Sunday, May 19, 2024

आन्दोलनवादी

नारायण काफ्ले 


 म आन्दोलनवादी। मेरा गुरुले मलाई लगाइदिएको ट्याग। समाजको शान्ति भङ्ग गर्ने अराजक तत्व। नेता भइटोपल्ने। सायद, बिनाकामको एउटा
टेप रेकर्डर। सफल हुने बाटोमा सङ्घर्ष गर्नु साटो सहुलियत खोज्दै हिँड्ने अल्छे पात्र।
  जीवनलाई बुझ्ने सङ्कीर्ण विचारयुक्त जन्तु। जीवनको सुन्दर पाटोलाई देख्न नसक्ने अन्धो मानसिकता बोकेको दरिद्र म। चारजना अन्धाले हात्ती छामेजस्तो मेरो अध्ययन। कुवाको भ्यागुताले संसारको व्याख्या गरेजस्तो मेरो चिन्तन। कुवाबाटै अँजुलीमा उगाएको पानीजस्तो मेरो प्रयास। अँजुलीबाट चुहिँदा चुहिँदै सकिन लागेको सरिताजस्तै मेरो ज्ञान। अन्त्यमा बचेको बगरसरह सुख्खा हत्केलाझैँ मेरो भविष्य। 'दुखले दुखलाई आकर्षित गर्छ सुखले सुखलाई'- वहाँको प्रवचन। म खुसी हुनै नचाहने दुखी मान्छे, म खुसी हुनै नसक्ने दुखीया - वहाँको निष्कर्ष। वहाँको निष्कर्षमा व्यवस्थाको गन्ध। 

'एत्ती केही छुनै हुन्न, बुर्कुसी मार्न थालिहाल्छ' कसाईले काटिन लागेको खसीलाई देखाउँदै यसो भन्दा हामी कसाईप्रति सहानुभूति जनाउँछौँ। होइन र? निरिह जन्तुहरूको गर्दन ङ्याकेर उसको छटपटीलाई अराजक भन्न कति सहज छ। उसका प्रत्येक छटपटीका कसरतले लात लाग्दा विचरो ङ्याक्ने मान्छेलाई लात लाग्यो होला। उसका छटपटीले सयद ङ्याक्ने व्यक्तिलाई कत्ति थकायो होला। यस्ता थुप्रै आधार छन् जसको प्रमाण गर्दन ङ्याक्ने व्यक्तिले आफ्ना चोट देखाएर दिन सक्छ। प्रमाण भए निसाफ उसकै गोजीको रूमाल। परबाट हात बाँधेर हेर्ने मुक दर्शकलाई घाँटी अठ्याएकोभन्दा धेरै छटपटी नै देखिन्छ। जे देखिन्छ उही प्रतिक्रिया। आफु सहज ठाउँमा उभिएर अप्ठ्यारोबारे अड्कल गर्दाको मजा, त्यो अप्ठ्यारो पार गर्ने उपायका सुझाव हात बाँधेर बर्बराउँदाको सन्तुष्टि। यही नै हो यथार्थ मेरो समयको। हात बाँधेर उभिएका, बसेका, हिँडेका, डुलेका अनेक जीवित मूर्तिहरूका भुलभुलैयाबाट निकास पाउन प्रयासरत म। म गर्दन थिचिएको सखी। उसको छटपटी मेरो अन्तर्मनको सादृश्य। मेरो गर्दन थिचिरहेको समय। मेरो गर्दन कुल्चिएर शान्ति सन्देश बाँडिरहेको समय। सन्देश सुनिरहेका जोर-हातबँधुवा मान्छेका भिँड। सन्देश सुन्न पाउनु अघि नै चिसिएका शान्त लासहरू। लासको थुप्रो कुल्चिएर उभिएको शान्त युग। त्यही युगको इतिहास पढाउँदै मेरा गुरु। म डेस्कमा बसिरहेको उनको चेला। 

मेरा गुरु महान। उच्चताको भर्‍याङ चढिसकेपछि तल देखिने सबै दृष्य पुड्का। मेरा गुरु अग्ला। उहाँको ज्ञान अझै अग्लो। गुरु चढेकै भर्‍याङ चड्ने चेलाहरूको भिँड। तानातान र होडबाजी। एउटै मात्र भर्‍याङ। चेला अनेक। माथि चढ्न सक्ने सभ्य। उसलाई स्वागत भव्य। तल देखिने भिँड। भिँडभित्र म। भिँडको हल्ला। हल्लाले गुरुलाई डिस्टर्ब। प्रिय पाठक! तपाईँ नै मेरा गुरु। मेरा गुरु महान।

म एकादेशको नागरिक। मेरो देशमा राजाको सुशासन। दुई हात र दुई पाउका भरमा पिठ्युँलाई आसन थापेर बसेका नागरिक। त्यो कुर्सीमा विराज्ने एक्लो मौसुफ। मौसुफका चौतर्फी सुरक्षाका हतियार। मौसुफको बैठकले किचिएका नागरिक। नागरिकका नतमस्तक शिर। मेरो राजालाई तारीफ मनपर्छ। उहाँको स्तुति गाए झनै असल। खबरदार! ढाड किचिएकाले आवाजमा निष्ठा कम नहोस्।  त्यसैले मेरो देशमा हजारौँ, लाखौँ भजन गाउने ओठहरूको भिँड। कति प्रिय राजा। ती सुमधुर सङ्गीतका हल्लामाझ पनि म एक्लो स्वर उनको कानमा बिझ्ने गर्छु।  मेरो खस्रो बोली। मेरो राजालाई म बोलेको मन पर्दैन। मेरो बोलीको एउटै झिल्काले सल्किन पाए दन्दनी हल्ला बल्ने छ। राजाको आसन ढल्ने छ। सायद राजालाई यसैको डर छ। त्यसैले मेरो बोली आन्दोलन। म राजाको दुश्मन। राजाको निर्देशन गुरुलाई। गुरुको नतमस्तक प्रतिउत्तर-'मेरो राजा महान।' 

म आन्दोलनवादी। मेरो स्वीकारोक्ति। आफुले भोगेको परिस्थिति र देखेको समाज असमान र अन्यायपूर्ण रहेकाले यसलाई बदल्नु पर्ने आवश्यकता मेरो बुझाई। यसमा मेरो जे भूमिका सम्भव छ निर्वाह गर्न तयार म।  चाहे जीवनका सुनौला उमेर उत्सर्ग गर्नु परोस। चाहे यी अथक कसरतका फल तत्क्षण मिलोस, नमिलोस। चाहे प्रयासका प्रत्येक झिल्काले सल्किन चोइटा पाउन, नपाउन। प्रयासका झिल्काको निरन्तर सिर्जना। एउटा न्यायपूर्ण र समताको आदर्शयुक्त समाज निर्माणको लक्ष्य। यस महान लक्ष्यप्रति म पूर्ण आशावादी। यस महान कार्यमा म सहभागि। यसै कार्यक्रममा जोडिँदै परिवेशमा विद्यमान असङ्ख्य जडतालाई तोड्ने मेरो आह्वान। क्रान्तिको आह्वान। यस महान यात्रा रेखाको म केवल एक थोप्लो विन्दु। थुप्रै थोप्लाहरूको हातेमालो। एउटा किरमिर रेखा। म जस्तै अघिका विन्दुमा जोडिँदै रेखाको निरन्तरता निर्माण गर्ने मेरो क्षीण प्रयास। म पछिको विन्दु को? तपाईँ आन्दोलनवादी की नाइँ?

***


सत्तरी घण्टा साप्ताहिक कामको हल्ला किन?

सङ्घर्षरत मेहनतकश पत्रिकाबाट

धेरै विरोध भए पश्चात मोदी सरकारले चार लेबर कोड लागु गर्न सकेन। तर अन्य उपायहरू लगाएर विभिन्न प्रावधानहरू थोप्ने प्रयास अझ जारी नै छ। यसकै क्रममा पछिल्ला दिनहरूमा भारतका दिग्गज आईटी (Information Technology) कम्पनीका मालिक नारायण मूर्तिले भनेका थिए “देशको प्रगतिका निम्ति हरेक दिन 12 घण्टा र हप्तामा जम्मा 70 घण्टा काम गर्नु पर्छ।"

नारायण मूर्ति अनुसार आज भारतको उत्पादकता धेरै कम्ति छ अनि उसको प्रतिस्पर्धी चीन जस्ता राष्ट्र हुन्। यदि भारतले यस प्रतिस्पर्धामा टिक्नु छ भने उसले आफ्नो उत्पादकताको सङ्ख्यामा वृद्धि ल्याउनु पर्छ। यो काम देशका युवाले गर्न सक्छन्। कसरी सक्छन् भने हप्तामा 70 घण्टा काम गरेर यो कार्य सम्भव छ। नारायण मूर्तिले त्यो कुरा गरे जुन कुरा देशका पुँजीपतिहरूले लामो समयदेखि भन्न चाहिरहेका थिए। देशका मजदुर,श्रमजीवि बहुसङ्ख्यक जनताहरूले हप्तामा 70 घण्टाभन्दा अधिक काम पहिलेदेखि नै गरिरहेका छन्। दिनहुँ 12-12 घण्टा काम गरेर पनि यस्तो महँगाइका दिनहरूमा धेरै कम्ति ज्याला पाइरहेका छन्। देशका लगभग 94 % श्रमजीविहरू असङ्गठित क्षेत्रमा काम गर्छन् जसको जीवन स्तर निकै कमजोर र दयनीय रहेको छ। उनीहरू जसो तसो काम गरेर आफ्नो जीविका धान्ने गर्छन्। घर घरमा सामान पुर्‍याउने काम तथा डेलिवेरी गर्नेहरू छन्, ओला-उबरका ड्राइभरहरू छन्, खेतीपाती गर्ने मजदुरहरू छन्, कुल्ली काम गर्नेहरू छन्, रिक्सावाला, साना दोकानेहरू छन्। यस्ता काम गर्नेहरू करोडौँका सङ्ख्यामा छन्। यिनीहरूले धेरै परिश्रम र मेहनत गर्छन् तर खै उनीहरूको उपलब्धि ? 

दैनिक रुपमा सबैभन्दा धेरै समय काम गर्ने देशहरूका सूचिमा भारत 7औँ सथानमा पर्दछ। कानुनी हिसाबमा भारतमा 48 घण्टा प्रति हप्ता अर्थात्  दिनको आठ 8 घण्टा 6 दिनको कार्यदिवस र हप्तामा एकदिन छुट्टी हुने कानुन छ। यस्तो हुँदा हुँदै 12-12 घण्टा काम गर्न लगाइन्छ तर पनि भारतमा प्रति व्यक्तिको आयको औसतको मामिलामा 142औँ सङ्ख्यामा रहेको छ। नीदरल्याण्डमा हप्तामा 29 घण्टा, डेनमार्कमा 33 घण्टा, कनाडामा 32 घण्टा, ब्रिटेनमा 36 घण्टा, जर्मनीमा 34घण्टा, अमेरिकामा 36 घण्टा काम गरिन्छ तर यी देशहरूमा प्रति व्यक्तिको आयको औसत धेरै उन्नत नै देखिन्छ। वास्तवमा नारायण मूर्तिले जुन प्रतिस्पर्धाको कुरा गर्दैछन् त्यो प्रतिस्पर्धा पुँजीपतिहरू बीचको प्रतिस्पर्धा हो। हरेक पुँजीपति चहान्छन् कि म मात्र धनी बनुँ र मेरै वर्चस्व कायम रहोस्। अन्य पुँजीपतिहरूलाई प्रतिस्पर्धाबाट हपाउन चहान्छन् र अनेक दाउ पेच गर्छन्। यही पुँजीपतिहरूको व्यक्तिगत विकासलाई राष्ट्रको विकास भन्दै राष्ट्रवादको अवधारणा बनाइन्छ। मजदुर वर्गमाथि जुन शोषण जारी छ त्यसलाई राष्ट्रवादको खोल ओडाएर लुकाउने गरिन्छ। त्यो बाहिर देखिदैन।

पुँजीपतिहरूले बजारको प्रतिस्पर्धामा आएर आफ्नो वर्चस्व कायम राख्न थुप्रै तरिकाहरू अपनाउछन्। यस अतिरिक्त उनीहरू साझा रुपमा एउटा प्रमुख तरिका अपनाउँछन त्यो के हो भने न्यून भन्दा न्यून ज्याला अर्थात् हाजिरा दिनु अनि काम दिनु अनि कामको समय बढाउनु हो। यसो गर्नाले उनीहरूको मुनाफाको भण्डार बढीरहन्छ। 

वास्तवमा श्रमजीविहरूको दृष्टिकोण र न्यायिक ढङ्गले हेर्ने हो भने वर्तमान समयमा विश्वमा लगातार तक्निकी विकास भइरहेको छ साथै उत्तपादकताको सङ्ख्यामा पनि वृद्धि  भएको छ। अर्थात् कम समयमा मजदुरवर्गले धेरै उत्पादन गर्दैछन्। यस हिसाबले काम गर्ने समय अथवा कामको घण्टा कम हुन आवश्यक छ तर उल्टो यसलाई बढाउने कुरो ठिक होइन।

अनुवाद – समिर सुब्बा


***


पाठक प्रतिक्रिया : पागल बस्ती

भावना शर्मा 

पागल-बस्ती पागलहरूले बसाएको बस्ती होइन। दुनियाँको भन्दा बेग्लै विचारले बसाएको सिङ्गो बस्तीको कथा हो। पागलहरू बस्छन् भनेर बस्तीको नाम पागल- बस्ती भएको होइन, अरू मानिसहरूले भन्दा माथिको विचार, दर्शन, ज्ञान, प्राप्ति र सिद्धान्तका कुराहरूले गहिरो प्रभाव पारेको बस्ती हो जुन बस्तीलाई मानिसहरूको अचेत दिमागले नामकरण गरिदियो “पागल- बस्ती” भनेर।

उपन्यासमा प्रेमका कुरा, मानवअधिकारका कुरा, मातृत्वका कुराहरू धेरै छन्। उपन्यासको प्रारम्भ महाविद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने क्रममा प्रशान्तले मार्थालाई गरेको एकतर्फी शान्त प्रेमकथाबाट सुरू भएको छ। अहम, अहङ्कारभन्दा प्रेम धेरै माथि र पवित्र हुन्छ। आफूलाई जान्नु शून्य हुनु हो, आफूलाई चिन्नु शून्य हुन हो र शून्यताको उपलब्धि ज्ञानको समाप्ति हो। 

बिन्दु कुकुर्नीको मर्मस्पर्शी कथाले हरेक मान्छेलाई झकझकाउँछ। नानी जन्मिने बित्तिकै मरेकी गाईको बाछीलाई आफ्नो स्तन चुसाएकी थिई तर यहाँ माया, ममताजस्ता सद्गुणहरूको अग्निपरीक्षा लिइन्छ। बिन्दु महामाता थिई तर क्रूर, अज्ञानी, क्षुद्र, अहङ्कारीहरूले मातृशक्तिको अपमान र हत्या गरिदिए। जबजब विश्वइतिहासमा मातृशक्तिको अभ्युदय हुन्छ तबतब आमाहरूलाई जिउँदै जलाइन्छ, ढुङ्गाले हानीहानी मारिन्छ, बोक्सी, किचकन्नी आदि-इत्यादी मनगढन्ते रूढिवादी आरोप लगाइन्छ। शक्तिलाई आमा मान्नेहरू आमालाई शक्ति मान्दैनन्। इतिहास हामीबाट धैर्य, सहनशीलता, आनुशासन र आत्मसंयमको माग गरिरहेको छ। बिन्दु मारिए पनि सदासर्वदा बाँचिरहने छे- आजम्मरी ममताको अद्वितीय छहारी बनेर...! 

मान्छेले जहिले पनि प्रेमलाई महानता, पवित्रता र आवश्यकता बोध गरिरहेको हुन्छ। प्रेमभन्दा अहङ्कार महान हुनसक्दैन। अहङ्कारले यस्तो महानताको दाबी गर्दैन किनभने यो भन्दा महान र तुच्छ, विशाल र सूक्ष्म, सरल र जटिल, कोमल र कठोर अरू केही छैन। परम्पराहरू भन्छन्- जीवन  प्रेम र अहङ्कारको द्वन्द्व हो। प्रेम स्वीकृति हो, अहम विकृती हो। प्रेम जय र अहम पराजय हो। हामी मान्छेलाई  प्रेम गर्दैनौँ,  प्रेमको अवधारणालाई मात्रै प्रेम गर्छौँ।

***


ओ टिस्टा तिमी...

 सागर थापा


4 अक्टोबर '23 राती ल्होनाक तालमा 'ग्लेसियल लेक आउटबर्स्ट फ्लड' (GLOF) भएर चुङथाङ जलविद्युत बाँध भत्किएको थियो। ल्होनाक तालको पानी साथै चुङथाङ बाँधमा जम्मा भएको पानीले गर्दा नै टिस्टा नदी किनारका कैयौँ गाउँहरू डुबे र कैयौँ ज्यानधनको क्षति भयो। त्यसै पनि सेप्टेम्बर अन्तिम सातादेखि निरन्तर पानी परिरहेको थियो। त्यस रात पनि सिम-सिम पानी परिरहेको थियो। कसलाई थाहाँ थियो र! त्यो सिम-सिम पानीले त्रसित बनाउनेगरी जिन्दगी भिजाएर मनमा खिल गाडिदिन्थ्यो भनेर।

3 अक्टोबर राती 10 बजीतिर नै सूचना गराइएको थियो तर पनि बाँध खोलिने काम भएन, किन? बाँधबाट विद्युत उत्पादन गर्नका लागि पानीको फोर्स धेरै चाहिन्छ भनेर बाँध खोलिएन रे। यदि चुङथाङको बाँध खोलिदिएको भए सायद यस्तो ठुलो क्षति हुने थिएन र अगावै प्रत्येक बाँधमा र प्रत्येक प्रशासनमा खबर गरिएको भए पनि ज्यानको क्षति हुने थिएन। कुरा बुझ्दा यो फ्लड म्यानमेड डिजास्टर नै हो भन्न सकिन्छ।

म सिलगढीमा नै थिएँ। उत्तर बङ्ग विश्वविद्यालयको छात्रावासमा बस्छु। मलाई निन्द्रा धेरै प्यारो लाग्छ। निन्द्रामा सबै लौकिक समस्याबाट मुक्त हुन पाइन्छ। त्यसैले राति होस् वा दिउँसो सधैँ मोबाइल साइलेन्ट गरेर सुत्ने गर्थेँ तर त्यस रात किन हो मैले फोन साइलेन्टमा नराखि सुतेछु। राती 2 बजीतिर सहपाठीले कल गर्‍यो। मैले कल रिसिभ गरेँ, उसले “औ मान्छे चुङथाङको ड्याम भत्केको छ भन्ने खबर छ है, घर तिर फोन गरेर बुझ है, खबर गर घर तिर” अत्तालिएको स्वरमा भन्यो। यति सुनेर  मेरो निन्द्रा छु मन्तर भयो। घर तिर फोन लगाउन थालेँ। यसबारे कसैले अगाडि नै खबर पाएका रहेछन् भने कति अझ मग्न निद्रामा सुतेका थिएछन्।

लगभग 4 बजीसम्म टिस्टा नदीले उत्तर सिक्किमको जोङ्गु, मङ्गन, डीक्चु आदि क्षेत्रलाई तहसनहस पार्दै सिक्किम राज्यको सिङ्गताम सहरलाई पनि व्यापक क्षति पुर्‍याइसकेको थियो। सिङ्गताम नजिकै बर्दाङको सेना छाउनीलाई पनि बगाइसकेको थियो। साथै पार्किङमा रहेका 39-वटा सेना वहानसँगै 22 जना सेना पनि त्यस रात नदीको प्रचन्ड रुपमा विलिन भए। पश्चिम बङ्गाल अन्तर्गत कालेबुङ जिल्लका केही गाउँ(रम्फू, तारखोला, मामखोला, मल्ली आदि)-लाई टिस्टा नदिले आफ्नो चपेटामा लिँदै आइपुग्यो मेरो गाउँ टिस्टा बजार। मोरो गाउँ गफूर/कपूर बस्ती खोला नजिकै अवस्थित छ। यस गाउँका प्रायः मानिसको जिवन खोलामाथि निर्भर थियो।

त्यस घटनाले मलाई दिनरात सतायो। अहिलेसम्म त्रसित छु साथै हामी सबै नै त्यस बाढीबाट भयभीत पनि भएका छौँ। मलाई घरको धेरै चिन्ता लागेको थियो। सबैलाई नै लाग्छ। अझ बिदेशिएका युवा जमातलाई बेसी लाग्छ। बाबा पनि नाईट ड्युटीबाट सिधै आइपुग्नु भएछ। रेल्वेको टनल निर्माणमा गाडी चालक  हुनुहुन्थ्यो। टिस्टा बजारदेखि केही माथि लावर बोटे भन्ने ठाउँको अफिसमा। बाबाले आफ्नु स्कुटी त्यहीँ  छोडेर ड्युटीको गाडी लिएर आउँनु भएछ । म त सोच्न पनि सकिरहेको थिइनँ के हुँदैछ त्याहाँ, कतिको खोला बढेको छ अनुमान लगाउनसम्म सकेको थिइनँ। मेरो गाउँ, मेरो परिवार सबैको सुर्ता लागिरहेको थियो। 2 बजीदेखि बिहान 4 बजेसम्म धेरै हल्ला खल्ला मच्चिन थालेको थियो। प्रायः सामाजिक सञ्जालतिर पनि बाढीको खबर निरन्तर आइरहेको थियो। म त्यहीँ खबर हेर्दै, घरमा फोन गर्दै सुर्तामा बसिरहेको थिएँ। निन्द्रा भने त्यस बाढीको खबरसँगै बगिसकेको थियो कता-कता।

 बिहानसम्म त टिस्टाले मच्चाएको ताण्डव देश-विदेशसम्म फैलिसकेको थियो। बाटो चुँडिएको, पैह्रो गएको, घर बगाएको, मान्छे बगाएको, सरसामान, गाडी, अनेक थोक बगाएका साथै टिस्टा नदीले सर्वस्व मानिसको सातो पनि लगेको थियो। त्यो बाढीले गर्दा अनेकौँ मानिस बेघर भए, धेरै बालबालिका टुहुरा भए, बिधुवा हुने, सन्तान गुमाउने धेरै धेरै छन्। प्राप्त स्रोत अनुसार रम्फूमा 223 घर, ताराखोलामा 10 घर, मामखोलामा 3 घर, भालुखोला र मल्लीमा 45 घर, टिस्टामा बजार र टिस्टा ब्रिज गरेर 39 घर, गेलखेलामा 9 घर, र्‍याङमा 4 घर, बाङ्गे नजोक 22 घर, जम्मै  गरेर जम्मा 355 घरहरू निर्दयी टिस्टा नदीले त्यस रात बगाएर लग्यो। अनगन्ती वाहन र मालमत्ता त खोज्ने कुरा नै भएन। तथापि धेरै मानिस त्यस बाढमा बगेर निखोज बनेका थिए। कतिका शवहरू भेटियो भने कति अझै भेटिन सकेका छैनन्। बाढीमा बगेका सेनासँगै सेना वाहनमा रहेका हात हतियार साथै बिस्फोटक वस्तुहरू पनि विभिन्न ठाउँमा भेटिएका थिए र स्वतः बिस्फोट हुन थालेका थिए। यतिकैमा एउटा बिस्फोटक वस्तु पड्किएर दुर्घटना भएको खबर समाजिक सञ्जाल अगाडि आयो। दशैँको मुखमा नै खोलाको त्रास त थियो नै अब कतै बिस्फोटक वस्तुहरू पड्किएर ज्यान त जादैन? भन्ने भय पनि मानिसहरूमा फैलिन लागेको थियो। मानिसले यस  दुःखद घडीमा पनि टिस्टाको भय बोकेर दशैँ मनाए । तर मनमा भने बाढीको खिल गहिरो रोपिएको थियो।

बाढले धेरै क्षति पुर्‍याको छ। जल-जङ्गल, पहाड, राष्ट्रिय राजमार्ग, रोडहरू‌ भताभुङ्ग। 4 अक्टोबर 2023 दिउँसोदेखि नै पिडित मानिस साथै सम्पूर्ण गाउँलाई नै राहत शिविरमा बसाइयो। 5 अक्टोबरदेखि नै विभिन्न सामाजिक संस्था, समूह, व्यक्तिहरूबाट राहत प्रदान गर्न थालियो। धेरै ठाउँहरूमा अहिले पनि मानिस राहत शिविरमा नै बसिरहेको छन् ।

4 अक्टोबर 2023-को घटना सम्झँदा पनि मन नै कटक्क खान्छ। एक प्रकारको निराशाले छुन्छ। तर के गर्नु आपदामा परेपछि! तथापि यस निर्दयी संसारमा ती बाढीबाट बाँच्नेहरू त छन्। जसले बाढीमा घर गुमाए, कसैले आमा गुमाए,‌कसैले बाबु, छोरा-छोरा, दाजु-भाइ, आफन्तजन इत्यादि गुमाएका छन् जसलाई बाढ पिडित भन्छौँ। 4-5 महिना बितिसक्दा पनि क्षेत्रिय प्रशासनबाट केही पहल चलाएका छैनन्। न त केन्द्र सरकारबाट पहल गरियो न त राज्य सरकारबाट नै। न त यो आपदालाई प्राकृतिक आपदा भनेर नै घोषित गरियो। यदि प्राकृतिक आपदा घोषित गरिएको भए केन्द्र सरकारबाट आपदाको कम्पनसेसन त पाउँने थिए। अहँ गरिएन। किन गरिएन ?‌ सरकारका निम्ति हामी केवल भोट बैङ्क मात्र हौँ? हामीप्रति सरकारको केही दायित्व छैन?

3-4 महिन बितिसक्दा बल्लतल्ल क्षेत्रीय प्रशासन जिटिए (GTA)-ले केही राहत दिने निधो गर्‍यो त्यो पनि एन एच पी सी (NHPC)- सँग मिलेर। चर्चा छ NHPC-ले 10 लाख क्षतिपूर्तिका लागि दिन्छ रे। त्यसो भए जिटिए दलालीको काम किन गर्दै छ बिचमा आएर ?? राज्य सरकारले तत्काल काम चलाउनका लागि भनेर 75 हजार त दियो। तर त्यति रमकले एउटा भान्सा घर धरि राम्ररी बनिदैन।

   अँझै पनि बाढी पिडितहरू धेरै ठाउँहरूमा राहत शिविरमा नै जीवन चलाइरहेका छन्।‌ मेरो गाउँ टिस्टा बजारमा पनि अझ 9-10 परिवार सार्वजनिक भवन (राहत शिविर)-मा नै जीवन बिताइरहेका छन्। मानिहरूले घर पाएका छैनन्। के यो राज्य सरकार र क्षेत्रीय प्रशासनको दायित्व होइन र ? के यो एनएचपीसी (NHPC)-को दायित्व होइन र ?

यो विध्वङ्सको कारण के हो त ?

हाम्रो अगाडि गम्भीर प्रश्न तेर्सिएको छ। यो वृहत् दुर्घटना घट्नुको कारण टिस्टा नदीमा बनेका जल विद्युत बाँधहरू हुन् भन्ने आधार बलियो छ।

पहाडमा प्रत्येक वर्ष भल-पैह्रो जाने, सडक चुँडिने, घर धस्किने, क्रम त निरन्तर नै थियो। 2023 अक्टोबरमा त विनाशको ठुलो उदाहरण प्रत्यक्ष रूपमा देखियो। 15 वटा चल्दै गरेका जल विद्युत बाँध र थातीमा रहेका अझै 26-वटा बाँध परिकल्पना साथै टिस्टा किनारका पहाडमा सुरुङ खनेर रेल कुदाउने अनि चौडादार राजमार्ग बनाउने सिलसिलाले निम्त्याउने विनाश त थप बाँकी नै रहेको छ। अब रेलले कति विनाश गर्ने हो कसलाई के थाहा। प्रकृतिसित खेलवाड गर्ने परिणाम त हामीले देखिरहेका नै छौँ। भविष्यमा यसको सामना पहाड तराई र डुवर्सले गर्नुपर्छ भन्ने आभास अहिले नै सबैलाई भइरहेको छ।

4/10/2023 को प्राकृतिक विपत्ति होइन, यो म्यानमेड डिजास्टर हो। आज भन्दा 55 वर्ष अघि 4 अक्टोबर 1968 को बाढी भने पक्कै प्राकृतिक थियो तर 2023 को बाढी भने म्यानमेड डिजास्टर नै हो। यसको पछाडि प्राकृतिक कारण पक्कै छ (Cloud brust)। तर नाफाखोरहरू जहिल्यै आफ्नो प्रोफिटको चक्करमा हुन्छन्। नदीमा विद्युतीय पावर प्लान्ट बनाएर पैसा छाप्ने सम्भावना प्रवल छ र यस्तो सुलभ अवसर देखेर नै हाइड्रोपावरहरू निर्माण भएका छन् । हाइड्रो पवरका लागि सटिक ठाउँ थिएन 27 माइल, कालिझोडा र सिक्किममा निर्मित चुङथाङ ड्याम। तरै पनि फाइदाका लागि ती ठाउँमा नाफाखोर उद्योगपतिले ड्यामको निर्माण गरे। सरकारहरूले अनुमति पनि दिए। अहिलेको बाढीमा फुटेको चुङथाङ ड्यामको निर्माण हुँदै गर्दा क्षेत्रीय बासिन्दाले सामूहिक विरोध गरेका थिए। तर नदीमा पैसाको मुहान देख्नेहरूले  जनमानसको आवाज सुनेनन्।

हालै लालीगुराँस समूहबाट प्रकाशित टिस्टा टेन्सनमा उल्लेख गरिएको तथ्य अनुसार "2003-2021 सम्म टिस्टा नदीमा सरकारी र निजी जलविद्युत केन्द्रका योजनाहरू सुरु हुदाँ 6-वटा जति शोधपत्रहरूमा हिमालयमा हिउँ पग्लेर विशाल तालहरू बनिनु र त्यसबाट उत्पन्न हुने खतराबारे चेतावनी दिइएकै थियो। शोधकर्ताका अनुसार, अत्यन्त खतरनाक अनि जुनै समयमा पनि बाढी र प्रकोपको जोखिम पर्नसक्ने 14 तालहरू बताएका थिए र ती तालहरू आज पनि डेन्जर जोनमा नै छन्। थाहाँ छैन कुन समय ह्लोनाक ताल जस्तै ती तालहरू फुटेर टिस्टा नदीले अर्को बर्बादी मच्चाउने हो। ती तालहरूमध्ये ल्होनाक ग्लेसियर र यसको बढ्दो तालको कुरा 6 वटा रिसर्च पेपरमा उल्लेख गरिएको छ।" यति हुँदा हुँदै पनि सिक्किम र पश्चिम बङ्गालमा एक पछि एक जल विद्युत केन्द्रहरू निर्माण हुन थाले। ग्लोबल वार्मिङले गर्दा संसारभरि नै प्राकृतिक परिवर्तन निरन्तर रुपमा चलिरहेको छ। सन् 2013-को केदारनाथ प्रकोपपछि भारतमा पनि निकै पर्यावरण विमर्शहरू हुन थाले। टिस्टा टेन्सन पत्रिकामा उल्लेख गरे अनुसार लगभग 6-हजार जति मानिसहरूले ज्यान गुमाए। तै पनि हामी गम्भीर भएनौँ, प्रकृतिबारे सोचेनौँ। उत्तराखण्ड र हिमाचलमा पनि एक पछि एक गर्दै प्रकृति विपरित प्रोजेक्टहरू सुरु भएका थिए, जस्तै - जल विद्युत केन्द्रहरूको निर्माण, पहाडमा टनेल, फराकिलो सडक इत्यादि। ठिक त्यस्तै हाम्रो यता पहाडी भेकमा पनि रेलवेका लागि टनल खन्ने, थप बाँधहरू निर्माण गर्ने र फराकिलो बाटो बनाउने प्रकृति विपरित कामहरू भइरहेका छन्। एक प्रकारले हेर्दा म विकास विरुद्ध देखिन सक्छु तर म कदापि विकास विरोधी होइन। प्रकृतिलाई संरक्षण गरेर पनि विकास गर्न सकिन्छ भन्ने मेरो मत छ। ती प्रोजेक्टहरूका लागि जमिन, पर्यावरण, हेरिङ, रिपोर्ट इत्यादि सटिक नहुँदा-नहुँदै गरिएका कामको विरोधमा म लेख्छु, बोल्छु। 

टिस्टा टेन्सनमा उल्लिखित प्रख्यात बाँध विशेषज्ञ तथा परिवेशविद् हिमांशु ठक्करका भनाइअनुसार यस विपत्तिका कारणहरू प्राकृतिक होइनन्, यो म्यानमेड डिजास्टर हो। उनका भनाइ यस प्रकार रहेका छन्;

1. धेरै शोधकर्ता बाहेक पनि सन् 2013मा नेशनल रिमोट सेन्सिङ सेन्टरका वैज्ञानिकहरूले सिक्किम स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटीलाई 5,245 मिटरको उचाइमा स्थित दक्षिण ह्लोनाक ताल सुरक्षित नै छैन भनेर जानकारी दिएका थिए। ताल फुटेर बाढी आउने ज्यादा सम्भावना छ र चुङथाङ, डिक्चु, सिङ्ताम, रम्फू आदि ठाउँहरू प्रभावित हुनेछ।

2. टिस्टा उर्जा बाँध पूर्ण रुपमा कङ्क्रिट बाँध होइन। ढुङ्गा र कङ्क्रिटको (रक फिल्ड कङ्क्रिट बाँध) हो। त्यसैले गर्दा विपद्को खतरा बढ्यो।

3. 1200 मेगावाट क्षमताको यो बाँध ठूला बाँध अन्तर्गत पर्दछ। बग्ने नदीमाथि निर्मित बाँध (रन अफ द रिभर हाइड्रो-पावर प्रोजेक्ट)-का हिसाबले यो देशको दोस्रो ठूलो बाँध हो। तर, बाँधको सुरक्षाबारे ध्यान राख्ने जिम्मेवारी जुन केन्द्रीय निकायको छ, त्यही सेन्ट्रल वाटर कमिसन (CWC) को नेसनल रेजिस्टरमा टिस्टा उर्जाको नामसमेत दर्ता भएको छैन। त्यसैकारण बाँध सुरक्षा ऐनअनुसार के यो बाँध 'सेफ्टी मेकानिज्म' अन्तर्गत थियो ? भन्ने प्रश्नबारे विशेषज्ञहरूले शङ्का गरेका छन् ।

4. चुङ्थाङदेखि 20 किलोमिटरमाथि CWC-को एउटा मौसम पूर्वानुमान स्टेशन छ। जसको एउटा काम नै हो फ्ल्याश फ्लडबारे प्रारम्भिक चेतावनी जारी गर्नु। 3 अक्टोबर राति 10 बजेपछिको कुनै रेकर्ड भेटिएन। यसको केही समयपछि नै विपत्ति आएको थियो।

5.बाँधको पानी छोड्ने (स्पिल अवे) क्षमता कम्ति थियो । यो बाँधको 7 हजार क्युबिक मिटर प्रति सेकेन्ड पानी छोड्ने क्षमता थियो। ग्लेसियल लेक फुटेको बाढी (GLOF) र भारी वर्षाको स्थितिमा त्यो पर्याप्त थिएन।

विकासका नाममा टिस्टा नदी र यसका छेउछाउ निरन्तर भइरहेका अनियन्त्रित कार्यले विनाश निम्त्याएको छ। नदीका छेउछाउका जीवनको भविष्य अनिश्चिततामा छ। कर्पोरेटहरूलाई न त जनमानसको सरोकार छ न त प्रकृतिको। नाफाखोर उनीहरू केवल टनल खनेर होस्, वा जलविद्युतका निम्ति अत्याधिक बाँध बनाएर होस्, मुनाफा मात्र हेर्छन्। ती मुनाफाखोरहरूले पनि क्षेत्रिय प्रशासनबाट समर्थन पाउँछन्।  प्रशासन पुँजीपतिका यसै पनि कठपुतली बनेका छन्। यस्तो अवस्थामा प्रकृतिको सुरक्षाबारे हामी पनि सोच्दैनौँ। हाम्रो दुर्बलता। प्रकृतिको विनाशले मानव सभ्यतालाई गहिरो आघात पुग्छ। यो कुरा थाहा नभएको हो र? प्रकृतिसँगको खेलवाड गर्दा हुनसक्ने खतराको उदाहरण त हामीले देख्यौँ नै। प्रकृतिसँग खेलवाड गरेर अझ कति निम्त्याउने यस्तो भयानक विध्वंस?

***


बङ्लादेशमा कपडा मजदुरहरूको सङ्घर्ष

 प्रशिल तामाङ 

बङ्लादेशको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। कपडा उद्योगहरूले यसको आर्थिक वृद्धिमा महत्वपुर्ण योगदान राख्छ। कपडा तथा गार्मेन्टको निर्यात विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। तर पश्चिमी ब्रान्डहरूका लागि लुगा बनाउने यहाँका न्युन ज्याला पाउने मजदुर उचित ज्यालाका लागि सङ्घर्ष गरिरहेका छन्। अस्तिको नोभेम्बर-डिसेम्बरमा यो सङ्घर्ष दह्रो रूपमा चर्केको थियो।

बङ्गलादेशका गार्मेन्टस् मजदुरहरूको पीडा र सङ्घर्ष निकै पुरानो हो। सन् 2013मा राणा प्लाजा कपडा फ्याक्ट्रीको भवन धस्केर 1134 जनाको मृत्युपश्चात् निकै उथलपुथल देखियो। धेरै पश्चिमी देशहरूले सही व्यवस्थापन नभएसम्म गार्मेन्टस् नकिन्ने कुरा गरेका थिए। सन् 2018-19मा फेरि पनि सङ्घर्षको लहर देखियो। तर समस्याको समाधान भएको छैन भनेर वर्तमान सङ्घर्षले औँल्याएर देखाउँदैछ।  

सन् 2022को हिसाब अनुसार चीनपछि बङ्लादेश नै संसारको दोस्रो बृहत् रेडिमेड गार्मेन्टसको निर्यातकारी हो। त्यस साल बङ्लादेशको कुल व्यापारिक निर्यातको 85% नै रेडिमेड गार्मेन्टसको निर्यात थियो। अर्कातिर धेरै सालको सङ्घर्षपछि सन् 2018मा बङ्लादेशका गार्मेन्ट मजदुरहरूको मिनिमम वेज 8000 टाका अर्थात् 6050 भारू हो भनेर तय भएको थियो। यहासम्म पुग्नलाई सन् 2006मा 16वटा कारखानामा आगजनी वा सन् 2013 को राणा प्लाजा प्रकरणपछिको विरोध प्रदर्शनको महत्वपूर्ण भूमीका थियो। 2006मा बङ्गलादेशको राजधानी ढाकास्थित विभिन्न औद्योगिक क्षेत्रका प्राय: 4 हजार कारखानाका लगभग 18 लाख गार्मेन्ट मजदुर एकैसाथ व्यापक हडतालमा सामेल भएका थिए। 

कम ज्याला र बढ्दो वेरोजगारी विरुद्ध यी मजदुर र औद्योगिक उपनगरका अन्य मजदुरहरूले मैमनसिंह, गाजीपुर, नारायणगन्ज, आशुलिया आदि सहरहरू जोड्ने राजमार्गतर्फ साथै निर्यात प्रशोधन क्षेत्रहरूमा लगातार विरोध प्रदर्शन गरे।

यसैबीच विरोधलाई रोक्नका निम्ति सरकारले व्यापक दमनको सहारा लियो। यस्ता विरोधहरूमा धेरै मजदुरले ज्यान गुमाए भने घाइते मजदुरहरूसँगै हजारौँलाई जेल हालियो। धेरै मजदुरलाई कामबाट बर्खास्त गरियो। नव उदारवादको घातक नीतिले तमाम खटिखाने श्रमिकहरूको जीवनमा नकारात्मक असर गरिरहेको छ, केवल मालिक पक्षलाई मुनाफा वृद्धि गर्नमा प्रमुख भूमिका निर्वाह  गरिरहेको छ।

विश्वको दोस्रो ठुलो कपडा निर्यातकारी बङ्गलादेशको 3500 कारखानाहरूले देशको वार्षिक निर्यातमा 55 बिलियन डलरको लगभग 85 प्रतिशत हिस्सा ओगटेको छ। लिवाइज, जारा र एच एन्ड एम लगायतका फेसनमा विश्वका धेरै शीर्ष नामहरूलाई भने बङ्लादेशका मजदुरहरूले आपूर्ति गर्दछन्। तर यी 40 लाख कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ, जसमध्ये अधिकांश छन् महिलाहरू। उनीहरूको दैनिक हजिरा 276 टाकाबाट सुरु हुन्छ।

बङ्गलादेशमा रेडीमेड गार्मेन्ट मजदुरहरूका लागि सरकारले 1 डिसेम्बर 2023मा न्युनतम ज्याला बढाएर मासिक 12,500 टाका घोषणा गरेको थिए। तर मजदुरहरूले कानुनी रूपमा अनिवार्य भनिएको न्युनतम ज्यालाको हिसाबले 23,000 टाका माग गरिरहेका छन्। बङ्गलादेशको न्यूनतम परिश्रमिक वोर्डले फास्ट फेसन क्षेत्रका मजदुरहरूका लागि 8000 टाका दर तोकेको पाँच वर्षभन्दा बढी भइसक्यो। अनि सन् 2023 मै नयाँ न्युनतम ज्याला लागू हुने कुरा थियो। त्यसैले नै मजदुरहरू सङ्घर्षरत छन्। यस्ता प्रकरणहरूले इतिहासलाई प्रगतितर्फको रेखीय यात्रा मात्र होइन भनेर देखाउँछ। बरु, यो त दुई पक्षहरूबिचको सङ्घर्ष हो। वर्ग सङ्घर्ष हो-- बङ्गलादेशी मजदुर र विश्वव्यापी शासक वर्गद्वारा समर्थित कारखाना मालिकहरूको। यसले एकको लागि लाभ अर्कोको लागि घाटाको प्रतिनिधित्व गर्दछ।

***


राम मन्दिर – भ्रम कि यथार्थ?

  उज्जल छेत्री



धेरै भारतीयहरूका लागि, राम मन्दिरको उद्घाटन भनेको हिन्दु स्वर्ण युगको पुनरुत्थान, मुगल आक्रमण र ब्रिटिस औपनिवेशिक दखलको पूर्ववर्ती समयलाई मूर्त रूप दिन्छ। अरूका लागि, शताब्दीहरूदेखि धार्मिक अल्पसङ्ख्यकहरूलाई पनि सुरक्षित ठाउँ प्रदान गर्ने बहुलवादी भारतको लोप हुने प्रतीक हो राम मन्दिर।धर्ममा राजनीति छ कि राजनीतिमा धर्म? यो प्रश्नको उत्तर हामी वरिपरिको वातावरणबाट गेरुवा रङ्गको बढ्दो वर्चस्वले नै बुझ्न सक्छौँ। यस रङ्गको महत्त्व धेरै नै बढ्दै गरेको देखिँदैछ कारण यस रङ्गको झन्डाले एउटा आक्रामक राजनैतिक रूप लिन थालेको छ। यस रङ्गसँग सम्बन्धित धेरैवटा धारणाहरू हाम्रो मस्तिष्कसँग सजिलै जोडिएका छन्  किनभने आज भारतको राजनैतिक गेरूवाकरणको प्रयास जोडतोडले भइरहेको छ। 

आजभन्दा 50 साल अगाडि के कसैले सोच्न सकेको थियो होला राम मन्दिरको उद्घाटन भारत जस्तो गणतन्त्रमा यति धूमधामसँग मनाइन्छ? जब कि यो देशको जन्म नै अङ्ग्रेजविरुद्ध स्वतन्त्रताको सङ्घर्षसँग जोडिएको छ, अनि यो देशको निर्माण हुँदा संविधानको आधारमा धर्मनिरपेक्षता एउटा महत्त्वपूर्ण ढाँचा रह्यो। यस्तो उत्सवको अवसरमा 'आर एस एस'को इतिहास अनि गतिविधि बुझ्न जरुरी भएको छ। अहिले जसरी धर्मको नाममा राजनीति खुलेआम प्रचार गरिँदै छ, राम जन्मभूमि आन्दोलन अनि यसको इतिहास र सन्दर्भ बुझ्न त्यसका लागि एकदमै जरुरी र अर्थपूर्ण छ! कसरी एक भगवानको वासभूमि लिएर एउटा मिथक भ्रमलाई यथार्थमा परिणत गरेको छ भन्ने प्रश्न भारत स्वाधीन भएपछिको राजनैतिक चलखेलले नै बुझाउँछ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले 22 जनवरी, 2024 मा विशाल अनि नयाँ राम मन्दिरको उद्घाटन अयोध्या सहरमा गरे जसले एउटा लामो फासिस्ट आन्दोलनलाई निचोडमा ल्याउन सक्यो। यसको सन्दर्भ के थियो भन्दा 1992 मा हिन्दु कार्यकर्ताहरूले शतकौँ पुरानो बाबरी मस्जिदलाई भत्काए र आज यस्तो संरचना बनियो जुन हिन्दु भगवान् रामप्रति समर्पित थियो। राम मन्दिर स्थापना भएपछि भाजपा अनि आरएसएसले देशभरी नै व्यापक उत्सव मनाउने प्रचार गर्‍यो अनि सबै सरकारी संस्था र प्रशासनलाई जोडेर यस उत्सवलाई एउटा राजनैतिक रूप दिने कोसिस भयो।  भारत स्वाधीन भएपछि राम मन्दिर नै यस्तो प्रथम उत्सव हो जसले राज्य अनि राज्यसँग जोडिएका सबै शक्ति नै यस उत्सवलाई राष्ट्रिय रमिता बनाउनमा सफल भयो। 

हिन्दुहरूमाझ भगवानहरूमा राम एक आदरणीय भगवान् हुन र भारतको 140 करोड जनसङ्ख्यामा हिन्दुहरूको जनसङ्ख्या लगभग 80 प्रतिशत छ। रामायण महाकाव्यको सर्वश्रेष्ठ नायक राम, जो राजा अनि एकजना आदर्श सदाचारी थिए – उनी आफ्नै राज्य अयोध्यादेखि बहिष्कार भएका थिए। यसैले उनको घर-वापसी नै एउटा हर्षपूर्ण राज्याभिषेकको उत्सवमा परिणत भयो! हामीले रामायणमा इस्लामको कुनै उपस्थिति देख्दैनौँ अनि यो धर्म भारतको प्रान्तमा पसेको मात्र 1000 बर्ष नाघेको छ। तर पनि हिन्दु राष्ट्रवादको दृष्टिकोणबाट इतिहासलाई बुझ्दा-हेर्दा इस्लामलाई मुख्य खलनायक ठानिन्छ। नरेन्द्र मोदीको आध्यात्मिक अनि राजनैतिक घुलन जुन प्रकारको देख्दैछौँ, त्यसले के साबित हुन्छ भने राम मन्दिर अभियानकर्ताहरूको  सपना यथार्थमा परिणत भयो। दसकौँदेखि उनीहरू यसको खोजीमा थिए।

राम मन्दिर अरू स्मारकदेखि कसरी भिन्न छ त? प्रथम कारण हो– धार्मिक। अयोध्या रामको जन्मस्थल भनिएको छ। जसको विशेष ठाउँ सरयु नदी हो जहाँदेखि रामको शासन सुरु भएको थियो। त्यसैले 14 वर्ष आफ्नू राज्यदेखि टाढा रहेका रामहरू अयोध्या फर्किँदा दीपावली भएको थियो रे। दीपावली मनाउने प्रचलनको ऐतिहासिक कारण यसैलाई मानिन्छ। अर्को इतिहास के छ भने अयोध्या नजिकको इलाकामा यस्तो विश्वास छ, त्यहाँ हिन्दु मन्दिर थियो, जहाँ बाबरी मस्जिदको स्थापना सन् 1500तिर भएको थियो। 1949 मा जब अङ्ग्रेजले देश छोडेर गए अनि भारत स्वाधीन भयो, तब अदालतका कागजपत्र र अन्य स्रोत अनुसार त्यहाँ मस्जिदभित्र हिन्दु कार्यकर्ताहरूले रामको मूर्ति अवैध रूपमा भित्राएका थिए।

यसरी नै त्यो स्थान लिएर हिन्दु र मुसलमानहरूमाझ बढ्दो प्रतिस्पर्धा उत्पन्न हुन थाल्यो। यसरी नै उनीहरूमाझ त्यो स्थानको प्रवेशाधिकार लिएर झैझगडा पनि सुरु भयो। त्यसर्थ भारतीय पुलिसले यस्तो परिस्थितिमा दुवै पक्षको आवाजलाई दबाउन थाले। सन् 1980 पछि त्यो स्थानलाई ओगोट्ने र दाबी गर्ने हिन्दूत्ववादीहरूको प्रमुख उद्देश्य झल्किन थाल्यो– जुन लक्ष्यको इतिहास (बहु-जातीय भारतलाई हिन्दुधर्मसँग मात्रै जोडेर हेर्ने षडयन्त्र) कमसेकम 100 वर्ष पुरानो भइसक्यो।

जुन राजनैतिक दलले हिन्दुत्वलाई प्रतिनिधित्व गर्छ– त्यही भाजपा अनि यससँग सम्बन्धित समूहहरूले डिसेम्बर 6, 1992मा कमसेकम दस हजार स्वयंसेवी करसेवकहरूलाई एकत्रित गरेर अयोध्यामा भेला गर्‍यो। दलको स्थानीय प्रशासनमा नियन्त्रण थियो। मस्जिदलाई घेरिरहेका युवा जमातले आखिरमा जब त्यसलाई हमला गर्न थाले, पुलिसले कुनै प्रकारको कदम नउठाई आँखा अगाडीको तमासालाई नजरअन्दाज गरेर चुपचाप उभिइरहे। भीडले मस्जिदलाई चारैतिरबाट आक्रमण गरे। उनीहरूले साँझको समयसम्म तीनैवटा गम्बुजहरु नष्ट अनि भताभुङ्ग पार्नमा सफल भए। अन्तमा त्यही भेलाले अस्थायी मन्दिर बनाए जहाँ 1949-मा मूर्ति भेटाइएको थियो। यस दिनलाई भारतको राजनैतिक इतिहासमा कालो दिन मानिन्छ किनभने यही दिन लोकतन्त्रको खुलेआम हत्या भएको हो।

पछिबाट सर्वोच्च अदालतको अचम्मैको निर्णय देखियो। भारतको सर्वोच्च अदालतले मस्जिद भत्काउने दोषी कोही पनि भेटाएन अनि त्यही जमिनमा राम मन्दिर बनाउने ऐतिहासिक आदेश दियो। सर्वोच्च अदालतको न्यायाधीशहरूले वास्तवमा हिन्दुत्वको राजनीति गर्नेहरूको दाबीलाई नै वैधता दिए अनि यसले गर्दा नै राम मन्दिर निर्माण गर्ने सपनालाई यथार्थमा परिणत गरियो। चाखलाग्दो कुरा के छ भने यस अदालतको निर्णय दुईवटा बहसमा आधारित रहेको छ:

पहिलो बहस छ – सर्वोच्च अदालतले सम्पूर्ण विवादित संरचनालाई दुइवटा अलग भागहरू ठान्छ– बाहिरी र भित्री आँगन। तर अदालतले आफ्नो घोषणा केवल बाहिरी आँगन लिएर गर्‍यो। दोस्रो बहस थियो, अदालतले सम्पूर्ण संरचनालाई साथसाथै एउटा अखण्डित एकाई (Composite Whole) भनेर मान्यो तर निर्णय फेरि भित्री आँगन लिएर दियो।

दुवै पक्षको तर्कलाई अदालतले प्रयोग गरेर एउटै हिन्दुत्व पक्षलाई सहायता गर्‍यो अनि यसरी नै बहस टुङ्गियो। जब अदालतले दुवै पक्षको स्वामित्वको दाबीबारे जाँच गर्न थाल्यो, साथै दुवै पक्षको भित्री अनि बाहिरी आँगन लिएर पनि प्रमाण लिन थालियो। धेरै पल्ट अदालतले “कुनै पनि धर्म अनि विश्वासमाथि आधारित भएर यसको दखलबारे निर्णय गर्न सकिँदैन” भने तापनि राम्ररी अदालतको आदेश पढ्दा के देख्छौँ भने अदालतले ऐतिहासिक यथार्थ र तथ्य आधारित कानुनी शैलीदेखि विचलित भएर हिन्दु धर्म अनि विश्वासको छत्रछाया लियो। धर्म मन्दिर-मस्जिदसँग जोडिएको कुरा हो, तर के भारतको शासनतन्त्र र न्यायपालिकाले धार्मिक रूप लिनु उचित हो त?

यस सन्दर्भमा हामी के बुझ्न सक्छौँ भने प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुत्ववादी राजनैतिक दल भाजपाको लागि राम मन्दिरको निर्माण 35 वर्ष पुरानो एक केन्द्रीय वाचा थियो। यो वाचा एक विवादास्पद राजनैतिक विषय थियो जसले यस दललाई विशिष्टता दियो र सत्तामा पुर्‍याउन सफल बनायो। देशभरी नै हिन्दु समूहहरूले उद्घाटन कार्यक्रमलाई हिन्दु जागृतिको शिखर भनेर देखाउँदै पुरै नागरिक समाजमा होहल्ला फैलाइदिएको देखियो। यद्यपि, यस विषयलाई गम्भीरतापूर्वक हेर्दा धार्मिक नेता नरेन्द्र मोदीको पूननिर्वाचन अभियान (आउँदो लोक सभा चुनाउको लागि) सुरु भएको बुझ्न सकिन्छ। राम मन्दिर प्रकरण धार्मिक विधि जस्तो नभएर आमचुनावको अभियान जस्तो देखियो साथै  प्रधानमन्त्रीले कुनै सम्राटको रूप लिएको देखिन थाल्यो जसले समाजले आर्जन गरेका मुख्य विधिहरूलाई नै बलिदान दिने योजना लिँदैछ। गणतन्त्र, धर्मनिरपेक्षता, समाजवादको बाटो त्याग्ने हतार छ उनीहरूको।   

राममन्दिरको स्थापना 2.67 एकड जमिनमा भएको छ जसभित्र 70 एकडमा भवन छ। तर अहिलेसम्म प्रथम चरणको संरचना मात्र तयार भएको छ र अन्तिम चरण 2024को डिसेम्बरभित्र हुने अनुमान छ। यसको खर्च आनुमानिक 1500 करोड हो अनि सम्पूर्ण रकम जनताबाट नै दानका रुपमा आएको छ भनिन्छ।

तर जुन धर्मस्थल हिंसा, हत्या, घृणा अनि खुनको जगमाथि बन्यो, त्यहाँ कस्तो पवित्रताको वातावरण पाइन्छ भन्ने प्रश्न धेरैले उठाइरहेका छन्। आजको ‘नयाँ भारत’ मा हामीले राजनीति र धर्ममा के भिन्नता पाउँछौँ त, जब राजनेताहरूले धर्मको प्रचार गर्दै छन् अनि धर्मगुरुले देशको निर्माण। समस्या के हुँदै छ भने राजनैतिक संस्कार जुन स्तरमा पुगिसकेको छ, भारतले धर्मको मुकुट लगाएर दुई-तीन पुँजीपतिहरूको नै हितमा काम गर्दै गरेको प्रमाण सबैले नै पाइरहेका छौँ। देशका मजदुर साथै खटीखाने वर्गमाझ धर्म, जातिको पर्खाल अनि इतिहासको नाममा विवाद तयार गरिँदैछ। त्यस्तै षडयन्त्र मध्यम वर्गमाझ निक्कै वर्षदेखि नै भइरहेको थियो। मन्दिर बनाउने अनि धर्मको प्रचार गर्दै दुनियाँको अगाडी देशको जुन चित्र बनाउने प्रयास चल्दै छ, त्यो साच्चै राम्रो उपलब्धि हो र? 

आजको शासक वर्गले राम मन्दिरको उद्घाटन धुमधामसँग गरे, साथै धर्मनिरपेक्षतालाई तिलाञ्जली दिए किनभने सुप्रिम कोर्टको फैसलामा जुन मस्जिद पनि निर्माण गर्ने कुरा थियो त्यसको नामोनिशान किन छैन? आज देशमा बहुमतको धर्मको खुलेआम प्रचार हुन्छ अनि यस देशको राष्ट्रवाद नै आरएसएसको हिन्दुत्ववादी राष्ट्रवाद भइसक्न आँटेको छ। खतम हुँदैछ विविधता-- जुन भारतको सुन्दरता र शक्ति पनि थियो। “एउटा राज्य, एउटा पार्टी, एउटा भाषा, एउटा चुनाव, एउटा नेता”– आरएसएस-भाजपाको यस्तो कट्टर उद्देश्य हामी हिन्दी-हिन्दुत्व-हिन्दुस्थानको बयानबाटै बुझ्न सक्छौँ। जब एउटा भ्रमलाई नै सत्य बनाएर यथार्थमा परिणत गर्न सक्छ भने हाम्रो वास्तविक जीवनलाई पनि भ्रमले भरिदिने विचार छ यस सत्ताको। आमजनताको सबैका लागि सबैलाई लिएर अगाडि बढ्न चाहने विचारबाट देशभरि नै जुन प्रकारले अर्कालाई दबाउन र मिच्न नै जागरणको लक्ष्य बनिसकेको छ, के रामराज्य भनेको यस्तै हो?

***


फासीवाद र नव-उदारवादविरोधी 'जनचेतना यात्रा'को अनुभव

अनुपा तामाङ



भारतको संविधानमा भारतलाई धर्मनिरपेक्ष देश भनेर घोषित गरिएको छ। यद्यपि के यो देश साँच्चै धर्मनिरपेक्ष देश हो?आजको समाजमा यो प्रश्न बारम्बार उठ्छ। यस्ता अनेक प्रश्न स्पष्ट देख्न वा अनुभव गर्न सकिरहेका छौँ हामी यसबेला। 6 दिसम्बर 1992 को दिनलाई भारतको इतिहासमा एउटा कालो दिन भन्ने गरिएको छ, कारण त्यही दिन विश्व हिन्दु परिषद लगायत उग्र-हिन्दुत्ववादी कार्यकर्ताहरूद्वारा मुस्लिम धर्मको पवित्र धर्मस्थल बाबरी मस्जिद ध्वस्त पारिएको थियो। संयोगवश यही दिन अम्बेडकरको मृत्युदिन पनि थियो।  

सोही दिनलाई स्मरण गर्दै विगत 6 दिसम्बर 2023 कोलकताबाट बनारससम्मको जनचेतना यात्रा आरम्भ भएको थियो। उक्त यात्रा पश्चिमबङ्गालको विभिन्न जिल्ला, झारखण्ड र बिहार राज्यका विभिन्न भाग भएर अन्तत: उत्तर प्रदेशको बनारसमा काशी हिन्दु विश्वविद्यालयको गेटमा समाप्त भएको थियो। यस यात्राको उद्देश्य आरएसएस-बिजेपीको तानाशाही हमला, नव-उदारवाद र हरेक क्षेत्रको फासीवादी प्रवृत्तिलाई विरोध गर्नु र यसबारे जनतामाझ जागरूकता बढाउनु, धर्म र जातपातको नाममा फैलाइएका राजनीतिविरुद्ध गणतन्त्र, प्रगति र समानताको सङ्घर्षलाई बलियो बनाउन अनि यसबारे प्रगतिशील र क्रान्तिकारी वामपन्थी समूहहरूलाई समावेश गर्नु थियो। 

मेरो जीवनमा यस्तो यात्रा यो नै पहिलो थियो। भारतको २० भन्दा बढी वामपन्थी र प्रगतिशील विचारका सङ्गठनहरू, छात्रछात्रा साथै विभिन्न व्यक्तिहरूको पहलमा यसको आयोजना गरिएको थियो। दार्जिलिङ्ग पहाड, तराई र डूवर्स क्षेत्रबाट म स्वयम् बिहारको राजधानी पटनामा सहभागी बन्न पुगे। पहाडको एउटा सानो चियाकमानमा मेरी आमा लगायत लाखौँ कमानेहरूको पीडा र सङ्घर्ष देखेर हुर्केकी म। मैले यी ८ दिनको अवधिमा एउटा नयाँ अनुभव समेटेँ। कारण यो मेरो पहिलो कार्यक्रम थियो जहाँ मैले यति धेरै विचारधारा भएका सङ्घ-संस्था, सङ्गठन, ब्यक्तिहरू एकजुट भई मिलेर काम गरेको देखेँ र साच्चै भन्नुपर्दा यो मेरो निम्ति एउटा छुट्टै किसिमको अनुभव थियो जसले म उर्जावान बने। बिहारका स्थानीय मानिसहरूको यात्राप्रति लगाव प्रेरणादायक थियो। धेरैले यात्राको हिस्सा नभए पनि उनीहरू घरबाटै वा सब्जी दोकान, चिया दोकानमा बसेर नै भए पनि धेरै कुरा बुझ्ने कोसिसमा थिए र साच्चै देशको स्थितिबारे उनीहरूलाई चासो थियो। बिहारको त्यो सानु गाउँ कोनारका ती महिलाहरूको साहसी सङ्घर्षबारे कुरा नगरी मेरो यात्राको वर्णन अधुरो हुने छ। उनीहरूको रक्सी कारखाना विरूद्ध एकवद्ध सङ्घर्षले नै मालिकहरूलाई कारखानामा ताल्चा लागाउन बाध्य बनायो र त्यसको फलस्वरूप आज त्यहा नयाँ नियम बनियो-- बिहारभरि नै रक्सी किन-बेचमा निषेध लगाइएको छ।

  कतिपय गाउँ र औद्योगिक क्षेत्र हेर्दा लाग्छ, साच्चै यो देशलाई पुँजीवादले निलिसकेको छ। बिहारबाट यूपी पस्दा चन्दौलीको त्यो चुनौतीपूर्ण समयले अझ मलाई थप जोश र ऊर्जा दियो। सङ्घर्षशील जीवनलाई नजिकबाट चिन्ने मौका मिल्यो। हामीले हिँडेको बाटोमा बाधा-अड्चन आए कसरी हल गर्ने भन्ने कुरा साथीहरूबाट सिख लिएँ। साच्चै ती दिनहरू अविस्मरणीय छन्। यात्राको समक्षमा मेरो स्वास्थ्यमा कतिपय समस्याहरू भए तापनि साथीहरूको जोश र हौसलाले गर्दा आधा बिमारी त्यसै ठिक भएको महसुस भयो। मैल यो यात्राबाट धेरै ऊर्जा पाएकी छु र मलाई लाग्छ आउने दिनहरूमा पनि यस प्रकारको यात्राको धेरै खाँचो छ। यस्ता यात्रा जसले एकजुटता र सङ्घर्ष गर्न सिकाउँछ। यात्रा -- किनभने देशलाई परिवर्तनको खाँचो छ।

सन्  2014 देखि केन्द्रमा आसिन भाजपा सरकारले नयाँ-नयाँ जनविरोधी नियमकानुन ल्याएको छ। ती कानुनहरूले सोझै खटीखाने आम मानिसमाथि कसर पार्दछ। शिक्षाको निजीकरण, स्वास्थ्यको व्यापार, राष्ट्रीय सम्पतिको निजीकरण जस्ता कुराहरूले हामीलाई स्पष्ट बुझाउन खोजिरहेको छ, यो सरकार आमनागरिकको सरकार होइन, पुँजीपति वर्गको हितैषी हो। त्यसैले यसको प्रभाव साधारण मजदुरवर्गले भोग्नु परिरहेको छ। 

भाजपा सरकार आफ्नै हिसाबले चलिरहेको छ। संविधानमा रहेको संसदको विन्टर सेसन चलिरहेको बेला विपक्षी दलको 141 जना संसद निलम्बनमा रहँदा कुनै चर्चा-परिचर्चा बिनै  नयाँ बिल 'न्यू क्रिमिनल बिल' संसद भवनबाट पारित गरियो। सरकारको दबदबा हामीले यस्ता घटनाबाट जान्न सक्छौँ।  चर्चा-परिचर्चा बिनै बिल कसरी पास भयो त? यस्ता घटना बारम्बार कोभिडकालमा पनि देखिएको थियो। यसबाट सरकारको मनमानी चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझिन्छ। यी सबै कुराहरू नागरिकको विरुद्धमा मात्र नभएर लोकतन्त्रको पनि विरुद्ध छ। यी कानूनहरू केवल उनीहरूको राजनैतिक सुरक्षाको निम्ति बनाइएका हुन्। थोरैद्वारा धेरैमाथि शोषण बढ्दै गएको समयबाट निकास पाउनका निम्ति सही सङ्घर्षको खाँचो छ। चुनावले मात्र फासीवादलाई हराउन सक्दैन। यसका लागि जनचेतना र जन आन्दोलन नै चाहिन्छ। त्यसको तयारीमा  लागौँ।


प्यालेस्टाइनबाट...

 कपिल तामङ


भारी बमबारीको आवाजले म ब्यूँझेँ। मैले मेरा आमाबाबुले “अमल! अमल!” भन्दै बोलाएको सुनेँ र जुरुक्क उठेर उनीहरूतर्फ दौडेँ। आमाको हात समात्ने प्रयास गर्दा हात चिप्लियो। उनीहरूले ‘अमल मऱ्यो’ भन्दै रोइरहेका देखेँ। म मेरो आवाजको चरम सीमामा चिच्याएँ: ‘म मरेको छुइन्! म यही छु!’ मैले उनीहरूलाई हल्लाउन खोजेँ तर मलाई कसैले ध्यान दिएनन्। मैले उनीहरूलाई मेरो ओछ्यानमा हेरिरहेको देखेँ। फर्केर हेर्दा मैले देखेँ मेरो जलेको लास।

21 वर्षीय प्यालेस्टिनी लेखक शुरुक डोघमोशको छोटो कथाहरूको पहिलो पुस्तकको यो अंश गाजा प्यालेस्टाइनबाट मृत्यु र अन्धकारको विषयवस्तुहरूलाई लिएर लेखिएको सिर्जनाको एउटा उदाहरण हो। माथिको अंश उनको I Was Killed At Around This Time कथा सङ्ग्रहको एउटा कथा I Found My Corpse-बाट लिएको हो। यो सङ्ग्रह धेरै यस्ता मृत्युका कथाहरूले नै भरिएको छ।

इजरायलले गाजामा प्यालेस्टाइनीविरुद्ध क्रूर युद्ध सुरु गरेको एक सय पचास दिनभन्दा बेसी भइसकेको छ। यस समयमा गाजामा लगभग 30,000 भन्दा बढी मानिसहरू मारिएका छन्। 60,000 भन्दा बढी मानिस घाइते भएका छन्, र गाजाका लगभग 23 लाख जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन्। Oxfamको रिपोर्ट अनुसार गाजामा प्रतिदिन मारिने मानिसहरूको सङ्ख्या 21 औँ शताब्दीमा कुनै पनि 'द्वन्द्व (conflict)'-मा देखिएकोभन्दा धेरै बताइएको छ।

नोभेम्बरमा छोटो युद्धविराम सुरू भएको दिन, अबु जवादले 800 जना मानिसहरूलाई गाडिएको सम्झना गरे, जसमा धेरैजसो नानीहरू थिए।

“हामीले तिनीहरूलाई टुक्रा-टुक्रामा जम्मा गर्‍यौँ, तिनीहरूको शरीर यति प्वालहरूले भरिएको थियो कि इजरायली स्नाइपरहरूले तिनीहरूलाई टार्गेट प्राक्टिसको लागि प्रयोग गरे जस्तो थियो। अरूलाई उमालेको आलु जस्तै कुच्याएको थियो र धेरैको अनुहारमा ठूलो चोट लागेको थियो।”

अबु जवाद 64 वर्षीय एक मुसलमान लास दफनाउने कर्मी हुन्, गाजामा इजरायलको युद्ध सुरु हुनुभन्दा एक दशक अघिदेखि उनले त्यो काम गर्न सुरु गरेका हुन्। आज-भोलि उनले एक वर्षमा मर्ने भन्दा धेरै मानिसहरूलाई एक दिनमै गाड्दै आइरहेको छन्।

विगत 150 दिनमा भएका गाजासँग सम्बन्धित केही महत्त्वपूर्ण घटनाहरू हेरौँ। हमासको सेना शाखाले 7 अक्टोबरमा इजरायल माथि आक्रमण सुरु गरे जसलाई अपरेशन अल-अक्सा फ्लड भनियो।

गाजाबाट सिमाना पार गर्न र इजरायलमा आक्रमण गर्न प्याराग्लाइडर्स अल-कसाम ब्रिगेडहरूको वास्तविक भिडियो तत्काल विश्वव्यापी रूपमा प्रसारित भएको थियो। प्यालेस्टिनी योद्धाहरूले गाजा-इजरायल सीमा नजिक तीन ठाउँमा-- बिरी, केफर अज्जा किबुत्जेस अनि नोभा सङ्गीत उत्सवमा आक्रमण गरे। आक्रमणमा मारिएका इजरायली र विदेशीहरूको सङ्ख्याको अनुमानमा तलमाथि हुनसक्छ, तर हाल लगभग 1,100 जना मारिएका खबर छ। अन्य 200 भन्दा बढीलाई योद्धाहरूले गाजामा बन्धक बनाएर लगेका थिए।

बढ्दो प्रमाणहरू अनुसार इजरायलले अक्टोबर 7 मा आफ्ना धेरै मानिसहरूलाई मारेको हुन सक्छ भन्ने भनाई पनि आइरहेको छ, जसमा प्यालेस्टिनी लडाकुहरूलाई बन्धकहरूसँग राखिएको घरहरूमा हेलिकप्टर मिसाइल फायर र ट्याङ्कका गोलाहरू प्रहार गरिएको थियो। यसमा इजरायली सिपाहीहरू साथै बाँचेकाहरूको गवाहीहरू समावेश छन् जो त्यस घटनाक्रममा उपस्थित थिए। 

सबैजना खासगरी इजरायलीहरू चकित परेका थिए कि यी लडाकुहरूले कसरी यति घातक आक्रमण र यति ठूलो निगरानी गरिएको सीमामा प्रवेश गर्न सके भनि। पछि पत्तो लाग्यो कि इजरायली सेना र गुप्तचरबाट धेरै सुरक्षासम्बन्धी बिफलता भएको थियो। प्रधानमन्त्री नेतान्याहुलाई कथित रूपमा धेरै पल्ट हमास वा अन्य समूहहरूले इजरायलमा ठुलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिइएको थियो, तर यी चेतावनीहरूलाई बेवास्ता गरियो।

प्यालेस्टाइनीहरू विरुद्धको युद्ध इजरायलीहरूबिच लोकप्रिय साबित भएको छ, तथापि तिनीहरूको सेनाले गाजामा बन्धकहरूलाई घर ल्याउन असक्षम बनेको नेतान्याहु सरकारको पक्षमा ठूलो राजनीतिक बाधा पनि बनेको छ। युद्धको दस दिनभित्रै हामीले गाजा शहरको अस्पतालमा डरलाग्दो हमला देख्यौँ। अक्टोबर 17मा अल-अहली “ब्याप्टिस्ट” अस्पतालमा भएको हमलामा झन्डै 500 जनाको मृत्यु भएको थियो। इजरायली बमबारीमा आफ्नो घर गुमाएपछि हजारौँले अस्पतालमा शरण लिएका थिए। हमलामा घाइते भएकाहरूको भने अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालमा बम बिष्फोट अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराध मानिन्छ।

प्यालेस्टाइनी लडाकूहरूले अस्पतालमा गलत फायर गरेको र गलत तरिकाले गोली चलाएको इजरायलले दाबी गरेको छ। तिनीहरूले अत्यधिक शंकास्पद प्रमाणको अडियो र भिडियो क्लिपहरू जारी गरे जसले उनीहरुको दावीलाई समर्थन गर्छ भन्ने भान छ।

यसमा, अमेरिकी राष्ट्रपति बाईडेन सहित इजरायलका सहयोगीहरूले पनि अस्पतालको हमला बारे इजरायलको दाबीलाई नै विश्वास गरे। जब अस्पतालमा आर्मीले नियन्त्रण गरेपछि, हमासको कमाण्ड र नियन्त्रण केन्द्रको कुनै प्रमाण निस्किएको थिएन, न त कुनै बन्दी वा लडाकुहरू भेटिए। लगत्तै इजरायलले, फेरी गोलाबारुद अझ क्रुर तरिकाले गर्न सुरु गर्‍यो र त्यसपछि अन्य अस्पताल, शरणार्थी शिविर, पूजा गर्ने ठाउँ र विद्यालयहरूमा प्रहार चलिरहेकै छ। इजरायलले गाजामा नयाँ जोशका साथ बमबारी गर्न फर्केपछि प्यालेस्टाइनीहरूलाई बाँकी विश्वले उनीहरूको वास्ता नगरेको महसुस गरिरहेका छन्।

इजरायलले प्यालेस्टाइनीहरूमाथि खुल्ला मृत्युदण्ड, सामूहिक चिहानबाट शवहरू चोर्ने, चर्च जानेहरूलाई निगरानी गर्ने, पत्रकारहरूलाई बन्दी बनाएर यातना दिने जस्ता अपराधहरू गर्दै आएको छ। दक्षिण अफ्रिकाको प्यालेस्टाइनसँग ऐक्यबद्धताको लामो इतिहास रहेको छ र आजको चलिरहेको युद्धमा पनि उनीहरूले ऐक्यबद्धता जनाउँदै इजरायलबाट आफ्ना सरकारी डिप्लोम्याटिक कर्मचारीहरूलाई हटायो, र त्यहाँ तत्काल युद्धविरामको लागि मात्र होइन, तर स्वतन्त्र प्यालेस्टाइनको लागि आग्रह गर्दै दक्षिण अफ्रिकाका शहरहरूमा विशाल विरोध प्रदर्शनहरू गर्दै आएका छन्। 

विश्वका अधिकांश भाग यस युद्ध बारे मौन रहँदा पनि धेरै ठाउँमा प्यालेस्टाइनको सङ्घर्षसित एकवद्धता देखियो, र दक्षिण अफ्रिकाले भने सबैभन्दा बलियो कदम लियो। 29 डिसेम्बरको दिन इजरायलले प्यालेस्टिनी जनता, विशेष गरी गाजामा नरसंहार गरेको आरोप लगाउँदै उनीहरूले अन्तर्राष्ट्रिय अदालत (ICJ) मा मुद्दा दायर गरेको घोषणा गरे। वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूले दक्षिण अफ्रिकी स्वतन्त्रता सेनानी र पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको मूर्तिसामु भेला भएर आफ्नो कृतज्ञता जनाए। त्यस दिन दक्षिण अफ्रिकाको सुनुवाइमा खासै नयाँ भनाई केहि थिएन तर त्यो भावनात्मक दृश्य थियो, जहाँ विश्व अदालतमा सुनिएको थियो र विश्वव्यापी श्रोताको साथ धेरैलाई गहिरो रूपमा न्यायतर्फ एक पाइला सरेको जस्तै महसुस भयो।

इजरायलले यो नरसंहार गरिरहेको कुरालाई अस्वीकार गर्दै भन्यो उनीहरूले कुनै व्यक्तिलाई होइन, तर इजरायलीहरूविरुद्ध नरसंहार गर्ने उद्देश्य राखेको विशेष सङ्गठनलाई उन्मूलन गर्न खोजिरहेका हुन्। ICJ को इजरायलले वास्तवमा नरसंहार गरिरहेको छ भन्ने निर्णय प्रतीकात्मक छ। इजरायलले तत्काल युद्धविराम गर्नदेखि लिएर ICJ ले यसको विरुद्धमा गरेको कुनै पनि निर्णयलाई बेवास्ता गर्न सक्छ, गरिरहेको छ। तर दक्षिण अफ्रिकाले यस मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा ल्याएकोले सबैजना बसेर नरसंहार भएको हेरिरहने छैनन् भन्ने देखाउँछ, अनि प्यालेस्टाइनीहरूलाई, विशेष गरी गाजामा बस्नेहरू एक्लै छैनन् भनेर बुझाउँछ।

तरपनि, इजरायलले गाजामा हमला गर्न र यसका बासिन्दाहरूलाई मार्न छोडेको छैन। सकिँदै गइरहेको 'सुरक्षित क्षेत्रहरू'मा बाँचेका ती लाखौँ मानिसहरूको भविष्य भने अझै पनि अस्पष्ट छ। के तिनीहरूलाई प्यालेस्टाइनबाट पूर्ण रूपमा निष्कासन गर्न सकिन्छ? के तिनीहरू पुनः हमलाबाट मारिनेछन्, वा बढ्दो सङ्कटमा भोकै बस्नेछन्? वा संसारको सबैभन्दा शक्तिशाली देशहरूले अन्ततः इजरायल र यसको आक्रमणलाई रोक्न कार्य गर्नेछन्?

अबु जवाद भन्छन् “मेरो लागि, मारिएकाहरू अझै जीवित छन् र हामी मृत भइसकेका छौँ किनभने हामी बिस्तारै मरिरहेका छौँ। यहाँ जिउनुको कुनै साधन छैन; न पानी, न खाना, न बिजुली, न शान्ति, न केही पनि। के यो जिउनु हो?”

अझ उनी भन्छन् “यो नरसंहार बन्द गर! हामी शान्तिमय जीवन चाहन्छौँ। म एकै समयमा भोक र युद्धसँग लड्न होइन, सुरक्षित रूपमा घर जान चाहन्छु।”

***

रेफरेन्स:

Abu Jawad’s heart breaks daily as he buries the people killed by Israel. Israel War on Gaza, Al Jazeera

Fear and loathing in Gaza: Tales of a life under siege, Middle East Eye

Gaza War Day 100: Some of the biggest stories so far (newarab.com)




A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...