Friday, November 17, 2017

नोभेम्बर क्रान्ति : इतिहासलाई फर्केर हेर्दा



‘प्रकृति वा इतिहासमा कुनै अलौकिक घटना हुँदैन। तर इतिहासको प्रत्येक आकस्मिक गतिको परिवर्तन, जुन प्रत्येक क्रान्तिमै देखापर्छ, हामीलाई उपहार दिन्छन्, सङ्ग्रामको र प्रतिद्वन्द्वी शक्तिहरूका विन्यासले यस्ता नसोचिएका अनि सुनिर्दिष्ट संयोग देखाउछ, जसलाई अनभिज्ञ आँखाले हेर्दा अलौकिक घटना जस्तो लाग्छ।”— जसरी द्रूतगतिमा रसियाको जारतन्त्रको विनाश भएको थियो र यसका निम्ति जुन तत्वहरूको समन्वय भएको थियो, त्यस कुरोलाई वर्णनको निम्ति लेनिनले माथिको कुरा भनेका थिए।

मानव सभ्याताको इतिहासमा नोभेम्बर क्रान्ति त्यो घुम्ती हो जसले अघिको कैयौँ हजार वर्षसम्म मानव-समाज हिँड्ने बाटोमा आमूल परिवर्तन ल्याएको थियो। प्यारिस कम्युन पछाड़ी विश्वमा द्वितीय चोटी समाज-परिवर्तनको सुत्रधार भयो मजदुर वर्ग। उनीहरूको नेतृत्वमा शोषित अनि उत्पीड़ित मेहनती मानिसहरूले एउटा शोषणमुक्त समाज निर्माण गर्ने उद्देश्यमा पाइला चाले। पृथ्वीमा अघि जुन जुन समाज परिवर्तनको घटनाहरू घटेका थिए त्यसमा एउटा शोषकश्रेणीको सट्टामा अन्य शोषकश्रेणी सत्तारुढ भएको थियो र त्यो परिवर्तन शोषण-व्यवस्थाको पक्षमै थियो। रुसी क्रान्ति मात्र यस्तो प्रथम क्रान्ति थियो जसको घोषित कर्मसूचिमै शोषणहीन समाज निर्माण गर्ने र समस्त विश्वमा साम्यवादी व्यवस्था कायम गर्ने थियो। रुसी क्रान्तिले जुन समाजवादी र साम्यवादी व्यवस्था निर्माण गर्ने प्रकल्प लिएको थियो त्यो पुँजीवादको गर्भमा सक्रियतासाथ विकसित हुनसकेन।

ऐतिहासिक रूपमा पनि यो सम्भव छैन। पुँजीवादले यसलाई कुनै पनि हिसाबले मान्न तयार छैन। यसैले यो बाटो हिड़्नु नौलो मात्र नभएर अघिको समस्त समाज व्यवस्था बनाउने इतिहास भन्दा गुणात्मक रूपमा अलग छ। यो व्यवस्था स्वतस्फूर्तरूपले बनिन्दैन। यस व्यवस्थाको निर्माता सर्वहारा वर्ग अनि उनीहरूको अग्रवाहिनीको सधै जागरुक चेतनाको प्रयोग यस व्यवस्थाको मार्ग र विकासमा सबैभन्दा महत्त्वपूर्ण तत्व भएर देखा पर्दछ। 

शुरुवातको वर्षहरू

रसियामा कम्युनिस्ट पार्टी अर्थात् RSDLP गठन हुनुभन्दा 30 वर्ष अघिसम्म जारशाही विरोधी क्रान्तिकारी शक्तिको हैसियतमा नारदनिकहरू चिनिन्थे। यिनीहरूको भनाइमा कृषकहरू नै मूल क्रान्तिकारी शक्ति थिए। यिनीहरू तानाशाही शक्तिलाई परास्त गर्नका निम्ति आतंकवादलाई प्रयोग गर्न उचित हो भन्ने ठान्थे। 1870 को अन्ततिर प्लेखानोभ नामको एक जना तरुणले नारदनिक दलबाट छुट्टीएर विदेश गई मार्क्सवादमा शिक्षा लिएर आए। 1883 सालमा स्वीटजरल्याण्डमा उनले श्रमिक मुक्ति सङ्घको स्थापना गरे। पछिको 15 वर्षसम्म उनले नारदनिक विचार विरुद्ध धारावाहिक सङ्ग्राम चलाए। उनको विचार थियो कि रसियाका पुँजीवादको विकासको फलस्वरूप बहुसंख्यामा पैदा भएको श्रमिकहरूमाथि नै रुसी क्रान्ति निर्भर छ। वास्तविक घटनाक्रम पनि त्यही दिशामा चल्न थाल्यो। रसियामा तीव्र गतिमा पुँजीवाद मौलाउन थाल्यो। त्यसको विपरीत औद्योगिक- श्रमिकहरूको सङ्ख्या केवल तीव्र गतिमा बढ़्यो मात्रै होइन बरु थुप्रै ठाउँमा स्वतःस्वफूर्त रूपमा औद्योगिक हड्तालको सङ्ख्या पनि बढ़्न थाल्यो। सन् 1890मा रसियामा ‘श्रमिक मुक्ति सङ्ग्राम लीग’को स्थापना भयो। यसमा महत्त्वपूर्ण सदस्यको रूपमा योगदान दिए लेनिनले। त्यस बेला लेनिनको उमेर केवल 20 वर्षको थियो। उनको दाजु अलेक्जेन्डरले एउटा गुप्त समितिको तर्फबाट जार हत्याको षड़्यन्त्रमा लिप्त भएको आरोपमा दोषी भएर मृत्युदण्ड पर्खिरहेका थिए। दाज्युले अपनाएको बाटोलाई लेनिनले वैचारिक रूपमा नकारे। 1810 को अन्ततिर लेनिन पिटर्सवर्गमा आएर गोप्यरूपले मार्क्सवादको चर्चा परिचर्चामा सङ्लग्न भए। त्यसपछि उनी प्लेखानोभसँग भेट गर्न स्वीटजल्याण्ड गए। फर्केर आए पछि आफ्नो अन्य कमरेडहरूसँग मिलेर उद्योग-श्रमिकहरूका बिच क्रान्तिकारी साहित्य प्रचार गर्ने काममा लागे। जसको कारण उनी पक्राउ परे र पछि साइबेरियामा निर्वासित भए। निर्वासनको अवधिमै विदेशबाटै पार्टी-पत्रिका प्रकाशित गरेर लुकाएर रसियामा बाँड़िदिने परिकल्पना उनले गरे। 1900 सालमा निर्वासनबाट मुक्त हुनसाथ उनले अर्थसङ्ग्रह गरी प्लोखानोभको सहायताको आशामा जेनेभा गए। जहाँबाट शुरू भयो ‘इस्क्रा पत्रिका’को प्रकाशन। यसैको साथै विचारको गहिरो चर्चाका निम्ति प्रकाशित भयो ‘जारिया’।

यस प्रक्रियाको समानान्तररूपमा रसियामा अझै एउटा मार्क्सवादी प्रचेष्टा भएको थियो। 1898 सालमा मिन्स्क शहरका केवल 9 जना सदस्यहरू मिलेर एउटा पार्टी कङ्ग्रेस सङ्गठित भएको थियो। यी 9 जना मानिसहरू सेन्ट पिटर्सवर्ग, मस्को, कियेभ, इत्यादि ठाउँका केही सङ्गठनका प्रतिनिधिहरू थिए। तीन दिवसीय उक्त काँग्रेसले एउटा केन्द्रीय समितिको गठन साथै एउटा मुखपत्र प्रकाश गर्ने निर्णय लिए। तर काम शुरू गर्न अघि नै सबै सदस्यहरू पक्रा परे। छोड़ी राखे RSDLP को नाम। पछि धेरै वर्षसम्म रुसको कम्युनिस्ट पार्टीको औपचारिक नामको हैसियतले यो नाम नै रह्यो।

विचारको कार्यान्वयन

1901 को दिसम्बरमा जारियाको एउटा संस्थामा प्रथम रुस-विद्रोहको प्रसिद्ध नेता लेनिनको नाममा लेख प्रकाशित भयो। अनि त्यही समयदेखि नै उनको अपिरिसीम श्रम र स्वच्छ धारणाको निम्ति उनले गोष्ठीको श्रेष्ठ परिचालकको रूपमा स्वीकृति पाए। उनले प्रथम पल्ट सङ्गठित विप्लबी सिद्धान्त र पार्टीको आवश्यकता राम्रोसँगले बुझेका थिए। 1898 सालको प्रथम कङ्ग्रेसमा जुन उद्देश्य लिनु बितिक्कै परित्यक्त भएको थियो, त्यसलाई कार्यान्वित गर्नलाई उनी दृढ भए। इस्क्राको प्रथम घोषणामै रसियाको छरपस्टिएको समाज-गणतान्त्रिक आन्दोलनको एउटा आकार र एकबद्ध एउटा सङ्गठन निर्माणको आह्वान राखिएको थियो। 1903 को जुलाईमा RSDLPको दोस्रो कङ्ग्रेस ब्रुस्सेल्समा शुरू भए तापनि पुलिसको आँखामा धुलो हाल्नुका निम्ति त्यसलाई लण्डनमा सारियो। यो कङ्ग्रेस नै पार्टीको प्रतिष्ठा कङ्ग्रेस भयो। जुनसुकै सुविधावादको विरुद्ध लेनिनको हाँका-हाँक्की सङ्ग्राम यसै कङ्ग्रेसबाट शुरु भएको थियो। अधिवेशनको शुरूवातमा लेनिन तथा उनको समर्थकहरू अल्पसङ्ख्यक भए तापनि पछिबाट नाना विषयमा मतभेद भएको कारणले विपरीत मतका केही सदस्यहरूले सभा त्याग गरेपछि लेनिनहरू बहुसङ्ख्यकमा परे। यसै समयदेखि लेनिनको नेतत्वमा बहुसङ्ख्यक अंश ‘बोल्शेविक’ (रुसी भाषामा बहुसङ्ख्यक) नामले परिचित भए, अनि मार्तभ, मार्तिनोभका नेतृत्वमा रहेका विपक्षकाहरू अल्पसङ्ख्यक हुनाले उनीहरू ‘मेन्शेविक’ (रुसी भाषामा अल्पसङ्ख्यक) नामले परिचित भए। दोस्रो कङ्ग्रेसपछि आन्तरिक सङ्ग्राम अत्यन्तै तीव्र भएर गयो। त्यसपछिका केही वर्ष यो सैद्धान्तिक र व्यवहारिक बहस अझै स्पष्ट भयो, दुईवटा गुठको प्रवृत्तिहरू पनि स्पष्ट देखा पऱ्यो। 

1905 को प्रथम रुस विद्रोह

यस्तो समयमा रसिया जापानसँग युद्धमा भिडियो। 1904 को जनवरीमा कुनै युद्ध घोषणा नगरी जापानले रसियाको पोर्ट आर्थरमाथि आक्रमण गऱ्यो जसले रुस युद्धजहाजको डरलाग्दो क्षति भयो। रसियाको ठुलो बुर्जुवा तथा जमिन्दारहरूको दक्षिणपन्थी अंशले यस युद्धमा जारलाई सहयोग गरे। उक्त युद्धमा जारको 6 लाख सेना मध्ये 1 लाख 28 हजार सेना मरे वा घायल भए। यस युद्धको परिप्रेक्षमा बोल्शेविक-मेन्शेविक द्वन्द्व अझ धेर तेज हुँदै गयो। मेन्शेविकहरूले पितृभूमिको रक्षा गर्ने आह्वान गरे। अर्कोपट्टि बोल्शेविकहरूले भने यस युद्धले जारतन्त्रलाई दुर्बल र क्रान्तिलाई शक्तिशाली बनाउँनेछ भनेर। रुस-जापान युद्धले वास्तवमा रसियाको प्रथम क्रान्ति 1905 लाई अझै गति प्रदान गऱ्यो। 

विद्रोहको शुरूवात वाकु तेलको खदानमा भएको एउटा विराट सफल हड़ताल (डिसेम्बर 1904) बाट भयो। वास्तवमा तिनीहरू आफ्नो दाबी अदाय गरेकोले समग्र ट्रान्सककेसियन श्रमिकहरूमा विपूल हलचल पैदा गरिदियो। एउटा प्रेसको मजदुरहरूले अक्षर सेटिंगसँग विरामचिह्नको सेटिंगको लागि पनि मजदुरीको मागबाट यस आन्दोलन शुरुमा चर्केको थियो र यसरी फैलियो। जनवरी 1905मा सेन्ट पिटर्सवर्गको सर्वबृहत कारखानाको 4 जना श्रमिकहरूलाई छटाई गरेको प्रतिवादमा जुन आन्दोलन शुरू भयो, त्यो व्यापक रूपले फैलिएर गयो। यसैबिच जारको पुलिसले ‘ग्यापन’ नामको एक जना जासुसलाई एउटा श्रमिक सङ्गठन बनाउन लगाए। त्यस सङ्गठनको मिटिङगमा तय भयो कि 9 जनवरीको दिन जारको नक्सा बोकेर जारको वासस्थान शीत महलमा गएर उनीहरूको आफ्नो दाबी पेश गर्नेछन्। 1 लाख 40 हजार मानिस भेला भए। जारले ती निहत्ये मानिसहरूमाथि गोली चलाउने आदेश दिए। फलस्वरूप 1 हजार मानिसहरू मारिए। 9 जनवरीको यो घटना ‘रक्ताम्मे आइतबार’ नामले इतिहासमा दर्ज भयो। श्रमिकहरूले ब्यारिकेट तोड़्न थाले। समग्र देश रिस र घृणाको आगोमा दन्किन थाल्यो। 4 लाख 40 हजार श्रमिकहरू आन्दोलनमा उत्रिए। रसियामा क्रान्ति शुरू भयो। 

आर्थिक आन्दोलनले क्रमशः राजनैतिक आन्दोलनको रूप लियो। प्राय प्रत्येक शहरमा साधारण हड्तालसँगसँगै सशस्त्र सङ्घर्षहरू पनि हुँदै गयो। इभानोभो शहरमा श्रमिक प्रतिनिधिहरूको परिषद् गठित भयो, जुन वास्तवमा श्रमिक डेपूट्टिहरूको सबैभन्दा महत्त्वपूर्ण प्रथम ‘सोभियत’ थियो। यही समयमा पोटेमकिन युद्धजहाजको नौसेनाहरूले क्रान्तिमा योगदान गरे। यी सेनाहरूले वीरतासाथ लड़ेर पराजित भए तापनि रुस क्रान्तिमा लामोसम्म प्रभाव छाड़ीराखे। जसबाट जारको सेनावाहिनीको अपमानित सेनाहरूले उनीहरू पनि रुसी क्रान्तिको सहभागी हुनसक्ने सम्भावना बुझ्न थाले। 

1905 को शरदकालदेखि दिसम्बरको चरम सशस्त्र विद्रोहको अन्तरालमा प्रत्येक शहर, प्रत्येक कारखाना लगातार सशस्त्र सङ्ग्राममा लागिपर्यो । साथसाथै देशभरि आन्दोलन फैलियो। हड्ताल हुन थाल्यो – कलकारखानामा, समस्त देशको रेल व्यवस्था अनि पोस्ट र टेलिग्राफ विभागहरूमा। कर्मचारी, छात्रछात्री, ऐनजीवि, इञ्जिनियर, डाक्टर सबैले क्रान्तिमा भाग लिए। सम्पूर्ण देश अस्थिर भयो, सरकार अचल भयो। बोल्शेविकहरूको गण-राजनैतिक आन्दोलनको स्लोगन सफल भयो। 

यही अक्टोबरदेखि श्रमिक सोभियतहरूको स्थापना शुरु भयो, श्रमिकहरूको आफ्नो कोशिसले यी गण-राजनैतिक क्षमताको केन्द्रहरू निर्माण हुन थालियो। 1917 सालमा जुन सोभियत शक्तिको विजयले सारा संसारलाई थर्कमान गरिदियो, जुन सोभियतले भविष्यमा सारा पृथ्वीको मेहनती मानिसहरू बिच क्षमताको राजनैतिक रूपको वैकल्पिक मोडेलको रूपमा विद्यमान भयो – त्यसको प्रथम पालुवा भने 1905 को अक्टोबरमा सेन्ट पिटर्सवर्गको श्रमिक डेप्युट्टि लिएर गठित भएको सोभियत हो। यसको प्रथम प्रतिनिधि सभा 13 अक्टोबर 1905 मा भएको थियो। यसको पछि पछि मस्को सोभियतको गठन भयो। बोल्शेविक पार्टीले खुल्ला रूपले घोषणा गऱ्यो ‘सोभियतहरू नै क्रान्तिकारी सत्ताको केन्द्र हो’। उल्लेखनीय छ कि श्रमिक सोभियतहरूले आफ्नै प्रयासमा कृषक र सेनाको सोभियतहरूलाई पनि सामेल गर्न थाले।

सन् 1905को दिसम्बर विद्रोह

यसै समयमा दिसम्बर विद्रोहको निम्ति बोल्शेविकहरूले योजनाबद्ध प्रस्तुति शुरू गरे। नोभेम्बरमा लेनिन रसियामा फर्केर विद्रोहको प्रस्तुतिको निम्ति प्रत्यक्ष रूपले जोड़िए। लेनिन देशमा फर्के पछि विद्रोहको बेलामा अर्थात् दिसम्बरमा फिनल्याण्डमा बोल्शेविकहरूको एउटा सम्मेलन भयो। लेनिनको सुझावमा सम्मेलन छिट्टो छिट्टो समाप्त गरियो, जसले गर्दा प्रतिनिधिहरू छिट्टो फर्केर विद्रोहमा भाग लिन सकियोस्। तर यसैबिच जापानसँग शान्ति स्थापना गरेर जार सरकार चरम आक्रामक रूपमा आन्दोलनकारीहरूको विनाश गर्न उत्रे।

विभिन्न प्रदेशमा सेना शासन् लागु गरेर विचार नगरी किसान हत्या शुरू भयो। यस समय पेत्रोग्राद सोभियत र मस्को सोभियत एकजुट भएर एउटा मरिन्जेल लड्ने लडाइमा ओर्ले। प्रथममा उनीहरू एउटा राजनैतिक साधारण हड्ताल डाके विद्रोह चर्काउन अभिप्राय लिएर। तर यस हड्ताल देशभरि फैलिएन। 1 डिसेम्बर, 1905 मा लगातार नौ दिन अतुलनीय वीरताकासाथ मस्को सोभियतको श्रमिकहरूले ब्यरिकेट-युद्ध गरेका थिए। तर यो लडाई शुरू हुनुभन्दा अघि नै लडाकु नेतृत्वको एउटा ठुलो दल पक्राउ पऱ्यो। मस्कोको बोल्शेविक कमिटी त झन् पुरै पक्रा पऱ्यो। फलस्वरूप निर्देश दिने केन्द्रको अभाव तथा समग्र शहरको निम्ति साधारण परिकल्पनाको अभावमा विभिन्न प्रान्तबाट ल्याइएको बन्दुकधारी वाहिनीसँग श्रमिकहरू लड्न सकेनन्। मस्को विद्रोह ध्वंश भयो। 

तर त्यसपछि पनि एक पछि एक विद्रोह विभिन्न शहर र दमित राष्ट्रियताको देशहरूमा चलीनै रह्यो। समग्र जोर्जिया शस्त्र हातमा लिएर खडा भएको थियो, युक्रेनमा देशव्यापी सङ्घर्ष चलेको थियो, लातभियामा कठिन संग्राम चलेको थियो। अनि फिनल्यान्डमा पनि बोल्शेविकहरूका रेडगार्ड वाहिनी तैयार गरी श्रमिकहरूले विद्रोहको झन्डा फहराएका थिए। तर यी सबै अन्तिममा गएर परास्त भए।

जारशाहीको चलखेल, स्तलिपिन प्रतिक्रियाको युग

विद्रोह तर 1905 मा शेष भएन। क्रान्तिकारी शक्तिहरू विस्तारसँग काम चलाउदै रह्यो। 1906 मा 10 लाख श्रमिकहरूले हड्तालमा भाग लिएका थिए भने 1907 मा यो सङ्ख्या 7 लाख 40 हजार भयो। कृषक र सेनावाहिनी माझ 1907 सम्म पनि विद्रोहको आगो आलै थियो। क्रान्तिको आगो बलिरहेको बेलामा 1905 को वृहत् विद्रोह पछाडि पनि, त्यो आगो निभाउनलाई 1906 मा जारले प्रथम स्टेट डुमा (संसद) चुनाव घोषणा गरे। बोल्शेविकहरूको यस डुमालाई बहिष्कार गर्ने आह्वान व्यर्थ भयो। तर देशव्यापी चलिरहेको क्रान्तिको वातावरणमा डुमालाई सहजै ल्याउन सकेनन् जार सरकारले।

त्यसैले डुमालाई भत्काएर नयाँ तरिकाको दमनकारी आक्रमण गर्न थाले जारले। यसैको साथ दोस्रो डुमाको चुनावको घोषणा गरियो। यसमा भने बोल्शेविकहरूले पनि डुमामा भाग लिने निधो गरे। उद्देश्य थियो डुमाको भित्र र बाहिर एक्कैसाथ आन्दोलन चर्काउने जसले गर्दा भविष्यको क्रान्तिको बाटो सजिलो होस्। 1907 मा जारले द्वितीय डुमा पनि भङ्ग गऱ्यो, 3 जुनको सामरिक विद्रोहको नामले जुन प्रसिद्ध छ। जारले आफ्नो सुविधाअनुसार प्रतिनिधितत्वको नियमकानुन दक्षिणपन्थी शक्तिहरूको अनुकूल बनाए र तेस्रो डुमाको घोषणा गरे। नयाँ नियम अनुसार बुर्जुवा र जमिन्दारहरूको सङ्ख्या बढाएर श्रमिक-कृषकहरूको सङ्ख्यालाई निर्मम रूपले कटौती गरिदिए। 

जारको मन्त्री स्तलिपिनले समस्त देशलाई वधशाला बनाइदिए जहाँ हजार हजार विप्लवीहरूलाई फाँसीको सजाय भयो। स्तलिपिनको अन्धकार युग शुरू भयो। 1907 को दिसम्बरमा लेनिन फेरी प्रवासी भए र प्रथम रुस क्रान्ति समाप्त भयो, तर प्रचुर महत्त्वपूर्ण अनुभव छोडेर गयो। 

यस समयमा, गम्भीर आर्थिक सङ्कट र साथमा पराजित क्रान्तिकारी शिविरमा निराशाको भावना तीव्र हुन थाल्यो। बुद्धिजीवी र बुर्जुवा परिवारबाट आएका विप्लवीहरू मध्ये पतन शुरू भयो, क्रान्तिको बाटो परित्याग गरेर जारको आँखामा ‘असल मान्छे’ हुनको निम्ति होडबाजी शुरू भयो। 

जारको पुलिसले दलत्याग गरेको मानिसहरूलाई खोजी खोजी पक्रिन थाले साथै कमजोर हृदय भएको मानिसहरूलाई जबर्जस्ती पुलिसको जासुसी गर्न बाध्य गर्न थाले। श्रमिक र पार्टीभित्र यस्ता मानिसहरूलाई हालेर जासुसीको काम शुरू गराइयो। त्यसपछि मार्क्सवादी विचारधारामा तीव्र आक्रमण शुरू भयो जुन कहिल्यै प्रत्यक्ष र खुला थियो भने, कहिले लुकेको र षडयन्त्रपूर्ण थियो। 

फेरि विद्रोहको तयारी

लेनिनले यो जटिल अवस्थामा पनि दह्रिलो ‘बोल्शेविक केन्द्र’ सिर्जना गर्ने प्रयास शुरू गऱ्यो। यस उद्देश्यका लागि, 1 जनवरी, 1912 मा प्रागमा 6औं महाधिवेशनमा बोलाइयो। परिस्तिथि त्यस्तो थियो कि मेन्शेविकहरूको धोखाधडी मान्नु भनेको श्रमिकश्रेणी प्रति बेइमानी गरेको बराबर मानिन थालियो। विभिन्न गलत प्रवृत्तिहरूको विरुद्ध एक निरन्तर, लामो, जटिल, र भ्रमपूर्ण श्रृंखलाको अन्तमा बोल्शेविकहरूको सम्पूर्ण आफ्नो र नयाँ पार्टी प्रागको सम्मेलनमा गठन गरियो, जुन आगामी समयको सन्देशवाहक थियो, जसमा आगामी नोभेम्बर क्रान्ति सम्पन्न गराउने समस्त अन्तर्निहित तत्वहरू थियो। एउटा गणतान्त्रिक प्रजातन्त्र, 8 घण्टा काम र ठुला भू-मालिकको जमीन कब्जा— यी तीन मुख्य मागहरू लिएर, पार्टी चौथो डुमामा भाग लिन तयार भए। 

स्तलिपिनको प्रतिक्रियावादी युग बेसी दिन टिकेन। 1912 को 4 अप्रेलमा लेना सुनखानीको आन्दोलनकारी श्रमिकहरूमाथि जारको सेनावाहिनीले निर्ममरूपले गोली चलाए। 500 जना श्रमिकहरू मारिए। सेन्ट पीटर्सबर्ग र मस्कोसमेत रुसको सबैभन्दा ठुलो औद्योगिक केन्द्रमा ठुलो सार्वजनिक हड्ताल शुरू गरेर रुसी कर्मचारीहरूले यसको जवाफ दिए। मई दिवसमा 4 लाख श्रमिकहरू हड्तालमा संलग्न भए। 1912 को स्ट्राइकमा 10 लाख र 1913 मा 12 लाख 12 हजार श्रमिकहरू सहभागी भए। एक पछि अर्को कारखाना बन्द गरेर उद्योगपतिहरूले पनि बदला लिन थाले। अन्य उद्योगका कामदारहरूले पैसा सङ्कलन गरेर भोको श्रमिकहरूलाई मदत गरे। किसानहरूले श्रमिक विद्रोहले प्रेरित भयो। उनीहरूले जमिन मालिकको कचहरी र खेतलाई नष्ट गर्न थाले। 1910-14 मा 13 हजार किसानहरूले विद्रोहमा भाग लिए। सेनामा पनि विद्रोह शुरू भयो— तुर्कस्तानमा, बाल्टिक नौसेना, सेबस्टोपोलमा। यी सबैले प्रमाणित भयो कि देश एक नयाँ क्रान्तितिर जादैछ। 

1914 मा मजदुर हड्तालको लहर देशभरि फैलियो। 9 जनवरी, साढे दुई लाख, पहिलो मई 5 लाख, सेन्ट पीटर्सबर्गमा 1 लाख 15 हजार, 1914को जुलाईको शुरूवातमा कुल 14 लाख 25 हजार कामदारहरूले हड्तालमा भाग लिए। जुलाई 3 मा, बाकू मजदुरहरूको हड्तालको समर्थनमा सेन्ट पीटर्सबर्गको पुटिलभ कारखानामा बोलाइएको श्रमिकहरूको बैठकमा पुलिसले गोली चलायो। पीटरबर्गमा 4 जुलाई शुरु भएको स्ट्राइकमा सहभागी श्रमिकहरूको सङ्ख्यामा वृद्धि हुँदै हुँदै 11 तारिखसम्म यो सङ्ख्या 2 लाख भयो। शहरभरि ब्यारिकेट पछि ब्यारिकेटहरू बनाइयो। 

प्रथम विश्वयुद्ध र रसिया : फरक विचार 

यस्तो समयमा प्रथम विश्वयुद्ध शुरू भयो। 1914 को जुलाई 14 मा, जार सरकारले सबै सेनालाई जमघट गर्न आदेश जारी गऱ्यो। 19 जुलाईमा, जर्मनीले रुस विरुद्ध युद्ध घोषणा गऱ्यो। 1907 मा रुस, बेलायत र फ्रान्सको बिच ‘तीन शक्तिको गठबन्धन’ बनिएको थियो। यसको विपरीत, जर्मनी-अस्ट्रिया-हंगरी र इटलीको सेना सहभागिता तय भयो। प्रथम विश्वयुद्ध शुरूवातको पूर्वमा, इटलीले अघिल्लो गठबन्धनमा सामेल भयो। बेलायत र फ्रान्सको उपनिवेशहरू कब्जा गर्न जर्मनीले युद्ध शुरू गऱ्यो। रुसको लक्ष्य भने यूक्रेन, पोल्याण्ड र बाल्टिक देशहरूतिर थियो। 

बोल्शेविकहरूको तत्कालिक कार्य युद्धको कारणले अचानक जटिल भयो। अविकसित सङ्गठनहरू तुरुन्तै तोडियो। सम्पूर्ण युरोपमा युद्ध शुरू भयो। प्रेस र प्रचारको स्वतन्त्रतालाई रद्द गरियो। लेनिनलाई पक्राउ गरी हिरासतमा राखियो। तर पनि लेनिनको राजनैतिक विश्वासहरूमा बिन्दुमात्र पनि क्षय भएन। तर उनको अस्तित्वमा रहेको एकहोरोपन र युद्धको क्षेत्रमा काम गर्न असक्षम भएकोले उनको आशा अलिक कम भयो। सन् 1911 मा, जब प्रतिक्रियाको अन्धकार फैलिएको थियो, त्यतिबेला जस्तै उर्जाको भाव लेनिनकोमा यस जनवरी 1917  थिएन। उनले स्विट्जरल्याण्डमा एक सभामा भने, उनी संदिग्ध हुनुहुन्छ कि “हामी बुढोहरू आगामी क्रान्तिको निर्णायक युद्ध देख्न सक्छौँ की सक्दैनौं”। त्यति बेला उनी मात्र 46 वर्षको थिए। यसको केवल छः हप्ता पछि, रुसमा क्रान्तिको हुरी चल्न थाल्यो। त्यसपछि एक महिना लामो चल्यो लेनिनको अधीर प्रतीक्षा अनि भूमिगत स्थितिबाट निक्लिनुको लागि जर्मन अधिकारीहरू सँग गर्नु परेको कठिन तोलमोल। अन्तमा सम्झौता भयो की लेनिन रेलको एक गोप्य कोचमा बसेर अझै 20 जना बोल्शेविकहरू सँग मिलेर स्वीडेन जानेछन्। 

सन् 1917को फरवरी क्रान्ति

यसै बिचमा, तीन वर्ष चलेको निरन्तर युद्धले ठुलो क्षति ल्यायो। लाखौँ मानिसहरू मारिए। उत्पादनबाट अलग भएपछि 1 करोड 40 लाख मानिसहरू सेनामा सामेल भए। कारखानाहरू स्तब्ध भए। किसानहरूको एक ठुलो भाग युद्धको लागि गएकोले, खेतीको क्षेत्रमा काम कम भयो। जारका सेनाहरू एकपछि अर्को युद्धमा पराजित भए। देशको अर्थतन्त्र पूर्णतया विनाश भयो। शहरमा खाद्य आपूर्ति लगभग रोकिएको थियो। बेरोजगार व्यक्तिहरूको सङ्ख्या बढ्न थाल्यो। 1917को जनवरी-फरवरीमा ज्वार जस्तै हड्ताल पछि हड्तालले सम्पूर्ण रुस देशलाई थर्कमान गरिदियो। पेट्रोग्राद पुलिसले भन्यो हिंसाको सङ्ख्या हरेक दिन बढ्दै गएको छ र 1905 जस्तै रूप लिइरहेको छ। 26 फरवरीको राजनैतिक हड्ताल र प्रदर्शनहरूले विद्रोहको रूप लिइरहेछन्। श्रमिकहरूले पुलिस र सैनिकहरूको हतियार खोसेर आफैले प्रयोग गर्न थाले। सैनिकहरू पनि श्रमिकहरूको पक्षमा हिड्न थाले। फरवरीको बुर्जुवा-गणतान्त्रिक क्रान्तिको विजय भयो। 21 फरवरी बिहानदेखि साँझसम्म 60 हजार सिपाहीहरूले विद्रोह गरे, जारका मन्त्रीहरूलाई पक्राउ गरियो र क्रान्तिकारीहरूलाई जेलबाट मुक्त गरियो। पेत्रोग्राद भन्दा बाहिर पनि खबर फैलिएर गयो। सबै ठाउँमा जारका प्रतिनिधिहरूको गतिरोध गरियो। सैनिकको पोशाकमा लाखौँ किसान र श्रमिकहरूको नेतृत्वमा यो क्रान्ति सफल भयो।

फरवरी क्रान्तिले जारशाहीको शासनलाई उन्मूलन गरेर पुँजीवादी लोकतान्त्रिक प्रणालीको स्थापना गरेको थियो। यसलाई बुर्जुवा डेमोक्रेटिक क्रान्ति पनि भनिन्छ। यसले जारशाहीलाई सत्ताच्यूत गरे पनि अस्थायी वा अन्तरिम सरकारका रूपमा स्थापना भएको थियो। करेन्स्की (रुसी धनी किसानहरूको स्वार्थको प्रवक्ता त्रुदोभिक दलको नेता) सरकारका प्रमुख थिए। त्यस सरकारमा सुधारवादी मेन्सेविकहरू पनि सत्तामा सामेल भएका थिए।

तत्कालीन अवस्थामा पहिलो विश्वयुद्ध चलिरहेको थियो र जनता युद्धको अन्त र शान्तिको स्थापना चाहन्थे। तर अस्थायी सरकारले जनताको यो भावनालाई सम्बोधन गर्न नसकेपछि जनआक्रोस बढ्दै गयो। यतिबेलादेखि भएको घटना परम्पराको वर्णन ‘सोभियत र महान् अक्टोबर क्रान्तिको इतिहास’ पुस्तकबाट पाइन्छ। त्यसबाट उद्धरण लिएर अगाडी बढौं। 

सन् 1917को ती महिनाहरू...

फरवरी क्रान्तिले लेनिनलाई रुस फर्किने सम्भावना दियो। जनता आफ्नो उनैको प्रतीक्षा गर्दै थिए। तर अस्थायी सरकार साथै अरू देशहरूका पुँजीपतिहरू लेनिनसँग तर्सन्थे। लेनिनलाई रुस फर्कन नदिन उनीहरूले हर सम्भव कोशिस गरे। तर जम्मै चुनौतीहरूको सामना गर्दै 3 अप्रिल, 1917 को दिन लेनिन पेत्रोग्राद आइपुगे। मध्य राति फिनल्याण्ड स्टेशनमा लेनिन उत्रे। उनलाई स्वागत गर्न हजारौँ मजदुरहरू, सैनिक तथा नौसैनिकहरू साँझदेखि नै स्टेशन् अगाडिको चोकमा जम्मा भैसकेका थिए। उनीहरू लेनिनको विवेकपूर्ण कुरा, रुसमा घटिरहेका घटनाहरूबारे उनको मूल्याङ्कन सुन्न चाहन्थे।

मेन्शेविक नेताहरू पनि लेनिनको स्वागतमा थिए। तर उनीहरूको स्वागत षड़्यन्त्रपूर्ण थियो। लेनिनलाई वेअर्थको कुरामा फसाएर जनता सकक्ष उनलाई बोल्न नदिने पक्षमा मेन्शेविकहरू थिए। तर ट्रेनबाट निस्कनसाथ नै लेनिन सिधा स्टेशनको चोकतिर लागे। जनताले ठुलो हर्षोल्लाससहित आफ्नो नेताको स्वागत गरे। क्रान्तिकारी सैनिकहरूले लिएर आएको एक बुलेट प्रुफ गाडीले मञ्चको काम गऱ्यो। आफ्नो भषणमा लेनिनले भन्न थाले– ‘जारको तक्ता उल्टिसकेको छ, तर जमिनदारहरू तथा पँजीपतिहरूको सत्ता कायमै छ। जमिन कलकारखाना आदि यथावत् जमिनहरूकै हातमा छन्। उनीहरू मजदुर तथा किसानहरूको भाषण गर्दै छन्। पँुजीपतिहरू तथा जमिनदारहरूको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनुपर्छ। जनता नै समस्त जमिन, कलकारखानाको मालिक बन्नुपर्छ’। आफ्नो भषणको अन्त्यमा उनले नारा लगाए– ‘समाजवादी क्रान्ति–जिन्दावाद !’

भोलिपल्ट, 4 अप्रिलको दिन बोल्शेविकहरूको बैठकमा लेनिनले पार्टीको भावी क्रियाकलापसम्बन्धी योजना प्रस्तुत गरे। उनले भने– ‘जनताको अगाडि बडो धैर्यपूर्वक अस्थायी सरकारका सब कबुलहरूको कपटी चरित्र स्पष्ट पार्नुपर्छ। सोभियतहरूमा मेन्शेविकहरू तथा ऐसेरहरूको गद्दारीको भन्डाफोर गर्नुपछ, सोभियतहरूलाई बोल्शेविकहरूको पक्षमा ल्याउनुपर्छ। मजदुर एवम् सैनिक डेपुटीहरूका सोभियतहरूले किसानहरूलाई जमिन दिनुपर्छ, कलकारखानाहरूमा मजदुर नियन्त्रण राख्नुपर्छ, रुसलाई युद्धबाट उम्काउनुपर्छ। जनताको समर्थनसहित सोभियतहरूले देशको सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्नुपर्छ र उनीहरू यो काम गर्न सक्छन्। ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई !’ भन्ने जुन नारा लेनिनले प्रस्तुत गरेका थिए, त्यसले क्रान्तिको शान्तिपूर्ण बाटो देखाउँथ्यो। बोल्शेविकहरूले मजदुर, सैनिक तथा किसानहरूबीच व्यापक प्रचारकार्य शुरू गरे। उनीहरूको स्पष्ट कार्यक्रम श्रमिक जनताको आन्तरिक अभिलाषा अनुकूल थियो। मजदुर, किसान एवम् सैनिकहरूबीच बोल्शेविकहरूको प्रभाव तीव्रगतिले बढ्न थाल्यो।

कारखानाको चोकमा मजदुरहरू जम्मा भएका थिए। आमसभा चल्दै थियो अस्थायी सरकारका कुनै मन्त्री बडो गरमागरम भाषण गर्दै थिए, तर आफ्नो जीवनअवस्थामा कहिले सुधार आउने हो भन्ने कुरा मजदुरहरूले बुझ्न सकिरहेका थिएनन्। मन्त्री भन्दै थिए–‘सबैभन्दा पहिला लडाँइ जित्नुपर्छ, त्यसपछि चुनाव पर्खनुपर्छ, त्यसपछि…..। भीडमा नाराहरू सुनिन थालिए–‘लडाई मुर्दावाद ! रोटि, शान्ति र स्वतन्त्रता देऊ !’ सिट्टीहरूको आवाज र होहल्लाबीच मन्त्री आफ्नो भाषण नसकी मन्चबाट ओर्लन्छन्। मजदुरहरू बडो ध्यानपुर्वक एक बोल्शेविक नेताको भाषण सुन्दैछन्। लेनिनवादी कार्यक्रमको प्रत्येक शब्द उनीहरूलाई स्पष्ट हुन्छ।

अब मजदुरहरूले अक्सर अस्थायी सरकारका प्रतिनिधिहरूको भाषण सुन्न अस्वीकार गर्न थाले, झनझन बढी मान्छेहरूले जमिनदारहरू तथा पुँजीपतिहरूको कुरामा विश्वास गर्न छोडे। अस्थायी सरकारमा एसेर पार्टीको सहभागिताले पनि सरकाले जनतामा आफ्नो प्रभाव बढाउन सकेन। तसर्थ, उनीहरूले हतियाद्वारा बोल्शेविकहरूलाई चुप लगाउने निर्णय गरे। जुलाई, 1917 मा युन्केरहरू (सैनिक अफिसर स्कुलका छात्रहरू) ले पेत्रोग्रादमा मजदुर तथा सैनिकहरूको युद्धविरोधी जुलुसमाथि गोली चलायो। अस्थायी सरकारले लेनिनलाई गिरफ्तार गर्ने आदेश जारी गऱ्यो। पुलिसले एउटा अर्को गोप्य आदेश पायो–‘क्रन्तिको नेताको हत्या गर।’ देशभरि बोल्सेभिकहरूमाथि धरपकड शुरू भयो। अब प्रजातन्त्रसम्बन्धि सब कुरा पन्छाएर अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न शुरू गऱ्यो।

आफ्नो नेताको जीवन बचाउने उद्देश्यले बोल्शेविक पार्टीले लेनिनलाई गुप्तबासमा पठाउने निर्णय गऱ्यो। पेत्रोग्रादको एक उपनगरमा रहेको राजलिभ स्टेशनबाट करिब 5–6 किलोमिटर टाढा एउटा सानो तलाउको एकान्त किनारमा बनेको छाप्रोमा एक किसानको भेषमा लेनिनले बसोबास गर्न थाले। लेनिनले त्यहीबाट सङ्घर्षको निर्देशन गर्न शुरू गरे। अक्सर साथीहरू लेनिनबाट सल्लाह तथा निर्देशनहरू पाउन त्यहाँ आउने गर्थे। लेनिन ठान्थे–अस्थायी सरकारको क्रियाकलापले बोल्शेविकहरूलाई शान्तिपूर्ण तरिकाले सत्ता लिने सम्भावनाबाट वञ्चित तुल्याएको छ, क्रान्तिको शान्तिपूर्ण अवधि खत्तम भइसकेको छ। अब जनतालाई जमिनदारहरू तथा पुँजीपतिहरूका विरुद्ध सशस्त्र क्रान्तिको लागि तयार गर्नुपर्छ।

अगस्ट 1917 मा बसेको छैँटौँ पार्टी कङ्ग्रेसले सशस्त्र विद्रोहका लागि तयारी गर्ने प्रस्ताव स्वीकार गऱ्यो। सन् 1917 को शरदतिर देशको अवस्था झन् बिग्रन थाल्यो। लडाइँ चालु थियो, अनिकाल बढ्दै थियो, कलकारखाना बन्द थिए। अस्थायी सरकारलाई हटाउनुपर्छ र सत्ता आफ्नो हातमा लिनुपर्छ भन्ने कुरा बहुसङ्ख्यक जनताले बुझ्न थालिसकेका थिए। बोल्शेविकहरूको नेतृत्वमा कलकालखानाहरूका मजदुरहरूको सशस्त्र टोलीहरू बन्न थाले। यस्ता टोलीहरूका योद्धाहरूलाई लालसेना भन्न थाले, उनीहरूको रियासतहरू जलाउन थाले। मोर्चामा पनि सिपाहीहरू लडाँइमा भाग लिन अस्वीकार गर्दै थिए। उनीहरूले जनरल तथा अफिसरहरूको आदेश पालना गर्न छाडेका थिए।

हर प्रकारको दमनका बाबजुद पनि बोल्शेविक पार्टी निरन्तर बढ्दै थियो। अप्रिल 1917 मा बोल्शेविक पार्टीमा 80 हजार सदस्य थिए भने जुलाई महिनामा यो सङ्ख्या बढेर 2 लाख 40 हजार पुगिसकेको थियो।

सशस्त्र विद्रोह सफल पार्नका लागि विद्रोहसम्बन्धी स्पष्ट योजना तयार हुनुपर्थ्यो। लेनिनले यस्तो योजना तयार पारे। लेनिनले भनेका थिए–विद्रोह त्यस बेला शुरू हुनुपर्छ, जब अस्थायी सरकारले यसको सम्भवना देखेको हुँदैन। विद्रह शुरू भईसकेपछि निरन्तर अगाडि बढ्दै जानुपर्छ। ‘प्रतिरक्षा सशस्त्र विद्रोहको अन्त्य हो’ लेनिनले भनेका थिए ‘सबैभन्दा पहिले, कुनै पनि मूल्यमा रेल–वे स्टेशनहरू, पोस्टअफिस, टेलिग्राफ, टलिफोन, नेभा नदीको पुल कब्जा गरिहाल्नुपर्छ। एकीकृत विद्रोह हेडक्वाटरको नेतृत्वमा छिटो–छिटो र निर्णायक रूपमा काम गर्नुपर्छ। यस विद्रोह हेडक्वाटरमा सशस्त्र मजदुर, सैनिक तथा नौसैनिकरुलाई एकत्रित पार्नुपर्छ र यिनीहरूको निर्देशन गर्नुपर्छ।’

7 अक्टुवर, 1917 को दिन लेनिन गुप्त रूपमा पेत्रोग्राद फर्के। दुई दिनपछि बोल्शेविक पार्टीको केन्द्रीय समितिको बैठक बस्यो। यस बैठकमा भाषण गर्दै लेनिनले भनेका थिए कि अस्थायी सरकारलाई हटाउने मौका अइरहेको छ, जनता विद्रोहको लागि तयार छ। बोल्शेविक पार्टीको केन्द्रीय समितिले चाडो भन्दा चाडो  सशस्त्र विद्रोहको लागि तयारी गर्ने निर्णय पारित गऱ्यो।

विद्रोहको नेतृत्व गर्न पेत्रोग्राद सोभियतअन्तरर्गत सामरिक क्रान्तिकारी कमिटी गठन गरियो। यस कमिटीमा पार्टी केन्द्रीय समितिका प्रतिनिधिहरू, पेत्रोग्राद सोभियत, ट्रेड–युनियनहरू, वाल्टिक नौसेना तथा अन्य संस्थाहरूका प्रउनिभिहरू सम्मिलित थिए। बोल्शेविक पार्टीका विख्यात कार्यकर्ता निकोलाई पद्भोइस्की यस कमिटीका अध्यक्ष मानोनित भए। सब कलकारखानाहरू तथा पेत्रोग्रादका सब सैनिक दस्ताहरूमा सामरिक क्रान्तिकारी कमिटीले आफ्ना प्रतिनिधिहरू पठाए। पँुजीपतिहरू तथा जमिनदारहरूको विरुद्ध निर्णायक संग्रामको तयारी हुन थाल्यो।

लेनिनको प्रस्तावअनुसार 24 अक्टोबर (नयाँ शैली अनुसार 6 नोभेम्बर) को दिन यो विद्रोह शुरू भयो। लेनिनको नेतृत्वमा गठित विद्रोह हेडक्वार्टर स्मोल्नी इन्स्टिच्युटमा राखिएको थियो। पेत्रोग्रादका सडकहरूमा जता ततै स्मोल्नी इन्स्टिच्युटतिर जान थालेका श्रमिकहरूका सैनिक दस्ताहरू देखिन्थे। युन्केरहरूले नेभा नदी पार गर्ने पुल खोल्न नदिने र लालसेनाहरूलाई सहरको केन्द्रीय भागभित्र पस्न नदिने प्रयास गरे। तर विद्रोहीहरूको शक्तिशाली प्रभाव रोक्न असम्भव थियो। लालसेनाहरूले युन्केरहरूलाई पछाडि हटाए र पुलहरू कब्जा गरे। मजदुरहरू सँगसँगै सैनिकहरू तथा नौसैनिकहरू पनि स्मोल्नी जाँदै थिए। जोसँग हतियार थिएन, उनीहरूले स्मोल्नीको चोकमा बन्दुक र ग्रिनेडहरू पाए। तोपखानाबाट मेशिनगनहरू पनि ल्याइपुऱ्याए।

अब स्मोल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो। सबै प्रवेशमार्गहरूमा पहरा लागेको थियो। काटी कसिएका घोडाहरू तयार थिए। तोपहरू पनि ल्याइल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो। सबै प्रवेशमार्गहरूमा पहरा लागेको थियो। स्मोल्नीका लामा मटानहरूमा सैनिक कमाण्डरहरू आवतजावत गरिरहेका थिए। केही कमाण्डरहरू आदेश लिन जाँदै थिए त केही पाएको आदेश पूरा गर्न आफ्नो सैनिक दस्तातिर लाग्दै थिए। लेनिन र उनका सहयोगीहरू यी सैनिक दस्ताहरूलाई निर्देशन दिँदै थिए। सैनिक विद्रोह सम्बन्धी योजना राम्ररी पालना भइरहेको छ या छैन भन्ने कुरा उनीहरू बडो गम्भीरतापूर्वक जाँच गर्थे। लालसेना दस्ता युन्केरहरूको कडा प्रतिरोध सामना गर्दैछ भन्ने खबर आइपुग्छ।

उनीहरूलाई मद्दत गर्न बाल्टिक नौसैनिकहरूको एक दस्ता अविलम्ब पाइपुग्छ। कुनै पनि हालतमा थामिनुहुन्न, अगाडि बढ्या बढै गर्नुपर्छ। 25 अक्टोबरका दिन स्मोल्नीमा एक पनि अर्को खुसीका खबरहरू आउन थाले– ‘टेलिग्राफ कब्जा भयो’, ‘रेल–वे स्टेशनहरू कब्जा भए’, ‘टेलिफोन स्टेशन् कब्जा भयो।’ सहरको अधिकांश भाग विद्रोही जनतको हातमा आइसकेको थियो। तर क्रान्तिको विजयको लागि शीत महलमाथि कब्जा गर्नु आवश्यक थियो र अस्थायी सरकारलाई गिरफ्तार गर्नुपर्थ्यो।

अस्थायी सरकारका मन्त्रीहरू शीत महलको एउटा कोठामा जम्मा भएका थिए। टेलिफोनहरू चुप छन्, तार–सञ्चार बन्द छ। विशाल सागरको बिचमा रहेको कुनै निर्जन टापुमा असहाय परेर बसेका मानिसहरू झैँ यी मन्त्रीहरू सम्पूर्ण राष्ट्रबाट अलग्गिएर बसेका थिए। शीत महलको वरिपरि हतार हतार लगाइएको बैरिकेडहरू पछाडि करिब 7 सय 50 अफिसर तथा युन्केरहरू लुकेर बसेका छन्। उनीहरूका बन्दुहरू र मेशिनगनहरू शीत महल अगाडिको चोकतर्फ तेर्सिएका छन्, त्यही चोक जहाँ 9 जनवरी, सन् 1905 मा मजदुरहरूको शान्तिपूर्ण जुलुसमाथि गोली चलाइएको थियो। त्यस बेला मजदुरहरू जारसँग दयामायाको भिख माग्न गएका थिए। आज जबरजस्ती शक्ति हातमा लिने बेला आएको थियो।

विद्रोहीहरूले अस्थायी सरकारलाई आत्मसमर्पण गर्नका लागि अल्टिमेटम पठाए। कुनै जवाफ आएन। तब सामरिक क्रान्तिकारी कमिटीको निर्णयअनुसार शीत महलमाथि हमला गर्ने आदेश दिइयो। सामरिक जहाज ‘आभ्रोरा’ बाट हानिएको तोपको आवाज यस आक्रमणको सङ्केत थियो। शीत महलमाथि हमला शुरू भयो। लालसेना, सैनिक तथा नौसैनिक दस्ताहरू शीत महल चोकमा पुगे। युन्केरहरूले गोलीको अन्धाधुन्ध प्रहारद्वारा उनीहरूको सामना गरे। विद्रोहीहरू गोली चलाउँदै शीत महलतर्फ अघि बढ्न थाले। एक बुटेलप्रुफ गाडी गोली छोड्दै थियो। मानिसहरूको भीड दरबारको ढोकाअगाडि पुग्यो। युन्केरहरू नजिकैबाट गोली चलाउँदै थिए। अन्त्यमा गएर अफिसर र युन्केरहरूको सब प्रतिरोध विफल भयो। शीत महलको ढोका खुला थियो।

मानिसहरूले फलामको ढोका धकेल्न थाले। एकैछिनमा भीडको दबाबमा परेर त्यो बडेमाको फलामको ढोका खुल्यो। विद्रोहीहरू शीत महलभित्र पसे र दरबारभित्रका बहुसङ्ख्यक कोठाहरू तथा हलहरू पार गर्दै त्यस कोठामा पुगे, जहाँ अस्थायी सरकारका मन्त्रीहरू लुकेर बसेका थिए। आफ्नो बाटो रोक्न खोजेका युन्केरहरूको हतियार खोसेर उनीहरूलाई गिरफ्तार गरिसकेपछि विद्रोहीहरू कोठाभित्र बसे, जहाँ केही मन्त्रीहरू डरले थर्कमान भएर टेबुल वरिपरि बसेका थिए। रुसका पुँजीपतिहरू तथा जमिन्दारहरूको अन्तिम सरकार–तथाकथित अस्थायी सरकार पनि थियो। लडाइले तातिएका विद्रोहीहरू छुद्र मानिसहरूको यस जत्थाप्रति बडो घृणापूर्वक हेर्दैथिए। बोल्शेविक आन्तोनभ–ओभ्सेएन्कोले अगाडि बढ्दै बडो शान्ति एवं. दृढ स्वरमा भने– ‘पेत्रोग्राद सोभियतको सैनिक क्रान्तिकारी समितिको नामबाट म घोषणा गर्दै छु, अस्थायी सरकार भङ्ग भएको छ, अब तपाईहरू गिरफ्तार हुनुहुन्छ।’

25 अक्टोबरको साँझपख, जब शीत महलमाथि हमला चल्दै थियो, सोभियतहरूको दोस्रो अखिल रसियाली महाधिवेशन शुरू भयो। तारद्वारा सम्पूर्ण देशभरि ‘मजदुर सैनिक एवं. किसानहरूलाई’ सम्बोधन गरिएको अपिल प्रसारित गरियो। यो अपिल लेनिनले लेखेका थिए। अपिलमा भनिएको थियो :

‘मजदुर, सैनिक एवं. किसानहरूको व्यापक बहुमतको समर्थनसहित, पेत्रोग्रादमा सम्पन्न मजदुर तथा नगररक्षक सेनाको विजयी विद्रोहको समर्थनसहित यस महाधिवेशनले आफ्नो हातमा सत्ता लिएको छ… महाधिवेशनको निर्णयअनुसार इलाकाहरूमा सम्पूर्ण सत्ता मजदुर, सैनिक एवं. किसान डेपुटीहरूका सोभियतहरूको हातमा आएको छ र यी नै सोभियतहरूले वास्तविक क्रान्तिकारी अवस्था सुनिश्चित गर्ने अभिभारा आफ्नो हातमा लिनेछ।’

यस प्रकारको सोभियत सत्ता, श्रमिक जनताको एक नयाँ सत्ताको उदय भयो। नयाँ सत्ताको सर्वोच्च अङ्ग सोभियतहरूको अखिल रसियाली महाधिवेशनद्वारा पारित सबैभन्दा शुरूका निर्णयहरूले सम्पूर्ण विश्वका अगाडि देखाएको छ। सोभियत सत्ताको लागि श्रमिक जनताको सुख–सुविधा भन्दा बढी महत्त्वपूर्ण अर्को कुनै उद्देश्य छैन। बोल्शेविक पार्टीको केन्द्रीय समितिका तर्फबाट सोभियत सत्ताका प्रथम आज्ञाप्तिहरू घोषणा गर्नका लागि लेनिन मञ्चमा आए।महाधिवेशनमा भेला भएका प्रतिनिधिहरूले क्रान्तिका महान् नेताको ठुलो जयजयकार र करतलध्वनीसहित स्वागत गरे, ‘सोभियत सत्ता जिन्दाबाद !, लेनिनको जय होस !, लेनिन जिन्दाबाद !’ लेनिनले महाधिवेशनका प्रतिनिधि समक्ष युद्धरत राष्ट्रहरूका श्रमिक जनता र सरकारहरूलाई युद्ध बन्द गर्ने र त्यस्तो सन्धीमा हस्ताक्षर गर्ने, जुन संसारभरिका जनजातिहरूको लागि न्यायपूर्ण होस, त्यस्तो सन्धीका लागि अविलम्ब अपिल जारी गर्ने प्रस्ताव राखे, जसमा केही राष्ट्रहरूले अन्य राष्ट्रहरूलाई दास बनाउने छैन। प्रतिनिधिहरूले सर्वसम्मतिद्वारा शान्ति सम्बन्धी आज्ञाप्ति पारित गरे।

त्यसपछि लेनिनकै प्रस्तावअनुसार महाधिवेशनले भूमि सम्बन्धी आज्ञाप्ति स्वीकार गऱ्यो। यस आज्ञाप्तिले जमिनमाथि जमिनदाहरूको स्वामित्व अन्त्य गरिदियो। किसानहरूको आफ्नो उपयोगका लागि 15 करोड हेक्टर भन्दा बढी जमिन निःशुल्क पाएर जमिनदारहरूलाई बर्सेनि तिर्दै जानुपर्ने 70 करोड स्वर्ण रुबलको लगानीबाट पनि मुक्ति पाए। यसबाहेक उनीहरूले पुराना रियासतहरूमा रहेका करिब 30 करोड स्वर्ण रुबल मूल्यको विभिन्न कृषि औजारहरू पनि पाए। सम्पूर्ण जमिन, जङ्गल र स्रोतहरूको राष्ट्रियकरण गरियो। यस प्रकारले किसानहरूले, जो जनसङ्ख्याको बहुमत थिए, आफ्नो चीर प्रतिक्षित जमिन र स्वतन्त्रता पाए।

श्रमिक जनताको युगौ पुरानो सपना साकार भयो। मजदुर तथा किसानहरू देशको मालिक बने। सोभियतहरूको महाधिवेशनले विश्वमा पहिलो श्रमिक सरकार–

सोभियत जनकमिसार परिषद् गठन गऱ्यो। भ्लादिमिर इल्यीच लेनिन सर्वसम्मतिद्वारा नयाँ सरकारको अध्यक्ष निर्वाचित भए।

पेत्रोग्रादमा सम्पन्न विद्रोहको विजयसम्बन्धि यो खबर सम्पूर्ण देशभरि फैलियो। विशाल रुसको कुना कुनामा–साइबेरिया, बेलारुस, मध्य एसिया, युक्रेन, भोल्गा तटवर्ती नगरहरूमा जताततै सोभियतहरूको हातमा सत्ता आएको यो खबर फैलियो। तर धेरैजस्ता सहरहरूमा श्रमिक जनताले क्रान्तिका शत्रुहरूका विरुद्ध धमासानको लडाई गर्नुपऱ्यो। यसप्रकारले मस्कोमा एक सातासम्म भयंकर लडाई चल्यो। पेत्रोग्रादमा लालसेना तथा नौसैनिकहरूले छिमेकी सहरहरूका मजदुरहरूले मस्कोका विद्रोहीहरूका लागि सकेसम्म छिटो मद्दत पठाए। मस्कोमा विद्रोह सफल भयो। सम्पूर्ण देशभरि महान् अक्टोबर समाजवादी क्रान्तिको विजय भयो।

गरिब किसानहरूसँग घनिष्ट रूपमा सम्बन्धित क्रान्तिकारी मजदुरहरूले जनताको नेतृत्व गरेको थियो। त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो। लेनिनको अध्यक्षतामा बोल्शेविक पार्टीले श्रमिक जनताको सङ्घर्षको नेतृत्व गर्दै थियो। त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो। रुसमा सम्पन्न समाजवादी क्रान्तिको विजय युद्धमा रुसको मित्रराष्ट्र बनेको बेलायत र फ्रान्स तथा संसारभरिका पुँजीपतिहरूमाथि एक जोडदार प्रहार थियो। जारशाही रुस आफैँ साम्राज्यवादी देश भएतापनि आर्थिक दृष्टिकोणले यो निकै पिछडिएको मुलुक थियो, बढी विकसित साम्राज्यवादी शक्तिहरूमाथि निर्भर थियो। रुस मुख्यतया कृषि वस्तुहरूको निर्यात गर्थ्यो, देशमा प्रयोग हुने आधाभन्दा बढी मेशिन तथा कलपुर्जाहरू विदेशबाट आयात गरिन्थ्यो। सन् 1913 मा अर्थव्यवस्थाका आधारभूत क्षेत्रहरू (कोइला तथा पेट्रोलको उत्पादन, धातु उत्पादन) विदेशी पुँजीपतिहरूको अधीन थियो, विशालतम रुसी ब्याङ्कहरूको आधा भन्दा बढी पुँजी विदेशीहरूको हातमा थियो। युद्धकालमा आफ्ना मित्रराष्ट्रहरूमाथि रुसको निर्भरता अझ बढ्न गयो।

अक्टोबर क्रान्तिले साम्राज्यवादीहरूलाई उनीहरूको पुँजीबाट मात्र वन्चित गरेको होइन, अपितु रुसलाई पूर्णतया दास बनाएर उसको भूभाग विभाजन गर्ने सबै योजना समेत विफल तुल्याइदियो। तर सबैभन्दा मुख्य कुरा त के थियो भने विश्वभरिका पुँजीपतिहरूलाई रुसमा फैलिएको क्रान्तिको ज्वाला कहीँ उनीहरूको देशहरूमा पनि फैलिने त होइन भन्ने ठुलो डर थियो। महान् अक्टोबर क्रान्तिले साम्राज्यवादको अखण्ड प्रभुत्व खत्तम पारिदियो। विश्वको छैँटौंँ भागमा समाजवादको निर्माण कार्य शुरू भयो। विश्व दुई शिविरमा टुक्रियो–मरणासन्न पुँजीवाद तथा विकासोन्मुख समाजवाद। विश्वभरिका श्रमिक जनताका लागि अक्टोबर क्रान्ति सङ्घर्षको एक महान् दृष्टान्त बन्न गयो। यस क्रान्तिले विजय तथा स्वतन्त्र एवं. सुखमय जीवनको निर्माणपथ देखाउँदै थियो। आफ्नो क्रियाकलापका शुरूका महिनाहरूमा नै सोभियत सरकारले लेनिनको अध्यक्षतामा देशका अत्यन्त महत्त्वपूर्ण समस्याहरू हल गर्न थाल्यो।

सब कलकारखानाहरूमा मजदुर नियन्त्रण कायम गरियो, श्रमिकहरू कलकारखानाहरूका वास्तविक माली बन्ने तयारी गर्दै थिए। सर्वोच्च आर्थिक परिषद् खडा भयो, ब्याङ्कहरू, रेल वे यातायात, व्यापारिक जहाजी कम्पनीहरूको राष्ट्रियकरण भयो, वैदेशिक व्यापारमा राजकीय एकाधिकार कायम गरियो। सन् 1918 को शरदमा देशका सबैजसो विशालतम औद्योगिक संस्थाहरूको राष्ट्रियकरण प्रक्रिया पूरा भइसकेको थियो। देशको सम्पूर्ण सम्पदा श्रमिक जनताको सम्पत्ति बन्यो। कलकारखानाहरूमा 8 घन्टे मजदुर–दिवस ठेकियो, मजदुरहरूको सबैतनिक आराम बिदा, बिरामी बिदा, कार्यक्षमताको क्षति तथा बेकारी अवस्थाका लागि बिमा सुविधा आदि पाए। सोभियत सरकारले अत्यन्त कठिन परिस्थितिमा आफ्नो काम शुरू गर्नुपऱ्यो। अपदस्थ अस्थायी सरकारका कर्मचारीहरू मजदुर एवं. कृषकहरूको सत्तालाई काम गर्न हर प्रकारले बाधा पुऱ्याउँदै थिए। उनीहरू या त अफिस नै आउँदैनथे, या त जानी जानी काम विगार्थे।

ब्याङ्क कर्मचारीहरू सेफहरूको साँचो लुकाउँथे, अनेक बहाना गरेर मजदुरहरूको तलब रोक्थे। पुँजीपतिहरू, उनका बफादार नोकरहरू, कर्मचारीहरू यस प्रकारको देशलाई अव्यवस्थाको धरातलमा झोक्न चाहन्थे र सोभियत सत्ता उल्टाउने प्रयास गर्दै थिए। 18 नोभेम्बर, 1917 को दिन लेनिनले जनताको नाममा एक अपिल जारी गरे। उक्त अपिलमा भनिएको थियो ः ‘साथीहरू, श्रमिक जनता हो ! याद राख्नुहोला, अब तपाईहरू आफैँ राज्य प्रशासन् चलउँदै हुनुहुन्छ। यदि तपाईहरू आफैँ एकताबद्ध हुनुहुन्न र राजकाजको सब काम आफ्नो हातमा लिनुहुन्न भने कसैले तपाईँहरूको मद्दत गर्न सक्दैन। अब देखि तपाईहरूका सोभियतहरू राज्यसत्ताका यन्त्र बनेका छन् र यी सोभियतहरूलाई सब कुराको निर्णय गर्ने अधिकार छ। आफ्ना सोभियतहरूको वरिपरि एकबद्ध हुनुहोस, सोभियतहरूलाई सदृढ बनाउनुहोस्। सबैभन्दा तलबाट काम शुरू गर्नोस, कसैलाई पर्खेर नबस्नोस।’

श्रमिकहरूले आफ्नो नेताको आव्हानको जवाफ दिए। पेत्रोग्रादका मजदुरहरू कामको खोजीमा श्रम सम्बन्धी जनकमिसेरियटमा आउन थाले। पेत्रोग्राद नजिकै रहेको नौसैनिक अखडा क्रोन्शोतादबाट टेलिग्राफ कार्यकर्ताहरू भूतपूर्व डाकतार मन्त्रालयको काम चलाउन आइपुगे। उनीहरूल विध्वंसकारी भूतपूर्व कर्मचारीहरूको ठाउँमा काम गर्न थाले र देशको हुलाक तथा आकाशवाणी–व्यवस्था आफ्नो हातमा लिए। राष्ट्र ब्याङ्कका कर्मचारीहरूले सोभियत सरकारलाई आवश्यक पैसा दिन अस्वीकार गरे। लालसेनाले ब्याङ्कका डाइरेक्टरलाई गिरफ्तार गर, त्यसपछि मात्र डरले थर्कमान भएका कर्मचारीले ब्याङ्कका सेफहरू खोल्न थाले। श्रमिक जनताको व्यापक समर्थनसहित सोभियत कार्यालयहरूले सहरहरूको खाद्य सामग्री सप्लाई व्यवस्था ठिक पार्न थाले। तहखानाहरूमा बस्ने मजदुर परिवारहरूलाई धनीहरूको घरहरूमा बसोबास गराउन थाले।

सोभियत सरकारले यी सब ऋणहरू खारेज गरिदियो, जुन जारशाही सरकार र अस्थायी सरकारले विदेशी तथा रुसी पुँजीपतिहरूसँग लिएको थियो। देशले आफूलाई सरकारी ऋणहरूको भारबाट मुक्त गऱ्यो। विदेशी ऋणको रकम झन्डै 16 अरब रुबल र आन्तरिक ऋण 17 अरब स्वर्ण रुबल पुग्थ्यो। राजकीय आज्ञाप्तिहरूद्वारा सब मानपदवीहरू र मानिसहरूलाई श्रेणीहरूमा विभाजन गर्ने प्रथा बदर गरियो, लोग्नेमान्छेहरू र आइमाईहरूबीच समानता कायम गरियो र देशभरिका सम्पूर्ण जनजातिहरूलाई समान अधिकार प्रदान गरियो। विध्वंस तथा प्रतिक्रान्तिको विरुद्ध सङ्घर्ष गर्न फेलिक्स जेर्जीन्स्कीको नेतृत्वमा अखिल रसियाली असाधारण कमिशन गठन गरियो। जनन्यायलय र जनमिलिशिया गठन गरियो। सेनामा पनि सैनिक सोभियतहरूको हातमा सत्ता सुम्पियो। मजदुर तथा किसाान परिवारहरूबाट आएका व्यक्तिहरू सेनाको मुख्य मुख्य पदमा मनोनीत भए। रुसका श्रमिक जनता कठिन परिस्थितिमा एक नयाँ जीवनको निर्माण गर्दै थिए। उनीहरूसँग कुनै अनुभव थिएन। यसैबेला मजदुर तथा किसानहरूको राज्यको शत्रुहरू नवजात सोभियत राज्यका विरुद्ध सङ्घर्षको तयारी गर्दै थिए।

क्रान्तिको अनुभव : आजको सान्दर्भिकता

यो पछि पनि घुमाउरो बाटोहरू छन्। केही दशकसम्म सोभियत सङ्घको समाजवाद जारी रह्यो, नयाँ नयाँ उपलब्धि र च्यालेन्ज पार गर्दै। हामीले सोभियत रसिया देखेका छैनौँ। सय वर्षअघि रसियामा खटिखाने मानिसहरूको क्रान्तिबाट शुरु भएर पूर्वी युरोप लगायत संसारको 1/6 क्षेत्रमा अचम्मको सभ्यता निर्माण भएको थियो। ती जुझारु र क्रान्तिकारी कम्युनिस्टहरू हामीबाट निकै टाढा थिए, र अर्कोतिर यता हामीले ‘कम्युनिस्ट’ नामधारी सरकारको थिचोमिचो, आम जनतामाथि उनीहरूको प्रशासनिक अत्याचार देखेका छौँ। यहाँ जााति उन्मुक्तिको निम्ति रक्ताम्य सङ्घर्ष देखेका छौँ। यस जातिहरूका आत्मनिर्णयको अधिकारको प्रसङ्गमा पनि सोभियत रसियालाई सम्झौँ आज। क्रान्तिपछि सम्पूर्ण अल्पसङ्ख्यक र उत्पीडित राष्ट्रियताहरूलाई आत्मनिर्णयको अधिकारको घोषणा गरिएको थियो सोभियतमा। त्यहाँका राष्ट्रियताहरूलाई सोभियत सङ्घमा बस्ने-नबस्ने भन्ने बारे निर्णय लिने अधिकार दिइएको थियो। फिनल्याण्डले छुट्टै देश गठनको माग राख्दा सोभियत रसियाले त्यो मागलाई तत्कालै समर्थन गर्दै, स्वीकार गरेको छ। अन्य जातिहरूले स्वैच्छिक रूपमा रसियासँगै बस्ने निर्णय लिएको थियो र बनियो ‘समाजवादी सोभियत युनियन’। साचो कम्युनिस्टहरूले निर्माण गरेको समाज थियो ‘सोभियत युनियन’।

हाम्रा वरिपरि वेरोजगारीको पर्खाल उभिएको छ! स्कुल जाँदै गरेका युवाहरू पलायन भएर परदेश पुग्छन्। पढाइको खर्च तिर्नु नसक्दा ड्रप आउट हुनेहरूको सङ्ख्या बढ़्दो छ। बालश्रमको सूचीमा छन् सस्तो ज्यालामा पेलिरहेका कलिका किशोरहरू। तर उता, सोभियतले बेरोजगारीलाई उन्मुलन गरेको थियो। सबैको निम्ति थियो सम्मान ज्याला अनि कामको अधिकार। केवल औपचारिकतामा होइन तर यथार्थमै सोभियतले बालश्रमको शोषणमाथि प्रतिबन्ध लगाएको थियो। सोभियतमा बालक-बालिकालाई श्रमको मर्यादाबारे मानसिक विकास गराउन योजनाबद्ध तरिकाले प्रशिक्षण दिइन्थ्यो। ट्रेनिङ्गपछि 14-18 वर्ष उमेरकाहरूलाई सर्वाधिक 4-6 घण्टा काममा लगाउन सकिन्थ्यो, तर उनीहरूले 8 घन्टाकै ज्याला पाउँथे।

सोभियतका नानीहरू जन्मैदेखि समाजको सम्पदा थिए। 2 वर्ष उमेरदेखिका नानीहरूको पढाई र मानसिक विकासको दायित्व सरकारमाथि थियो। प्रत्येक कारखाना, वा अफिसमा क्रेच हुन्थ्यो, कार्यरत आमाहरूका नानीहरूलाई हेरचार गर्थे दक्ष नर्सहरू। प्रत्येक रेल्वे स्टेशन् अथवा दुरगामी ट्रेनहरूमा पनि क्रेच थियो। नक्सा हेरेर-कोरेर, नृत्य-गीत सिकेर प्राथमिक शिक्षा पाउनु सोभियत नानीहरूको कानुनी अधिकार थियो। यसरी नानीहरूको देखरेख र शिक्षाको दायित्व केवल परिवारमाथि मात्र नभएर, समाजमाथि पनि थियो।

सबैका निम्ति प्राथमिकदेखि उच्चस्तरीय शिक्षा आर्जनसमेतमा निःशुल्क व्यवस्था थियो। सोभियत रसियाले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मातृभाषामा पढ़्न सक्ने अधिकार दिएको थियो। 120 वटा भाषाहरूमा पाठ्यपुस्तक छापिएको थियो, जसमध्ये क्रान्ति अघि 40 वटा भाषाको कुनै लिपि नै थिएन। 

हाम्रा चिया बगानहरू रगतपसिना निचोडेर मालिकहरूको लागि मुनाफाको पहाड बनाउने कारखाना हो। बगानहरूमा पुस्तौदेखिको हेपाइ आजपनि यथावत नै छ। अन्य उद्योगका मजदुरहरू पनि त्यतिकै समस्यामा छन्। यसैमाथि मालिकहरू पोस्याउने सरकारी नीति र प्रशासनको तत्परताले दिक्क लगाउँछ।

तर सोभियतमा भने सबै कारखाना, जमिन, ब्यांकको राष्ट्रियकरण भएको थियो, अर्थात् यी सबैमा जनताको मालिकाना अधिकार थियो। निजी मालिकाना खारेज हुँँदा त्यहाँ मालिकहरूको मुनाफा लुट्ने बाटो बन्द भएको थियो। सोभियत समाजमा जनताको श्रम समाज विकासको काममा उपयोग हुन थालेको थियो। 8 घण्टा भन्दा ज्यादा खटाउने प्रथा बन्द भएको थियो। क्रान्तिको केही वर्ष पछि त झन् कामको समय घटाएर 7 घन्टासम्म पुऱ्याएको थियो।

हाम्रा समाजमा नारीहरू आजपनि अवहेलनाको शिकार बनिरहेका छन्। काम गर्ने नारीहरूमाथि त झन् धेर बोझ छ। कार्यक्षेत्र र घरेलु श्रम। त्यसमाथि छ नानी हुर्काउने दायित्व। आज पनि कयौँ उद्योगहरूमा नारीहरूलाई कम ज्याला दिने चलन छ। कार्यक्षेत्रमा यौन शोषण। कामको खोजीमा जाँदा तस्करीको शिकार हुने खतरा। अँध्यारोमा नारीहरू हराउने घटना पनि चलिरहन्छ। अर्कोतिर, आजपनि धेरजसोले नारीहरूका लागि आर्थिक स्वनिर्भर हुनुभन्दा घर-परिवारको रेखदेख नै उनीहरूलाई सुहाउँदो काम हो भनेर सोच्छन्।

100 वर्ष पुरानो इतिहासले कसरी यो परम्परालाई तोड़े? सोच्दा अचम्भ लाग्दैन? सोभियत नारीहरूलाई घरेलु कामदेखि मुक्त गर्दै आर्थिक स्वनिर्भरताको निम्ति प्रोत्साहित गरिएको थियो। असङ्ख्य सामूहिक भान्साघर र क्रेचहरूको स्थापनाले गर्दा सोभियत नारीहरू घरेलु कामदेखि मुक्त भएको थियो। सोभियत रसिया नै एकमात्र देश हो जहाँ वेश्यावृत्तिको सम्पूर्ण उन्मुलन भएको थियो, उनीहरूको पुनर्वास भएको थियो अन्य पेशाहरूमा। सोभियतमै प्रथमचोटी नारीहरूले आफ्नो शरीर र मनमाथि आफ्नै अधिकार प्राप्त गरेका थिए। जसले गर्दा नारीहरूले गर्भपतनको अधिकार पाएका थिए। अर्कोतिर सोभियतमा अवैध सन्तान भन्ने कुरै थिएन। सबै नानी देशको सम्पदा हो, र उसको रेखदेखको जिम्मेवारी सरकारको हो भनेर पारित भएको थियो। 

सोभियतमा बनिएको थियो निःशुल्क स्वास्थ्य व्यवस्था, र सबैको निम्ति थियो निर्दिष्ट डाक्टरको प्रबन्ध। सोभियत जमानाको चित्रकला-मूर्तिकला-साहित्य-नाटक-सिनेमाहरू अर्कै उच्चतामा पुगेको थियो। खेलहरूमा अभूतपूर्व अग्रगतिको उदाहरण हो अलिम्पिकमा सोभियत रसियाको निरन्तर सफलता। सोभियतले नै अन्तरीक्षमा प्रथम यात्री पठाएको थियो। प्रथम नारी अन्तरीक्ष यात्री पनि सोभियतकै थिइन्।

पुँजीवादी संसारको षडयन्त्र अनि देश-विदेशको स्वार्थी शत्रुहरूको चलखेलले गर्दा आज त्यो सोभियत रसिया विलीन भयो। तर त्यहाँको क्रान्तिकारी सङ्घर्षले आर्जन गरेको उपलब्धिहरू संसारको लागि गहिरो अनुभवको स्रोत हो, जसमाथि उभिन सक्छन् भविष्यका धेरै नयाँ सभ्यता निर्माणका प्रयासहरू। ‘समाजको लागी व्यक्ति र (किनभने) व्यक्तिको लागी समाज’को आदर्श बोकेको यस्ता सामुहिकताको समाज निर्माणको प्रयास र सपनाबाहेक कसरी मानव सभ्यताले प्रगति गर्नसक्छ? आजको राजनैतिक-सामाजिक-वैचारिक खोक्रोपनलाई नकारौँ अनि महान् रुसी क्रान्तिलाई सम्झिन्दै सङ्घर्षको बाटोमा हिड़ौँ, प्रगतिको बाटो निर्माण गरौँ।




No comments:

Post a Comment