Friday, December 30, 2016

सम्पादकीय : नोभेम्बर - डिसेम्बर 2016

अँध्यारोको अभियान

विगतको केही समयदेखि, हाम्रो देशको एउटा अचम्मको यात्रा हामी हेरिरहेका छौँ। नयाँ नयाँ प्रकारको घटना पछि अर्को घटना। कहिल्ये नदेखेको, कहिल्ये नसुनेको घटनाहरू। अच्छे दिन आउँछ भनेर सुनेका थियौँ। पर्खियौं। अच्छे दिन ल्याउन तितो औषधि निल्नु पर्छ भनेको सुनेर, निल्न थाल्यों तितो दबाई। ‘सबके साथ सबका विकास’ हुन्छ भनेर सुन्नमा आयो। सबैले सबलाई, ...हेरेको हेरेकै छौँ। खै विकास त आएको छैन! खबरकागज, टिभी न्युज, फेसबुक, व्हाट्सएपमा अच्छे दिनको कुरा त छदैछ, तर वास्तवको जमिनमा? मान्छेको जीवनमा? स्वास्थ्य, शिक्षा, रोजगार... गाँस, वास, कपासको प्रश्नमा ... खै त अच्छे दिन?

कुरा त उल्टो पो भयो। अच्छे दिनको आश्वासन सुनाउने केन्द्र सरकारमा सत्तासीन भाजपाकै भुतपूर्व सर्वभारतीय अध्यक्ष र वर्तमान केन्द्रीय मन्त्री नीतिन गडकरीले भने— ‘यो अच्छे दिन चाहिँ हाम्रो घाँटीमा अड्केको हड्डी जस्तै भइसक्यो!!’ आँखा चिम गरेर शासकको अगाडि पुच्छर हल्लाउनेहरू छोडेर सबैलाई नै त महसुस हुनथालेको थियो किताबको आवरणमा जति नै अच्छे दिनको कुरा बसोस्, भित्र अर्कै कथाहरू छन्। मुस्लिम विद्वेष देखि लिएर दलितमाथि आक्रमण, विद्वान शोधकर्ता देखि लिएर विज्ञान-युक्तिवाद कर्मीको हत्या, मानव अधिकार कार्यकर्ता देखि लिएर मिडिया पत्रकारमाथि हमला, गोमाता देखि लिएर भारतमाता माथि राजनीति— कहिलेपनि यी विषयहरू एक्काइसौं शताब्दीमा पुगेर देशको राजनीतिको आधार कुरा हुन्छ भन्ने कुरोको कल्पना पनि कसैले सपनामा पनि सोचेको थिएन होला। 

दिल्ली छेउको उत्तरप्रदेशको दादरीमा महम्मद इखलखको फ्रिजमा गोरुको मासु छ भन्दै उसको हत्या गरियो, मृत गोरुको छाला निकाल्ने काम किन गर्दैछस् भनेर गुजरातमा दलितहरूलाई कुटपिट गरियो, कर्नाटकमा साहित्य अकादमी पुरस्कार प्राप्त कलबुर्गीले आफ्नो शोधमा सबैजना हिन्दु होइन— केही समूहको अर्कै इतिहास थियो भन्ने कुरा राख्ने अपराधमा उसको हत्या भयो। सन् २०१४ मा यो नयाँ केन्द्र सरकार आएपछि हजारौँ यस्ता घटनाहरू नयाँ तौरले हुनथाल्यो। पहिला राम्रो थियो? एकदमै होइन, तर यो जनतामाथि, विज्ञान-दर्शन-चिन्तन-मानवता माथि आक्रमणहरू एउटा नयाँ मात्रामा पुग्दैछ। विद्वेषको राजनीतिले ठुलो स्पेस लिंदैछ, एउटा अराजनैतिक अग्यताले हजारौँको सङ्ख्यामा मानिसलाई 'यस-म्यान' बनाउदैछ। 

प्रश्न नगर, समालोचना गर्नु हुँदैन। हालैको घटनाहरू हेर्दा जेएनयु-मा स्नातकोत्तर विद्यार्थी नजीबले भाजपाको विद्यार्थी सङ्गठन एबिभीपी विरुद्ध प्रश्न उठायो, उ लापता छ। विचार माग्ने उसको आमा दिल्लीको सडकमा आउँदा पुलिसले उनलाई भयानक पिटाइ ग󰈀यो। गुजरातमा दलितहरूको पक्ष लिएर आवाज उठाउने समाजकर्मी जिग्नेश मेवानी माथि बारम्बार आक्रमण, कश्मीर सङ्घर्षमा मानव अधिकार हनन विरुद्ध आवाज उठाउने खुर्रम परभेजको गिरफ्तारी, अलिकति समालोचनाको आवाज उठाउदा एनडीटिभी माथि एकदिनको प्रतिबन्धको धम्की, उडीसाको मालकनगिरिमा किसान-आदिवासीहरूको पक्ष लिएर सङ्घर्ष गर्ने माओवादीहरूको जनसंहार, भोपालमा मुस्लिम उग्रवादी सङ्गठनको सदस्यहरूलाई फर्जी सङ्घर्षलको नाममा पुलिस द्वारा हत्या— दमन-उत्पीडन-हत्याको एक डरलाग्दो सिलसिला हाबी भइरहेको छ। माथि भनिएको घटनाहरूलाई लिएर कसैको विरोध हुन सक्छ, बहस हुनसक्छ, चर्चा हुनसक्छ, सठीक प्रक्रियामा सुनवाई-कारबाही पनि हुनसक्छ। तर केही नभएर दमनको स्टिम रोलर मात्रै कुदाउदा प्रश्न त उठाउनै पर्छ। आदिवासीहरूको घरमा पुलिसले आगो लगाउदैछ, किसानहरू ऋणको बोझले आत्महत्या गरिरहेको छ, मजदुरहरू तलब नपाएर काम हराएर अधिकारको आवाज उठाउदा कुटाइ खाएर सडकमा बसेका छन्, सबै क्षेत्रमा नियुक्ति दिनदिनै, शिक्षा-स्वास्थ्यको निजीकरण, न्यायपालिकामा हजारौँ रित्तो पद— प्रश्न उठ्दैन? उठ्छ र शासकलाई अफ्ट्यारो हुन्छ। नत्रभने केको डेमोक्रेसी?

यी घटनाहरूबाट सरकारको जतिनै पागलपन देखियोस, यसको पछाडि एउटा सुनियोजित जनविरोधी योजना छ— एकतिर उग्र राष्ट्रियतावादी र साम्प्रदायिक राजनीति गरेर उच्चवर्ण ब्राह्मणवादी विचार फैलाउनु र अर्कोतिर पूंजीपतिहरूको पक्षधर योजना अझै गहिरोसँग लागु गर्नु। त्यसकै प्रतिबिम्ब हो जिओको विज्ञापनमा नरेन्द्र मोदीको नक्सा, देशमा बढ्दो दरले धनीहरूको सम्पत्ति वृद्धि हुँदैछ र गरिबको गरिबी अझै बढ्दैछ। फासिवाद यसरी नै पाइला चाल्छ। कालोधन उन्मुलनको बहानामा नोटबन्दीको यो वाक्कैलाग्दो कदम सुरु भएपछि आमजनताका हैरानी र पुँजीपतिहरूका उल्लास भित्र त्यस्तै सङ्केत देखिन्दैन?

सिन्कोना बगान र मजदुर

बिपल रसाइली

इतिहासमा चिया श्रमिकसंघ गठनको बेलामा यससितै सिन्कोना मजदुरहरू पनि होमिएका थिए। त्यसपछि मजदुरहरूका हित अनि अधिकार खोज्ने अध्याय सिन्कोना मजदुरहरूमा पनि शुरू भयो। दार्जीलिङको मङपू, रोङगू र लाटपञ्चर सितै सन् 1901 सालदेखि कालेबुङ महकुममाको मन्सोङमा पनि सिन्कोनाको खेतीलाई ब्यापकता दिँदै बगान शुरू गरियो। अङ्ग्रेजहरूको मजदुरहरूसितको बर्बर शासनबाट मुक्ति पाए पनि यता बगानका मजदुरहरूले भने हालसम्म पनि राजनैतिक, सामाजिक अनि आर्थिक चटारोबाट निकास पाएका छैनन्। 

दार्जीलिङ पहाड़मा बारम्बार गोर्खाल्याण्डको ब्रान्डमा टुसाउने राजनैति दल, पटक-पटकको आन्दोलन अनि यसले तयार गरेको अस्थिर राजनैति धरातलको समुखिन बन्न परिरहेका छन् बगानका श्रमिकहरू। पहाड़मा हुने विभिन्न राजनैति कार्यक्रमहरूमा पनि विशेष चिया अनि सिन्कोना श्रमिकहरूको सहभागिता रहेको नै हुन्छ। जसलाई यहाँका राजनेताहरूले जनसभाको भाषणहरूमा पनि दाबी गर्ने गर्छन्।

एकाइसौँ शताब्दीसम्म पनि बगानको हावा घरमा झुण्याएको पित्तले धण्टीको 'टवाङ... टवाङ...टवाङ...” गर्ने इसारामा फालिङ्ग लाग्न एकाबिहानै घरबाट निस्किएका मेरो बाबु ‘मन बहादुर’ टवाक लगाएको बेला यसरी गन् गन् गर्छन्। “आ...नेताहरू पनि थुप्रै देखियो, उनीहरूको जुलुसमा पनि हिँड़ियो, नारा लगाइयो, भाषण पनि धेर सुनियो, तर कसैले पनि केही नाप्न चैँ सकेन। यही बगानमा हाम्रा बाजे पुर्खाहरूले पसिना बगाए। हामीले पनि दस नङ्ग्रा खियायौँ। थुप्रै नेताहरू बनायौँ तर हामी लेबर चैँ जहिंको त्यहीँ नै छौँ। न त हामीले माटो पायौँ, न त बाटो नै।” भन्दै अरूलाई सुनाउँछन्। हो, बगानको कथा अनि व्यथाहरू यस्तै छ। यस्तै ब्रान्डेट सपनाहरू पसलहरूको हेङ्गरमा झुण्डी नै बस्छ। त्यही ब्राण्डको समान किन्न मन बहादुरहरूलाई माङ्गो पर्दा नै यसरी गन् गन् गरेका हुन्।

करिब एक दशकदेखि बगानको माटोमा यहाँका पूर्वजहरूको पसिना बगेको छ। हालसम्म चार पाँच पुस्ता बगानका श्रमिकहरू नै रहेका छन्। यहाँका प्रायः जसो परिवारहरू बगानको मजदुरीमा नै निर्भर रहेका छन्। सामाजिक अनि अर्थिकरूपमा पनि उति सबल छैनन्। जसको प्रभाव प्रायः सबै पुस्ताहरूमा पर्दै आइरहेको देखिन्छ। यस्ता गम्भीर विषयहरूबारे नागरिक-समाज पनि उति सचेत छैन। यसका लागि नयाँ पुस्ताका युवा गम्भीर बन्न पर्ने अवस्था रहेको देखिन्छ। 

राजनैति उत्तरचड़ाव अनि सामांजिक विसङ्गतिको सोझो प्रभाव बगानका निमुखा जनताले नै झेल्दै आइरहेका छन्। जब, जब क्षेत्रीय राजनैति उत्तरचड़ावहरू देखा पर्छन् तब कतिपय जिम्मेवारहीन् प्रतिनिधि अनि भालेमुङ्ग्रे अगुवाहरूको कुचक्रको सिकार पनि उही श्रमिकहरू नै पर्ने गर्छन्। यता समाजको आँखाहरूमा धुलो छेप्ने अप्परचुनिष्ठहरूका रग रगी पनि यही समय नै हुन्छ। कुरा आयो उही राजनैतिक दलहरूले तयार गरेको मजदुर सङ्गठनहरू जसलाई हाल बगानको नै एक निकाय झैँ रहेको छ। मजदुहरूको समस्यहरू केवल चुनाव प्रचारका पोस्टरहरूमा मात्र समित राखिदिएका छन् - ठेकादारहरूले। मजदुरहरूले युनियनलाई दिएको चण्डाको साटो उनीहरूले केवल झन्डा मात्र पाइरहेका छन्। 

निम्नतम् रोज, स्वस्थ्या सुविधा, गुणस्तरिय शिक्षा, रोजगार जस्ता विषयहरू मजदुर परिवारकहरूको मूलभूत समस्या हो। यस दिशातर्फ यहाँका राजनैतिक दलहरूका नजर उही नै हो। तर भोटको समय भने विभिन्न दलहरूको मेनिफेस्टोहरू यस्तै बुँदाहरूले भरिएका हुन्छन्। बगानका श्रमिकहरू बसोबासो गर्ने पुर्ख्याउली जमिनको पर्चा पट्टाको कुराले यस वर्ष बजारले निकै चर्चा बटुलेको थियो। आजभोलि कुनै राजनैतिक दलको केन्द्रीय समितिको बैठक या सरकारी दफ्तरको साटो गाउँका कुनै रक्सी पसल अनि हावा घरहरूमा यस मुद्धाको गम्भीर चर्चा भइरहेको देखिनेछ। सोही विषयलाई यहाँको क्षेत्रीय दलहरूले पनि चुनावी घोषणा पत्र बनाएको थियो। तर चुनावको हावासितै यो मुद्धा कुनै दुलोमा पसेको जस्तो छ। यस विषयले पनि श्रमिकहरूको हित अनि अधिकारको लागि यहाँको राजनैतिक दलहरू कतिको संवेद्धनशील छ भन्ने कुरा प्रष्टाएको छ।

बहस : तीन तालाक

प्रियशिखा राई

सुप्रीम कोर्टमा मुस्लिम महिलाहरूको आवेदन पछि तीन तलाक र यसलाई रद्द गरिनु पर्ने आवश्यकता लिएर देशभरिनै बहस चली रहेको छ। यस विषयमा प्रचलित विचारधाराहरू दुई पक्षका छन्। पहिलो हो अल इन्डिया मुस्लिम पर्सनल बोर्ड र अर्को हो स्वयम् मुस्लिम महिलाहरू। यी विचारधाराहरूले दुई विपरीत स्थानहरू इङ्गित गर्छन्। एउटा हो यथास्तिथिलाई जारी राख्नु र अर्को हो लिङ्ग न्यायको बदलाव वा सुधारका आवाजहरू। 

तीन तलाक केवल संविधानको मनोभाव विरुद्ध भएर मात्र रद्द गरिनु भन्ने कुरा होइन तर विशेष यो चलन अन्यायपूर्ण र अमानवीय हो। यो चलन नारीहरू प्रति आधारभूत भेदभाव हो। यो चलनले गर्दा मुस्लिम नारीहरू एक रातको अन्तरालमा बेघर र नानीहरू समेत कुनै पनि प्रकारको सहायता बिहिन लाचार छोडिएका छन्। अझ दुखद कुरा त के हो भन्दा यो एकै छिनमा मुखले तीन खेप ‘तलाक’ भन्दामा नै यसले मान्यता पाउछ। कतिपय नारीहरूलाई त फोन, एसएमएस, इमेल, फेसबुक, व्हाट्सएप, र अन्य सोसियल नेटवर्किंग साइटद्वारा तलाक दिइएको छ। कतिपय खण्डमा नारीहरूको अनुपस्तिथीमा तिनीहरूको लोग्नेले तलाक दिएका छन्। यस्तो चलनले गर्दा नारीहरू जीवनभर विक्षिप्त रहन्छन् र यस मानसिक आघात देखि बाहिरिन सक्दैनन्। 

भारतीय मुस्लिम महिला आन्दोलन भन्ने सङ्गठनले ४,७१० मुस्लिम महिला-हरूमाथि अध्ययन गरेका थिए र यी मध्ये ५२५ महिलाहरूको विवाह विच्छेद अथवा तलाक भएको थियो र यी ५२५ मध्ये ३४६ जनाको तलाकको कुनै लिखित रूप थिएन यानी मुखले नै भनेर भएको थियो, ४० महिलाहरूलाई चिट्ठीद्वारा तलाक दिइएको थियो, १८ महिलाहरूको फोनमा तलाक भएको थियो, १ एसएमएस द्वारा, ३ इमेल द्वारा र ११७-को अन्य विधि द्वारा भएको थियो।

इस्लाममा लेखिएको कानुनअनुसार विवाह स्पष्ट सर्तहरूसितको एउटा सामाजिक सम्झौता हो जुन निकाहनामा-मा प्रस्ट गरिनुपर्छ। विवाहगर्दा पुरुष र नारी दुवैको मत लिइन्छ। तर तलाक लिएर भने यस्तो एकदमै नारी विरोधी चलन जारी राखिएको छ। कुरान-मा भने कतैपनि ‘तीन तलाक’ उल्लेख गरिएको छैन। यसै कारणले हुनु सक्छ धेरै जसो इस्लाम देशहरूमा तीन तलाक कानुनी छैन। भारतमा पनि शिया समुदायका मुस्लिमहरूले तीन तलाक-लाई मान्यता दिदैनन्। तर मुद्दा यो होइन कि कुरानले यसलाई समर्थन दिएको छ वा छैन, मूल मुद्दा यो हो कि अरबमा १७-औ शताब्दीमा बनिएको निर्देशिका आज २१-औँ शताब्दीको भारतमा लागु गरिनु त? तीन तलाक-लाई समर्थन दिने मुस्लिम सँगठनहरूमा प्राय नै पुरुषहरूको सङ्घ छन्। यी सङ्घहरूले विवाह र तलाक लिएर शरियत कानुन लागु गरेर राखेको छ तर अन्य मुद्दाहरूमा यो लागु गरिएको छैन! जस्तै शरियतले यो पनि भन्छ कि सुद सँग पैसा लिनु ‘हाराम’ अथवा निषेध हो। तर के वास्तविकतामा मुसलमानहरूले ब्यांकमा पैसा जम्मा गरेर सुद सँग लिदैनन्? चोरको हात काट्ने निर्देश छ शरियतमा। त्यस्तो त हुँदै हुँदैन। यसको मतलब शरियत नारीहरूको दमन गरिने खण्डमा मात्रै उपयोग भइरहेको छ। नारीहरूको जिउने अधिकारमा यो चलन एउटा पितृसत्तात्मक आक्रमण त हो, होइन र? 

केही मुस्लिम नारी कार्यकर्ताहरूको भनाइ अनुसार पितृसत्तातमक् रूढिवादी मुस्लिम सङ्घहरूको हस्तक्षेप र गलत व्याख्याले गर्दा कतिपय कुरानले दिएको हक र अधिकारहरू पनि नारीहरूले पाइरहेका छैनन्। संविधानिक दृष्टिकोणबाट हेर्दा पनि तीन तलाक नारीहरूको मौलिक अधिकारको गम्भीर उल्लंघन हो। नारी र पुरुषको धार्मिक स्वतन्त्रताको अधिकार समान छ र पुरुषहरूले धर्मको नाममा नारीहरू माथि दमन गर्ने अनुमति अलिकति पनि छैन। मुस्लिम समाजभित्र नारीहरूमाथिको पितृसत्तात्मक दमन र शोषण यहाँ खतम हुँदैन। अर्को निन्दनीय चलन छ ‘निकाह हलाला’ जसमा तलाकको वाद यदि ती दुई दम्पति फेरी वैवाहिक सम्बन्धमा बस्नु चाहे त्यो पत्नी अर्को पुरुषसँग विवाह गरेर, ऊ देखि तलाक लिएर मात्र पहिलाको लोग्ने सँग फेरी निकाह अथवा विवाह गर्न सक्छ। यो चलनले गर्दा नारीहरू माथि यौन शोषण पनि हुन्छ। 

न्यायको निम्ति न्यायालय त छ। यहाँ यो उल्लेख गर्नु जरुरी छ कि सचार कमिटीको रिपोर्ट अनुसार भारतीय मुस्लिमहरू गरिबी, सामाजिक-आर्थिक रूपमा पछौटे र अल्पसंख्यक छन्। यस्तो अवस्थामा कतिपय नारी पो न्यायलयको दैलोमा पुग्न योग्य होला र? रूढिवादी मुस्लिम सङ्घहरूले Shariat Application Act, 1937-मा कुनै प्रकारको प्रगतिशील सुधार ल्याउन दिइरहेका छैनन्। फलस्वरूप मुस्लिम नारीहरू तीन तलाक, हलाला, उत्तराधिकार आदि मुद्दाहरू लिएर पीडित भई रहेका छन्।

Hindu Marriage Act, 1955; the Hindu Succession Act, 1956 र Christian marriage and Divorce Act बदलिंदै आएको कानुनी, सामाजिक र राजनैतिक अवस्थासँग संशोधन गरिएको छ। यस कारणले अन्य समुदायका नारीहरू केही हदसम्म न्याय पाउन सफल भएका छन्। RSS-ले धेरै वर्षसम्म Uniform Civil Code (समान नागरिक नियामावली)-को मांग गरेको थियो र यो BJP-को चुनावी मेनिफेस्टो-को एउटा भाग पनि रहेको थियो। तर यी मुद्दाहरूको समाधान Uniform Civil Code कदापि होइन। साँचो अर्थमा Uniform Civil Code त्यो हुनेछ जुन सारा धार्मिक समुदायका आवेगदेखि टाढा हुनेछ। यसले हरेक रूढिवादी पितृसत्तात्मक चलनहरू नकार्नु पर्नेछ, त्यो जत्तिकै पौराणिक परम्परा भएता पनि। यो सँग सँगै त्यस्तो सामाजिक अनुकूलन र व्यवहारलाई समर्थन दिनु पर्छ जुन समाजको प्रगतिसँग सामन्जस्यपूर्ण छ र साथै विविधताको महिमा र सौन्दर्यलाई बरकरार राख्छ। यस्तो कुनै कुरा लागू गरिनु अघि व्यापक ढङ्गमा बहस र छलफल गरिनु पर्छ।

प्रदूषण : चुनौती र समाधान

सुमित देवान

प्रदूषण एउटा गम्भीर समस्या भएर आएको छ।यो समस्या देशमा मात्र होइन विशवभरी नै एउटा गम्भीर मुद्दाको रूपमा खड़ा भएको छ। आज संसारभरि नैं प्रदूषणले गर्दा पर्यावरणको विनाश र फलस्वरूप मानिसको स्वास्थ्यमाथि नाना थरीको आक्रमण आइरहेको छ। यो समस्याको हल गर्न हरेक दिन असम्भव हुदैँ गइरहेको छ कारण दैनन्दिन पर्यावरणको क्षति भइरहेको छ। यसको कारणहरू त अनेक छन् तर मूल कारण भने मानिसहरूको अनियन्त्रित गतिविधि हो। विशेष गरी धनी मानिसहरू। प्राकृतिक धन त सबै मानिसको हो तर केही मानिसले यसलाई निजी पुँजी वृद्धिको निम्ति लुटेर ध्वस्त बनाएको छ। कम्पनीका विषाक्त रद्दी खोला नालामा फाल्छन्, विषालु धुवा खुला आकाशमा छोडछन् र हजारौँ सालमा पनि विघटित नहुने पदार्थको जमिनमा थुप्रो बनाउछन्। यसरि पर्यावरणको मूल्यमा धन कमाउछन् कम्पनी मालिकहरू र वातावरणलाई प्रदुषित पार्छन्। 

दिन प्रतिदिन ग्लोबल वामिंग लगातार बढीरहेको हामीलाई थाहा भएको कुरा हो। तर सरकार प्रदूषणलाई लिएर कतिको गम्भीर छ? त्यो त हामीले दिल्लीमा भएको दीपावलीको धटनाले नै थाहा पाउँछौ कि सरकार प्रदूषणलाई लिएर कतिको गम्भीर छ। हालैमा दीपावलीमा देशको राजधानी दिल्लीमा प्रदूषणको निराशाजनक चित्र अगाड़ी आएको थियो। दीपावली मा ज्यादा पटेका पड्काउनुको कारणले गर्दा बिषालु गैस वातावरणमा फैलियो त्यसैले दीपावलीको भोलिपल्ट समाचार पत्रिकामा डरलागदो स्थितिमा प्रदूषण पुगेको थाहा पायौं। दिल्लीमा दीपावलीको दिन वायु प्रदूषण सँग सँगै ध्वनि प्रदूषण पनि एकदम ज्यादा बढेको थियो। अर्को खबर पनि सुन्नुमा आयो कि दीपावलीको भोलिपल्ट देशभरि को विभिन्न अस्पतालहरूमा दमा, खोकी, इन्फेक्सन आँखा पोल्नु इत्यादिको बिमारीहरूको सङ्ख्या आश्चर्यजनक रूपले बढेको थियो।

WHO को एउटा रिपोर्ट अनुसार विश्वको 20 % प्रदिुषत शहरहरूमा 13 वटा शहर त केवल भारत को हो र देशको राजधानी दिल्ली सबै भन्दा प्रदुषित शहरहरूमा आउछँ। भन्नुमा त सरकारले देशमा प्रदूषण रोक्नुको नाममा धेरै प्रकारको कोसिसहरू चल्दैछ भन्छ।तर हामी देख्न सक्छौ कि अहिले सम्म कुनै पनि व्यवस्थाले केही खास काम गरेको छैन। दिल्ली एनसीआरमा फिलहाल प्रदूषणले गर्दा जनजीवनको हालत निकै गम्भीर छ। तर आनंद विहार र आसपासको क्षेत्रमा प्रदूषणले हवामा धुलोको मात्रा साल भरि एकै जस्तो हुन्छ। आनंद विहारको नजिक बसो बासो गर्ने मानिसहरूमा सबभन्दा ज्यादा नानीहरूलाई असर परेको छ। त्यहाँ धेरै जसो बालकहरूले नेबुलाईजर लगाउनु परिरहेको छ। कौशाम्बी(गाजियाबद)जुन आनंद विहार बस अड्डा देखि मात्र 280 मिटर टाडो छ र प्रदूषणले सबभन्दा ज्यादा प्रभावित भएको क्षेत्र हो। WHO को एउटा रिपोर्ट को अनुसार यो विश्वको सबभन्दा प्रदुषित क्षेत्रहरूमा एउटा हो। यहाँ सालभर प्रदूषणले हालत एकदम खरब रहन्छ। यसको केही कारण छ आनंद विहार बस अड्डामा साहिबाबाद औधोगिक क्षेत्र गाजीपुर को कूड़ाको पहाड़ अनि अरू राज्यहरूबाट आउने बसले आफू सँग ल्याउने धुलो। एनजीटी को दखल पछि आनंद बिहार बस अड्डा केही हत सम्म पक्का त भएको छ तर यो पहलले मात्र राहत पाउनुको उम्मीद छैन। दुखको कुरा के छ भने त्यहाँको मानिसहरूले घरमा पनि मास्क लगाउनु पर्छ। जानकारी अनुसार त्यहाका बासिन्दाहरूले न चाहदा चाहदै पनि प्रत्येक दिन 25 वटा सिगरेट जति धुआँ तानिरहेका छन्। दिल्लीमा प्रदूषण बढनुको अर्को कारण निजी गाडीहरू ज्यादा सङ्ख्यामा बढोतरी। दिल्ली जस्तो महानगरमा प्राईवेट गाडीहरूलाई पूरा तरिकाले प्रतिबन्द गरेन भने आउने दिनमा रोगको सङ्ख्या भयानक रूपमा बढनेछ र त्यस समय सरकारको हातमा रहेको आँड -ईवन फार्मुलाहरू बेकार हुने छ। 

यस्तो समयमा स्वीडेनले सारा संसारलाई यो समस्यासँग लड्नुको निम्ति एउटा नौलो उदाहरण दिएको छ। मानौं रात्रीमय घडीमा नयाँ किरण देखिएको छ। स्वीडेनमा प्राय ९९% घरेलु रद्दीलाई एक वा अर्को तरिकामा प्रयोगमा ल्याइन्छ। यसको मतलब हो कि त्यहाँ केवल १% रद्दी फ्यालिन्छ त्यो पनि उचित रूपमा ताकी पर्यावरणलाई हानी नपुगोस। स्वीडेनले प्राकृतिक स्थिरतालाई प्राथमिकता दिएको छ। यहाँको रद्दी देखि ऊर्जा बनाउने कार्य चालु भएको छ। यो ऊर्जा उत्पादन कार्यको निम्ति ३२ वटा विशेष कारखाना छन्। धेरै मात्रामा रद्दी भट्टीमा हालिन्छ र यसबाट जुन बाफ निस्किन्छ त्यसले जेनरेटर-टरबाइन चालु गरी बिजुली उत्पादन गरिन्छ। अर्को चाखलाग्दो कुरा के छ भने त्यहाँ रद्दी उत्पन्न गर्न माथि पनि जिम्मेवारी दिइएको छ। निजी घरको रद्दी होस् वा व्यावसायिक सङ्घको, रद्दी श्रोतमा नै अलग पार्ने व्यवस्था छ। वेस्टबाट रियुज, रिसाइकल र विघटित हुने थोक अल्लगिए कारखानाहरूमा रिसाईकल-को कार्य सजिलो हुन्छ। रियुज गर्नु सबैभन्दा सठीक अभ्यास हो। यसो गरे रद्दी उत्पादन श्रोतमा नैं घट्छ। रिसाइकल गर्दा ऊर्जा उत्पादन त हुन्छ तर यसको निम्ति पहिला कारखाना चलाउनु ऊर्जा लगानी हुनु पर्छ।

स्वीडेनले आफ्नो देशको वेस्ट मात्र नभएर यु.के., इटली, नोर्वे, आइरल्याण्ड बाट पनि वेस्ट आयात गर्छ ताकी उनीहरूको बिजुली उत्पादन कार्य चली रहोस्। पश्चिमी ढाचामा जसरि समानहरू फ्यालिनछ स्वीडेनले यस्तो व्यवहारलाई नकार्छ र समानहरू मरम्मत गरी फेरी प्रयोगमा ल्याउने पक्ष लिन्छ। यस्तो अभ्यासले गर्दा त्यहाँ यस्तो मजदूरवर्ग छन् जसले समान मरमत्तबाट आफ्नो रोजगार चलाउछन्। 

सारा संसारले स्वीडेनको वेस्ट म्यानेजमेन्ट प्रतिको यो क्रान्तिकारी दृष्टिकोणबाट केही सिख लिए प्राकृतिक विनाश केही हद थाम्न सकिन्थ्यो।

अमेरिकामा ट्रम्पको जीत

निकिता लामा

अमेरिकाको राष्ट्रपति पदको चुनावमा ७० वर्षीय पुँजीपति उम्मेदवार डोनाल्ड ट्रम्पको विजयले अमेरिकालाई मात्र नभएर सम्पूर्ण विश्वलाई नै चौकित बनाएको छ। अमेरिकाको लोकतन्त्रको लामो इतिहासमा सायद यो पहिलो चोटी हो कि राष्ट्रपतिको शपथ ग्रहणको अघि नै त्यसको विरोधको प्रदर्शन शुरु भयो अनि सम्पूर्ण राष्ट्रीय अनि अन्तर्राष्ट्रीय मीडिया चिन्तित भएको छ। अब उनले चुनाव जितेको छ तर हाम्रो सामु पनि भिन्न प्रकारको वाधा छ। सम्पूर्ण विश्वलाई नै थाहा छ कि नारीहरू, प्रवासीहरू अनि अल्पसंख्यक बारे उनको विचार कस्तो नराम्रो हो! उनको चाल चरित्र अनि कामहरू केहि समय अघि देखि पुरा जम्मै संसारलाई देखाउदै अनि बताउदै छ मिडियाले। सबै खबरहरूमा उनलाई कि जोकर कि त खलनायक पनि भन्दैछ। यस प्रकारको कुराहरू हरेक ठाउँ चुनाव प्रचारको एउटा माध्यम हो तर असुविधा के छ भने यसलाई नजरअन्दाज ग󰈀यो भने हामी त्यस मानिसको बारेमा केहि पनि जान्दैनौ, जो अब दुनियाको सबै भन्दा ठुलो अर्थव्यवस्था अनि सबैभन्दा मजबुत फौजी ताकतको मुखिया बन्न गइरहेको छ। अमेरिकी समाचार पत्र न्यू-यर्क टाइम्सले उनलाई अमेरिकाको इतिहासमा यस्तो ’प्रसिडेण्ट इलेक्ट’ भनेको छ, जो यस पदको निम्ति सबैभन्दा कम तयार छ!

उदारवाद बनाम कट्टरवाद/उग्र-राष्ट्रियतावाद
उनको विजयको अर्को पक्ष के हो भने मानिसहरू अब यो सत्य देखि अवगत भइसके कि समस्त विश्वमै घनिभूत हुदै गरेको आर्थिक सङ्कटहरूले गर्दा जसरी नानाथरिका रुढीवाद, कट्टरवाद, उग्र-राष्ट्रियतावाद वा चरम दक्षिणपन्थ वा नानाथरिका धार्मिक कट्टरवादको हावा चल्दैछ तथा गैर-राजनीतिक राजनेता अनि राजनैतिक पार्टीको भारी लोकप्रियता बढ्दैछ। 

यस्तोमा ट्रम्पको जित धेरै आश्चर्यजनक छैन। यसको विस्तृत चर्चा हामी अहिले गर्नेछौ। अमेरिकी राष्ट्रपति पदको चुनावमा प्राय यो देखाउने कोशिश गरिन्छ कि चुनावमा डेमोक्रेटिक अनि रिपब्लिकन उम्मेदवारहरू बिच कुनै ठुलो विचारको संघर्ष चल्दैछ। तर जमिनी हकिकतके हो भने त्यहाँको राजनीति प्राय विचारधारा विहिन नै छ। भित्री नीतिको केहि मुद्दाबाहेक अमेरिकी सत्ता प्रतिष्ठान बिच प्राय आम सहमतिनै पाइन्छ। ज्यादातर चुनाव खोक्लो अनि अर्थहीन हुन्छ तथा मिडियाको तड़क भड़कले समस्त चुनावी परिदृश्यलाई अझ गैर-राजनीतिक बनाइदिन्छ। यसैले जब यस चुनावमा रिपब्लिकन उम्मेदवारको रुपमा डोनाण्ड ट्रम्प चुनावको मैदानमा उत्र्यो तब अमेरिकी मिडियाले एक टेलीभिजन सेलिब्रिटी उद्योगपति तथा सम्पूर्ण रुपले गैर-राजनैतिक उम्मेदवारलाई त्यतिबेलासम्म पनि गम्भीरतापूर्वक लिएनन् जब सम्म उनि पार्टीको अधिकारिक उम्मेदवार घोषित भएको थिएन। वास्तवमा अमेरिकी चुनावमा कट्टरवादको नै दुइटा गुठहरू बिच लडाईं चलिरहेको थियो। डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको घोर दक्षिणपंथी तत्वलाई एकत्र ग󰈀यो साथै आफ्नो चुनाव अभियानमा ट्रम्पले मुसलिम र अरु आप्रवासीहरूको कारणले गर्दा अमेरिकाको नागरिकहरूको सुरक्षा अनि सांस्कृतिक अस्मिता माथि खतरा भएको बताउदै उनीहरूलाई अमेरिकामा पस्न देखि रोक लगाउने मांग गरे। सिमानामा पर्खाल बनाउने कुरा पनि गरे ट्रम्पले। सबै भन्दा ठुलो कुरा उनले अमेरिकाको गौरवको पुनर्स्थापना बारे कुरा गरे। उनले श्वेत अमेरिकिहरूको बेरोजगारी वा बेकारी जस्तो मुद्दालाई बडो आक्रामक तरिकाले उठाईरहेका थिए। त्यसै कारणले एउटा श्वेत मध्यवर्गको नायक बनेर उनि उभिए अनि जबर्दस्त समर्थन पनि पाए।

ट्रम्पको फॉसीवादको आर्थिक र सामाजिक पृष्ठभूमि 
आज यदि दुनिया भरमा कट्टरवाद, धार्मिक कट्टरता तथा फॉसीवाद हावी छ भने यसको कारण कहि न कहि अमेरिकी सत्ता प्रतिष्ठान नै जिम्मेवार हो। आज भारतमा सङ्घ परिवारको फासीवादलाई लिएर अमेरिकालाई केहि आपत्ति छैन। सम्पूर्ण यूरोप, अफ्रीका तथा ल्याटिन अमेरिकी देशहरू, फ्रान्स, नेदरल्याण्ड, अस्ट्रिया, स्वीडेन, डेनमार्क, हंगेरीमा नानाथरिका कट्टरवादी पार्टिहरू तथा नेताहरूको लोकप्रियता बढदै गएको छ। जसलाई अमेरिकी सत्ता प्रतिष्ठानको खुला समर्थन प्राप्त छ। यसको ठीक विपरीत भेनेजुएला, ब्राजील, ग्रीस जस्तो देशको प्रगतिशील सरकारहरूलाई लगातार अस्थिर पार्न, र ती सबै देशहरुमा उनीहरूको विरोधीहरूलाई लगातार सहायता पु󰈀याउनमा सदैव तत्पर भइरहेको हुन्छ अमेरिका। 

नब्बेको दसकमा सोवियत संघ तथा पूर्वीय युरोपको देशहरूमा समाजवादी सत्ताको पतन तथा सोभियत संघ विघटन पश्चात् तत्कालिन अमेरिकी राष्ट्रपति रेगलले पुरा साहससित कोल्ड वर वा शित युद्ध जितेको दावा ग󰈀यो अनि अमेरिका एकल महाशक्तिको रुपमा उभियो। ‘इतिहासको अन्त’ तथा ‘पुँजीवादको अन्तिम विजय’-को घोषणा गर्न थालियो। तर यो स्थिति धेरै दिन चल्न सकेन। छिटै अमेरिका आफ्नो मित्र राष्ट्रहरूसंग दुईवटा गल्फ वर वा खाडी युद्धमा होमियो। यी दुइवटै युद्ध मानवता प्रति सबैभन्दा ठुलो अपराध थियो। पहिलो युद्ध त अमेरिकाले खाड़ीमा पेट्रोलियममा वर्चस्वको लागि लडेको थियो। ‘अमेरिकी जीवन शैली’को रक्षा (संसारको कुल पेट्रोल उत्पादनको 80 प्रतिशत पेट्रोलको उपभोग अमेरिका एक्लैले गर्छ)को नाममा लाखौ मानिसहरूको रगत बहाइएको थियो। यसको प्रतिक्रिया स्वरूप 9/11 को घटना भयो र त्यसपछि उसले अफगानिस्तान र ईराकमा सैन्य कार्यवाहिहरूमा उल्झिनु प󰈀यो जसले अमेरिकाको आर्थिक रूपले कमर भाची दियो। 

यस युद्धहरुका परिणामस्वरूप समस्त एशिया, अफ्रीका तथा यूरोपमा अलकायदा, तालिबान, बोको हरम जस्तो अनेकौं आतंकवादी संगठनहरूको जन्म भयो। शुरुमा अमेरिकाले नै थुप्रै संगठनलाई आर्थिक र सैनिक सहायता दिएर सोवियत संघको खिलाफ उभाएको थियो। तर आज यहि संगठन अमेरिका अनि सम्पूर्ण विश्वको लागि ठुलो खतरा बनेर गएको छ। सीरिया, लिबिया अनि इराकमा सक्रिय आई.एस्.आई.एस वा इस्लामिक स्टेट नामक आतंकवादी मुस्लिम कट्टरवादी संगठनको गतिविधिहरूले सम्पूर्ण यूरोप, अमेरिका, अफ्रीका तथा एशियासम्मलाई हल्लाई दियो। अमेरिका तथा उसको सहयोगी गठबंधन देश रूस, जापान, ब्रिटेन, फ्रांस आदिमा मानवरहित ड्रोन विमानहरूले आई.एस्.आई.एस-लाई समाप्त गर्नको लागि उनीहरूको क्षेत्रमा भयानक बमबारी गरिरहेका छन्। जसले सारा संसारमा अस्थिरता पैदा गरेको छ। यी युद्धरत देशहरूबाट असंख्य शरणार्थी यूरोपीय देश तथा अमेरिकामा आइरहेका छन् तथा भारी सामाजिक आर्थिक असंतुलन पैदा गरिरहेका छन्। आज यदि यूरोप तथा अमेरिकामा भारी मात्रामा शरणार्थी पुगिरहेका छन् भने यसको लागि कही न कही उसैको (अमेरिका) युद्ध उन्मादी तथा वर्चस्व कायम गर्ने नीति नै जिम्मेदार छ।

डोनाल्ड ट्रम्प तथा युरोपेली देशहरूको अन्य कट्टरवादी नेताहरुले यस स्थितिको फायदा उठाएर आप्रवासिहरू खिलाफ घृणा फैलिरहेका छन्। ट्रम्पलाई इस स्थितिको जबरजस्त फाइदा भयो। आज अमेरिकाको सामाजिक, आर्थिक संकट निरंतर बढ्दै गइरहेको छ। छिटो छिटो आउने मन्दीले उसको आर्थिक तन्त्रलाई अझ संकट ग्रस्त गरिरहेका छ। कसैले भन्न सक्छ र कि आज १९३० जस्तै आर्थिक संकट छैन र फासीवाद आउन सक्दैन? आज सैन्य ताकतको बलमा अमेरिका विश्वको सबै भन्दा शक्तिशाली देश भएता पनि आर्थिक रूपले उ संसारको सबैभन्दा बेसी ऋण बोकेको देश बनेर गएको छ। सन् २००८ मा ’सबप्राइम संकट’को कारणले लाखौ अमेरिकीले बेराजगारी तथा गरीबीले ग्रस्त थिए। एकतिर अकुपाई वलस्ट्रिट सङ्घर्षमा त्यस गुनासो प्रतिबिम्बित भएको थियो, अर्कोतिर आज चुनावमा त्यही ‘क्राइसिस’ बेलाको सत्ताधारीहरुको विरोधमा सङ्कटग्रस्त मानिसहरूले डोनाल्ड ट्रम्पलाई भारी समर्थन दियो। लगभग १०० वर्ष पहले अमेरिकी सिनेटर ’बेवरीज’ले विश्व अर्थव्यवस्थामा अमेरिकी वर्चस्वको महात्वाकांक्षाहरूलाई हावा दिदै भनेका थिए “के हाम्रो केहि मिशन छैन? के आफ्नो सहजनहरु प्रति हाम्रो केहि कर्तब्य छैन? हवाईद्वीप समूह हाम्रै हो, पोर्ट रिको हाम्रै हुने वाला छ, क्यूबाको मानिसहरूको अनुरोधमा अन्ततः क्यूबा पनि हाम्रै भैहाल्ने छ, पूर्वी देशहरूमा, यहासम्म कि एशियाको प्रवेशद्वार फिलिपिन्स सम्म हाम्रो उदार सरकारको झण्डा पुग्नु छ। हामी धरतीको कुनैपनि भागबाट आफ्नो कदम हटाउन सक्दैनौ, जहाँ विधाताले हाम्रो झण्डा एकपल्ट गाडी दिएको छ।’’ अमेरिकी साम्राज्यवादको यो दबदबा अब टुक्रिंदै गइरहेको छ— क्यूबा, ईरान जस्तो शत्रु देशहरू संग उसलाई उनिहरूको सर्तमा समझौता गर्नु परिरहेको छ। उत्तर कोरियाको परमाणु तथा मिसाईल कार्यक्रमहरूमा अमेरिका रोक लगाउनमा असक्षम रहेको छ। जापान, चीन, रूस, भारत, ब्राजील, मैक्सिको जस्तो देश पनि आज बडो अर्थव्यवस्थाहरूको रूपमा उभ्रिरहेका छन् तथा साम्राज्यवादी लूटमा अमेरिकासित समान रूपमा साझीदार बनिरहेको छ साथै आर्थिक रूपमा अमेरिकी वर्चस्वलाई चुनौती दिरहेको छ। डोनाल्ड ट्रम्प यी ‘आत्म गौरव’को चेकलाई भजाउनमा सफल रहेको छ।

ग्लोबलाइजेसन विरुद्ध प्रतिक्रिया
१९८० पश्चात लागु गरिएको ग्लोबलाइजेसन वा भूण्डलीकरणको नीतिहरूले दुनियॉ भरिमा विषमता तथा असमानता बडेको छ। भूमण्डलीकरणले कतिपय मानिसहरूको लागि अवसरको ढोका खोलेको छ, उनीहरूको पुंजी बढेर गएको छ, तर ज्यादातर मानिसको लागि यो गरिबीको बदहाली लिएर आएको छ। यसमा विजयी हुने कम्ती छन्, तर गुमाउनेहरू धेरै छन्। हरेक उभ्रिरहेको अर्थव्यवस्थामा मध्यमवर्ग ‘सुपररिच’ र ’अल्ट्रारिच’ मतलब अत्यन्त धनाढ़्य मानिसहरू विजेता बनेको छ, अनि औद्योगिक देशहरूमा कामगार व निम्न मध्यवर्ग अनि विकासशील देशहरूमा गरीब अनि समाजमा हेपिएको मानिसहरू वन्चित भएका छन्। यूरोपीय संघको देशहरूहरूमा त झन बेरोजगारीको औसत हरेक देशको कुल कार्यबल भन्दा १० प्रतिशत ज्यादा छ। जबकि यूनान तथा स्पेनमा यो ऑकड़ा 20 प्रतिशत सम्म रहेको छ। विकसित देशहरूमा पनि ब्लूकालर व व्हाइट कालर कामगारहरूको वार्षिक आमदानीले मात्र एकप्रकारको स्थिरता बनाइरहेको छ। अमेरिकामा १९७० को दशक बाद नै लगभग ९० प्रतिशत कामगारहरूको वास्तविक मजदूरीमा केहि वृद्धि भएको छैन। भूमण्डलीकरणले ‘रोजगार-विहीन विकास’को नयाँ अवधारणा पैदा गरेको छ। सबै मिलाएर वास्तवविकता के हो भने आर्थिक उदारीकरणको नीतिहरूले सबै देशहरूमा समाजलाई आन्तरिक रूपमा छुट्टाउने काम गरेको छ। अमेरिका तथा संसार भरिमा यस्तो देखिंदैछ कि आर्थिक असमानताको कारणले जुन जगह खाली भएको थियो त्यसलाई दक्षिणपंथी नेता तथा उग्र राष्ट्रवादी पार्टिहरूले भरिरहेको छ। उनीहरूले मुख्य धाराको राजनीतिक पार्टिहरूको विफलतालाई नदर्शाएर सत्ता प्रतिष्ठानको खिलाफ मानिसहरूलाई रिस र घृणालाई हावा दिरहेको छ। उनीहरुको राजनैतिक प्रवृत्ति अवसरवाद अनि मानिसलाई लोभाउने कुरोमाथि टिकिरहेको छ। अमेरिका अनि यूरोपको थुप्रै देशहरुमा रोजगार अनि मजदूरी सम्बन्धि क्षेत्रहरुमा प्रवासिहरूको मुद्दा उठ्यो, र कट्टरपन्थी उग्र राष्ट्रियतावादीहरुको पक्षधर माहौल बनाउनुमा यसले अहम भूमिका निभायो। यहि प्रकारले प्रवासन खिलाफ विष वमनको लागि बडो चालाकीसँग सांस्कृतिक पहचानलाई हावा दियो। इस्लाम विरोधी भावनालाई उभार्नको लागि धार्मिक रूढ़िवादको याद गरायो। तर रोजगार र अर्थसङ्कटको स्वरूप के हो, जरा कहाँ छ— यो कुरा तिनीहरुले कहिलेपनि भन्दैनन्। 

आज आर्थिक उदारीकरणको नीतिहरूले सम्पूर्ण राजनीतिलाई विचारधाराविहीन बनाउनुमा महत्वपूर्ण भूमिका निभाएको छ। यदि आज ‘लिंकन तथा जैफरसन’ को देशमा एक घोर दक्षिणपंथी अनि गैर-राजनीतिक व्यक्ति राष्ट्रपतिको पदमा आसीन हुन्छ, तब हामी स्वयम यो निर्णय गर्न सक्छौ कि यसको लागि कुन नीतिहरू जिम्मेवार हो अनि किन नव-उदारवाद विरुद्ध वैश्विक संघर्षको आवश्यकता छ।

ओ याङ्की गो होम! '९-११' को डेढ दशक

राजा पुनियानी


‘ओइ युद्धको मुखिया, सुन्दैछस्?
...मेरो संसारसँग तँ यस्तरी खेल्छस् 
मानौं यो तेरो सानो खेलौना होस् 
— बब डिलन, मास्टर्स अफ वार, १९६३

फल्टलाइन नाइन–इलेभेन
रक्सी– कहिले ज्यान लेवा त कहिले ज्यान देवा। राति निक्कै बियर तानेछन्। ढिलो उठेछन्। बिहानै साथीसँग ट्विन टावर हेर्न जाने योजना। बियरकै ह्याङ्ले साफसाफ जोगिएका थिएछन् साइकले पुष्कर शाह। ‘पृथ्वीलाई साढे पाँच फन्को’मा शाह लेख्छन्। केही दिनको अमेरिकी यात्रामा रहेका नेपाली शाह। यिनको ज्यान त जोगियो। मरे तीन हजार अमेरिकी। ६ हजार घाइते। ७ डिसेम्बर, सन् १९४१ पर्ल हार्बर आक्रमणपछिको यो दोस्रो ठुलो हमला अमेरिकी इतिहासमै। अमेरिकी व्यापार केन्द्र वल्र्ड ट्रेड सेन्टर लादेन सञ्चालित हवाई हमलापछि ग्राउन्ड जिरोमा ढलेको दिन। सन् २००१ को ११ सेप्टेम्बर। ‘नाइन–इलेभेन’ (९/११) नामले चर्चित तारिख।

राष्ट्रपति जर्ज बुस टु इस्लामी आतंकीहरूलाई मुसाखेदो गर्ने ‘फतवा’ जारी गर्छन्। तथाकथित इस्लामी आतंकीविरोधी अभियानको न्वारान हुन्छ– ‘इन्फाइनाइट जस्टिस’। हमलालगत्तै ‘अल्जेब्रा अफ इन्फाइनाइट जस्टिस‘मा अरुन्धती रायले लेखिन्– ‘संसार अहिले सास रोकेर सम्भावित आतङ्कको पर्खाइमा छ।’ भयो त्यही। अन्ततः।

यसपालिको नोभेम्बरले हमलाको डेढ दशक कटेको छ। हमलापछि अमेरिका के त्यही अमेरिका रहेको छ ? के विश्व त्यही विश्व छ ? फेरिएको छ भने कस्तरी ? विश्वकै चासो। त्यो महाक्रमणपछि तातो समयरेखामा हतारहतार बितेको लाग्ने डेढ दशक। शक्तिशाली, चम्किलो र अत्याधुनिक देश। सपनाको देश अमेरिका। यो व्याकुल डेढ दशक डेढ शताब्दी लामो दुःस्वप्नको यात्रा साबित भएको हो अमेरिकालाई।

खासमा नाइन–इलेभेन कसरी हाबी छ त हामीमाथि ? नाइन–इलेभेन यस कारणले पनि प्रत्येक मुलुकको लागि, प्रत्येक भूगोलको लागि, प्रत्येक मान्छेको लागि अकाट्य मुद्दा हो कि यो त्यही तारिख थियो जसले बहुध्रुविय विश्वलाई दुई ध्रुविय विश्वमा फेर्ने मूर्ख कारण दियो एकातिर अमेरिका। अर्कोतिर ‘अ–अमेरिका।’ कल्चरल स्टडिजको भाषामा ‘अदर्स’। जो अमेरिकातिर छैन, ऊ दुश्मन– ‘डेमोक्रेसी’को। ‘फ्रिडम’को। ‘सिभिलाइजेसन’को।

आफूलाई गणतन्त्रको एक्लो ठेकेदार ठान्ने युद्धप्रेमी अमेरिकाको चरित्र उस्तै रहे पनि केही फरक परेकै हो नाइन–इलेभेनको ‘सक एन्ड अ’पछि। नाइन–इलेभेन अब एउटा यस्तो फल्टलाइन साबित भएको छ, जसले अमेरिका र गैर–अमेरिकामाझको विभेदलाई पुस्ता दर पुस्ता सम्झाइरहनेछ। कोक, केएफसी चिकेन, सबवे पिज्जा खान मन नलाग्नै सक्छ।

तर त्यसको सट्टा देशी खाजा खाने एउटा मामुली निर्णयमा एउटा देश वा मान्छेको लागि कति जोखिम लुकेको हुन सक्छ, त्यसको हिसाब यही फल्टलाइन नाइन–इलेभेनको गहिराइले बताउँछ। फल्टलाइनको गहिराइ वा उचाइको सर्वेक्षणले लेखाजोखा दिन्छ ‘सम्भावित आतङ्क’को म्याग्निट्युडको।

थोपिएको आतङ्क र ‘अर्को’ विश्व
बुद्धले परिवर्तन जीवनको एकमात्र ‘स्थिर’ हो भनेका छन्। जर्मन बर्तोल्त ब्रेख्तले एउटा कवितामा लेखे, ‘हरेक चीज बदलिन्छ आफ्नो हरेक आखिरी साससँगै।’ हमलाको दुई महिनापछि छापिएको उनको किताब ‘नाइन–इलेभेन’मा अमेरिकी चिन्तक–भाषाविद् नोम चम्स्कीले भने, ‘पहिलोचोटि बन्दुकले दिशा फेरेको छ। जुन आफैँमा नाटकीय परिवर्तन हो।’

जसरी आगोको आविष्कारपछि, जसरी चक्काको आविष्कारपछि दुनियाँको नापनक्सा फेरिएको थियो, त्यसरी नै दुनियाँले परिवर्तनको नाममा थोपिएको उत्तर ‘नाइन–इलेभेन’ आतंकमिथक भोग्नु परेको छ। नाइन–इलेभेन अमेरिकाको ‘निजी आतङ्क’। यो निजी आतङ्कलाई ‘ग्लोबल टेरर’ बनाइएको होलोकोस्ट थियो यो। कसरी शक्तिशाली मुलुकले आफ्नो आतङ्क पनि कमजोर मुलुकहरूलाई थोप्छ। थोप्छ र बेच्छ। यो त्यसैको जल्दो उदाहरण पनि हो। ‘वैश्विक आतंकवाद’ ढाल्ने नाममा आफैँ वैश्विक आतङ्कवादी भएको छ अमेरिका।

नाइन–इलेभेन यता, केही हदसम्म, विश्वको संरचनामै परिवर्तन आएको छ किनभने दोस्रो विश्वयुद्ध (दोवियु) यता भइरहेको लेनदेनका वैश्विक सम्बन्ध र अन्तर्देशीय राजनीतिको आधारभूमिमा भएको टेक्टोनिक सिफ्टिङ नाइन–इलेभेनपछि झन् चर्किएर गयो। धेरै मिथ, बिम्ब, अर्थहरू अंगभंग भए। युद्धको र शान्तिको, शासकको र शासितको, स्वतन्त्रताको र दासत्वको परिभाषामाथि पुनर्दृष्टिको खाँचो उब्जिएको छ।

अञ्जानमै हामी पसिगएका छौँ शब्दले अर्थ र अर्थले शब्द गुमाएको जमानामा। यो जमाना हो – उत्तर ‘नाइन–इलेभेन’ युग। जहाँ अर्थहरू टिकाइएका शब्द ठाउँमा टिकिरहँदैनन्। र जब शब्दहरू अड्याइएका अर्थ काँटीमा अड्की रहँदैनन्।

‘अर्को’ अर्कै भएको छ। ‘अर्कै’ कुन अर्थमा भने नाइन–इलेभेन अघि र पछिका विश्व धेरै मानेमा एउटै होइनन्। एउटा ‘अर्को’ले अर्को ‘अर्को’लाई हेर्ने दृष्टिकोणमा आएको फरकले गर्दा पनि यस्तो भएको हो।

शक्तिशालीहरूको निम्ति शक्तिहिन ‘अदर’ वा अर्को हुँदाखेरि शक्तिहिनको लागि शक्तिशाली अर्कोको अर्कोदेखि छुट्टै ‘अर्को’ हुनै सक्छ। यी दुई अर्कोहरू माझको फल्टलाइन अझ केही साल वा केही शताब्दी नपुरिने छाँट छ। ‘अमेरिकाको अभियानले एक हदमा घच्ची खाएको छ भने विश्वबाटै अलगथलग पार्न खोजिएको अरबी मुलुकहरू झनै गोलबद्ध बनेका छन्’, नक्सलबाडी आन्दोलनका प्रारम्भक चारु मजुमदारका राजनैतिक छोरा अभिजित मजुमदार भन्छन्।

पुष्ट नभएको ‘कन्स्पिरेसी थ्योरी’ले नाइन–इलेभेन घटना अमेरिकी सत्ताकै चाल हो पनि भन्छ। एकताकाका असफल व्यापारी जर्ज बुसले अमेरिकावासी लादेन आफन्तीलाई घटनालगत्तै सीमा कटाएको तथ्य पनि सार्वजनिक छ। लादेनसँग पारिवारिक मैत्री राखेका बुसको राष्ट्रपति हुने कथित चुनावी धाँधली र खाडी युद्ध ‘अपरेसन डिजर्ट स्टर्म’ (सन् १९९०–९१) को बदनामीबाट फोकस हटाउन पनि यो सुसाइड गोल अमेरिकाले गरेको भन्ने अड्कल छ यो थ्योरीकोे। अमेरिकाले आफ्नो ताकत अझ बढाउन नै यो आत्मघाती चाल चलेको एकथरी मान्यता छ।

युद्धको हिस्टेरियामा अमेरिका
सन् १९६१ मा अमेरिकाले थालेको भियतनामी हमला सात सालसम्म चल्यो जसमा अमेरिकाले चलाएको बदनाम बम हो न्यापाम। रासायनिक हतियार कार्किनोजेनको अति घातक रसायन डाइक्सिन छरेर भियतनामी किसानहरूको खेती र ज्यानमाल नष्ट गरिदिएको थियो। भियतनामले भयभीत अमेरिका झन् थेत्तर भयो।

त्यसयता आफ्नो उमेरको ९० प्रतिशतभन्दा बढी साल अमेरिका युद्धमा व्यस्त रहेको तथ्य छ। सन् १९३५–४० सम्मको ‘महामन्दी’ (ग्रेट डिप्रेसन)को बेला मात्र अमेरिकासँग युद्धमा जाने आँट थिएन।

आउँदो हप्ता यही युद्धप्रेमी राष्ट्रप्रमुखको चुनाव हुने हो। सधैंझैं यसपालि पनि कुनै राष्ट्रप्रति दाबेदारले युद्धमा नजाने बयान दिएका छैनन्। अमेरिकाका हरेक राष्ट्रपति नै युद्ध सरदार हुन्।

उपनिवेशले ब्याएको उपनिवेश
खासमा, विस्तारवाद र साम्राज्यवादमाझ पातलो धर्सा छ। विस्तारवाद मूलतः भौगोलिक क्षेत्रको अनियन्त्रित विस्तार हो। साम्राज्यवाद राजनैतिक र आर्थिक शक्तिको विस्तार। उन्नाइसौं शताब्दीको विस्तारवादी लोभले पराकाष्ठा छोयो पहिलो विश्वयुद्धमा। सन् १८९८ मा हवाई भू–अधिग्रहण अमेरिकी साम्राज्यवादको पहिलो गतिलो पहल थियो।

सन् १७६० मा इङल्यान्डमा ह्यान्डलुम कारखानाको स्थापना भयो, संसारमै पहिलो उद्योगको थालनी। इङल्यान्डको विस्तारवाद पहिलो उद्योगजनक मुलुक भएकोले पनि आवश्यक बन्यो। तर, ‘दोवियु’बाट अमेरिका उकासिएर आयो। १८ औँ शताब्दीमा उपनिवेशक ब्रिटिस साम्राज्यसँग लडी उपनिवेशित १३ वटा राज्य सन् १७७६ मा (आजको उपनिवेशक) ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ गठन भएको हो।

इङ्ल्यान्डले भौगोलिक उपनिवेशमा जोड दियो। अमेरिकाले आर्थिक। उपनिवेशले कसरी आफ्नो वंश चलाउँछ, त्यसको उदाहरण हो अमेरिका। उपनिवेशवादले औद्योगिक रगत पाएपछि ऊ बन्छ पुँजीवादी। अमेरिका इङल्यान्डकै ‘प्रोटोटाइप’ हो। अमेरिका युरोपीय उपनिवेशवादको प्रवृत्तिमा नवउपनिवेशक (नियो–कलोनियल) हो।

पुँजीवाद र साम्राज्यवादको नङमासु नाता छ। पुँजीवादको अत्याधुनिक मोडल अमेरिका साम्राज्यवादको चरम रूप हो। साम्राज्यवादले पहिले छेड्छ भूगोल, त्यसपछि हान्छ अर्थनीति र त्यसपछि संस्कृति। अमेरिकाले विश्वभरि यस्तै दादागिरी चलाएर आएको हो। पूर्वी गोलाद्र्वमा अमेरिकाको सांस्कृतिक होजिमोनीले पूर्वीय संस्कृति र दर्शनको टाट पल्टेको दृश्य सबैको आँखा सामु छर्लङ्ग छ।

यसै त विश्व इतिहासले साम्राज्यवादको सुरुआत प्राचीन चीन र पश्चिमी एसियामा भएको बताउँछ। जुन ईशापूर्व छैटौँ र चौथो शताब्दीमा मध्यपूर्व र मेडिटेरिनियन मुलुकहरूमा फैलिएको हो।

अमेरिकी आदिवासी र टेरर वार
आतंकवाद विरोधी युद्ध अमेरिकाले आफ्नो साम्राज्य फैलाउने क्रममा पैदा गरेको दुश्मनीकै नतिजा हो। पहिले भौगोलिक सिमाना अतिक्रमण। पछि सामरिक–आर्थिक–सांस्कृतिक सिमाना। रेड इन्डियनहरूलाई स्वभूमिबाट उच्छेद सिलसिला अरबेली मुलुकहरूको तेल भण्डारमाथि नियन्त्रण र विश्वको हतियार हाटमा अब्बल बिक्रेता हुने होडसम्म पुग्दा अमेरिकाको आँखामा सारा विश्व नै आतङ्कवादी हुन पुग्छ।

झट्ट हेर्दा इस्लाम–इसाइर्र विवाद देखिए पनि अमेरिका–अरब (सउदी अरब छाडेर, किनभने सउदी अमेरिकी कठपुतली हो) द्वन्द्व वास्तवमा विश्व वर्चस्वकै द्वन्द्व हो। इस्लामीहरू विश्वमा इस्लाम राजको निराधार र कठमुल्ले सपनामा बौलाएकै हुन्। धर्मको नाममा उनीहरूले चलाइरहेको अन्धो जिहाद कुनै पनि हालतमा मान्य छैन। तर उनीहरू पछिल्ला दुश्मन हुन्।

खासमा अमेरिकाको ‘वार अन टेररिजम’को इतिहास दुई शताब्दी लामो छ। १ मे, सन् १८१४। ब्रिटेन उपनिवेशित क्यानडाको निर्देशमा सेन्ट लुई प्रान्तबाट पाँचवटा युद्धपोतमा सवार दुई सय ‘अमेरिकी’ (तत्कालीन घुसपैठी) सिपाहीहरू मिसिसिपीको किनारमा हमला बोल्छन्। उपनिवेश अध्येता एन्ड्रु गार्डनर ‘द इन्डियन वार’मा लेख्छन्, ‘... उनीहरूको लक्ष्य थियो तत्कालीन ‘टेररिस्ट’– आदिवासी अमेरिकीहरू।’ राष्ट्रपति जर्ज वासिङ्टनले एकचोटि भनेका थिए, ‘ज्यानले अलग भए पनि इन्डियन र फ्याउरा दुवै सिकारी जनावर हुन्।’

रेड इन्डियनलगायत पाँच सय ६० अमेरिकी आदिवासी प्रजाति सरकारी रेकर्डमा छन्। शोधार्थी डोबिन्स (सन् १९८३) अनुसार कोलम्बस अमेरिका पुग्न अगावै एक करोड ८० लाख आदिवासी उत्तरी अमेरिकामा बस्थे। युरोपियन हमला, आदिवासी मास्ने औपनिवेशिक युद्ध (कथित ‘इन्डियन वार’) र महामारीले जनसङ्ख्या पातलिँदै गयो। आज उनीहरूलाई अमेरिकी मूलधारामा पसेका ‘इमिग्रान्ट्स’ चिनिन्छ। सन् २०१० को सेन्ससअनुसार यी आदिवासीहरू अहिले ५२ लाखमा खुम्चिएका छन्।

रेड इन्डियनले आफैँलाई खासमा ‘बियोथुकु’ भन्छन्। पन्ध्रौं शताब्दीदेखि युरोपियन र एङ्लो–सेक्सन ‘यांकी’ माइग्रेटरहरूले आदिवासीहरूलाई औपनिवेशिक हत्कण्डा अपनाएर कसरी सीमान्तीकृत तुल्याए, त्यो अमेरिकाको छोपिएको असली इतिहास हो।

अमेरिकी आदिवासीहरूलाई सन् १९९० तिर राज्यले भाडामा रोडियो एक्टिभ र बिखालु कबाडी आफ्नो ठाउँमा राख्ने प्रस्ताव दिनुबाट अमेरिकी माटोको असली छोराछोरीको हाल के छ, स्पष्ट हुन्छ। सन् १८३० मा ‘इन्डियन रिमुभल एक्ट’ पारित भयो, जसले आदिवासीलाई मिसिसिपीको किनारमा विस्थापित गरायो। बलजफ्ती गरिने जनविस्थापनलाई ‘ट्रायल अफ टियर’ भनियो।

जुन अमेरिकाको कुरा गरिन्छ, त्यो मात्र बिम्ब हो। खास अमेरिका त जङ्गलमै छ अझ। अमेरिका त्यसैले यो उत्तर–औपनिवेशिक (पोस्ट–कलोनियल) कालमा जिउँदो रहेको बदमाश उपनिवेशकको सर्वनाम हो।

छायाँ युद्धहरूमा विश्वयुद्धको छायाँ
विश्वयुद्धको ठाउँ एक प्रकारले अचेल फुचुना युद्धहरूले लिएका छन्। अमेरिकाको लागि ‘प्रक्सी वार’ वा छायाँयुद्ध गर्नु÷गराउनु उसको साम्राज्यवादी बाध्यता पनि हो। जति युद्ध हुन सक्यो उति उसको हतियार बजार जम्ने हो। भएको हो त्यही। दक्षिणी भियतनाममा उत्तरी भियतनामको कम्युनिस्ट सत्ता रोक्ने निहुँमा अमेरिकाले सन् १९५९–१९७५ सम्म लामो युद्ध लडेको थियो। वास्तवमा त्यो अमेरिकाको लागि ठुलै शिक्षा साबित भएको युद्ध थियो। सामरिक दृष्टिले कमजोर देश भियतनामको समर्थनमा रसिया थियो।

दोवियुको लगत्तै विश्वका दुई महाशक्ति थिए पुँजीवादी अमेरिका र समाजवादी सोभियत सङ्घ। त्यसपछि सुरु भएको शीतयुद्धमा अमेरिकाले विकसित गरेको टेक्निक नै हो– छायाँयुद्ध। बेलाबेला चर्कने गरेको भारत–पाकिस्तान युद्ध पनि यस्तै छायाँयुद्धको खेल हो। छायाँयुद्धहरूले अमेरिकालाई हुने फाइदा हो– हतियार बजार। अर्को, अमेरिकी निर्देशनमा चल्ने ती युद्धहरू नै अमेरिका एक सुपरपावर हो भन्ने प्रतीक बन्ने हो।

जिहाद विरुद्ध वार
सोभियत सङ्घलाई विश्व मैदानबाट गायब गर्ने चालमा अमेरिकाले अफगानी मरुभूमिमा हतियार र तालिमको सहयोग गरेको हो। त्यही तालिमले हौसिएका ओसामा बिन लादेन बन्छन् आतंकवादीइस्लामी सङ्गठन अल–कायदाका मुखिया। जसले अमेरिका र इजरायलविरुद्ध घोषित युद्ध सुरु गरेका हुन्। त्यही अल कायदाले तालिबान शासित अफगानिस्तानको जङ्गलमा अमेरिकी आतङ्कको खेती गर्छ। कथित रूपमा लादेन मारिए पनि अलकायदा जिउँदै छ। कम्युनिज्मको डरलाई साफ गर्ने हुँदा अमेरिकाले हौसाएको हो जिहादको डर।

घरी ‘क्रुसेड’ त घरी ‘इन्फाइनाइट जस्टिस’ त घरी ‘वार अन टेररिजम’। जुनै नाममा आए पनि अमेरिका विश्व शान्तिकै विषयमा सबैभन्दा ठुलो खतरा साबित भएको छ। जसरी जिहाद ठुलै खतरा हो। एउटा जिहादको विरोधमा अर्को जिहाद हो अमेरिकी जिहाद। जिहादको नाममा जसरी अन्तर्राष्ट्रिय आतङ्कवादीहरूले अमानवीय आतङ्क मच्चाएका छन्, अमेरिका कुनै पनि हालतमा कम छैन। अल–कायदा, लस्तर–ए–तोएबा, आईएसआईएस, आईएसआईएलहरू अमेरिकी दुःस्वप्न हुन्।

शीतयुद्धपछि सन् १९९० को खाडी युद्धमा अमेरिकाको सोझो भिडन्त थियो इराकसँग। अमेरिकी सन्दर्भ विश्व राजनीतिमा झनै चहकिलो भयो। ३४ देशलाई साथ लगाएर अमेरिकाले कुवेतमाथि हमला गर्ने इराकलाई हमला बोल्यो।

‘वार’ शब्दको अर्थ युद्ध अब पुरानो भएको दावा गरेको थियो अमेरिकी सरकारले। वार शब्दलाई अब दैनन्दिन जीवनको सामान्य थोकझैं सामान्य अर्थमा लिइनुपर्ने हठ थियो उक्त सरकारी सूचनामा। आतंकवादविरुद्ध जुनै पनि सामरिक अभियान अब वार हो। अर्थात्, विश्वलाई आतंकवादमुक्त गर्ने अभियान भनेर ‘वार’लाई परिभाषित गरिनुपर्ने। तर सोमालिया, येमेन, लिबियाजस्ता गरिब अफ्रिकी राष्ट्रहरूमा धनी अमेरिकाले चलाइरहेको बमबारीले ‘वार’ र ‘टेरर’ शब्दमाझको पातलो धर्सालाई मेटाइदिएको छ। हिंसाको विरोधमा हिंसाको राजनीति गरेर विश्व च्याम्पियन हुने महाŒवाकांक्षी महासपनाको बुटमुनि कति साना मुलुकहरू पिसिने हुन्, चिन्ताको विषय हो।

टेक्स्ट कि कन्टेक्स्ट
लेखकले जब लेख्छ, उसले कुनै ‘कन्टेक्स्ट’मा लेखेको हुन्छ। कन्टेक्स्ट लेखकको समय, इतिहासबोध र दायित्वबोध हो। कलाकृति ऐतिहासिक सन्दर्भबाटै जन्माइने हो। होमरदेखि देवकोटासम्म यही सत्य लागु छ। त्यो कन्टेक्स्ट वा सन्दर्भबाट लेखकलाई सैद्धान्तिक मातले लट्याउने विवादास्पद ‘पोस्ट मोडर्निज्म’ वा उत्तर–आधुनिक धारणा हो ‘द डेथ अफ अथर’ रोलाँ बार्थ, सन् १९६७। अर्थात्, लेखकको मृत्यु। यता चिन्तक इन्द्रबहादुर राईले ‘लीला लेखन’मा यिनै बार्थलाई सूत्रधर बनाएका हुन्।

लेखक के साँच्चै मर्छ त ? पाठको अस्तित्व मुख्य हो। लेखक ‘रेलिभेन्ट’ रहँदैन। लेखकमाथिको जिकिर, चर्चा बेकार नभए पनि पाठलाई पाठकै रूपमा हेर्ने हेराइ हो यो रोलाँ बार्थको। यो सोचले विशेष गरेर लेखकको ‘आइडियोलोजिकल’ लेखन–दर्शनलाई किनारा लगाउँदछ। उत्तर–आधुनिक आँखालाई इतिहास र वर्तमानको विद्रूपहरू नदेख्ने गगल्स साबित भइदियो लेखकमृत्यु सिद्धान्त।

‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ (सन् १९९२) मा फ्रान्सिस फुकियामाले सोभियत सङ्घको विघटनसँगै अन्त्य भएको शीतयुद्धलाई ‘इतिहासकै अन्त्य’को भ्रान्ति देखे। अत्तालिएर लगभग मानवीय ऐतिहासिक परम्पराको ‘व्यक्तिगत अन्तिम संस्कार’ नै आयोजन गरेर लेखे, ‘मानवीय आदर्शवादी विकासक्रमको अन्तसँगै पश्चिमा उदारवादी गणतन्त्र नै मानव सत्ताको चुडान्त रूपमा सार्विकीकरणको युगको साक्षी छौँ।’

पुँजीको मुक्त चलखेलको खातिर पैदा गरिएको धारणा ‘फ्रि मार्केट’ वा मुक्त बजारलाई अड्याउने सत्तारूप हो फुकियामाको ‘उदारवादी गणतन्त्र’ (लिबरल डेमोक्रेसी)। अन्ततः पुँजीको चरमरूप साम्राज्यवादकै मेरुदण्ड दरो पार्न खटिएका यी बुर्जुवा लेखकहरूले नव–उपनिवेशवादको लागि दार्शनिक बाटो खनिदिएका थिए। उत्तर–आधुनिकता यसैको एक आज्ञाकारी सन्तान थियो। केही ‘󰈀याडिकल’ पाटा भएको यो ‘इजम’ आफैँमा साम्राज्यवादी विशृंखलता (क्याओस) कै कला–सांस्कृतिक अभिव्यक्ति हो।

आदर्शवादलाई प्रतिकार गर्न जन्माइएको प्रति–आदर्शवादी यी दर्शन कन्टेन्टच्युत र कलामुखी छन्। उदारवादी साम्राज्यवादलाई पोषण गर्ने यी (प्रति) आदर्श ‘सब्जेक्ट’ लाई ऐतिहासिकता र भविष्यपनबाट कटाएर क्षणिकतामा मात्र हेर्ने स्न्यापसट हेराइका शैली हुन्। सोझो भाषामा, समकालीन सांस्कृतिक चेतले विषय–गम्भीरताको हत्या गर्छ। चालू बजारमा किताब आउँछ–जान्छ। कविताको किताब नबिक्नुको ठुलो एउटा कारण यही पनि हो। कविता बुझ्न मानसिक कसरत चाहिन्छ, त्यसको लागि सत्ताले मान्छेलाई न श्रमको अवकाश दिन्छ। न संयमको संस्कार।

पाठकले किताब र लेखक दुवैलाई बिर्सने हतारो गर्छन्। त्यही भएर पनि क्लासिक कालजयी कृतिको कन्सेप्ट बिस्तार बजारबाट हराएको हो। यसको अर्को कारण, सत्ताले सफलतापूर्वक खेलेको लोक–स्मृतिलोप पनि हो। किनभने, स्मृति मान्छेको हतियार हो। त्यही भएर आज शङ्कर लामिछानेहरू भुल्ने र चेतन भगतहरू खोज्ने ठुलो पाठक जमात छ हामीसित।

सत्ताले सतही लेखनमार्फत समाजका अन्तर्विरोधहरूलाई कोट्याइरहने, खोतलिरहने र केरिरहने खाँचो नरहेको तालिम लेखक र पाठक दुवैलाई दिन्छ। जहाँ जतैबाट पढे पनि, जसरी बुझे पनि (इन्द्रबहादुरीय भाषामा ‘विपठन’), जता लगे पनि पाठ पाठैमात्र रहिरहने। सारमा, समाजको हरेक गतिविधि पपकर्न कल्चरमा कुण्ठित।
‘दोवियु’पछि रुसको प्रगतिवादलाई काउन्टर दिन थालिएको ‘फ्युचरिजम’ र ‘फर्मलिज्म’हरूको नयाँ संस्करण ‘रूपवाद’ अघि आउँदै गरेको अवस्था। जहाँ कन्टेन्टलाई साइडमा राखेर फर्मको जयजयकार। रूप भए पुग्यो भन्नेखाले हौवा। कन्टेन्ट घिसापिटा भए पनि प्याकेजिङ खतरा हुनुपर्ने बजारु एप्रोच लेखन, रहनसहन र चिन्तनमा हाबी भएको अवस्था।

यस्तोमा नाइन–इलेभेन के हो ? यसका कारण के के थिए ? यसको ऐतिहासिकता के हो ? यसको प्रतिफल कस्तो होला ? नाइन–इलेभेन–पछि स्थापनामुखी सर्जकहरूले नै यी प्रश्नहरू केलाउन थाले। इतिहासले यसरी फेरि एकचोटि आफ्नै दावा गरेको छ बितेको डेढ दशकमा।

संवेदनशील डिस्कोर्सहरू टेक्स्टबाट विस्तार आफ्नो मूल केन्द्र कन्टेक्स्टतिर लम्किरहेका छन्। यो एक प्रकारले नाइन–इलेभेनले फेरिदिएको सांस्कृतिक कोण हो। जसले टेक्स्टमुखी आफ्नै सांस्कृतिक सन्तान पोस्ट–मोडर्निजमको स्टियरिङ घुमाएर जसोतसो कन्टेक्स्टतिरै फर्काइदिएको हो। नाइन–इलेभनेले लेखक र उसको समयलाई फेरि एकपल्ट महŒवपूर्ण बनाउने काम गरेको छ। अब लेखक ‘भित्र’ पसेको छ।

‘पूर्ववाद’ (ओरिएन्टलिजम) का जनक हुन् प्यालेस्टाइनी लेखक एडवर्ड सइद। अमेरिकामा शरणार्थी जीवन बिताएर अमेरिकालाई खुबै नजिकबाट हेर्ने र केर्ने सर्जक। सन् १९९३ मा नै ‘कल्चर एन्ड इम्पेरियलिजम’मा सइदले लेखेका छन्, ‘हामी हाम्रो कामको यस्तो बिन्दुमा छौँ, जब हामी हाम्रो अध्ययनमा साम्राज्यहरू र साम्राज्यवादी सन्दर्भलाई बेवास्ता गर्न सक्दैनौं।’

तेस्रो विश्व र अमेरिका
सुन्दा सुन्दर ‘टेक्नोलोजी ट्रान्सफर’। व्यवहारमा गरिब देशको एकमात्र सम्पत्ति प्रकृति लुट्ने नीति हो यो। साम्राज्यवाद दोस्रो र तेस्रो विश्वमा यस्तै लोभनीय नीतिहरूको निहुँमा घुस्ने गर्थ्यो। ‘दोवियु’पछि लेखिएको अति लोकप्रिय किताबमध्ये एक हो ‘स्मल इज बिउटिफुल’ (सन् १९७३)। यही किताबमा ‘ग्लोबलाइजेसन’को नाममा ठुला मुलुकले ससाना मुलुकको प्राकृतिक संसाधन उधिन्ने गरेको पोल खोलेका थिए ब्रिटिस अर्थशास्त्री इएफ शुमेकरले।

सन् १९९१ मा ‘नयाँ अर्थनैतिक नीति’ (एनईपी) र डंकल प्रस्ताव लागू गरेपछि अमेरिकी नव–उपनिवेश भइसकेकै छ भारत। अरू कुनै स्वतन्त्र मुलुकको जल र वायु अड्डामा विदेशी सैन्यको उपस्थिति छैन। भर्खरै हस्ताक्षरित भारत–अमेरिकी सन्धिअन्तर्गत अमेरिकी सैन्य प्रयोगका लागि भारतीय जल र वायु अड्डाहरू भारतले खुल्ला गरिदिने भएको छ। ‘फरेन डाइरेक्ट इन्भेस्टमेन्ट’ (प्रत्यक्ष वैदेशिक लगानी, एफडीआई) भारतले खोलिदिएको अर्को सजिलो दैलो छँदैछ।

अब पालो छ अरू दक्षिण एसियाली मुलुकहरूको पनि। नेपाल, बङ्गलादेश, भुटानजस्ता देश यसको अपवाद नहोलान् ? नेपालको छिमेकी एकातिर भारत, अर्कोतिर चीन हुनु भनेको नेपाल राजनैतिक–भौगोलिक दृष्टिमा अति संवेदनशील भूखण्ड हुनु हो। नेपाल–अमेरिकी ‘जेनेरल एग्रिमेन्ट फर टेक्निकल कोअपरेसन’ सन् १९५१ मा हस्ताक्षरित भए यता अमेरिकाले नेपाललाई ५५ मिलियन डलरभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ।

‘दोवियु’पछि अमेरिकाले विदेशी सहयोग गरेका देशमध्ये नेपाल पहिलो हो। नेपालको भूगोल र सम्भावित समाजवादी ताकतको उद्भव यसको मुख्य कारण थियो। अमेरिका नेपालमा माओवादी वा देब्रेपन्थी ताकत सत्तामा आएको चाहँदैन।

२ फेब्रुअरी, सन् २००६ मा पेस गरिएको नेपालको निम्ति तयार ‘कङ्ग्रेसनल रिसर्च सर्भिस (सिआरएस) रिपोर्ट’मा उल्लेख भएअनुसार नेकपा–माओवादीलाई युद्धकालमा ‘अदर टेररिस्ट अर्गनाइजेसन’को सूचीमा हालिएको थियो। माओवादी सङ्घर्ष नेपालको आन्तरिक मामिला हुँदाहुँदै अमेरिकाले माओवादी ताकतसँग भिड्न हातहतियार प्रदान गर्नुको साथै २०० नेपाली पुलिस र शाही सैनिकहरूलाई आतंकवादरोधी विशेष तालिम दिएको थिएछ।

‘फरेन मिलिटेरी फाइनेन्सिङ’ योजना अन्तर्गत १४ लाख ८८ हजार डलरको सैन्य सहयोग राशि बढाएर ४० लाख डलर नेपालको लागि तय गर्ने प्रस्तावसमेत आएको थियो। माओवादी ‘आतंकी’हरूलाई साफ गर्न अमेरिकाले नेपाललाई सन् २००३ मा ५ सय एम १६ राइफल दुईदेशीय किनबेच सम्झौता अन्तर्गत बेचेको रैछ।

नेपालमा माओवादी आन्दोलनमाथि नेपालको आफ्नै आन्तरिक अडान हुनुपर्ने हो।

माओवादी आन्दोलन नथामिएसम्म नेपाल पनि अमेरिकाका लागि डरकै केन्द्र थियो। अमेरिकाले नेपालमा सैन्य छाउनी खोलिसक्थ्यो यदि नेकपा माओवादीको नाता अल–कायदा वा कुनै इस्लामी शक्तिसँग भएको प्रमाणित भएको भए।

भारतसँग जस्तै नेपालसँग पनि अमेरिकी सैन्याभ्यासको कार्यक्रम त भइरहेकै छन्। भर्खरै भारत–पाक तनावको बेला अमेरिकाले पाकिस्तानमा सैन्याभ्यास गराउनुका अर्थहरू खोतलिँदैछ। यसबाहेक ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’को मातहतमा नेपालमा प्राकृतिक संसाधनहरूको खैखबरी अमेरिकाले लिइरेहेकै छ।

बङ्गलादेशमा गत तीन दशकदेखि विश्वविद्यालयहरू अमेरिकी फन्डले चल्दै आएका छन्। अमेरिकी एनजीओहरूको च्याउविस्तार र एलपीजी, कोइलाजस्ता संसाधनको निजीकरणले बङ्गलादेशलाई बिस्तार अमेरिकी पञ्जामा हुल्दैछ।

भोलि र पर्सिको सम्भावित ठुलो बजार हो तेस्रो विश्व। जहाँ ब्रेड र बन्दुक एक साथ बेचिनेछ। जहाँ शान्तिको नाटक र युद्धको यथार्थ एकसाथ हिँड्नेछ। ‘लगानी बोर्ड ऐन’ मार्फत् विश्व पुँजीलाई बिना कुनै छेकबार दैलो खोलिदिएको नेपाली अर्थतन्त्र पनि विश्व बजारकै एक पसल बन्नेछ।

अ–अमेरिकीकरणको दिशा
अमेरिकाको ताजा युद्धको नाम हो ‘अपरेसन ओडिस्सी लाइटनिङ।’ ‘इस्लामिक स्टेट इन इराक एन्ड सिरिया’ (आईएसआईएस)को गतिविधिको शङ्कामा अमेरिकाले लिबियामा चलाइरहेको लडाइँ भर्खरै १ अगस्ट सन् २०१६ देखि सुरु भएको छ।

६० भन्दा बढी मुलुकलाई आतङ्कवादीको सेल्टर क्याम्प देख्ने र एक सय ५० भन्दा बढी देशमा सामरिक छाउनी हाल्ने काफरे अमेरिकाले ‘दोवियु’ यता मानव र प्राकृतिक सम्पदाको जति नोक्सानी गरको छ, त्यति इतिहासमै कुनै देशले गरेको नहोला।

पृथिवीकै सबैभन्दा खतरनाक देशको रूपमा अमेरिकाले आफूलाई स्थापित गरिसकेको छ। विश्व अघि बढ्न वैज्ञानिक सोचको पोषण आवश्यक छ। तर, अति आधुनिक मानिने अमेरिकाको सोच नै यति सङ्कुचित छ जसले मानव सभ्यताको विकासक्रमको घडीको सुइँ नै उल्टो पारिदिने शङ्का गर्ने स्पेस रहेको छ।

देशैपिच्छे ‘सामरिक उपस्थिति’को नाममा अघोषित युद्ध झोसिरहेको अमेरिकाको आतंकवाद विरोधी वारमा विरामचिह्न कहिले र कहाँ लाग्ने हो, त्यो भन्न मुस्किल छ। यति चाहिँ भन्न सकिन्छ, उत्पादन, रोजगार, शिक्षाजस्ता बुनियादी क्षेत्रमा चरम सङ्कट भोगिरहेको अमेरिकाले आफ्नो लागि ठुलै विनाश निम्त्याउँदैछ। अमेरिकी विनाशको ‘कोल्ल्याटरल ड्यामेज’ले कति देशलाई हल्लाउने हो, त्यो जोखाना हेर्न उस्तो गाह्रो छैन।

अमेरिकी प्रेसिडेन्सियल चुनावको दाउपेच संसारभरिको मिडियामा हेडलाइन हुनुबाट पनि स्पष्ट छ, अमेरिका आफैँ एउटा मुख्य डिस्कोर्स हो, जसलाई जति नै लत्याए पनि हाम्रो दैनन्दिन र दीर्घ जीवन मामिलामा यो अति प्रभावी छ।

दोस्रो विश्वको भारतजस्तो मुलुक र तेस्रो विश्वको नेपालजस्तो मुलुकमा अमेरिका अप्रत्यक्ष पसिसकेको छ। प्रत्यक्ष नपस्ने कुनै दरो कारण दरिँदैन। ल्याटिन अमेरिकी गीतमा चलाइने लोकप्रिय नारा ‘ओ यांकी गो होम’ यता पनि चलाउनुपर्ने दिन आउला कि ! एकचोटि नेपालको जनगीतले यो पंक्ति गाएकै हो।

अन्तर्राष्ट्रिय सम्बन्धको दाउपेचमा अब तेस्रो विश्वका राष्ट्रहरू झनै सतर्क बन्ने दिन छ।

कविता

साङ्ग्लोहरूसित

भिमा राई ‘तोलाछा’


संसार सबैको हो भनेर
चुपचाप काम गरिरहें
जहाँ हरिया फाँटमा हाम्रा नानीहरू
धित् मरुन्जेल खेल्न पावोस्
जहाँ आकाशका बादलले पनि
धरतीका ती रगत र मासुका डल्लाहरूसित
आह्रिस गरेको होस्
वर्षाका रिमझिम ध्वनीले
तिनीहरूसित समाहित हुन
कैयौँ सेतु बनाएको होस्
म यसरी सोंच्दथें

तिमी के गर्दैछौ?
खोजी निन्दा गरी हिँड्ने मनै भएन
कारण आफ्नो थियो
घरको खाँबो थियौ
तर, तिमीले
मेरा हातहरूमा साङ्ग्लो बाँधी सकेछौ
मेरा पाईलाहरूलाई भिराइसकेको लठारो
के हात्तीलाई माकुराको जालले
अड्काउन खोजेको जस्तो लाग्दैन र?
तिम्रो थरि थरिको लोलोपोतोलाई मैले
प्रेमको संज्ञा दिएँ
तिम्रो झुठो बहानाहरूलाई
मैले मायाको अँगालोले छपक्क छोपी दिएँ
जे जे गरेर तिमीले मेरो
स्वाधीन आकाश खोस्यौ
मेरा सपनाहरूलाई बाहुन्ने सम्झियौ
हो त्यही दिनदेखिको तिम्रो
अनुकुलताको सिंडी फुस्किएको छ






के के प्राप्तिको
तिम्रो सम्पूर्ण प्रपन्चलाई
मैले मेरो परिवार भने
त्यहाँ तिमी मालिक बन्यौ
म दासी भएर बसें
तिम्रो एक-एक आकांक्षालाई
न्याय दिने ठाउँ
जसलाई मैले मेरो घर भने
मेहनत गरें, फूलहरू फुलाएँ, सजाएँ
तिमीले त्यसलाई मेरो उडान छेक्ने
पिंजरा बनायौ
र म
पल पल चिथोरेर नङ्गाईएको
बेइमान हातले कोपारिएको
रक्त-रञ्जिरत माटोमा उभिएकीछु
र यस्तो सोंच्न थालेकी छु-
बीसवटा हड्डी भाँच्चिएको जस्तो
प्रसवपिढाको दर्द तिम्रो
गर्धनमा वर्षाउँ अनि
तिमीले बनाएको पिंजरा
हुर्हुर सल्काईदिउँ
त्यसपछि
एउटा कठोर आदेश जारी गरूँ
कि त्यो भष्मबाट
एउटा रहर लाग्दो प्रेमको गीत गाऊ!

शतवार्षिकी स्मरण : रुसको नोभेम्बर क्रान्ति

प्रकाश विश्व


सन 1917 को नोभेम्बरमा जुन ‘दस दिनले संसारलाई हल्लाको थियो’, त्यसलाई सम्झिँदै रुसी क्रान्तिको सय वर्षगाँठ मनाउने आयोजना संसारभरि नै चलिरहेको छ। यस वर्षको नोभेम्बर देखि लिएर आउने एक वर्ष, 2017 को नोभेम्बरसम्म त्यस ऐतिहासिक घटनाको पक्ष-विपक्षमा निकै नै चर्चा र बहसको माहौल बनिन्छ होला। तर किन? किन चाहिँ एकसय वर्ष पुरानो एउटा घटनाको सान्दर्भिकता अहिलेसम्म खतम भएको छैन? हामी पनि यस चर्चामा किन आफैलाई गास्न खोज्छौं? खासगरी जुन समयमा सोभियत रसिया नै छैन, चीनले पनि समाजवादको बाटो छोडेको छ? जब यहाँनिर पनि समाजवादको नाम ओड्नेहरूले सत्तामा बसेर जनताको अधिकार कुल्चने कामनै गरेका छन् भन्ने अनुभव जनतामा हाबी छ, त्यस्तो समयमा के छ सयवर्ष पछि रूसी क्रान्ति माथि छलफलको महत्व?

एकपछि एक सरकारको नीतिहरूले वाक्कदिक्क भएका हामी जब रंगी-विरंगी दलहरू हेरे पश्चात् जम्मै व्यवस्था नै सङ्कट हो भन्ने निष्कर्षमा पुग्छौं, तब वैकल्पिक समाज कस्तो, कुन प्रकारको हुनसक्छ, त्यसमाथि चर्चा त हुनै पर्छ। अब वर्तमान समाजको बदलाव र वैकल्पिक समाजको निर्माण माथि सोचविचार गर्नेहरूले कसरी शिक्षा लिन सक्छ रूसी क्रान्तिबाट? 

इतिहासको पन्नाबाट
इतिहासको कुरा भन्दाखेरि, आजदेखि सय वर्ष अघि त्यसताकका रसियामा खटीखाने आमजनताको गुनासोको विस्फोटले गर्दा 1917 को शुरुमा नै जार(राजा)को तानाशाही खतम भएर पहिला अस्थायी मिलिजुली सरकार बन्यो। तर यस अस्थायी सरकारले जनताको आशा-आकांक्षालाई भरपाई गर्नु नसकेको खण्डमा सङ्घर्ष अझै ठुलो र निर्णायक बनिन्दै ग्रेगोरियन क्यालेण्डरको 7 नोभेम्बर (जूलियन क्यालेण्डरमा 25 अक्टोबर) को दिन क्रान्तिको जीतसँगै सोवियत संघात्मक समाजवादी गणराज्य स्थापनाको घोषणा भएको थियो।

सन् 1789 मा फ्रान्सको राज्यक्रान्तिले स्वतन्त्रता, समानता अनि भ्रातृत्वको भावनालाई प्रचार गरेर यूरोपको जनजीवनलाई गहिरो स्तरमा प्रभावित ग󰈀यो। रूसी क्रान्तिको व्यापकता अहिलेसम्मको सबै राजनैतिक घटनाहरूको तुलनामा धेरै विस्तृत छ। यसले केवल निरंकुश, एकतंत्री, स्वेच्छाचारी, जारशाही शासनलाई नै अन्त गरेको थिएन, त्यससित कुलीन जमींदारहरू, सामन्तीहरू, पुँजीपतिहरूको आर्थिक र सामाजिक सत्तालाई समाप्त गरेर संसारमा मजदूरवर्गको प्रथम सत्ता स्थापित गरेको थियो। यो क्रान्ति संसारमा पहिला क्रान्ति थियो जसमा तारिख तय गरेर क्रान्ति सम्पन्न भएको थियो। रूसी क्रान्तिको नेता लेनिनले भन्नुभएको थियो— 6 नोभेम्बर समय भन्दा अगाडि हुन्छ (स्थिति र तयारीको हिसाबले), अनि 8 नोभेम्बर गर्दा ढिलो हुन्छ, हामीलाई 7 नोभेम्बर नै काम शुरू गर्नु पर्छ अनि 7 तारिख नै क्रान्ति शुरू भयो। 

यो कुरा सुन्दा जतिनै अचम्म लागोस्, सङ्घर्षशील जनताको सामुहिक अठोटले, सजग योजनाले अनि युक्तिसङ्गत भविष्य निर्माणको सपना र पाइलाहरूले के गर्नसक्छ, त्यो क्रान्तिको दिन निर्धारण देखि लिएर क्रान्ति पछिको वर्षहरूमा समाज-सम्बन्धित विविध कदमहरूबाट हामी प्रत्यक्ष देखेका छौ। 

आजपनि पुँजीवादले किन डराउछ?
आज धेरै वर्ष भयो, केही दशक नै भनौं, पुँजीवादी व्यवस्थाले आफुलाई ‘सर्वोत्तम’ र ‘अन्तिम’ व्यवस्थाको रूपमा स्थापित गराउने काम जोरतोरले गरिरहेको छ। वैकल्पिक समाज चल्ने उदाहरण हाम्रो सामु छैन। दर्शन-अर्थनीति-समाजशास्त्र-विज्ञानमाथि गम्भीरतापुर्वक छलफल गर्ने आवश्यकता छ, भन्ने कुराहरू पनि चलिरहेको छ। तर संसारभरि आमजनताको मनभित्र कथा-उपन्यास-फिल्म-कम्प्युटर गेम्सबाट नै सजिलोसँग समाजवाद विरुद्ध, कम्युनिष्ट विरुद्ध, रसिया-चीन (अहिले जतिनै अर्को बाटोमा तिनीहरू हिडोस्) विरुद्ध घृणा तयार गर्ने सुनियोजित काम चलिरहेको छ। किन त? जुन समाजवादी व्यवस्थाको अस्तित्व नै वर्तमानमा कतै छैन, त्यसमाथि किन आक्रमण? केको डरले? हामी त्यसमै हाम्रो चर्चा केन्दित गरौं।

पपुलर उपन्यास देखि फिल्म, कार्टुन देखि कम्प्युटर गेम्स— सबैमा नै कम्युनिष्ट देश, पार्टी, व्यक्तिलाई भयानक प्रकारको देखाएर, तिनीहरूको शान्तिको प्रयासलाई व्यंग गरेर, तिनीहरूको समानताको चाहनालाई ढोंगी भनेर, तिनीहरूको गणतन्त्रको व्यवहारलाई देखावटीको आरोप लगाएर कम्युनिष्ट बारे एउटा घिनलाग्दो अनुभूति बनाउने प्रयास छ। यी आरोपहरूको जस्ता व्यवहार कम्युनिष्टहरूले गर्छन् कि गर्दैनन्— त्यसलाई जाँच्ने मौका नै अहिले छैन। तर, क्यालिफोर्नियामा सुनको खानी आविष्कार हुनु बित्तिकै अमेरिकाले मेक्सिकोबाट त्यसलाई कब्जा गरेको थियो, आफ्नो आर्थिक मन्दीको बेलामा तेलको लोभले इराकमा हमला गरेको थियो, विश्वभरि नै आफ्नो दादागिरी कायम गर्न जे पाए त्यही तरिकाहरू उपयोग गर्ने बेलामा अमेरिका र अरू ठुल्ठुला पुँजीवादी देशहरूले के कम्युनिष्ट माथि तिनीहरूले लगाएको उल्लेखित आरोपहरू जस्ता व्यवहार गर्दैनन्? गहिरोसँग सोच्नुहोस् त। त्यसमाथि, जब यी कथाकार वा चलचित्र निर्माताहरूले पुँजीवादी देशको अपराध जगत लिएर सृजना गर्छन्, त्यतिबेला तिनीहरू कहिलेपनि पुँजीवादी व्यवस्था वा त्यस्ता देश-देशनेताहरूलाई अलिकति पनि आक्रमण गर्दैनन्। किन? यीनिहरूले दुईवटा विश्वयुद्ध, कोरिया युद्ध, भियेतनाम-इराक-अफगानिस्तान युद्ध हेरेका छैनन्? त्यसमा को जिम्मेवारी थियो, कतिको बर्बरता त्यसमा देखा प󰈀यो — थाहा छैन? कसले कोरिया, भियेतनाम, भारत, जर्मनीलाई टुक्रा गरेको थियो— थाहा छैन? थाहा छ भने किन चाहिँ लेख्दैनन्? लेखेतापनि त्यस्तो देशनेताहरूलाई ट्याक्कै आरोप लगाउदैनन्— किन? किन? किन? 

पुँजीवाद— अपराधी बनाउने कारखाना! 
अच्छा, समाजमा अपराध कहाँ ज्यादा हुन्छ? पुँजीवादी देशहरूमा कि समाजवादी देशहरूमा? सन् 1973 मा भारतबाट पत्रकारहरूको एउटा टोली चीन भ्रमणमा गएको थियो। बेजिंगको एक होटेलमा पुगेर काउन्टरमा नाम दर्ता गराएर घरमा पस्दाखेरि ताला-चाबी मागे। होटेलको मान्छेले छक्कै प󰈀यो। तिनीहरूको कुरा बुझ्नै सकेनन्। बातचित सुनेर एकजना वयस्क होटेल कर्मचारी आएर भन्यो— “माफ गर्नुस्! हामी अहिले नै ताला-चाबी दिनु सक्दैनौ। हाम्रो देशमा अन्तिम चोटी चोरीको घटना दस वर्ष पहिला भएको थियो। यो केटा जस्ता उमेरको केटाकेटीहरूले चोरी-डकैती, ताला-चाबीको नाम नै सुनेको छैन, हेर्न त टाढाको कुरा। त्यसैले हाम्रो यहाँ होटेलहरूमा ताला-चाबीको प्रबन्ध छैन। हामी शर्मिन्दा छौं। अनि कोसिस गर्दैछौं तपाईहरूलाई चाडैनै ताला-चाबी दिने।” भारतीय पत्रकारहरू लज्जित भएर स्थितिलाई कसरी सम्हाल्नु, त्यही लिएर अलमलमा परे। त्यसताका चीनमा जनसंख्या थियो ८० करोड। घर वा होटेलमा ताला-चाबीको सिस्टम नै छैन! इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, अमेरिकामा चोरी-डकैती के कस्तो हुन्छ त्यो त फिल्महरूबाटै थाहा हुन्छ, त्यहाँ बसेका साथीहरूबाट पनि। अनि ताला-चाबीको नयाँ नयाँ व्यवस्था बनाउनु प्रति लागिरहेका छन् त्यहाका विज्ञान-प्रविधिको अगुवाहरू।

इतिहासको धारमा समाज विकाससित अपराध घट्नुपर्ने थियो, न्यायपालिका उन्नत हुनु पर्ने थियो। पहिलाको नानाथरीका चोर-डकैतको कथाहरू अहिले दन्त्यकथाझैँ लाग्छ, पुरानो ग्रामीण विचार र सजायको घटनाहरू पनि त्यतिकै नाटकीय। तालिबान-आईएस जस्ता शक्तिहरूको त्यस्तो कतिवटा आचरण सुन्नमा आउँछ, तर अधिकांश मुसलमान पनि यी प्रथाहरूलाई सम्मान गर्दैनन्। अब यस सन्दर्भमा पुँजीवादी र समाजवादी व्यवस्थामा अपराध र अपराधीको कुरा गर्दा त स्पष्ट देखापर्छ पुँजीवादी व्यवस्थाको स्वरूप! भारतको कुरा त छोडिदिनुस् नै, शक्तिशाली पुँजीवादी देशहरूमा पनि माफियाराजले समानान्तर सरकार चलाउछन्। औद्योगिक क्षेत्र र महानगरहरूमा यो कुरा सप्रमाण छ। पुँजीवाद एउटा शोषण-आधारित व्यवस्था भएर अपराध र अपराधीको सामाजिक आधारको रूपमा काम गर्दछ। तिनीहरूले बनाएको ऐनलाई नकार्दै पनि यी सबै चलिरहेको छ। अर्कोतिर समाजवादी देशहरूमा अपराध र अपराधी कम्ती हुँदै अतीतको कथा र चरित्रमा बदलिएको थियो। अहिलेपनि हेर्दा अमेरिकामा अपराधको घटना आकाश छुने छ। अर्कोपट्टी नेदरल्याण्ड वा नर्वे जस्ता देशहरूमा जेलको सङ्ख्या घटाउनु पर्दैछ, किनभने अपराध नै कम्ती छ। यी देशहरूले नै त समाजवादी व्यवस्थाको विजययात्राले प्रभावित भएर वेलफेयर स्टेटको नीति अंगालेको थियो, जसको रहल अहिले पनि अवशिष्ट छ।

अपराधीको विचार बारे पुँजीवादको यात्रामा थुप्रै मानवीय कुराहरू चर्चामा आउँछ। आरोपी र अपराधी मध्ये पार्थक्य गर्नु, आरोपीलाई आत्मपक्ष समर्थनको मौका दिनु, मानवीय दृष्टिकोणबाट सजाय दिनु, अपराधीलाई सुध्रने मौका दिनु इत्यादि— के यी सबै यथार्थमा भएको छ र? न्यायविचारको व्यवस्थामा गल्ती त छदैछ, त्यसमाथि जेलखानाहरूको अवस्था त के भन्नु? अपराधी प्रायनै आफुलाई सुधार्न सट्टामा अझै ठुलो र स्थायी अपराधी भएर निस्किन्छ। समाजवादले यस सन्दर्भमा ल्याएको थियो नयाँ दृष्टिकोण र कार्यप्रणाली। वाध्यतापूवर्क र नियमानुसार श्रमबाट सजाय भोग्नु र सुधर्नु— यस्तो चिन्तन पुँजीवादी चिन्तकहरूले सोचे तापनि वास्तवमा कम्ती नै लागु भएको छ। समाजवादले यस सन्दर्भमा धेरै नै प्रगती गरेको थियो। आन्तन मकरें लिखित ‘रोड टु लाइफ’ वा ‘लर्निंग टु लिभ’ पुस्तकहरूमा यी कुराहरू निकै झल्किन्छ। ए... मकरेंको रूसी हो भनेर संशयको कुरा छ? त्यसो भए अमेरिकी लेखिका आना लुई स्ट्रंगको उपन्यास ‘वाइल्ड रिभर’ पढ्नुस् न त! 

सोभियत सङ्घ — नयाँ विचार, नयाँ जीवन 

रोमाँ रोलाँको अनुभव
सजिलो सँग सोभियत सङ्घलाई बुझ्नुको निम्ति रोमाँ रोलाँको लेखहरूका उल्लेख गर्नु असल हुन्छ। जीवनको शुरूमा भयंकर कम्युनिस्ट विरोधी रोमाँ रोलाँलाई हामी ‘आई विल नट रेस्ट’बाट चिन्न सक्छौं। कम्युनिष्टहरूले व्यक्ति-स्वतन्त्रतालाई मान्यता दिँदैन, समाजवादी रसियामा वुद्धिजीवीहरूलाई चिन्ताको स्वतन्त्रता छैन— यस्तो थियो उसको विचार र आरोप। गोर्कीले उनलाई धेरैपल्ट रसियामा निमन्त्रणा गरेका थिए, तर उनले नकारे। तर त्यो मानिसले नै पछि गएर समाजवादी रसिया प्रति सहानुभूति देखाएका थिए। विचारको यो बदलाव पनि चाखलाग्दो बाटोमा भएको थियो। उनले हेर्नुभयो संसारको जम्मै ठुल्ठुला देशहरू र देशनेताहरूले सधै समाजवादी रसियालाई समालोचना गर्छन्। तर तिनीहरूको आफ्नो व्यवहार कस्तो छ? इंग्ल्यान्ड, फ्रान्स, अमेरिकाले व्यक्ति स्वतन्त्रतालाई कतिको महत्व दिन्छन्? उपनिवेशको मानिसहरू प्रति तिनीहरूका आचरण कस्तो छ? आ-आफ्नो देशभित्र के छ तिनीहरूको नीति? आफ्नो घरभित्र उत्पीडन गर्नेहरू किन बाहिर सोभियत रसिया लिएर हल्ला गर्दैछन्? उनको मनमा आयो कि केही गल्ती पनि हुनु सक्छ, तर निश्चयनै रसियामा कुनै यस्तो एक्स्पेरिमेन्टहरू चल्दैछ, जसको नतिजा लिएर यी ठुल्ठुला देश र देशनेताहरू डराउदै छन्। त्यहाबाट खोजी शुरू भयो र उनि अर्कै अनुभवमा पुगे। 

रवीन्द्रनाथको 'रूसको चिट्ठी'
रबीन्द्रनाथले पनि यस्ता परीक्षण-निरीक्षणको कुरा सुनेका थिए। इंग्ल्यान्ड, जर्मनी, इटालीमा धेरैले उनलाई बुढेसकालमा रसियाको जाडोमा नजानु भनेर सुझाउ दिएका थिए। जाँदापनि रूसी सरकारले उनलाई धेरै कुरानै हेर्न दिँदैन भनेर आशंका पनि उनले सुनेका थिए। तरैपनि सन् 1930 मा रबीन्द्रनाथ मस्को पुग्नुभयो। जम्मै कुराहरू हेरेपछि उनले आश्चर्य भएर ‘रसियाको चिट्ठी’मा लेख्नुभयो— “अरू कुनै देश जस्तो होइन। अरू देश र रसियामा एकदमै आधारभूत पार्थक्य छ। तलमाथिको सबै मानिसलाई यिनीहरूहरूले समानरूपमा जगाएका छन्।”.... रसियामा न आएको भए, “यस जन्मको तीर्थदर्शन असमाप्त हुन्थ्यो।” भारत बाहेक अरु कुनै देशलाई उनले तीर्थस्थलको सम्मान दिएका छैनन्। वर्गआधारित शोषणबाट जुन वर्गीय विभेद जन्मिन्छ, त्यस शोषणको अन्तसितै त्यो विभेद पनि बिलिन भइरहेको अनुभव उनले गरे— “अरू देशहरूमा हामी जसलाई जनसाधारण भन्छौं, यहाँ तिनीहरू मात्रै छन्!” अझै हजारौं वर्षदेखि मानिसभित्र ‘लोभ’ भन्ने जुन प्रवृत्तिले संसार भरिने जाल बिछाइ राखेको छ, जुन “लोभसितै जम्मै डर, संशय”, जुन “लोभको लागि नै जम्मै अस्त्रसज्जा, जम्मै मिथ्याचार र निष्ठुर राजनीति”, रबीन्द्रनाथले हेर्नुभयो सोभियत रसियामा त्यही “लोभ तिरष्कृत छ”। जम्मै समाजवादी निर्माण कार्यमा “लोभको बाधा कतै छैन”। अहिलेसम्म हामी सुन्दै आएका छौं, लोभ मानिसको एक आदिम र मौलिक प्रवृत्ति हो, लोभबाट नै शोषण र असमानता आउँछ इत्यादि। जम्मै धर्मले मानिसलाई उपदेश दिएको छ— “लोभ नगर”, “मा गृधः”— तर लोभले मानिसलाई छोडेन। यहाँनिर रसियाको माटोमा तर के स्पष्ट हुनथालेको थियो भने शोषण नरहेकोले असमानता आउदैन, असमानता छैन भने लोभ पनि बस्दैन। त्यसबाहेक त्यसताकका रसियामा शिक्षा-विज्ञान-संस्कृतिको चर्चा हेरेर पनि रबीन्द्रनाथले अभिभूत भएका थिए। अझै आयो विकासको कुरा। रवीन्दनाथको रसिया बसाइको बेलासम्म तुर्कमेनिस्तानमा केवल साढे दश लाख जनताको निम्ति सोभियत राज्यले 130 वटा अस्पताल बनाए तापनि तिनीहरू शर्मिन्दा थिए। रबीन्द्रनाथको अनुभवमा आयो कि देशभरि जुन विकास कार्यक्रमको लहर चल्दैछ, त्यसको फोकस नै पछौटे समुदाय र क्षेत्रहरू हुन। पुँजीवादी व्यवस्थामा दृष्टिकोणनै अर्कै हुन्छ— रित्तोपनको विशाल विस्तृत समतल, त्यसमा कतै कतै एक-दुईवटा समृद्धिको एभरेस्ट! त्यसभन्दा निकै फरक देखाप󰈀यो सोभियत रसिया। 

एमिल जोसेफ डिलनले देखेको सोभियत सङ्घ
डा. एमिल जोसेफ डिलन भन्ने एकजना ब्रिटिश बुद्धिजीवी रसिया विश्वविद्यालयमा प्राध्यापन, पत्रिका सम्पादन इत्यादि गर्नुहुन्थ्यो। रुसी र अन्य भाषामा तिनी दक्ष थिए, रसियालाई मज्जाले चिन्थे पनि। सन् 1877 देखि 1914 सम्म निरन्तर रसियामा बसेका थिए, त्यसपछि इंग्ल्यान्ड आएर फेरी क्रान्तिपछि सन् 1918 मा रसिया पुगेर देखे कि उनले जमा गरेको सम्पत्तिहरू सरकारले जफत गरेछ। रिसले ‘द एक्लिप्स अफ रसिया’ भन्ने एउटा किताब पनि उनले लेखिहाले, जसमा कम्युनिष्टहरूलाई कम्ती गाली दिएका थिएनन्! त्यही मान्छे फेरी दस वर्ष पछाडि फेरी सोभियत रसिया आएर अचम्भित भए। सन 1929 मा उनले लेख्नुभएको ‘रसिया टुडे एण्ड टुमरो’ मा यसरी बर्णन गरेका छन्— “Everywhere people are thinking, working, combining, making scientific discoveries and industrial inventions . . . .Nothing like it; nothing approaching it in variety, intensity, tenacity of purpose has ever yet been witnessed. Revolutionary endeavour is melting colossal obstacles and fusing heterogeneous elements into one great people; not indeed a nation in the old-world meaning but a strong people cemented by quasi-religious enthusiasm . . . . The Bolsheviks then have accomplished much of what they aimed at, and more than seemed attainable by any human organisation under the adverse conditions with which they had to cope. They have mobilised well over 150,000,000 of listless dead-and-alive human beings, and infused into them a new spirit.”

वेब दम्पतीको सोभियत भ्रमण
एमिल जोसेफ डिलनको किताबमा यस्तो वर्णन पढेर प्रभावित भएर सोभियत रसियामा आइपुगेका थिए एक अंग्रेज दम्पती— सिडनी वेब अनि बिट्रिस वेब। रसिया भ्रमणको अनुभव माथि लेखिएको तिनीहरूको किताब सन् 1930मा प्रकाशित भयो— ‘सोभियत कम्युनिज्म— ए न्यु सिभिलाइजेसन?’ त्यसमा ठाउहरूको विवरण, अनेकौं अन्तर्वार्ता, नयाँ नयाँ कुराहरू थियो। त्यसपछि तिनीहरूले जम्मै रसिया घुमेर गहिरोसँग अध्ययन गरेर सन् 1937 मा त्यही किताबको दोस्रो संस्करण प्रकाश गरे यस पल्ट भने किताबको नाममा सानो बदलाव ल्याए! प्रश्नवाचक चिह्न हटाई दिए। हजुर, ‘सोभियत कम्युनिज्म— ए न्यु सिभिलाइजेसन’ नै हो! वेब दम्पतीले रसिया भ्रमण र किताब रचनाको काम गर्नुभएका थिए प्राय नब्बे वर्षको उमेरमा। जीवनभर पुँजीवादलाई हेर्ने बुझ्ने राम्रो अनुभव तिनीहरूकोमा थियो। एकतिर अशिक्षा, अस्वस्थ, कुसंस्कार, रुढीवाद, महामन्दी, महामारी, मुद्रास्फीति, बेरोजगारी, कामको अनिश्चयता, जीवनको सुरक्षाहीनता अनि अर्कोतिर चोरी-डकैती, मर्डर, लुटपाट, बलात्कार, ब्ल्याकमेल— इत्यादि हो पुँजीवादी बजार व्यवस्थाको अनुहार। यसभित्रै चुनाव, भोटको अधिकार, जननेता र देशनेताहरूका मिथ्याचार, भ्रष्टाचार, कपट, भाइभतिजावाद चलिरहेको छ। तिनीहरूले जर्मनी, इटाली, स्पेनमा फासीवादको अभ्युदय र पश्चिमी ‘गणतान्त्रिक’ शक्तिहरूको मद्दतमा तिनीहरूको शक्तिवृद्धि— सबै हेरेका थिए। यस्तो स्थितिमै रसियाबाट आउदै थियो टुक्रा टुक्रा अनौठो खबर। कौतुहल भएर वेब दम्पती आउनुभएका थिए समाजवादको निर्माण हेर्न, जसको नतिजा हो त्यो 1216 पन्नाको किताब। 

के छ त्यो किताबमा? के छैन र भन्नु नै राम्रो! विस्तृतरुपमा छ यस उज्यालोतिर यात्राको वर्णन। सोभियत समाजवादको त्यतिबेलाको यात्राले संसारलाई बाटो देखाउन सक्थ्यो। खाद्य-वस्त्रको प्रचुरताले होइन, टिभी-फ्रिज-कम्प्युटरको चमकले होइन, नयाँ नयाँ मोडेलको गाडीको जुलुसले होइन, जीवनको एक विशाल सिर्जना अभियानमा श्रमबाट एक नयाँ समाज बनाउनुको हिसाबले। पुरानोको सट्टामा नयाँ जीवन बनाउनुको हिसाबले। यो व्यवस्था यस्तो चाखलाग्दो हो कि कसैलाई अशिक्षित बस्ने उपाय छैन, अस्वस्थ हुनु वा स्वास्थ्यविधिहरू उल्लंघन गर्ने मौका छैन, त्यसले गर्दा बालश्रम छैन, बेरोजगारी पनि छैन। समाजमा भिखारी, फिरन्ते, बेघरहरू छैनन्, वृद्धहरूलाई परमुखापेक्षी भएर बस्न पर्दैन— मानिसहरूलाई नयाँ मानिसको हिसाबले निर्माण गर्नलाई सबैप्रकारका एक सर्वांगीण प्रयास। नयाँ समाज, नयाँ मानिस, नयाँ नैतिकता। 

शिक्षाको विकास, नैतिकता गठन, भाषाको मान्यता...
वेबहरू घुम्दाघुम्दै मस्कोको एउटा स्कुलमा पुगे जहाँ स्टालिनको छोराछोरीहरू पढ्थ्यो। तिनीहरूलाई थाहा थियो इंग्ल्यान्ड वा अमेरिकामा जुन स्कुलमा प्रधानमन्त्री वा राष्ट्रपतिको छोराछोरीहरू पढ्छन्, त्यहाँ कुनै विदेशी अतिथि आएभने हेडमास्टर वा टिचरहरू त्यो बताउन र देखाउन खोज्छन्। मस्कोको स्कुलमा त्यस्तो केही भएन। हेडमास्टरले भन्नुभयो यसो गर्नु मनाही छ। यसले स्टालिनको छोराछोरीहरू आफुलाई अरुभन्दा अलग सोच्छन्, उनीहरूको चरित्र विकासलाई हानी पुग्छ, अरुहरूलाई पनि नराम्रो अनुभूति हुन्छ। सबैको लागि नै एउटै नियम। पछि गएर स्टालिनको छोरी श्वेतलानाले आरोप लगाएको थियो— बाबुले हाम्रो भाइबहिनीहरू प्रति त्यति ध्यान दिएका थिएनन्!!

रूसी क्रान्ति सम्पन्न हुनुको ४ दिन भित्रै २१ नोभेम्बर लेनिनले एउटा डिक्री जारि गर्नुभयो— सार्वजनिक शिक्षाको। सोभियत रसियालाई त्यतिबेला १४ वटा देशले चारैतिरबाट आक्रमण गरिरहेका थिए, भित्र सत्ताच्यूतहरूको प्रतिक्रान्तिको कोशिश, समाज पुनर्गठनको निम्ति विपुल व्यय, सम्भावित युद्धको लागि सबै प्रकारको तयारी— त्यस भित्रै शिक्षा, विज्ञानको विकासको निम्ति अभूतपूर्व राशीको एलोकेसन। 

समस्या त कम्ती थिएन। युरोपदेखि एसियासम्म विस्तृत विशाल देश। पृथ्वीको भूभागको १/६ अंश। अर्थनीति ध्वस्त, कृषिव्यवस्था खतम, यातायात व्यवस्था भन्ने केही छैन, बाटोघाटो छैन, बिजुली छैन, शिक्षकहरू त्यति छैनन्। रसिया र युक्रेन छोडेर अरू राज्यहरू त झनै पछौटेपनको स्थितिमा, भाषा दुर्वल र अविकसित। एसियाको भूभागमा यस्ता थुप्रै जनजातीहरू थिए जसको लिखित भाषा थिएन, बोल्ने भाषा अविकसित थियो। यस्तो स्थितिमा स्कुल बनाउनु, मान्छे पठाउनु मात्रै होइन, भाषा पु󰈀याउनु, अक्षर बनाउनु र त्यसले किताब छाप्नु जस्तो कामहरू पनि रसियाले पुरा गर्ने रहर ग󰈀यो। वेब दम्पती अचम्मसँग हेर्नुभयो कि कुनै खण्डमा पनि रुसी भाषालाई अरू भाषीमाथि थोपिएको थिएन। कुनै पनि जनजातीले मातृभाषामा शिक्षाको प्रावधानबाट बन्चित नबसोस्— यसबारे पूर्णरूपमा कोसिस र ध्यान थियो देशभरिमा। सन् १९३५ मा ८० वटा भाषामा शिक्षादान चल्दै थियो, किताब छापिएको थियो। ८८ वटा भाषामा पत्र-पत्रिकाहरू निस्किन्थ्यो। सन् १९६६ मा एकजना रसियन एन्थ्रोपोलिजिस्टले लेख्दैछन्— “आज सोभियत सङ्घमा १२० भन्दा बेशी भाषामा किताब छाप्ने काम हुन्छ, जसमध्ये ४० वटाको क्रान्ति भन्दा अगाडि अक्षर नै थिएन।”

शिक्षाको मतलब फेरी भोकेसनल, चाकरी-अभिमुखी वा उत्पादनमुखी थिएन। स्कुल स्तरको शिक्षाको मतलब हो पूर्ण मनुष्यत्व आर्जनको निम्ति चाहिने प्राथमिक शिक्षामा शिक्षित गराउनु: “They are not seeking to direct the pupils' attention to particular occupations, or to persuade them to choose such occupations when they leave school, or even to create in them any special fitness" for these occupations. Whether the boys and girls eventually become carpenters or cultivators, tractor drivers or school teachers, administrators or dramatic authors, does not, at the school stage, concern the educators. What is quite sincerely intended by the polytechnical school is the very opposite of training in any particular vocation or craftsmanship; in fact, an improvement in the intellectual equipment of all the pupils throughout the land, irrespective of the particular occupations that they will severally choose.”

नारीसमाजको निम्ति खुल्ला आकाश
नारीमुक्तिको कुरा, नारी-पुरुष समानाधिकारको कुरा सभ्यता विकासको बाटोमा एउटा महत्वपूर्ण मापदण्ड हो। पुँजीवादी सभ्यता विकासको शुरुमा नै यी चर्चाहरू आउँ थालेको थियो। धार्मिक मानव कल्याणको धारणाबाट एक कदम अगाडि बढेर बुर्जुवा मानवतावादीहरूले भनेको थियो, नारीलाई उसको पारिवारिक घेराबन्दीमा अल्झाएर केवल सदय व्यवहार गर्दा मात्रै हुँदैन, उसलाई पनि सामाजिक दायित्व पालनको मौका दिनुपर्छ, त्यसको निम्ति शिक्षाको प्रवन्ध हुनुपर्छ। गणतान्त्रिक व्यवस्थामा ऐनको दृष्टिकोणमा समान अधिकार दिनु, वैवाहिक सम्वन्धको खण्डमा स्त्रीलाई विवाह विच्छेदको अधिकार दिनु— माथि भनिएको दृष्टिकोणकै नतिजा हो यी दाबीहरू। केहिदिन र केहीहदसम्म पुँजीवादी देशहरूमा यसको का󰈀यान्वयन पनि भएको थियो। त्यसपछि अड्कियो। समान अधिकार ऐनको किताबमा हुनसक्छ, तर त्यो उपलब्द्ध हुँदैन जहिलेसम्म अधिकार आर्जन र उपभोगको लागि सही परिस्थिति र मौका बनिन्दैन। पुँजीवादले त यस्ता अधिकारहरू नै आफ्नो नागरिकहरूलाई दिनसकेको छैन। नारीलाई पनि दिएन। नारीलाई शिक्षाको मौका चाहिन्छ, रोजगारको मौका चाहिन्छ, त्यसभन्दा पनि ज्यादा बाटोमा निस्किनलाई सठीक माहौल चाहिन्छ। तर बलात्कार, अपहरण, नारी बेचबिखन— सबै पुँजीवादी देशमानै कमबेसी यी विशिष्टताहरू छन्। त्यसमाथि पुँजीवादले नारीलाई, नारी शरीरलाई एक विचित्र किनबेचको वस्तुमा रुपान्तरण गरेको छ! पुरानो सामन्ती समाजमा नारी थियो परिवारको घेराबन्दीभित्र पुरुषको उपभोग्यवस्तु, सेवादासी। पुँजीवादले उसलाई त्यहाबाट केही हदसम्म मुक्त गरेतापनि बजारवृद्धिको हतियार बनाएको छ। त्यसर्थ प्रत्येक नारी नै पुँजीवादी व्यवस्थाको हातमा शृंखलाबद्ध स्थितिमा कैद छ। यसको अँध्यारोमा उ किनबेचको बस्तु, उज्यालोमा अरू सामग्री बिक्रि गर्नलाई विज्ञापनको अनुहार। त्यसले गर्दा केवल भारत, पाकिस्तान, बंगलादेश, नेपालझैँ अविकसित देशमा मात्रै होइन, युरोप-अमेरिका जस्ता ठोस् पुँजीवादी देशहरूमा पनि, रेनेसाँ, औद्योगिक क्रान्ति, आधुनिक विज्ञान, वैश्वीकरण इत्यादिको बावजुद पनि टिकिरहेको छ वेश्यावृत्ति, वेश्यालयहरू। त्यसको नयाँ नयाँ रुपहरू पनि विकसित भएको छ। 

अच्छा, सोभियत रसियामा के भएको थियो? मानव सभ्यताको चार हजार वर्ष पुरानो वेश्यावृत्तिको प्रथा यहाँनेर केवल दश वर्षमा सम्पूर्ण उन्मुलन भएको थियो। कसरी त्यो भएको थियो त्यो इतिहास एक रोमान्चक इतिहास हो। कुनै धर्महरूले जे गर्न सकेनन्, पुँजीवादले जे गरेनन्, क्रान्तिपछि गृहयुद्ध सक्नु बित्तिकै सोभियत राज्यले यस काममा हात लगाएको थियो, सफल पनि भएको थियो। अनि त्यससित चलेको थियो तिनीहरूलाई सामाजिक क्षेत्रमा भागीदारी बढाउने काम। 

यदि नारीहरूलाई पुरुष जस्तै अधिकार दिनुपर्ने हो भने तिनीहरू आर्थिक रूपमा स्वनिर्भर हुनुपर्छ। त्यसकोलागि, सोभियत सरकारले नारीलाई बाहिर उद्योगहरूमा कामको प्रवन्ध गरि दिने भयो, जसलेगर्दा तिनीहरूको श्रम पनि उत्पादनशील श्रम बनिनेछ। तर, यस्तो गर्दा नारीहरूलाई थुप्रै समस्या झेल्नुपर्ने भयो। उसलाई फ्याक्ट्री/अफिसको कामसितै घर र मातृत्वको कामहरू पनि समन्वय गर्नु पर्छ। सरकारले नानीहरूको हेरचारको लागि एउटा सामाजिक ढांचाको प्रवन्ध ग󰈀यो। ‘क्रेच’, जहाँ काम गर्ने आमाहरूको नानीहरू दिनभरी बस्न सक्छ, त्यसको व्यवस्थापन भयो। कामको बिचमा पनि आमाहरूले नानीहरूलाई भेट्ने र चाहेभने दुध दिन सक्ने भए। क्रेचहरूमा नानीहरूको एउटा सामाजिक जीवनपनि बन्यो र त्यहाँबाट नानीको खाना र लुगाको प्रवन्ध भएकोले परिवार माथि खर्चाको बोझ पनि कम्ती भयो। यस्ता क्रेचको संख्या क्रान्ति पछि निकै नै बढेको थियो, आमा र नानीहरूको विकासको लागि नियोजित संस्थानको संख्या पनि सन् १९१७ मा २७ वटा थियो, दस वर्ष पछाडि त्यो संख्या २५३९ वटा भयो। लेनिनले भनेको थियो : “A victory for Socialism is impossible until a whole half of toiling mankind, the working woman, enjoys equal rights with men, and until she no longer is kept a slave by her household and family.” यो नै थियो नारीप्रति सोभियत सङ्घको दृष्टिकोण।

वेब दम्पतीले लेख्नुभएको थियो : “In their remaking of the Russian people, Lenin and his followers began, not with Adam, but with Eve ! For the October Revolution meant to the scores of millions of peasant or wage-earning women, not merely liberation from the exploitation of the landlord and the capitalist, a liberation which could only be made effective in the course of years ; but also an immediate release from the authority of the father or the husband. From thenceforth the woman was to be in all respects of equal status with the man ; whether as a citizen, as a producer, as a consumer, or even as a member of the Vocation of Leadership.” अझै एकजना लेखिका केनिना हाले, रसियाको अनुभवलाई समेट्दै, सन् १९३३ को ‘Women in Soviet Russia’ मा लेख्नुभयो, “The process of emancipation now going on in Russia differs from all earlier ones in the recorded history of mankind in that it is carried out according to plan and on an unprecedented scale. And however that process may turn out in the course of historical development, one thing has already been attained : the humanization of woman..."

मानव सभ्यताको इतिहासमा समाजवादले नै पहिलोपल्ट नारी-पुरुष समान अधिकार स्थापनाको मतलब के हो त्यसको वास्तविक उदाहरण देखाएको थियो। धेरैले बिर्सी सके होला, सर्वजनिक भोटको अधिकार, नारीको भोट दिने र निर्वाचित हुने अधिकार इत्यादि सोभियत सङ्घमा चालु भएपछि मात्रै अरू देशहरूमा चालु भएको थियो।
स्वर्णिम इतिहासलाई सम्झिदै, सीमिततालाई चिह्नित गर्दै हामी हिड्ने छौं...

यो लेख अब लामो हुन थाल्यो। यसलाई अझै विस्तृत रूपमा चर्चा गर्न आवश्यकता अवश्य नै छ। यो वर्ष नै त्यसको लागि असल होला। क्रान्तिको सयवर्षलाई सम्झिँदै। त्यससित अवश्यनै चर्चा गर्नु पर्छ लामो र कठिन बाटो हिड्दाहिड्दै के के समस्याहरू पनि आएको थियो। बाहिर र भित्रबाट यस व्यवस्थालाई खतम पार्नुको लागि क-कसको के कस्तो भूमिकाहरू छ त्यो पनि हामीले देखेका छौं। किन गौरवशाली यो व्यवस्था सामयिक रूपमा बिचलित भएको छ, ठहरिएको छ। हामीलाई कुनै पूर्वाग्रहले ग्रस्त नगरोस, विकासको सही बाटो खोज्नु आवश्यक छदैछ। मानवसभ्यताको निम्ति रूसी उदाहरण निकै नै महत्वपूर्ण हो, त्यसलाई नजरअन्दाज गर्ने क्षमता कसैकोमा कहाँ छ र?

फासीवादलाई रोक्न सोभियत सङ्घको, समाजवादको महान योगदान
आज हामी जुन स्थितिमा छौं, देशमा फासीवादको पाइला टेक्ने संकेत, देश-देशमा त्यस्तै फासीवादी, उग्र-राष्ट्रियतावादी शक्तिहरूको दबदबा, यहाँसम्मकी ठुलोदादा अमेरिकामा पनि डोनाल्ड ट्रम्पको विजयले निकै नै भयावह संकेत दिंदैछ। संसारको इतिहासमा हिटलरको नाम फासीवादसित ओतप्रोत छ। अन्तिममा हिटलरको पराजय मानव सभ्यताको जीत थियो, र त्यसमा सोभियत रसियाको भूमिका पनि कसरी कसैले नकार्न सक्छ? हिटलरको पालोमा गोयबल्स उसको प्रचार सचिव थियो। एउटै झुटोलाई बारम्बार भनेर त्यसलाई जनमानसमा साचो हो भनेर स्थापित गराउनु नै उसको खासियत थियो। उसले आफनो देशभित्र यहुदीहरूलाई खेदाउनुको लागि यस पन्थको उपयोग त गरेकै थियो, स्टालिन र सोभियत विरुद्ध पनि त्यसरी नै प्रचार गर्थ्यो। संसारको सामु त्यसलाई नराम्रो देखाएर आफ्नो स्वार्थ पुरा गर्नु। तिनीहरू भन्थे रसियाको आममानिस निकै नै दुखलाग्दो हालतमा छन्, गुनासो पनि पुरै छ, तर डरले तिनीहरू आवाज उठाउन सकेको छैनन्। संसारलाई सुनाउन गोयबल्सले भनेको झुटोले हिटलरको मनमा पनि के धारणा भएको थियो भने एकपल्ट रसियाको सीमा नाघेर उसको सेना भित्र पस्न सके भने स्टालिनलाई साह्रो पर्छ, र क्रोधित रूसी जनता पनि आँट लिएर स्टालिन र सोभियत विरुद्ध सङ्घर्षमा उत्रिन्छन्। 

वास्तवमा युद्ध घोषणा गरी हिटलरको सेना रुस सीमा भित्र पस्यो। खै, जनतामा विरोध त छैन! रिपोर्ट सुनेर हिटलरको निर्देश आयो “अझै अगाडि बढ, जनताको गुनासो त पाइन्छ नै”। जर्मन सेना मस्को छेउमा पुगिसक्यो, तरैपनि क्रोधित जनतासँग भेट भएन। तीन वर्षको निम्ति लेनिनग्राड अवरुद्ध थियो, तेल छैन, इन्धन छैन, खाद्यान्न छैन, बिजुली छैन... तरैपनि खै त विभीषणहरू?! स्टालिनग्राडमा त जर्मन सेनाको एउटा विशाल टोलीको आत्मसमर्पणबाट द्वितीय विश्वयुद्धको चक्कानै उल्टो घुम्न थाल्यो। धेरै लामो युद्ध गरेर, रगतको धारा बगाएर, बम-गोलीले ध्वस्त पारेर अन्तमा हिटलर र चर्चिल-रुजभेल्टले पनि बुझिसकेका थिए— झुटो कुराको पुनरावृत्तिले कहिल्यै सत्य बनाउन सकिन्दैन। 

त्यस युद्धमा सोभियत रसियालाई निकै नै क्षति पुगेको थियो। अढाई करोड मानिस मरे, अझै करोडौं घाइते भए र हराए। सम्पत्तिको क्षतिको त सीमा छैन। तर हिटलरले यो युद्ध गरेर एउटा महान उपकार ग󰈀यो। त्यो थियो पुँजीवादको विपरीत समाजवादको शक्तिलाई संसार अगाडि स्पष्ट पारिदिनु। साहित्य चाहेभने साहित्य, उद्योग चाहेभने उद्योग, विज्ञान चाहेभने विज्ञान, देशप्रेम चाहेभने देशप्रेम, युद्ध चाहेभने युद्ध— सबै मापदण्डमा यस समाजवादी व्यवस्थाले पुँजीवाद भन्दा आफुलाई शक्तिशाली प्रमाणित गरेको थियो। यस युद्धमा हिटलरको पराजयले समग्र मानव सभ्यतालाई फासीवादको विपदबाट रक्षा गरेको थियो— केवल यसैको लागि भए पनि संसारलाई सोभियत रसिया प्रति आभारी हुनुपर्ने हो। सोभियत रसियाको अन्तरवस्तुमा जुन ठोस् कुरा थियो त्यो हो सचेत रूपमा र सुनियोजित ढंगमा आफ्नो हिड्ने बाटो तय गर्नु। लेनिनको नेतृत्वमा क्रान्तिको शंखघोष जसरी छ होइन, आठ होइन, सात तारिख नै ध्वनित भएको थियो! 

बोनसबाट बन्चित चिया श्रमिकहरू

कपिल तामाङ

जब सबैले दसैँ-तिहारको चाड खुसीसँग मनाइरहेका थिए तब दार्जीलिंग पहाड़स्थित अल्केमिस्ट ग्रूपको तीनवटा बगानका श्रमिकहरू बोनसको मांग गर्दै कहिले सिलिगुडी जे.एल.सी त कहिले दार्जीलिंग ए.एल.सी को अफिसमा कुदिरहेका थिए। २१०५ देखिकै कठिन परिस्थितिमा अल्झिरहेका अल्केमिस्टका श्रमिकहरू यसपालि त झन् दसैँ-तिहार पनि नमनाउने परिस्थितिमा पुगे। मालिक पक्षबाट हेलचेक्र्याइँ अनि विश्वासघातको बारम्बार शिकार बनिरहेका छन् त्यहाँका श्रमिकहरू। त्यति मात्र नभएर युनियनका अगवतहरूले पनि मालिकसंग मिलेर ठुलो षड्यन्त्र गरेर त्यहाँका श्रमिकहरूलाई बोनसदेखि वञ्चित गरेका छन् भन्ने आरोप आममजदूरहरुले बताएका छ्न्। 
चिया उद्योगमा सङ्कटको नाम गर्दै एक पछि अर्को बगान धारावाहिक क्रममा बन्द हुँदै आइरहेको छ। जसको क्रममै अल्केमिस्टको बगानहरु पनि २०१५ देखि बन्दमय अवस्थामा चलिरहेको छ। तर चिया उद्योगमा सङ्कट कुनै नयाँ कुरा होइन। नव उदारबादको लहर पछि भारतका सङ्गठित उद्योग क्षेत्रहरूमा सङ्कट हुँदै कारखाना वा बगानहरु बन्द हुन थालेको ९०को दशक देखिनै हो। लगभग सन २००२ देखि उत्तर-बंगालका चिया उद्योगहरूमा पनि सङ्कट सुरु हुन थाल्यो अनि एक पछि अर्को बगान बन्द हुन थाल्यो। यसलाई नव-उदारवादको नीति, चिया उत्पदनमा असंगठित क्षेत्रको बडोत्तरी अनि मालिक पक्षबाट श्रमिकहरू प्रति अमानवीय शोषणको प्रतिफल भन्दा गलत नहोला। 

२५७२ जना श्रमिकहरू भएको अल्केमिस्ट ग्रूपका चिया बगानहरुमा जम्म ८ वटा डिभिजन छ। जसको चिया धोत्रे एंड कोलेजभ्याली प्राइभेट लिमिटेडले सञ्चालन गर्छ। अल्केमिस्ट ग्रूपका मालिक तृणमूल कांग्रेसको राज्यसभा सांसद के.डी सिंहले जब बगान चलाउथे तब अल्केमिस्टको सी.इ.ओं सुजित भट्टाचार्य थिए। बीचमा बगान छोडेर अल्केमिस्ट ग्रूपले सुइकुच्चा ठोक्यो। निकै हल्ला भएपछि सरकारी हस्तक्षेप भित्रै अहिले ट्राइडेन्ट एग्रो भन्ने कम्पनीलाई बगान हस्तान्तरण भएपछि ए.के अग्रवालले चलाई रहेका छन्। अचम्मको कुरा के छ भने बगान हस्तान्तरणको प्रक्रिया डिस्ट्रिक्ट मजिस्ट्रेटको निगरानीमा हुनु पर्ने, त्यो पनि भएन। साथै हस्तान्तरणको दस्ताबेज न बगानका कर्मीहरू सँग स्पष्ट छ न सरकारी प्रशासन सँग नै। १२ अगष्ट २०१६को दिन युनियनका प्रतिनिधिहरु अनि मालिक मिलेर जे.एल.सी अफिसमा बगान हस्तान्तरण गरियो जसमा सम्झौता कस्तो छ त्यो पनि श्रमिकहरूलाई खुला जानकारी थिएन। १६ अगष्ट देखि फेरी बगान चालु भयो। श्रमिकहरूको हराइसकेको आस्था फेरी फर्केर आउन थाल्यो। १७ लाख रुपैयाँ बगानको खातामा आयो जसले बगानमा काम गर्दै गरेको श्रमिकहरूको हाजिरी अनि फिस स्टाफहरूको आधा तलब दिइयो। त्यस पछि दसैँ अघि २५ लाख रुपैयाँ आयो जो हाजिरीको रूपमा नै वितरण गरियो। अक्टोबरमा बोनसको कुरा उठ्न थाल्यो। पहाड साथै तराई-डुवर्समा १९% बोनस तय भयो। तर अल्केमिस्टका बगानहरूमा कुनै बोनस आएन। श्रमिकहरू हतास भएर जिज्ञासा गर्दा दिएको २५ लाख रुपैयाँ नै बोनस हो भन्ने कुराहरू पनि उठ्न थाल्यो। दसैँ त्यसरी नै बित्यो। १९ अक्टोबर २०१६ को दिन सबै युनियनहरू मिलेर बनाएको संयुक्त कमिटिले दार्जीलिंग ए.एल.सी अफिसमा मालिक पक्षलाई बोनस विषय छलफल गर्न बोलाएको भयो। तर मालिक पक्षबाट कोही पनि प्रतिनिधि उपस्तित भएनन्। आक्रोसित श्रमिकहरूले बाटो घेराउ गरी ठुलो विरोध प्रदर्शनी गरे। भित्र अफिसमा भने यूनियनका प्रतिनिधिहरू फोन मार्फत मालिकपक्ष सँग बोनसको सम्झौता गर्दै ११.३३% बोनस पाउने निष्कर्षमा पुगे। लाचार श्रमिकहरू वाध्यता पूर्वक राजी भए। तय गरेको ११.३३% बोनसमा पनि ८.३३% तिहार अघि दिने अनि ३% तिहार पछि दिने कुरा भयो। 

तिहार आयो अनि गयो र आजको दिन सम्म बोनसको एक रुपैयाँ पनि श्रमिकहरूले पाएका छैनन्। युनियनका प्रतिनिधिहरुबाट पनि श्रमिकहरूले आस्था हराइसकेका छन्। २२ नोवेम्बर २०१६मा कलकता हाइकोर्टमा मालिक पक्षलाई प्रशासनले हस्तान्तरणको दस्ताबेज प्रस्तुत गर्ने आदेश दिएको छ। त्यसको प्रतीक्षामा नै बसिरहेका छन् श्रमिकहरू। सङ्घर्षको बाटोमा ओर्लेका छन् अल्केमिस्ट बगानका श्रमिकहरू। युनियन अनि प्रशासन दुवै बाट हतास श्रमिकहरूले आफै सङ्घर्ष गर्ने संकल्प लिएका छन्। 

बोनस लिएर दुखलाग्दो स्थिति अझै थुप्रै बगानको मजदुरहरुलाई झेल्नुप󰈀यो। कलकता वा दार्जीलिङमा मिटिंग गरेर एउटा राशि तय गर्छ र बगानमा आएर अर्कै दिने परम्परा चलिरहेको छ। यो वर्ष चिया उद्योगमा रेकर्ड मुनाफा भएको छ तरैपनि बोनसको राशी घटाएर मालिकहरुले आफ्नो पहिचान दिइसकेका छन। 


वर्तमान चिया उद्योग बारे चर्चा गर्दा डंकन्सको कुरा आइहाल्छ। डंकन्स-गोयेंकाको बगानहरूको हालत अघि देखिनै गम्भीर थियो। अहिले फेरी डंकन-गोएंकाले बगान चलाउन, प्रसासनले पनि आदेश दिएका छन्। प्राय २ सालको बन्दको स्तिथि पछाडी, डंकन्सले आफ्नु ७ वटा बगान खोल्ने निर्णय लिएको छ। बीरपारा चिया बगान नोवेम्बर २३ देखि अनि अरू ६ वटा (तुलसीपारा, हन्टुपारा, दुम्सीपारा, लंकापारा, डिमडीमा अनि गरगन्डा) २०१६ सालको बीचमा खोल्ने सूचना दिएको छ डंकन्स ग्रुपले। बगान खोल्ने बित्तिकै सबैजना मजदुरहरुलाई एक हजार रुपिया दिने पनि कुरा गरेको छ। तर इतिहास हेर्दा अनि पहिलेको परिस्थितिहरू सम्झंदा श्रमिकहरूले कुन आधारमा यस घोषणा मानि लिने अनि विश्वास गर्ने त्यो एउटा ठुलो चिन्ताको बिषय हो। आखिरमा, इतिहास साक्षी छ कि आखाँ छोप्नु र बोरा ओडाउनुनै त यिनीहरुलाई मज्जाले आउछ!

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...