Sunday, February 3, 2013

दिल्ली बलात्कार र जनउभारको सन्दर्भमा केही विचारहरू


दिल्लीको बलात्कार घटनाले भारतलाई एकपल्ट हल्लाएर राखिदिएको छ। हजारों मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन्। यो जनउभार साँच्चैनै सराहनीय छ तर यस्तो घटना दिनहुँ देशभरी घटिरहेको हुन्छ जसमा कसैको आँखा पनि गएको छैन। 

     आज मध्यमवर्गीय देशवासी सडकमा उर्लेको छ तर यो केवल एउटा बलात्कारको मात्र कुरा हो र? कारण बलात्कार भन्ने कुरो त केवल एउटा नारीको सम्मानको हनन मात्र होइन तर युगौ देखि चलिआएको पितृसतात्मक समाजको नारीहरूलाई हेप्ने साधन मात्र हो। बलात्कार सभ्यताको सुरूवातदेखि मानिससंग जोडिएको छ। 

     पौराणिक तथा ऐतिहासिक तथ्यहरूमा यहाँसम्मकी धर्मग्रन्थको कथाहरूमा पनि बलात्कारको उल्लेख पाइन्छ। इतिहास कोट्याउँदै हेर्दा विजयी राजाले परास्त राजाको पत्नीलाई बलजफ्ती बिहे गर्ने, युद्धको पुरस्कारको रूपमा नारीलाई राख्ने, ऋण तिर्न नसक्दा आफ्नो चेलीलाई दिने, देवतालाई भेट स्वरूप बालिका चडाउने चलन हाम्रो इतिहास संग अभिन्न रूपले जोडिएको छ। 

     भारत पाकिस्तानको विभाजन हुँदा देशको नाममा, गुजरातमा भएको साम्प्रदायिक दंगामा धर्मको नाममा, उत्तर- पूर्व राज्यहरूमा आतंकवादी खतम पार्ने नाममा वा उडिसा झारखण्डमा मावोवादी नियन्त्रण गर्ने नाममा सदैव नारीहरू बलात्कृत भैरहेकै छिन्। त एउटा नारीलाई बलात्कार गर्नु भन्ने कुरो एउटा व्यक्ति विशेषको व्यातिगत इच्छामात्र नभएर यो समाजले उसलाई दिएको विशेष अधिकार हो। कारण यसो गरेर उसले आफ्नो शत्रुसंग बदला लिइरहेको हुन्छ। बाबु वा दाजु-भाई संग रिस भए छोरी बहिनी बलात्कारको शिकार हुन पर्छ। अथवा नारी आफैमा कुनै व्यक्तिव नभएर मात्र एउटा वस्तु मात्रै हो भन्ने कुरो यी घटनाहरूले दर्शाउँछ। 

     पितृसतात्मक समाजको नारीहरूलाई दबाउने सबै भन्दा उत्तम हतियारको रूपमा उभिएको छ बलात्कार र किनभने केटीहरूलाई सानै देखि ‘आइमाईको इज्जत सियोको टुप्पोमा हुन्छ’ भनेर सिकाईएको हुन्छ र कसैले पनि यो सियो भाँच्नु सक्छ र नारीको बाँच्ने आधारनै सकिन्छ। यसरी कैयों पीडितहरूले त आफ्नो ज्यान समेत दिनु पर्छ कारण यो समाजले फेरि उसैलाई बार बार त्यो घटनाको सम्झना गराउछ र उसलाई बाँच्नु गाह्रो पर्न जान्छ। नारी विरुद्ध कुनै पनि अत्याचार चाहे त्यो जस्तो सुकै रूपमा होस् लाई सदैव नदेखेको जस्तै गरिन्छ। एउटा परिवारमा आमाको स्थान, उसको परिवार र समाजले यहाँ सम्म कि उ स्वयंले सबैभन्दा तल मान्छ। यसको सबैभन्दा उत्तम उदाहरण हो कुनै पनि पुजा-आजामा नारीहरूले पुरुषहरूको (पिता, पति, छोरा, दाजु-भाई इत्यादि) मंगल कामनाको रूपमा गर्नु पर्ने बर्त राख्नुपर्ने तर नारीहरूको मंगलकामनाको निम्ति गरिने बर्त त आजसम्म सुन्न पाइएको छैन। नारीको यस्तो स्थान बनिनुमा समाजको गठन र विकासक्रमको मुख्य भूमिका हुन जान्छ। एउटा केटा र केटीले सानैमा पाउने शिक्षा र उनीहरूको लालन-पालन बेग्लै किसिमको हुन्छ। ‘यो संसार छोरा मान्छेको हो’ भन्ने आश्वासनहरूले ओत-प्रोत पुरुषहरूले नारीलाई केवल वस्तुको रूपमा हेर्नु कुनै अतियुक्तिको कुरा हुँदैन। रक्सीको झोकमा बाबाले आमालाई कुट्दा मन दुखाउने छोरा पनि जवान भएर कुटाई खानु औरतको भाग्यमै हुन्छ भन्न हिचकिचाउदैन कारण उ पुरुष बन्ने प्रक्रियामा हुन्छ। भुल गरे स्वास्नीलाई पड्काउनु पर्छ भन्ने धारणा अब उसको निम्ति अझ दृढ भइसकेको हुन्छ। र आफ्नो घरको आमा, स्वास्नी, छोरीलाई सम्मान दिन नसक्ने पुरुषले घर बाहिर बलात्कार गर्नु कुनै आश्चर्यको कुरो पनि होइन कारण उसलाई यसो गर्नुमा कुनै अफसोस् हुदैन र उसले सोच्छ कि यसो गरेर उसले आफ्नो पुरुसत्वको प्रमाण दिंदैछ। 

     एकापट्टि पितृसतात्मक समाजव्यवस्थाले नारीहरूलाई आफ्नो कब्जामा राख्नुको निम्ति धर्म, कर्म, इत्यादिको नाममा डर देखाएर हुन्छ कि धम्काएर हुन्छ आफ्नो स्वार्थ जहिले पनि पुरा गरेको छ भने अर्कोपट्टी पूंजीवादी व्यवस्थाले नारीहरूको झुठो स्वतन्त्रताको नाममा नारी शरीरको बजारीकरण गरिरहेको छ। आफ्नो शरीर माथि अधिकारको आडमा आफ्नो कुमारीत्व पनि बिक्री गर्न पाउने भन्ने कुराको वकालती यिनीहरू खुल्लारूपमा गर्छन्। त के नारीको स्वतन्त्रता केवल आफुलाई एउटा बिक्री हुने वस्तुको रूपमा प्रदर्शित गर्नु मात्रै हो? पुरुषको दाह्री खौरिने ब्लेड देखि लिएर जिन्स प्यान्टको विज्ञापनसम्म नारी शरीरलाई नचाहिँदो प्रकारले दर्शाएको हुन्छ। नारीहरूलाई एउटा तुच्छ विचारहीन, आत्मसम्मानहीन वस्तुको रूपमा प्रस्तुत गर्ने चलनले नारीहरूलाई झन् पछि ठेल्दैछ। 

     बलात्कारको मुख्य कारणहरू मध्ये नारीहरूको पहिरन पनि हो भन्ने कुरामा धेरै जना सहमत छन्। अब चारैतिर खबरकागज, टेलीभिजन, सिनेमा, नाच-गान इत्यादि सबैमा जस्तो प्रकारको पहिरन लाएर पनि नायिकाको चरित्र एकदमै बेदाग हुने, त्यही लुगा-फाट परिसस्तै मात्रामा बजारमा पाइने र त्यही लुगा केटीहरूले किनेर लाउदा चै केटीको चरित्रमा प्रश्न उठ्ने यो कस्तो खालको दोषारोपण हो जहाँ एउटा हातले मिठाई दिने र त्यो मिठाई खाएमा अर्को हातले थप्पड हिर्काउने। कि त अब जम्मै आधुनिक कपडाहरू बनाउनु र बिक्री निषेध गरिनु पर्ने कि त लुगालाई दोषी नमान्नु पर्ने। तर स्मरण रहोस् बुर्का लाउने देशहरूमा पनि बलात्कारको घटना भने पाइन्छ र घरेलु हिंसाको त कुरै न गरे पनि हुन्छ र १,२,३ वर्षको दुधे बलाखाहरूको बलात्कार पनि नौलो कुरा चाहिँ होइन। अर्को कुरो बलात्कारको शिकार भएको नारिमाथिनै व्याभिचारको आरोप लाउनुमा पनि समाज पछाडी हट्दैन। ‘केटीको इच्छा बिना यस्तो काम हुन सक्दैन’ भन्ने धारणा त विश्वप्रसिद्धनै छ। 
     
     यसरी प्रतिपल समाजले नारीको दोष र खोटहरूलाई कोट्याईरहेको हुन्छ। यसको विपरित फेरि यही समाजको मानिसहरूले बलात्कार एकदमै घिनलाग्दो अपराध हो र दोषीहरूलाई कडा सजाय हुन पर्छ भन्ने माँग पनि गर्छ र यो माँग गर्ने मानिसहरूले यो व्यवस्था एकदमै चोखो र बलात्कार जस्तो घटना चाँही बाहिरको चिज हो जुन साह्रै नराम्रो छ भनेर ठान्छन् तर यो व्यवस्थाले प्रतिदिन बलात्कारी जन्माइरहेको हुन्छ चाहे त्यो बलात्कार बिहेको नाममा होस् वा प्रेमको नाममा। बिहे गरे पछि एउटा पुरुष र स्त्रीको संसर्गलाई बलात्कारको नाम दिन सकिंदैन चाहे त्यो सम्भोग बल्जफ्तिनै किन नहोस्। स्त्रीलाई निजि सम्पत्तिको रूपमा हेर्ने पुरुषहरूको निम्ति आफ्नो पत्नीमाथि बल देखाउनु के गाह्रो काम हो र फेरि यसको कुनै सुनुवाई हुनेछैन कुनै सजाय हुने छैन भन्ने कुरो पनि तिनीहरूलाई थाहै हुन्छ। 

     कानुनहरूको संशोधनको कुरा गर्ने हो भने त यति लामो सुची बनिन्छ कि क भनौ। राती उधो त्यो केटी किन घर बाहिर थियो? यसैले त्यसको बलात्कार भयो भन्ने वक्तब्य पनि जही तही सुन्नमा आउँछ। घरको कुखरा-बाख्रा सियालले खाइदेला भन्ने डरले खोरमा थुने झै नारी पनि खोरमा थुनिनु पर्ने र पुरुषहरू चाहिँ सियाल जस्तै शिकारको खोजीमा राती डुलीहिड्ने सादृश्यता पनि यहाँ पाइन्छ। फेरि घरमै पनि नारीहरू कत्तिको सुरक्षित छन् भन्ने प्रश्न पनि अत्यन्तै जटिल छ त यहाँ प्रश्न केवल रोकथामको छैन तर कसरी बलात्कार जस्तो अपराधलाई समाजबाट हटाउनु पर्ने हो, यसमाथि पनि छ र यो तब मात्र सम्भव छ जब प्रत्येक मानिसले नारीहरूलाई पनि आफु सरह मानिस ठान्छ र उसलाई पनि आत्मसम्मान साथ बाँच्ने अधिकारबाट वन्चित गर्दैन। 

     हाम्रो कानुन अनुसार देशको सबै नागरिकहरू, चाहे त्यो पुरुष होस् वा स्त्री एकै हो तर यो केवल किताब सम्म मात्रै सिमित छ कारण यदि साँचैनै नागरिकहरू मध्ये समानता भएको भए नारीहरू पनि निर्धक्क साथ बाच्न पाँउथे होलान्। घर, स्कूल-कलेज, कार्यालय, अस्पताल, बस, ट्रेन इत्यादिमा नारीले घरि घरि यौन अत्याचार, बलात्कारहरू सहन पर्ने थिएन होला। यसैकारण प्रत्येक चेतनशील नागरिकले नारीलाई पनि बराबर दर्जा दिनु पर्ने हो तब मात्र यो संसार बाँच्ने योग्य स्थान बन्नेछ। आधी आकाश नारीहरूले आधी धरतीमाथि पनि अधिकार पाउनु पर्छ।
संगीता खेवा

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...