जब जब शोषणको सीमा नाघेर जान्छ तब तब श्रमिक संघर्षले समस्त गणतन्त्र प्रेमी समाजलाई बाटो देखाउन जरुरी छ।
सुमेन्द्र तामाङ
कोरोनाकालमा हामी सबैजना आफ्नु आफ्नु घरमा भिजेको मुसा जस्तो भएर ज्यान बचाउनको निम्ति आफ्नु घर भित्र पसेका थियौ। आइसोलेट गरेको ठीक त्यही समय, बगानमा काम शुरू गर्नु पर्ने सरकारी नोटीफिकेसन् फेसबुक अनि फ्याक्ट्रीका भित्ता भरि टासिने काम भयो। ठीक भोली पल्ट आफ्नु ज्यानलाई बाजीमा लगाएर चिया श्रमिकहरू पत्ती टिप्न निस्किए। फर्स्ट फ्लसको कुरा जो थियो। त्यस पछि धेरै कमानमा संक्रमण शुरू भएर सोत्तर नै बनायो। सैयौं संक्रमित भए। धेरैले ज्यान गुमाए। तर मजदुरहरुले काम गरी नै रहनु पर्यो। घरमा बसेर पनि के गर्ने? न त मालिकले रोज नै दिँदै थियो, न त सरकारलाई न्यायको चासो नै थियो। तर पनि मजदुरहरुले काम गरी रहे। मुनाफा भई रह्यो। मालिकहरू डरले घरमा आइसोलेशन तिर अनि मजदुरहरु आफ्नु पेट पालनमा कमानतिर। न्यूनतम हाजिरा छैन, एम्बुलेन्स छैन, स्कूल, अस्पताल जस्ता अधिकारको अत्तो पत्तो छैन। Poverty wage अथवा गरिबी हाजिरा -को दरले आफ्नु जीविका निर्धारण गरि रहेका छन् हाम्रो प्यारो दार्जीलिङका चिया मजदुर अनि कमाने परिवारहरू। प्रत्येक भोटमा त्यहाँ राष्ट्रिय अनि क्षेत्रीय पार्टीका नेताहरु खाँदा लगाएर भोट बटुल्न आउँछन्। भोटको समयआकाशको सपना देखाएर भोट पछि फेरि घिच्चुकमा समातेर भुइँमा थेचारी दिन्छन् प्रतेक खेप, आश्वासनको ड्रामा चल्छ सो बेला। यहाँ आफ्नु घर जमीनको समेत अधिकार छैन उनीहरू माइकमा भोटको बजारी गर्दछन्। अर्को तर्फ मालिक वर्ग भने नाफाको पहाड बनाएर आफ्नै गणतन्त्रको फाइभ स्टार होटलमा व्हिस्की पिउँदै गरेको खबर सुन्नमा आउँछ। एयरपोर्ट तिर दार्जीलिङ चिया १४ लाख प्रति किलोको दरले बिग्री भएको भिडियोहरू भाइरल भइरहेको छन्। कता कता फुटबल विश्व कपमा पनि दार्जीलिङ चिया प्रयोग भएको कुरा सुन्नमा आउँछ। यति धेरै डिमान्ड भएको एउटा वस्तु बनाउने श्रमिकको हालत भने दरिद्र नै पाइन्छ। हाम्रो समाज निर्माणको बहुसंख्यक अनि गरिब तप्काका मानिसहरू शोषित छन्। कस्तो बिडम्बना!
भारत स्वतन्त्र भए पछि नै चिया श्रमिक आन्दोलनको तिब्र गतिले गर्दा मालिकहरू बोनस अनि अधिकारका माङलाई स्वीकार्न बाध्य बने। धेरै प्लान्टेशन लेबर कानुनहरु बन्न पुगे। यसको निम्ति कमानको मजदुरहरुले अनगन्ती बलिदान दिएका। इतिहास साक्षी छ। संघर्षले जितेका यी अधिकारहरुलाई आज मालिक वर्गले खेलकाईचि गरी रहेका पाइन्छ। विस्तारै समस्त अधिकारहरू खोस्ने तरखरमा छ मालिक वर्ग अनि यसलाई भारत सरकारको टोटल सपोर्ट भएको कुरा क्लियर छ।
मिनिमम वेज लागू नभएको हुनाले यहाँ श्रमिक को रोज साथै अरु विवादहरू एउटा त्रिपक्षिय सभा द्वारा पारित गरिन्छ। मालिक पक्ष, मजदुर पक्ष अनि बंगाल सरकारको उपस्थितिमा यो त्रिपक्षीय मीटिंग सम्पन्न हुने गर्दछ। यो मीटिंग बोलाउने दाहित्व सरकारको हो। यस पालिको मीटिंग २ सेप्टेम्बर २०२२ मा बोलाइयो। त्यस पछि १६ सेप्टेम्बर २०२२ मा अर्को मीटिंग बोलाइयो। दुवै डाकिएको सभामा सरकारको उपस्थिति थिएन। यो मीटिंग पनि मालिक पक्षले बोलाएको थियो। सरकारले आफ्नु हात उठाएर मालिक वर्गलाई सम्पूर्ण नियन्त्रण दिन खोजी रहेको छ। सरकारको छायामा मालिकको राज कायम गर्ने विचार छ। मालिकहरू धेरै शक्तिशाली छन्। उनीहरूको गोजीमा सरकार अनि खुट्टाको पैतालो मुनी मजदुर राखेर आफ्नु वर्चस्व चलाई रहेका छन्। यस्तो संगठित शक्ति सँग लड्नका निम्ति भोटबाजी राजनीतिलाई त्यागेर श्रमिक वर्गको संगठित शक्तिलाई गुरुत्व दिन जरुरी छ। ८.३३% बाट ५% थपेर केवल १३.३३% मात्र बोनस दिने निर्णय लिएका छन् मालिक पक्षले। वर्गको हिसाबले उनीहरू एक छन् । डि टि ए, सिसिपिए, आई टी ए जस्ता मालिक हित संगठनहरुको प्रस्तुति रहेको थियो १६ सेप्टेम्बरको मिटिङमा। अर्को तर्फ बगानमा बोनसको हल्ला छैन। दशैं आउन अब लगभग दुई हप्ता मात्र बाँकी रह्यो। स्मरण रहोस् यो हरेक सालको नाटक बाजी हो। मजदुरहरूको जिन्दगीलाई नियन्त्रण गर्ने एउटा भद्दा रूप हो। यो वर्गीय संघर्ष धेरै पुरानो संघर्ष हो। मालिक अनि मजदुर बीचको संघर्ष। मालिक आफ्नु निर्णयमा अडिक छ। मजदुरको विरोधको चापमा परेर ट्रेड युनियनहरु पनि २०% भन्दा कम बोनस नथाप्ने निर्णय लिएका छन्।
अहिले साच्चै मजदुर आन्दोलनको स्तिथि राम्रो छैन। बेरोजगारी, पलायन, गरिबी, कुपोषण अनि शोषणले हालैमा तिब्र रूप लिएको छ। विभिन्न मजदुर विरोधी नीतिहरु ल्याएर श्रमिकलाई अझै शोषण गर्ने मास्टरमाइन्ड चली रहेको छ। ठीका प्रथा, हाइर अनि फायर, कन्ट्रयाक्ट प्रथालाई स्वीकृति दिने कानुनहरु बनिन्दैछन्। तर भोको पेट अनि असन्तुष्ट जिब्रोलाई ज्यादा समयसम्म थाम्न सकदैन यो हामीले बुझी राख्न जरुरी छ। श्रमिक वर्गले मालिकको यस अहंकारी प्रवृत्तिलाई लाइनमा ल्याउने काम गर्नु पर्ने आज समयको माङ हो। सालमा एक पल्ट आफ्नै मेहनतको मूल्य बोनस माग्दा पनि मालिकले दिन नसक्ने? न्यूनतम ज्याला पनि दिन नसक्ने। उल्टो “मजदुरहरु अल्छे भएको” कारणले उत्पादन नबढेको झुट फैलाई रहेका छन् मालिक वर्ग। दार्जीलिङ चियाको उत्पादन कम्ती दरमा भए पनि बढेको कुरा फ्याक्ट हो। टि बोर्डको डेटाले पनि सोही भन्छ। पलायन भएको कुरा बारे पनि गरौं। नाथे २३२ रुपियाँको लागि हेपाई खानु भन्दा बाहिर गएर नै काम गर्छु भनेर जाने धेरै छन्। फुलमायका हजारौं सपनाहरु टुटी सकेता पनि सपना देख्नु थामिएको छैन। महिना भरीको कमाई १५ – १८ हजार समेत पनि भए यी पलायन भएका धेरै घर आएर कमानमा काम गर्ने थिए। गरिबी रोज दिएर पलायन हुनु बाध्य बनाउने अनि त्यस पछि 'श्रमिक नै छैन' भनेर मजदुरको कमीलाई दोष दिन त मिलेन नी? यो कुरा पक्कै हो कि कमानमा धेर मानिस पलायन भई सकेका छन्। मोटा मोटी प्रतेक घरबाट एक जना पलायन भएका छन्। कमानमा काम गर्ने श्रमिक कम छन् अघिको हेरी। तर उत्पादनको रेखा भने बिस्तारै भए पनि बढी रहेको छ। उदाहरणको निम्ति, जसरी १० जनाको काम ५ जनाले गर्नु पर्दा अझै धेर मेहनत अनि श्रम चाहिन्छ त्यसरी नै कमानमा पलायनको बोज पनि श्रमिक वर्गले नै भोग्नु परेको छ। कामको बोझ अघि भन्दा धेर बढेको छ। कमानमा हालैमा काम गरी रहेका श्रमीकको उत्पादनशीलता अझै बढेर गएको कुरा यहाँबाट बुझ्न सकिन्छ। नाफा भएन भनेर बोनस कम्ती दिनु त झनै लज्जाजनक हुनु पर्ने हो मालिक वर्गको इज्जतको निम्ति। होइन र? अर्को तर्फ, बेसी जस्तो बगानका मालिकहरूले बगानबाट उठाएको नाफालाई आफ्ना अरु निजी कम्पनी अनि उत्पादन क्षेत्रमा निवेश गरिरहेको पाइन्छ। बगानलाई देखाएर ठूल्ठूला लोनहरु उधार लिरहेका छन् उनी। यो त भयो भयो २३ करोड भन्दा ज्यादा पैसा त पी एफ को मात्र बाँकी छ। अझै पेन्सन, ग्राचुटी, हाजिराका पैसाहरु पनि बाँकी छन्। बगानको उत्पादन बढाउनको निम्ति निवेश एकदमै कम छ। पुराना चियाका बुट्टा उखालेर नयाँ बिरुवा लगाउने काम, खाली ठाउँमा बिरुवा रोप्ने काम, पानी हाल्ने काम माथि मालीको ज्यादा ध्यान छैन। होटल अनि टुरिजम अहिले आकर्षित छ। त्यसैले यस्ता प्रकारको उत्पादन सम्बन्धी समस्याहरूको भार के मजदुरलाई मात्र लगाउन मिल्छ?
बिहानै ७ बाजी पत्ती टिप्नु हिँडे पछि दिन भरि लुथरुक्कै भिजेर, जुगालाई खुन खुवाउदै बेलुका ५ बजी मात्र घर फर्किने एउटा श्रमिकले दिनको ठिका त पुर्याएकै छ नी!
यहाँ गर्नु पर्ने काम न गर्ने त मालिक वर्ग पो हो त! खोइ त?
मालिकको अल्चेपना अनि कमान प्रति दहित्व बोध बारे चाहिँ किन कुरा गर्न बिर्सिन्छन् मालिक पक्षका यी दूतहरु?
यसै कारण श्रमिकहरू बोनस नपाउँदा उल्टो श्रमिकहरुलाई नै दोषी बनाउने यो बुर्जुवा संस्कारलाई श्रमिक वर्गले उल्टो प्रहार गर्न जरुरी छ। बोनस साथ साथै मिनिमम वेज़, पर्जापट्टा मजदुरहरुले पाएको हुनु पर्छ। यसको निम्ति लड्नको तयारीमा लाग्नु पर्ने समय आएको छ।
दार्जीलिङ कालिम्पोङका समस्त चिया बगानको श्रमिक एक हौ।
जब जब शोषणको सीमा नागेर जान्छ तब तब श्रमिक संघर्षले समस्त गणतन्त्र प्रेमी समाजलाई बाटो देखाउन जरुरी छ।