Friday, February 1, 2013

चेली-बेटी बेचबिखान : एउटा सर्वेक्षण


चेली-बेटी बेचबिखान वा नारी तस्करी वर्तमान समयमा देशव्यापी मात्र नभएर विश्वव्यापी समस्या भएर अघि आइरहेको छ। विशेषगरी एसियाका देशहरू नारी तस्करीमा प्रसिद्ध छन् जस्तै कम्बोडिया, भियेतनाम, थाईल्याण्ड, नेपाल, बङ्गलादेश इत्यादि। यसै सन्दर्भमा भारतको अवस्थापनि साह्रै ठिक छैन। देशभरबाट तस्करी गरिएको चेलीहरू मुम्बई, कोलकाता, कानपुर, पुने इत्यादि स्थानमा ल्याइन्छन् र त्यहाँबाट कयौँ केटीहरू विदेशतिर पनि बेचिन्छन्। अस्ति-अस्तितिर खबरकागजमा तस्करीको कुराहरू पढेको अहिले त यस्तो तस्करी आफ्नै घर-आँगनमा आइपुग्यो। पहाडका गाउँ-बस्तिबाट नियमित रूपमा चेलीहरू बिक्री भैरहेछन्। 

     कहिले विवाहको झुठो आश्वासनमा फँसेर, कहिले काम गरेर दुई पैसा कमाएर घरमा सघाउ पुऱ्याउने आशाले, अचिना ठाँउमा बिरामी नानीलाई उपचार गराउन जानाले वा त्यसै घुम्न जाने रहरले। यी केटीहरू (नाबालिक र बालिक दुवै) लाई बेच्ने दलालहरू पनि फेरि टाढाका हुँदैनन् हिज-आज। यस्ता दलालहरू आफ्नै गाउँको, पल्लो गाउँको दाजु-भाई, काका-मामा, दिदी-बहिनी, फुपू— यहाँसम्म कि आफ्नै बाबु पनि हुनसक्छन्। 

     त यहाँ प्रश्न के उठ्छ भने किन चेलीहरूको बिक्रीबट्टाले द्रुतगति लिइरहेको छ? यस्ता तस्करिहरूको खास कारणहरू के के हुन् त? र कसरी यस्तो अमानवीय कार्यकलापलाई रोक्न सकिन्छ? 

     दार्जीलिंग जिल्लाको सोनादा, रङ्गबुल र जोरबङ्लातिर सर्वेक्षण गर्न जाँदा यस्ता बेच-बिखानको थुप्रै सम्भवत कारणहरू सामुने आयो। सर्वेक्षणमा स्कुल, कलेजका अध्यापक-अध्यापिका र छात्राहरू, राजनीतिसँग जोडिएको मानिसहरू अनि सडकमा हिडिरहेका वा दोकानेहरूसित प्रश्नहरू गरिएको थियो। धेरैजसो अध्यापक-अध्यपिकाको भनाइमा गरिबीले गर्दा, स्कुलको पढाई बिचमै छोडेर बसेकोले, आमा-बाबु अशिक्षित भएकोले, तस्करी गर्दा पक्रिएका मानिसहरूको विरुद्ध कडा कानुन भए मानिसहरू यस्तो काम गर्न डराउथे होला तर देशमा यस्तो कठोर सजायहरू नभएकोले यस्ता दलालहरूले ढाडस पाइरहेका छन्। र सबैभन्दा बेसी मोबाइल र इन्टरनेटले गर्दा केटीहरू यस्तो जालमा फँसिरहेका छन् कारण फोनमा वा इन्टरनेटमा साठी भएको अन्जान व्यक्ति सित भेट्न वा बिहे गर्न जाँदा धेरै केटीहरू बिक्रीबट्टामा परेका छन्। 
साधारण मानिसहरूसित कुराकानी गर्दा अर्को बलियो मत के आयो भने चेलीहरू बेच-बिखान हुनुमा स्वयम् तिनीहरूनै दोषी हुन्छन्। पहाडमा पश्चिमी सभ्यताको प्रादुर्भावले फेशनलाई पराकाष्टमा पुऱ्याएको छ। फेशनको निम्ति, राम्रो-राम्रो लुगा लाउन, नक्कल पार्न र नयाँ नयाँ उपकरण बोक्न केटीहरू यौन-व्यापारमा लाग्छन् र कतिजना त बेचिन पनि पुग्छन्। उता कतिपय विद्यार्थी र युवाहरूसंग बातचित गर्दा के पत्ता लाग्यो भने केटीहरू प्रायः सरकारी नोकरी गर्ने आर्मी युवकहरू प्रति आकर्षित हुन्छन् कारण सरकारी नोकरी भएको युवकहरू सित तिनीहरू आफ्नो भविष्य सुरक्षित देख्छन् र यसैको फाइदा उठाएर कतिपय दलालहरू आफैँलाई आर्मी भनेर केटीहरू फसाउँछन्, विवाहको झुठो आश्वाशन दिएर यिनीहरू ती निर्दोष केटीहरूलाई अनन्त अन्धकारमय संसारमा ठेली पठाउँछन्। 

     यसरी बेरोजगारी पनि बेच-बिखानको मुख्य कारणहरू मध्ये पर्छ। फेरि छात्रहरूको भनाइमा भने केटीहरू घरको दुख भुज्ने हुन्छन् र आर्थिक रूपले स्व-निर्भर हुन र अलिकति कमाई गरेर परिवारलाई सघाउ-पगाउ गर्ने उद्देश्यले काम गर्न बाहिर जाने हुदाँ बेचिन पुग्छन्। तर उक्त बातचितमा नाबालिक केटीहरूको यौन-उत्पीडन र बिक्रीको बारेमा प्राय सबैजना मौन रहेको पाइयो। 

     यी जम्मै बातचितहरूबाट नारी तस्करीमा बेसी जस्तो नारीहरूकै भुल हुन्छ भनेर देख्नमा आयो। नारीहरू प्रति भइरहेको यौन हिंसा, बलात्कार, बिक्री बट्टामा कतै न कतै नारीहरूकै दोष हुन्छ कारण कतिपय मानिसहरू नारीको इच्छाबिना बलात्कार हुन सक्दैन पनि भन्न हिच्किचाउँदैनन्। यसैकारण बेचिएको चेली कुनै कारणवश आफ्नो गाउँ-ठाउँमा फर्केर आए पनि समाजले उसको वहिष्कार गर्छ र उसलाई पहिलाको जस्तै माया र सम्मान दिंदैन र यही कारणले धेरैजसो केटीहरू नचाहेर पनि त्यही भुँवरीमा फँसिरहन्छन् र अन्त्यमा पशुसरह मर्छन्। 

     नारी बेच-बिखानको बजार बृहत् देखि वृहतम भइरहेको छ कारण संसारभरिको पुँजी यौन बजारमा खनिएको छ र यसमा ठुल्ठुला महारथीहरू संग्लन छन्, यसैकारण कानुनी रूपमा यसलाई रोकथाम गर्ने कुनै जमर्को ससार पक्षबाट गरिएको देख्न्दैन बरु यौन-कार्यलाई कानुनी मान्यता दिने जस्तो मांगहरू उठ्दैछ जसले नारी तस्करी निश्चित रूपले बढ्नेछ। यसकारण आजको दिनमा यो समस्यामाथि गम्भीर रूपले विचार गर्नु अत्यन्त आवश्यक भएको छ।

प्रियांका प्रधान र संगीता खेवा

[ यो एउटा सर्वेक्षणको रिपोर्ट मात्र हो यस विषयमा पत्रिकाको आउदो अंकहरूमा निश्चय पनि विस्ताररुपमा चर्चा गरिने छ। स.] 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...