दा, त्यस पछौटे समाजले हजारौ वर्ष बितिसकेका कुरा गर्दै गरेका हुन्छन्।

     समाजमा जनताले सबै गर्छ तर नेतृत्व दिन सक्दैन। जनताले सबै जान्दछ, तर नेतृत्व दिएर अघि बढ्न सकिरहेको हुदैन। त्यसैले यसलाई नेतृत्व दिने कारक शक्तिहरूको अभाव सधैंनै रहिरहन्छ। तर पूर्ति भने त्यति बेला मात्र हुन्छ जब समाजका केहि पनि जान्दछु भन्ने मान्छेले विश्वको इतिहासमा उसको स्थान कहाँ छ भन्न सकोस्। र सबै समाजमा लागु हुने कुरो हो।
कमल भुजेल

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...