Tuesday, April 29, 2014

असुरक्षित आकाशतल्तिर

टीका ‘भाइ’

प्रत्येक बिहान खबरकागजले कुनै न कुनै महिलामाथिको अमानवीय हिंसा र कुकृत्यको खबर बोकेर आउँछ। हाम्रो सभ्य र सुसंस्कृत मनमा केहीबेर ‘अहो फेरी?’-को सवाल जन्मिन्छ। केहीबेरमा त्यो सवाल साँझको घाम जस्तो डुब्छ मानो यो प्रत्येक दिन घटीरहने स्वाभाविक परिघटना हो। लाग्छ कि मानो पल पल हामीले हाम्रो मानवीय समवेदना गुमाउदै गैरहेकाछौँ। पशु संसारमा भाले प्रजाति पोथी प्रजाति उत्पीडित बन्नु पर्ने, हिंसा वा हत्याको सिकार बन्नु पर्ने घटना विरलै होला तर मानव समाजले आफ्नो प्राकृतिक सीमा नाघेर गैरहेको छ।

त्यसो त महिला वर्गको सुरक्षा हक अधिकारका निम्ति सङ्घ-संस्था, सरकारी निकाय, ऐन-कानुन, अनि थुप्रै चर्चा-परिचर्चा सुनिँदै आएकाछौँ तर हिंसा, बलात्कार, महिला बेच-बिखन आदिका समस्या जहींको त्यँही समाज अघि प्रश्न भएर उभेको छ। किन? के उपाय गर्ने? के भएर? प्रश्नका ताँतीहरू हामी सम्मुख छन्।

आदर्श अनि पारम्परिक समाजले नैतिक मूल्य र अनुसाशनको स्थापना, महिला वर्ग नै सचेत रहनु पर्ने वा कतिले त महिला वर्ग नै विकारको सिकार बन्दै गएको सम्म आरोप जडेर समाजमा अनुशासन, आध्यात्मिकता, नैतिकताको विस्तारणको निम्ति उही पुरानै थरीको उत्तरमा आफूलाई सीमित राख्छन्। मानव समाजको निर्माण अनि परिवर्तनमा चेतनाको भूमिका महत्वपूर्ण हो तथापि चेतनालाई यान्त्रिक ढङ्गमा जनमानसमा प्रतिस्थापित गर्न सकिन्न। चेतना त समाजको विभिन्न हिस्सा अनि अवयवबाट प्रभावित हुने गर्दछ। हाम्रो समाज मान्छे मान्छे माझको युग-युग देखि चल्दै आएको अन्तर्विरोध, अनि सामूहिक आवश्यकता र सङ्घर्षकै परिणामको रूपमा बिस्तारै-बिस्तारै रूपान्तरित हुँदै आजको समाजको रूपमा खडा भएको हो। मानव समाजले वर्गभेद, लिङ्गभेद, वर्णभेद जस्ता सामाजिक ‘कु’-हरूलाई आफ्नो विकासको विभिन्न चरण विभिन्न रूपमा हुर्काउँदै आएको हो। एउटा लैङ्गिक उत्पीडन पितृसत्तात्मक समाजको एक दुखद चरित्र हो। पुँजी वा सम्पत्ति स्वार्थले समाजमा वर्गविभाजन ल्याएजस्तै सम्पत्ति स्वामित्वको सवालले परिवार र पछि पछि प्राकृतिक मातृसत्तात्मक व्यवस्थाको अन्त अनि पितृसत्ताको स्थापनाको बाटो खोलिदिएको समाजवैज्ञानिक मत धेरै भरपर्दो मत हो। महिला वर्गले आदिम समयदेखि आधुनिक समयसम्म आईपुग्दा दमन अनि अत्याचारको जुन अमानवीय अवस्थिति भोग्नु पयो त्यसको सम्झना मात्र पनि दुखदायी छ। 

भारतवर्षमा देशको धर्म अनि संस्कृतिको प्रशंसा गरेर नथाक्ने विभूतिहरू मनु, नारदहरूको महिला विरोधी चिन्तन विरुद्ध कहिल्यै माफी माग्दैनन। धर्मको नाममा बाल विवाहका बलि चढेका, सतिप्रथाका सिकार बनेका लाखौँ महिलाहरूको प्राणको निम्ति लाज मान्दैनन्। राजा रजौटाहरूको ज्यादती, अनि सामन्ती संस्कृति, बुहार्तन, दहेज प्रथा अनि अरू थुप्रै सामाजिक कुरीतिहरूको सिकार बनेका महिला वर्गको निम्ति आधुनिक पुँजीवाद धेरै उदार देखिन्थो। महिला वर्गले अब पढ्न पाउने, काम गर्न सक्ने, पुरुष बराबर राजनैतिक हक-अधिकार पाउने नारा अनि मुद्दाहरूले समाजमा स्थापित हुनपुग्यो। वास्तवमा पुँजीवादमा अब घरमा बन्द महिलाहरूको साटो काम गर्ने महिलाहरू जरुरी बनेको थियो किनभने पुँजीवादको आवश्यकता भनेकै श्रम अनि सस्तो श्रम थियो। पुँजीवादी अवश्यैकता समाजको पुरुष श्रेणीबाट मात्र पुरा हुनु सम्भव थिएन। यसरी समाजको नयाँ आर्थिक व्यवस्थासितै देखा पर्ने नयाँ आवश्यकताले समाजलाई प्रभावित गरेको हुन्छ त्यही परिवर्तनको कारण सामन्ती अवस्थामा कैद महिला अब बाहिर उभ्ने अवसर त पाए तर पुँजीवादको अर्को आवश्यकता बजारले आफूसित बजार-संस्कृति वा उपभोगतावाद लिएर आएको थियो। मान्छेमा उपभोग, मनोरन्जन अनि भौतिक सुख प्राप्तिको लालसा जन्माएर आफ्नो बजार कायम राख्ने पुँजीवादको चरित्रले महिला वर्गलाई एक भोग्य वस्तुको रूपमा स्थापित गर्न कुनै कसर बाँकी राखेन। मनोरन्जन, यौन-सुख, सौन्दर्य-प्रशाधन, सौन्दर्य होड, जस्ता विषयलाई विभिन्न सूचना श्रोत अनि मनोरन्जन माध्यम मार्फत जनताको चेतनामा रोप्ने कोसिस हुँदै आएको छ। यति मात्र नभएर पुँजीवादी होडका कारण असक्त वा विकासशील राष्ट्रहरूमा यौन-अपसंस्कृति भित्राउने कुनै सुनियोजित योजनाकै रूपमा महिला वर्गको शरीर अनि अश्लिलताको प्रचार हुँदै आएको छ। अहिले भारतवर्षमै पनि एक बालकदेखि वयस्कसम्मकै मगज विकृत तुल्याउने भरमार सामग्री प्रत्येकले मोबाइल अनि इन्टरनेटको रूपमा हात हातमै बोक्न सकिने समय हामी बाँचीरहेका छौँ।

एकतिर असीम प्रतिस्पर्धा, विलासतिरको अन्धो दौड, अर्कोतिर अप्राप्ति र निराशाको भास बोकेर उभीरहेको समयमा महिलावर्गसहित समग्र मानव समाजको वास्तविक उन्मुक्ति अनि सुरक्षाको निम्ति पुँजीवाद वा उपभोगतावादी अप-संस्कृति विरुद्ध त्यही स्थितिको कारक व्यवस्थाले केही हल खोज्न सक्छ भनेर आशा गर्नु भनेको अँध्यारोले एकदिन बाटो देखाउनेछ भन्ने अपेक्षा मात्र त हो। महिला वर्गको साँचो मुक्ति अनि जीवनको आधार बन्न सक्ने वैकल्पिक संस्कृतिको निर्माण आजको समय अनि व्यवस्थाको चरित्र बुझ्ने सचेत महिला अनि पुरुषहरूको काँधको जिम्मेवारी हो। यो लडाई आ-आफ्नो घर, सङ्घ-संस्था, राजनैतिक मञ्च अनि महिला-पुरुषहरूको व्यावहारिक एकताबाट मात्र हासिल गर्न सकिन्छ। कुरूप,वा अस्त-व्यस्त भएपनि संसार अनि जीवनको अन्त भैहालेको त छैन। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...