Thursday, October 15, 2015

पोशाकको दुनियाँ : पोशाकको नाली-बेलि


निवेदिता

कुनै पनि पोशाक किन्दा सर्वप्रथम हाम्रो दिमागमा हुन्छ कि त्यो कत्तिको आरामदायक छ, आफ्नो सुन्दरतालाई त्यसले कसरि प्रखर पार्न सक्छ र त्यसको माध्यमले कसै हामि हाम्रो व्यक्तित्वलाई प्रकाशमा ल्याउन सक्छौं। त्यसैले पोशाक केवल व्यक्तिगत रुची मात्र नभएर सामाजिक विषय बन्न जान्छ। अझ पोशाकले हाम्रो लिंग, जाति, धर्म, सामाजिक अवस्थान, पेशा, विवाहगत पहिचान र संस्कृतिलाई पनि चिन्हित गर्ने गर्छ। प्रचलित फ्याशनले हाम्रो पोशाक छनौटमा गहिरो प्रभाव पारेको हुन्छ। वर्तमान पुँजीवादी र पुरुषवादी समाजव्यवस्थाले नै लगातार विज्ञापनद्वारा, पत्रिका, सिनेमा, फ्याशन दुनियाको चमकको माध्यमद्वारा नारी तथा पुरुषको ‘आदर्श’ शारीरिक गठन, सौन्दर्य अनुभूतिको एउटा धारणा तैयार गरिरेहेको हुन्छ। मोडल, अभिनेतादेखि शुरु गरेर साधारण परिवारको सानो नानीले धरी यहि ‘आदर्श’ पोशाक, आदर्श शारीरिक गठनको ढाँचा मनमा पालेर बढी रहेको हुन्छ। 
मानिसको स्वाभाविक प्रवृति हो अर्काको देखा-सेखी गर्ने त्यसैले आफु भन्दा उच्च स्तरको मानिसहरूको विशेषत अभिनेता, मोडल इत्यादिको पोशाकको नकल गर्ने इच्छा रहीनै रहेको हुन्छ हाम्रो अचेतन मनमा। अनि वर्तमान पुँजीवादले हामीलाई देश-विदेशको दिनप्रतिदिनको फ्याशन अपडेट दिइरहेकै हुन्छ। हामी पनि इच्छाले होस् वा आधुनिक संसारसँग हिड्नको निम्ति होस् चलिरहेको फ्याशनसँग कुम मिलाएर हिड्नमै विश्वास राख्छौं। तर नियालेर हेर्दा फ्याशनले नारी तथा पुरुषको एउटा सिमित शारीरिक गठनलाई मात्र आदर्श भनेर चल्छ। त्यसैले बढ्ने क्रममा हामीमा बार्बी गुडिया जस्तो पोशाक लगाउने वा शाहरुख खानको जस्तो सिक्स प्याक्स बनाउने इच्छा जागेर आउनु कुनै अस्वाभाविक कुरो होइन। तर जो मानिसहरू यस आदर्श शारीरिक गठन भित्र पर्दैनन् तिनीहरूको पोशाकमा खुबै कम वैचित्र पाइन्छ। दोकानमा-बुटिकमा यस्ता ठुला साइजका पोशाक हरू पाइंदैनन् वा पाइए पनि वाणिज्यको हिसाबले बेसी दाममा बिक्रि गरिन्छन्। यसैले जो पनि आफ्नो शारीरिक गठनले अर्को व्यक्तिलाई आकृष्ट गर्न सक्दैनन्, तिनीहरू कि त हाँसोको पात्रो हुनु पर्छ वा हँसाउने शोहरूमा आफैले आफ्नो शारीरिक गठनको बारेमा उपहास गर्नु पर्छ, जसको मजा लिएर हामी पनि हाँस्ने गर्छौं। एउटा नारीको ‘बाडुली कम्मर’ र पुष्ट शरीरलाई विभिन्न समयमा फ्याशन जगतले विभिन्न रूपले महत्व दिएको छ। त्यो सोलौ शताब्दीको ‘करसेट’ को चलन होस् वा आधुनिक ‘जीरो फिगर’-को चाहना। टाइटेनिकमा देखाइएको त्यो दृश्य जसमा रोजको आमाले रोजको कोरसेट कसी दिन्छे, सबैलाई यादै छ होला। वास्तवमा कोरसेटको जन्म नारीको पिठ्युको पेशी अनि मेरुदण्डलाई सहारा दिनको निम्ति भएको थियो तर पछाडी गएर यसलाई नारी शरीर विशेष कम्मरलाई सानो छरितो बनाउलाई प्रयोग गरिनु थालियो। शरीरिक स्वास्थमा कुप्रभाव हालेकोमा ‘ड्रेस रिफोर्म मुभमेन्ट’-द्वारा १८७३मा करसेटको चलनलाई बन्द गरियो। यसै रितले अर्को उदाहणस्वरूप लिन सकिन्छ चीन देशमा प्रचलित ‘गोल्डन लिली’ लाई। यो नारीहरूको एकप्रकारको सानो खुट्टा हो। सानो उमेरदेखिनै बालिकाहरूको खुट्टाको हड्डी भाँचेर त्यसलाई मलमपट्टी गरेर राखिन्थ्यो र त्यसपछि एकप्रकारको कडा विशेष गरि चिनी माटोको सानो जुत्ता त्यसमा लगाइन्थ्यो जुन चाहिँ त्यो बालिका ठुलो भइसक्दा पनि त्यत्तिकै रहन्थ्यो। यस्तो जुत्ताले खुट्टाको स्वाभाविक वृद्धिलाई हानि पुराउथ्यो। यस्तो सानो खुटा भएको नारीलाई चलफिर गर्न खुबै असुविधा हुने गर्थ्यो र धेरै समय त बामे पनि सर्नु पर्थ्यो। यस्तो रितिको पछाडिको युक्ति थियो कि गोल्डन लिली हुने नारीको स्वभाव खुबै नम्र हुने गर्छ। खासमा आफ्नो स्त्री आफ्नो खुट्टामा उभिनु सकेन भने त उ आदर्श नारी, असल गृहणी! अनि ठिक यहि पुरुषतन्त्रले पनि चाहन्छ। ‘होबल स्कर्ट’ देखि लिएर ‘अग्लो हिल’ भएको जुत्ता, जसले असुविधा साथै शारीरिक हानि त गर्छ नै, तर नारीलाई केवल मात्र वस्तुको रूपमा दर्शाउन सहायता गर्छ। नारीको आधुनिक ‘सेक्सी’ छविको उपादान को हिसाबमा वर्तमान बजारमा चल्ती छ नारीको ‘स्तन’। आजकल खबरकागज खोल्ने बित्तिकै विज्ञापन देख्न पाइन्छ –‘नारी शरीरको प्राकृतिक अभिव्यक्ति पाउनुहोस्, सुन्दर, सुपुष्ट स्तनको अधिकारी हुनुहोस्। ’ म्यास्लिन तेल देखि लिएर सिलिकन सर्जरीसम्म- केवल ‘सठीक स्तन’ पाउनको निम्ति। फेरी यहि स्तनको सुन्दरता निखार्न ‘डेजी डी’, ‘लाइरा’ वा ‘भिक्टोरियाज सिक्रेट’ जस्ता देशी विदेशी अन्तर्वास कम्पनिहरूको ‘सम्पूर्ण नारी’ वा ‘यौन आवेदनकर्ता’ हुने रंगीन जालोलाई काटेर निस्कनु के यति सजिलो छ! देख्न पाइएको छ कि यदि स्तन क्यान्सर वा अन्य कारणले नारीको एउटा स्तन पनि काट्नु परे, त्यो नारीले कृतिम स्तन प्रतिस्थापन गर्न बाध्य हुनु पर्छ। यसले शारीरिक कठिनाइहरू भए तापनि एउटा नारीले स्तन काटे पछि आफैलाई ‘स्वाभाविक नारी’ मान्न सक्दिन। यसरीनै बजारी स्वाभाविकता वा पोशाकी स्वाभाविकताले नियन्त्रण गर्न खोज्छ हाम्रो मनलाई पनि। बजारले पुरुषहरूलाई पनि आफ्नो निशाना बनाए पनि यिनीहरूको पोशाकमा कम विभिन्नता देख्न पाइन्छ जसको मुख्य कारण हो कि पुरुषको सामाजिक मापदण्ड ठिक हुन्छ उसको शैक्षिक योग्यता वा पेशाबाट। तर हिजाज भने ‘मेट्रो सेक्सुअल’ पुरुषको निर्माणको निम्ति बजारले यिनीहरूको निम्ति पनि दिनहुँ नयाँ नयाँ फ्याशनको चिजबिच बनाउदै छन्। यसरीनै भिन्न लिंगको मानिसहरूको निम्ति छुट्टै फ्याशन छदैछ। अर्थात् बजारले आफ्नो नाफाको निम्ति सबैलाई अँगाल्छ, केवल आधिपत्यको ढाँचालाई मात्रै चलाउदैन यसले। आत्मसम्मान साथ बाँच्ने अधिकार होस् वा नहोस्, छ बजारी दुनियाले बोकेको ‘इच्छाको अधिकार’। ‘माइ ड्रेस, माइ चोइस’ को स्लोगन उठेको संसारमा आफ्नो साचो अधिकार र आत्मसम्मानसाथ बाँच्ने अधिकारको निम्ति विकल्प खोज्न अत्यन्त जरुरि छ नत्र हामी पनि बजारको इशारामा नाच्ने काठपुतली जस्तै भएर हराउने छौ। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...